कृषि बीमामा सफ्टवेयरको प्रभावकारिता बढ्दो, ४० दिनमै करिब ४ हजार बीमालेख जारी

काठमाडौं । सरकारले कृषि बीमालेख अनलाइनबाट नै जारी गर्नेगरी विकास गरेको सफ्टवेयरको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत कार्तिक ५ गते कृषि बीमालेख जारी गर्ने रियल टाइम सफ्टवेरको उद्घाटन गरेको थियो । सफ्टवेयरको उद्घाटन कार्तिकमा भएपनि मंसिर १६ गतेदेखि सफ्टवेयरमार्फत आधिकारिकरूपमा बीमालेख जारी गर्न थालिएको थियो । यसरी सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमालेख जारी गर्न सुरु भएको ४० दिनमा नै अनलाइनबाट ५ हजार बढी बीमितले आवेदन दिएका छन् । यस समाचार निर्माण गर्दै गरेको समय पौष २६ गते दिउँसो ५ बजेसम्म सफ्टवेरमार्फत बीमा गर्नका लागि अनलाइन आवेदन दिने बीमितको संख्या ५ हजार २१  जना पुगेको छ । जसमध्ये ३ हजार ८०४ जनाको बीमालेख जारी भइसकेको छ भने बाँकी बीमितको बीमालेख जारी हुने क्रममा रहेको छ । आमजनताले पनि हेर्न मिल्नेगरी सफ्टवेयरको विकास गरिएको छ । एएलआईएस डट एनआइए डट जीओभी डट एनपी टाइप गरेर जो कसैले उक्त सफ्टवेरमार्फत भएको बीमाको विवरण हेर्न सकिने छ । जहाँ बीमा गर्न आवेदन दिनेको संख्या, जारी बीमालेख संख्या, कुन बीमालेखअन्तर्गत कति संख्याको बीमालेख आवेदन पर्‍यो, कति बीमालेख जारी भयो, कति बीमाङ्क रकमको बीमालेख जारी भयो भनेर हेर्न सकिन्छ । यस्तै, सरकारले भुक्तान गर्नुपर्ने बीमाशुल्क अनुदान कति भयो, बीमित स्वयमले भुक्तानी कति गर्‍यो भनेर पनि हेर्न सकिन्छ । त्यस्तै, कुन प्रदेशबाट कति बीमालेख जारी भयो र कुन कम्पनीबाट कति बीमालेख जारी भयो भनेर पनि हेर्न सकिने छ । यसैगरी, दाबी भुक्तानीका लागि कतिले आवेदन दिए, कति रुपैयाँको दाबी पेश भयो, कति रकम भुक्तानी भयो, भुक्तानी हुन कति रकम बाँकी छ भन्ने विषय पनि अनलाइनबाट सबैले हेर्न सकिन्छ । यसरी हेर्दा हालसम्म दुई प्रकारको बीमालेखको मात्र बीमा भएको देखिन्छ । पशुतर्फ पशुधन र कृषितर्फ तरकारी बालीको मात्र बीमालेख जारी भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले हाललाई २ प्रकारको बीमालेख मात्र सफ्टवेयरमार्फत गर्ने गरेको जानकारी दिए । पशुधनतर्फ हालसम्म ३ हजार ७५३ वटा बीमालेख जारी भएको छ भने तरकारी बालीतर्फ ३३ वटा बीमालेख जारी भएको देख्न सकिन्छ । हालसम्म सबैभन्दा धेरै बीमालेख बागमती प्रदेशबाट जारी भएको छ । बागमतीबाट १ हजार ७१६ वटा बीमालेख जारी हुँदा गण्डकी प्रदेशबाट ७४९ वटा, कोशी प्रदेशबाट ३९६ वटा, लुम्बिनी प्रदेशबाट ३९५ वटा, मधेश प्रदेशबाट ३६९ वटा, कर्णाली प्रदेशबाट १०२ वटा र सुदूरपश्चिम प्रदेशबाट ७७ वटा बीमालेख अनलाइनमार्फत नै जारी भइसकेको छ । अनलाइनमार्फत बीमा गर्न कति सहज ? उक्त सफ्टवेयरको लगइन पहुँच बीमित, अभिकर्ता, बीमा कम्पनी, बीमा प्राधिकरण, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लगायतलाई हुन्छ । अर्थात बीमितले यूजर नेम र पासवर्ड विकास गरेर सफ्टवेयरमार्फत अनलाइनबाट नै बीमा गर्नका लागि आवेदन पेश गर्न सक्छन् । जसका लागि बीमितले बीमा गर्ने पशुधन तथा बालीको पुरा विवरण, फोटो लगायत अपलोड गर्नुपर्ने हुन्छ । माग गरिएको सम्पूर्ण कागजातसहितको फर्म अनलाइनबाट भरेपछि समिट गरेर बीमाको आवेदन पेश गर्न सकिन्छ । त्यहाँ कुन कम्पनीबाट बीमा गर्ने भनेर पनि अप्सन दिइएकाे हुन्छ । यसरी समिट गरेपछि सम्बन्धित बीमा कम्पनीले त्यस पशुधन तथा बालीको बीमा गर्न ठीक छ कि छैन भनेर जाँच गर्छ । ठीक भएको खण्डमा बीमालेख जारी गरिदिन्छ । सुरुमा बीमितले अनलाइनको प्रयोग गर्न नजान्लान् भन्ने प्रश्नहरू पनि आउने गर्थ्याे । तर, पछिल्लो ४५ दिनमा अनलाइनबाट भएको बीमालेख संख्या हेर्दा यो भाष्य गलत सावित पुष्टि भएको सूचना अधिकारी निर्मल अधिकारी बताउँछन् । प्राधिकरणका उपनिर्देशकसमेत रहेका अधिकारीले भने,  ‘हालसम्म २ वटा बीमालेखमात्र अनलाइनमार्फत गर्न सकिन्छ । जबकि कृषि तथा पशुपंक्षी बीमामा २१ भन्दा धेरै प्रकारका बीमालेख छन् । यसरी २ वटा बीमालेखतर्फ नै ४५ दिनमा ५ हजार बढी बीमाको लागि आवेदन आउनु भनेको धेरै राम्रो कुरा हो । बीमितले अनलाइन प्रयोग गर्न जानेनन् भन्न अब मिल्दैन ।’ यस्तै, नेपालमा पहिलो पटक यसरी अनलाइनमार्फत बीमा गर्न सुरु भएकाले केही बीमित, अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीलाई पनि असहज लाग्नु स्वाभाविक भएको उनको भनाइ छ । तर, बिस्तारै अनलाइनतर्फ सबैजना फेमिलियर हुने उनको आशा छ । यस्तै, अनलाइनबाट बीमालेख जारी गर्नका लागि प्राधिकरणले तालिम पनि दिने उनले बताए । माघ महिनाको पहिलो साताबाट देशव्यापीरूपमा तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी रहेको उनले बताए । तालिम विशेषगरी बीमा कम्पनीका कर्मचारीलाई, पालिकाको बीमाका फोकल पर्सनलाई, प्राधिकरणका प्रादेशिक कार्यलयका कर्मचारीलाई दिइने उनले जानकारी दिए । सम्भव भएसम्म बीमितलाई पनि तालिम दिने उनले बताए । यस्तै, बीमा कम्पनीलाई पनि तालिम सञ्चालनका लागि निर्देशन दिने उनले जानकारी गराए । सफ्टवेयरले पारदर्शीता बढ्ने कुन बीमितले कहाँको कति रकमको कुन बीमा कम्पनीसँग बीमा गर्‍यो भनेर सबै डिटेल्स हेर्न मिल्ने भएपछि यसले पारदर्शीता बढाउने सूचना अधिकारी निर्मलको दाबी छ । यसका साथै प्राधिकरण र मन्त्रालयलाई अनुगमन तथा निगरानी गर्न पनि सहज हुनुका साथै सबै डिटेल अनलाइनबाट नै हेर्न मिल्ने भएपछि बीमित र बीमा कम्पनीले जालसाजी गर्ने सम्भावना पनि न्यून रहने उनको भनाइ छ । कृषि र पशुपंक्षीतर्फका सबै बीमालेखमा सफ्टवेयर प्रणाली लागू गर्ने तयारी सफ्टवेयरमार्फत हालसम्म विषयहरूको गहन अध्ययन र विश्लेषणपछि कृषि तथा पशुपंक्षी तर्फका सबै बीमालेख रियल टाइम सफ्टवेयरमार्फत हुने सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । सफ्टवेयरमार्फत गर्न आइपर्ने समस्याहरू के के छन्, तिनको पहिचान गर्ने, सवल पक्षको पनि पहिचान गर्ने, समस्याको समाधानको उपाय खोज्ने र विस्तारै सबै बीमालेखमा सफ्टवेयरमार्फत बीमा गर्ने गरी विश्लेषण गरिने उनले जानकारी दिए । अहिलेको २ वटा बीमालेख ट्रायलको लागि गरिएको भन्दै उनले गहन अध्ययन र छलफलपछि अन्य बीमालेखलाई पनि क्रमश: सफ्टवेयर मार्फत नै गर्ने बताए ।

कुमारी बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानीमा सहकार्य

काठमाडौं । कुमारी बैंकले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवामार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायमा सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीका रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । यस सम्झौतासँगै नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टरअपरेबल क्यूआरलाई अलिपे प्लस नेटवर्कका सदस्यले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् । यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन, सिंगापुरलगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ । त्यस्तै नेपालपे क्यूआरमार्फत व्यवसायीले १४ अन्तर्राष्ट्रिय ई–वालेट र मोबाइल बैंकिङ एप जस्तै अलिपे, अलिपे एचके, तिनाबा, एमपे, टचएन गो वालेट, माईपीबी, हाईपे, जीक्यास, चान्गीपे, ओसीबीसी डिजिटल, काकाओपे, नेभरपे, टोसपे र ट्रुमनीबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसका साथै कुमारी बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले बिहिबार बुढानीलकण्ठकमा रहेको लेमन ट्रि प्रिमियर होटलमा नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेको जिज्ञासाहरूको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराईले स्पष्ट पारेका थिए । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पुर्व अध्यक्षहरू, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरू तथा सेयरधनीहरूको उपस्थिती रहेको थियो । नवौं वािर्षक साधारण सभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिवअशोक सुवेदी तथा स्वागत मन्त्यव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए । नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने निर्णय गरेकाे छ । साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरू नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरू सर्वसम्मतले पारित गरेको थियो ।