काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा २०८१ पुष २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न भयो । सभामा सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षता रहेको थियो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ। साथै, सेयरधनीहरूलाई चुक्ता पूँजीको ३.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि एएच्न् एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण पनि गरेको छ। सञ्चालक समितिबाट नियुक्त दुई स्वतन्त्र सञ्चालकहरूको नियुक्तिलाई अनुमोदन गरिएको छ।
ज्योति क्यापिटल लिमिटेड, ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा, २१ करोड चुक्ता पूँजीसहित सञ्चालनमा रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने अनुमति प्राप्त यस क्यापिटलले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, र संस्थागत परामर्शजस्ता सेवा प्रदान गर्दै आएको छ।
ग्राहकहरूको आर्थिक सम्पन्नताको सहयात्री बन्ने उद्देश्यले अगाडि बढिरहेकोले आफ्नो सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्द रहेको क्यापिटलले जनाएको छ। सभामा पारित निर्णयहरूको प्रभावकारी कार्यान्वयनले कम्पनीको व्यवसायिक उन्नतिलाई गति दिने अपेक्षा गरिएको छ ।