विदेशबाट पठाएको रकम ‘आईएमई पे’ बाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस
काठमाडौं । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ । विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ । आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ । विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।
आईसीएफसी फाइनान्सको ऋणपत्रमा पहिलो दिनमै २ गुणा बढीको पर्यो आवेदन
काठमाडौं । आईसीएफसी फाइनान्सले बुधबारबाट निष्कासन गरेको ऋणपत्रमा मागभन्दा दुई गुणा बढीको आवेदन परेको छ । कम्पनीका अनुसार ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ मा मागभन्दा २ः११ गुणाले आवेदन परेको हो । बुधबार उक्त ऋणपत्रमा २५ करोड २९ लाख ४३ हजारले आवेदन दिएका छन् । कम्पनीले ३० करोड रुपैयाँबराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर- २०८८’ जारी गरेको हो । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ । कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। । बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गरेको हो । सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।
एसियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको वार्षिक बैठक सम्पन्न
काठमाडौं । एसियाली देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको संस्थाको १९औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षक संघ, एफिर र अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंकको वित्तीय स्थिरता संस्थानको संयुक्त आयोजनामा बैठक तथा सम्मेलन सम्पन्न भएको हो । बीमा नियमन सम्बन्धी एसिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक माघ ७ र ८ गते तथा एफिर वार्षिक बैठक तथा सम्मेलन माघ ८ र ९ गते भएको थियो । बैठक तथा सम्मेलनको पहिलो दिन सहभागीहरूलाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एसिया–प्रशान्त क्षेत्रका देशहरूका बीमा क्षेत्रका नियामक निकायहरूको बैठक तथा सम्मेलन नेपालमा आयोजना भएकोमा खुशी व्यक्त गरे । अध्यक्ष दहालले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण आइपर्ने जोखिमबाट पर्ने वित्तीय नोक्सानीलाई सम्बोधन गर्नका लागि एसिया–प्रशान्त क्षेत्रमा साझा बीमा पद्धति विकासको आवश्यकता औंल्याए । कार्यक्रमको सभापतित्व एफिरका अध्यक्ष तथा अष्ट्रेलियाली प्रुडेन्सियल नियमन प्राधिकरणका महाप्रवन्धक पिटर कोहिहागेन तथा वित्तीय स्थिरता संस्थान, अन्तर्राष्ट्रिय सेटलमेन्टका लागि बैंकका अध्यक्ष फर्नाण्डो रेस्टोईले गरेका थिए । दोस्रो दिनको कार्यक्रममा जापानको वित्तीय सेवा एजेन्सका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकास सम्बन्धी विशेष सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिनुभएको थियो । बैठक तथा सम्मेलनमा जलवायु परिवर्तन, प्राकृतिक विपद् र प्रविधिमा भएको विकासका कारण उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न जोखिममा आधारित पूँजी, मूल्य तथा नियमन पद्धतीको विकास र नियामक निकायहरूको भूमिकाका सम्बन्धमा छलफल भएको थियो । एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै प्यारामेट्रिक बीमा र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा छलफल भएको थियो । यसैगरी, विश्वभर तीब्र गतिमा हुँदै आएको आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अन्य प्राविधिक विकासका कारण सिर्जित जोखिमहरूलाई सचेतापूर्वक सन्तुलितरूपमा सम्बोधन गर्न नियामकीय निकायहरूको भूमिका, प्राकृतिक विपद्को जोखिमको वित्तीय रक्षावरणमा एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पद्धतिको विकास, समावेशी बीमा मार्फत जलवायु परिवर्तनका जोखिमलाई अवसरमा बदल्ने सम्भावना लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का कारण सिर्जना हुने जोखिमहरूलाई आगामी दिनमा कसरी सम्बोधन गर्दै अघि बढ्ने भन्ने सम्बन्धमा एसिया–प्रशासन्त क्षेत्रका देशहरू लगायत एसियाली विकास बैंकले कार्यान्वयन गर्दै आएका नविनत् विधि तथा कार्यक्रमहरूका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल लगायत सहभागी देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, नियामक निकायहरूको भूमिका, प्रोटेक्सन ग्याप घटाउने विधि, महाविपत्तिको समयमा सिर्जना हुने जोखिम रक्षावरण लगायतका विषयमा प्रस्तुती गरेका थिए । बैठक तथा सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।