१२ वर्षपछि एकै पटक १३ साधारण सभा, नाम संशोधन गरेर मर्जरमा

काठमाडौं । समस्याग्रस्त संस्था घोषणा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले एकैपटक १३ वर्षको साधारण सभा डाकेको छ । सञ्चालक समितिको माघ ११ गते बसेको बैठकले कम्पनीको १०औं देखि २२औं सम्मको वार्षिक साधारण सभा फागुन ५ गते काठमाडौंमा डाकेको हो । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई २०६९ माघमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता कम्पनीले नियमित साधारण सभा गर्न सकेको थिएन । तर, १२ वर्षपछि भने कम्पनीले एकैपटक १३ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार कम्पनीले वार्षिक साधारण सभा बोलाउनै पर्ने थियो । तर, व्यवस्थापन र सञ्चालक समितिको कमजोरीका कारण हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि साधारण सभा डाकिएको उनको दाबी छ । ‘वर्षैपिच्छे वार्षिक साधारण गर्नुपर्ने भएपनि व्यवस्थापन र सञ्चालक समितिको कमजोरीले लामो समयदेखि हुन सकेको थिएन । राष्ट्र बैंकले दबाब दिएपछि त्यो सम्भव भयो । राष्ट्र बैंकको कानुनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएपछि सभा गर्न लागेका हुन्,’ स्रोतले भन्यो । एकैपटक १३ वर्षको साधारण सभा बोलाएपनि कम्पनीको वित्तीय परिसूचकमा भने सुधार नआएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार कर्जा असुली नभएकाले तत्काल समस्याग्रस्त संस्था घोषणाबाट फुकुवा नगरिने उनले बताए । ‘वित्तीय सूचकहरू जे छ सोहीअनुसार राष्ट्र बैंकले निर्णय गर्छ । क्यापिटल एडुकेसीलगायत केही वित्तीय सूचकहरू आशलाग्दा र सन्तोषजनक छन् । तर, कर्जा असुलीमा राष्ट्र बैंकले गरेको अपेक्षा अनुसार हासिल गर्न सकेको छैन । कर्जा असुली नहुँदासम्म राष्ट्र बैंकले कम्पनीलाई फुकुवा गर्दैन,’ राष्ट्र बैंक स्रोतले विकासन्युजसँग भन्यो, ‘सबै सूचकमा गहन रूपमा हेरिरहेका छौं । उपयुक्त समयमा उचित निर्णय हुन सक्छ । तर, तत्काल कम्पनीलाई समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गर्नुपर्ने अवस्थामा छैन ।’ नीति नियमभित्र रहेर कर्जा उठाउन राष्ट्र बैंकले निर्देशन दिइरहेको उनले बताए । वित्तीय सूचकहरू सन्तोषजनक र तोकेका मापदण्ड पुरा भएपछि समस्याग्रस्त संस्था घोषणाबाट मुक्त गरिने उनको भनाइ छ । सभाले कम्पनीको नाम संशोधन एंव उद्धेश्य थप गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ । साथै उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर तथा गाभिन सम्पत्ति तथा दायित्व कारोबारको मूल्याङ्कन, मर्जर प्रक्रिया अगाडि बढाई प्रारम्भिक तथा अन्तिम सम्झौता लगायत आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । समस्याग्रस्त घोषणापश्चात् कम्पनीले लगानी गरेका कर्जा असुलीमा कम्पनी र ऋणी तथा जमानीकर्ता पक्षबाट गठित कार्यदलबीच भएको दुई पक्षीय तथा वित्तीय संस्था ऋण चुक्ता कार्यदल र राष्ट्रिय समृद्ध आवास विशिष्टीकृत सहकारी संघबीच भएको त्रिपक्षीय (इस्को) सम्झौता अनुमोदन र सम्झौता कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्नेछ । यस्तै, सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी कुल ५ जनाको निर्वाचन गर्नेछ । राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरेपश्चात् सञ्चालक समितिको सदस्यहरूमा भएको हेरफेर, नयाँ सञ्चालक समिति गठन र नयाँ गठित सञ्चालक समितिको हैसियतबाट कम्पनीमा तत्कालीन समयमा भएका कार्यलाई अनुमोदन गर्नेछ । कम्पनीका अनुसार आर्थिक वर्ष (आव) २०६७/६८, आव २०६८/६९ र आव २०६९/७० को एमबि श्रेष्ठ एण्ड कम्पनी, आव २०७०/७१ को गोपाल श्रेष्ठ एण्ड कम्पनी, आव २०७१/७२, आव २०७२/७३ र आव २०७३/७४ को आरएस एण्ड चार्टर्ड एकाउण्टेण्ट्स, आव २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वाग्ले एण्ड एशोसिएटस, आव २०७७/७८, आव २०७८/७९ र आव २०७९/८० को विशाल एण्ड एशोसिएट र आव २०८०/८१ को रिजाल एण्ड एशोसिएटस् चार्टड एकाउन्टेन्टस वाह्य लेखा परीक्षकमा नियुक्त भएका थिए । उनीहरूको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै आव २०६७/६८ देखि आव २०७९/८० सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोट स्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भुषण दाहालसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे । समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मान पत्र गरेका थिए ।

एलआईसी नेपालको अवितिरित ५ लाख कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि करिब ५ लाख कित्ता अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीको सेयर फागुन ५ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको उक्त सेयरमा लगानीकर्ताहरूले एलआईसीको केन्द्रीय कायालय पुतलीसडक, विराटनगर, विरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर मूलय प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।