ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १२ वर्षको अनुभव
काठमाडौं । ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । क्यापिटलको माघ ७ गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसंग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरिन् । नव नियुक्त सञ्चालक श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्न] भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ । केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
एलिट क्यापिटलले चिकित्सकका लागि ल्यायो ‘डक्टर्स पीएमएस’, सेयर बजारमा लगानी गर्न सघाउने
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरूलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा वार्षिक सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ । साथै मुनाफा भएको रकम त्रैमासिक रूपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ । यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई नि:शुल्क बीमा सुविधासमेत प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै सेयर बजारसम्बन्धी नि:शुल्क तालिम र अन्य परामर्श सेवाहरूसमेत नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरूका लागि यो योजना लागू हुने क्यापिटलले जनाएको छ ।