शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा निर्धारण भएको छ । यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ०४ पैसा र बिक्रीदर २० रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ७४ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
नीलम ढुङ्गानालाई किन बोक्यो राससले ?
काठमाडौं । बुधबार साँझ ५ः५१ मिनेटमा राष्ट्रिय समाचार समिति (रासस)मा एउटा ‘व्यक्ति प्रोफाइल’ प्रकाशित आयो । १ हजार ७ सय ३१ शब्दको सो सफलताको कथाको शीर्षक थियो, ‘नीलमको प्रेरणादायी यात्रा : शिक्षिकादेखि डेपुटी गभर्नरसम्म’ । राससका ग्राहक बनेका अधिकांश सञ्चार माध्यमले सो प्रोफाइललाई महत्वका साथ आ-आफ्नो अनलाइन समाचार पोर्टलमा अपलोड गरे । बुधबार नभ्याउने सञ्चार माध्यमले बिहीबार बिहानै सो समाचारलाई प्राथमिकता दिँदै सम्प्रेषण गरे । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको पहिलो डेपुटी गभर्नर नीलम ढुङ्गानाको व्यक्ति प्रोफाइल मिडियाहरुले आ-आफ्नो प्रकृति र उद्देश्यअनुसार ‘स्पेश’ दिए । व्यक्ति प्रोफाइलमा खासै जोड नदिने राससले नीलम ढुङ्गानाको सफलताको कथा बनाएर सार्वजनिक गर्नुलाई धेरैले महत्वकासाथ हेरेका छन्, टिप्पणी गरेका छन् र केही आशंका र अनुमान पनि लगाएका छन् । नीलमको अहिले न नवनियुक्ति हो नत तत्काल राष्ट्र बैंकबाट बाहिरिँदै छिन् । वि.सं २०७७ फागुनमा नेपालको पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलममाथि राससको आँखा चार वर्षपछि मात्रै कसरी पर्यो ? राष्ट्र बैंकमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि छन्, मिश्रलाई वेवास्ता गर्दै राससको नजरमा नीलम कसरी परिन् ? नेपाल राष्ट्र बैंककै गभर्नर महाप्रसाद अधिकारीले राससमा अहिलेसम्म नपाएको स्पेश नीलमले कसरी पाइन् ? अहिले उनी कार्यवाहक गभर्नर बनेको तर्क दिने हो भने पनि उनले यसअघि पनि पटक-पटक सो जिम्मेवारी निर्वाह गरिसकेकी छन् । यी र यस्तै प्रश्न र जिज्ञासा आफैंमा अनुत्तरित छन् । तर, सरकारी स्वामित्व रहेको राससको आँखामा नीलम पर्दा धेरैको चासो बढेको छ । अहिले नेपाल राष्ट्र बैंक नयाँ नेतृत्वको पर्खाइमा छ । हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकार नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । गभर्नर अधिकारीको कार्यकाल दोहोरिने सम्भावना लगभग समाप्त भइसकेको छ । त्यसैले पनि दुई दर्जन व्यक्ति गभर्नर बन्न लबिङ गरिरहेका छन् । त्यो लबिङको बिचमा राष्ट्र बैंकभित्रकै क्याडरहरु पनि लागेका छन् । अहिलेका डेपुटी गभर्नर नीलम ढुङ्गाना र बमबहादुर मिश्र पनि गभर्नर बन्ने दौडमा छन् । अधिकारीले नयाँ गभर्नर नियुक्तिको विषयलाई सहजीकरण गर्नका लागि उनी विदामा बसिसकेका छन् । त्यसैले पनि वरिष्ठताका हिसाबले नीलमलाई अधिकारीले कार्यवाहक गभर्नरको जिम्मेवारी दिँदै आफू घरमा आराम गरिरहेका छन् । यही समयमा राससले नीलमको व्यक्ति प्रोफाइल सार्वजनिक गरेर उनको थप मार्केटिङ गरेको छ । उसो त नीलम पनि अहिले काम गरेर अफिसमै बस्न सक्ने अवस्थामा नरहेको राष्ट्र बैककै कार्यकारी निर्देशकहरु बताउँछन् । अहिले नीलमको अधिकांश समय राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्नमै बित्छ । विशेष गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली काँग्रेसका शीर्ष नेताहरुसँग उनले नियमित भेटघाट गरिरहेकी छन् । अर्का डेपुटी गभर्नर मिश्र पनि नेताहरुको घैरदैलोमै व्यस्त छन् । राष्ट्र बैंक स्रोतका अनुसार दुवै जना डेपुटी गभर्नरको समय अहिले राष्ट्र बैंकभन्दा पनि नेताहरुको घरदैलोमै बितिरहेको छ । यही समयमा सरकारी स्वामित्व रहेको राससमा आफ्नो सफलताको कथा छपाएर नीलमले बजारमा नयाँ सन्देश सम्प्रेषण गरेकी छन् । राससमा प्रधानमन्त्री तथा मन्त्रीहरुको सफलताको कथाले बिरलै पाउने स्पेश नीलमले सहजै पाएकी छन् । केही दिनअघि एउटा सञ्चार माध्यमले निलम स्वार्थ समूहको उम्मेद्वार बनेको विषय प्रकाशन गरेपछि नीलमको अहिले राष्ट्र बैंकभित्र मात्रै होइन, राजनीतिक बृत्तमा पनि यो विषयको चर्चा हुने गरेको छ । सो विषय बाहिरिएको केही दिनमै उनले आफ्नो सफलताको कथा राससलाई सुनाएर मिडिया-मिडियामार्फत आफ्नो गुनगान गाउन लगाएकी छन् । उनले सो सफलताको कथामा राष्ट्र बैंकमा प्रवेश गर्दै गर्दा गभर्नर बन्ने सपना नभएको भए पनि अहिले भने आफू गभर्नरका लागि सक्षम रहेको सन्देश प्रवाह गरेकी छन् । राससले उनको सफताको कथामा ‘वरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगानाका अगाडि नेपालको पहिलो पटक महिला गभर्नर बन्ने सम्भावनाले पछ्याइरहेको’ उल्लेख गरेको छ । उनी वरिष्ठ डेपुटी गभर्नर भएकोले पनि उनी स्वतः गभर्नर बन्न सक्ने र नेपाल राष्ट्र बैंकको ऐनमै गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा डेपुटी गभर्नर पनि हुनुपर्ने व्यवस्था भएकोले निलम गभर्नर बन्ने बलियो र प्रबल क्यान्डिडेट भएको तर्क राससले राखेको छ । ‘करिब तीन दशकको यस यात्रामा मैले बैंकमा गरेको मिहिनेत, योगदान र अहिले वरिष्ठ डेपुटी गभर्नरका रूपमा र धेरै पटक कायममुकायम गभर्नरका रूपमा सफलतापूर्वक र सक्रियतापूर्वक निर्वाह गरेका जिम्मेवारीहरूलाई नियाल्ने हो भने गभर्नरका रूपमा काम गर्न सक्छु भन्ने पुष्टि हुन्छ,’ उनले रासससँग भनेकी छन् । गभर्नरका लागि दुई दर्जन उम्मेद्वार र अर्का डेपुटी गभर्नर मिश्रसँगै राष्ट्र बैंकभित्रकै केही कार्यकारी निर्देशक पनि गभर्नर बन्ने प्रतिस्पर्धामा भइरहेको बेला अनपेक्षित रुपमा सरकारी मिडिया राससले बेमौसमी सफलताको स्वाद चखाएर बजारमा अर्को नयाँ चर्चा र संशय सिर्जना गरेको छ ।
पाएको जागिर इन्कार, घरमै बसेर तीन महिना सीईओ
काठमाडौं । गोर्खाज फाइनान्सको गत पुष १४ गते बसेको सञ्चालक समिति बैठकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भए प्रकाशचन्द्र अधिकारी । पुष १८ गतेदेखि लागू हुने गरी अधिकारीलाई कम्पनीले ४ वर्षको लागि सीईओमा नियुक्त गरेको थियो । तर, सीईओमा नियुक्त भएको तीन महिनामै अधिकारीको नियुक्ति खारेज भयाे । अधिकारीलाई सीईओमा नियुक्त गर्दा सञ्चालक समितिको सर्वसम्मतबाट निर्णय नभएकोले कार्य गर्न असमर्थ रहेको भन्दै अधिकारीले निवेदन दिएपछि सीईओ नियुक्ति रद्द गरिएको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मुकुन्द श्रेष्ठले जानकारी दिए । कामु सीईओ श्रेष्ठका अनुसार सञ्चालक समितिको चैत्र ६ गते बसेको बैठकले अधिकारीको सीईओ नियुक्तिलाई खारेज गरिएको र सो सम्बन्धमा कुनै सम्झौता नगरिने निर्णय भएको छ । ‘उहाँको निवदेनअनुसार रद्द गरिएको हो । सञ्चालक समितिमा सर्वसम्मत निर्णय भएन । सर्वसम्मत नहुँदा काम गर्न नसक्ने भनेर निवेदन दिनु भएपछि नियुक्ति रद्द गरिएको हो । उहाँको निवेदन सम्बोधन भएको मात्रै हो,’ कामु सीईओ श्रेष्ठले भने । कम्पनीको सञ्चालक समिति अध्यक्ष गौरव बुढाथोकीले सर्वसम्मति हुन नसकेपछि बहुमत प्रक्रियाबाट सीईओ नियुक्त गरिएको बताए । तर, संस्थाको हितका लागि सञ्चालकहरूमा सर्वसम्मति नै हुनुपर्ने माग राखेपछि नियुक्ति प्रक्रिया रद्द गरिएको उनको भनाइ छ । ‘सञ्चालक समितिले सीईओ नियुक्ति प्रक्रिया अपनाउनुपर्छ । सर्वसम्मतिले प्रकाशजी नियुक्त हुन सक्नु भएन । सर्वसम्मतले नियुक्त नभएपछि बहुमतबाट अधिकारीलाई नियुक्ति गरिएको हो । प्रक्रिया अनुसार सर्वसम्मत कि बहुमत प्रक्रिया अपाइएको हो,’ उनले भने, ‘नियुक्त भएपछि सबै सञ्चालकहरूसँग मिलेर काम गर्नुपर्ने हुन्छ । सञ्चालक समितिले बनाएको नीति नियममा व्यवस्थापनले कार्यान्वयन गर्नुपर्छ । सर्वसम्मत हुन नसक्दा प्रकाशजीले म काम गर्न सक्दिनँ भनेपछि उहाँ बाहिरिनु भयो ।’ अध्यक्ष अधिकारीका अनुसार ५ जना सञ्चालक समितिमा ३ जनाको बहुमत थियो । २ जना सञ्चालकले भने उनको नियुक्तिविरुद्ध सहमति जनाउन सकेनन् । बहुमत विधिबाट जितको सन्देश गएपनि कहिलेकाहीँ संस्थाले हार्न सक्छ । अधिकारी कम्पनीको सीईओमा नियुक्त भएपनि सपथ भने नलिएको उनले बताए । ‘संस्थाले जित्नुपर्छ । वित्तीय संस्थाको अवस्था राम्रो छैन । सीईओ नियुक्ति नभएको लामो समय भइसक्यो । कसरी अगाडि बढ्ने, कसरी प्रतिफल हासिल गर्ने, कमाउने कसरी भन्ने विषयमा हामी द्रूत गतिमा जाने तयारीमा छौं,’ उनले भने, ‘उहाँ नियुक्त भएपनि तलब भत्ता केही लिनु भएन । करार नै गरिएन । सपथ नै खुवाइएन । नियुक्तिको सूचना मात्रै जारी भयो । नेपाल राष्ट्र बैंकले निरीक्षण गरिसकेपछि हामी सबै ‘पर्ख र हेर’को अवस्थामा थियौं । तर, हालसम्म केही आएको छैन ।’ संस्थामा कार्यकारी प्रमुख नहुँदा संस्था चलाउन गाह्रो हुने गरेको बताउँछन् । कम्पनीलाई संस्थागत सुशासनमा सञ्चालन गर्ने र सेयरधनीलाई लाभांश पाउने अपेक्षा सधैं भइरहने उनले बताए । कम्पनीले गत पुस २९ गते ३०औं वार्षिक साधारण सभा बोलाएको थियो । तर, आवश्यक गणपूरक संख्या नपुगेपछि साधारण सभा स्थगित छ । कम्पनीमा नयाँ सीईओ नियुक्त भइसकेपछि छिट्टै स्थगित साधारण सभा बोलाउने उनको भनाइ छ । साथै कम्पनीले सीईओ नियुक्ति प्रक्रिया पनि अघि बढाइसकेको उनले जानकारी दिए । ३ महिनाअघि कम्पनीको सीईओमा नियुक्त भएका अधिकारी एक दिन पनि कार्यालयन गएनन् । सञ्चालक समितिले सीईओ नियुक्त गरेको र खारेज गरेको जानकारी पाएपनि चिनजान र भेटघाट गर्न नपाएको कम्पनीका एक कर्मचारीले विकासन्युजसँग बताए । ‘नियुक्त गर्यो भन्ने सूचना देखें । तर, उहाँ एक दिन पनि काम गर्न आउनु भएन । उहाँ र मेरो चिनजान नै भएन । चिनजान नै गर्न पाइएन । अफिस नै आउनु भएन,’ एक कर्मचारीले भने, ‘सञ्चालक समितिले एकतर्फीरुपमा निर्णय गरेको र सहमति नभएपछि उहाँ बाहिरिनु भएको हो भन्ने सुनेको थिएँ ।’ अब कम्पनीको सीईओ इन हाउसबाटै ल्याउनुपर्ने उनले माग गरे । कम्पनीमा कार्यरत कर्मचारीहरू सक्षम रहेकाले आन्तरिक रूपमा नै सीईओ नियुक्त गर्नुपर्ने माग कर्मचारीहरूको छ । यस विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाबाटै विभिन्न कैफियतसहित उजुरी परेपछि सीईओ नियुक्तकाे विषयमा अगाडि बढ्न आवश्यक नभएको बताएको छ । राष्ट्र बैंकले यो विषयमा अहिले पनि निरीक्षण तथा अनुसन्धान भइरहेकोले बढी बोल्न आवश्यक नभएको जानकारी दिएको छ । को हुन् अधिकारी ? प्रकाशचन्द्र अधिकारी एनआईसी एशिया बैंकका पूर्वकर्मचारी हुन् । तत्कालीन कमर्स एण्ड ट्रस्ट बैंक नेपाल र नेपाल बैंकमा काम गरिसकेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि टप थ्रीकाे सूचीमा परेका उनले नेपाल बैंकको माथिल्लो तहबाट बाहिरिएका थिए ।