स्वावलम्बनद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा आयोजित ‘विद्यार्थीहरुसंग वित्तीय साक्षरता तथा वातावरण संरक्षण’ कार्यक्रम सम्पन्न भयो । काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । यूवा तथा विद्यार्थीहरुमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखु, काठमाडौंले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको र प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम र ३ शुन्य कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए । उक्त अभिमूखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारीहरु लगायत अभिभावकहरुको समेत सहभागीता थियो । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि. कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र ९ वटा ईलाका कार्यालयहरु मार्फत करीव २ लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ्ग/वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।
हिमालयन बैंकमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्ने
काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । बैंक तथा कोष बीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्नेछन् । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खाता मार्फत प्रतिबद्धता जनाउन सक्ने बैंकले बताएको छ ।