स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरु प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन् ।

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, १० हजार लाभान्वित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ नारासहित सञ्चालन गरेको थियो । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो । विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।