नेको इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन रहेको छ । फागुन ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रदमा आज खरिद गर्ने अन्तिम दिन हो । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनस्को हकप्रद सेयमार आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै नेको इन्स्योरेन्सको केन्द्रीय कार्यालय तथा क्षेत्रिय कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले सेयरमा आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, सेती महाकाली ट्रक यातायात व्यवसायी संघका ट्रकहरूको मोटर बीमा अब सलिको इन्स्योरेन्सले गर्नेछ । सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका हुन् । यस अवसरमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु र शाखा प्रमुख हेमन्त लामिछाने लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो । सम्झौताले सेती महाकाली ट्रक यातायात व्यवसायी संघका सवारी साधनहरूको बीमा प्रक्रियालाई थप सरल, सहज र शीघ्र बनाउने वाचा गरेको छ । भविष्यमा कुनै दाबी परेमा, बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रिया सरल बनाउनेछ ।
विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्ता खरिद गर्न सकिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५१ हजार २९२.५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था बमोजिम सर्वसाधारणलाई एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पुँजी ८ करोड ४३ लाख ४० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा चैत २६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा २०८२ बैशाख ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।