सहकारी र लघुवित्त पीडितहरूको फेरि प्रदर्शन, वित्तीय शोषण अन्त्यको माग
काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले समग्र वित्तीय शोषणको अन्त्यको माग गर्दै मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्याली गर्दै सरकार र राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘पीडितको वचत अपचलन गर्ने ठगहरू विश्वासघाती’, ‘सात पुस्ते सम्पत्ति जफत गर’, ‘सहकारीको पौने तीन खर्ब रुपैयाँ कसले खायो ?’ लगायतका प्लेकार्डहरू बोकेर नारा लगाएका थिए । प्रदर्शनमा सहभागी पीडितहरूले सहकारी संस्थाको प्रभावकारी अनुगमन, नियमन र नियन्त्रण नभएको भन्दै सरकारलाई 'नालायक' भन्दै आलोचना गरे। उनीहरूका अनुसार सहकारी, लघुवित्त र मिटरब्याजका नाममा देशभर हजारौं सर्वसाधारण ठगिएको र अझैसम्म न्याय नपाएको अवस्था छ। यसअघि सोमवार पनि उनीहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म र्याली गर्दै आन्दोलित आवाज सुनाउन प्रयास गरेका थिए। पीडितहरू आफ्नो लगानी फिर्ता गरिदिन र जिम्मेवार निकायहरूलाई कडाइका साथ कारबाही गर्न सरकारसँग माग गरिरहेका छन् ।
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’, लकर शुल्कमा २५ प्रतिशत छुट
काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुवात गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोणअनुरुप यस बचत खाता सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदरबाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ । बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रवर्द्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्यअनुकूलका कार्यक्रमहरूमा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रूपमा औसतमा ५० हजार रुपैयाँ राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ । यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यो खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ आवश्यक पर्ने बताइएको छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ । त्यसका साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवर्द्धन हुने बैंकले जनाएको छ । त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइनेछ । नबिल बैंकले दिगो बैंकिङको क्षेत्रमा अग्रपंक्तिमा रहँदै वातावरणीय, सामाजिक तथा सुशासन सिद्धान्तलाई आत्मसात् गर्दै आएको छ । ‘नबिल दिगो बचत खाता’को सुरुवातसँगै ग्राहकहरू आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।
इन्फिनिटी लघुवित्तको डिजिटल कारोबार सुरू, अब कर्जा भुक्तानी सदस्यको खातामै
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले अब कर्जा, तलब, भेण्डर भुक्तानी लगायतका सबै प्रकारका भुक्तानीहरू सिधै लाभग्राहीको बैंक खातामा पठाउने सुविधा सुरू गरेको छ । संस्थाले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणाली आफ्नो आन्तरिक प्रणालीमा एकीकृत गर्दै डिजिटल कारोबारको नयाँ अध्याय प्रारम्भ गरेको हो । यससँगै इन्फिनिटी एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त संस्था बनेको छ । अब इन्फिनिटीले एनसीएचएलको आइपीएस र आरपीएस प्रणालीमार्फत बचत संकलन, कर्जा किस्ता तिर्ने, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका सबै प्रकारका भुक्तानीहरू डिजिटल रूपमा गर्न सक्नेछ । साथै शाखाहरूमा रहेको रकमलाई केन्द्रमा सजिलै ल्याउन सक्ने (सेन्ट्रलाइज गर्न सकिने) प्रणाली पनि यसमा समावेश छ । एनपीआइ प्रणाली ओपन एपीआई अवधारणामा आधारित एकीकृत भुक्तानी इन्टरफेस हो, जसमा हालसम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा आबद्ध छन् । साथै, १०० भन्दा बढी गैर–बैंकिङ संस्था प्राविधिक सदस्यका रूपमा सहभागी छन् । २०७३ सालमा स्थापना भएको इन्फिनिटी लघुवित्तले ४८ जिल्लामा फैलिएको ९६ शाखाहरूमार्फत १ लाखभन्दा बढी घरधुरीहरूमा वित्तीय सेवा पुर्याउँदै आएको छ । निम्न आय वर्गलाई लक्षित गर्दै बचत, ऋण, रेमिट्यान्स र माइक्रो बीमा सेवा प्रदान गर्दै आएको इन्फिनिटीले प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको छ ।