संखुवासभा र भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो कृषि बीमा सचेतना कार्यक्रम
काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू सम्पन्न भएका छन् । चैत्र १७, १८ र १९ गते सम्पन्न कार्यक्रमहरू क्रमशः पौवादुङमा गाउँपालिका वडा नं. १, कृषि ज्ञान केन्द्र भोजपुर, र पाँचखपन नगरपालिकामा आयोजित गरिएका थिए । कार्यक्रमहरूको उद्देश्य कृषकहरूलाई कृषि तथा पशुपंक्षी बीमा, दाबी प्रक्रिया, बीमा सफ्टवेयर प्रणाली र अभिकर्ता तथा प्रविधिकहरूको भूमिकाबारे जानकारी प्रदान गर्नु थियो । संखुवासभाको कार्यक्रम कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा कृषि विभाग प्रमुख उमेश ढकालले बीमाको प्रक्रिया, क्षतिपूर्ति र नयाँ सफ्टवेयर प्रणालीबारे विस्तृत जानकारी दिएका थिए । यस्तै, भोजपुरको कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ र कृषि ज्ञान केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता रह्यो । तीनै कार्यक्रमहरूमा १५० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बीमा आवश्यक रहेको भन्दै यस्तो कार्यक्रमले बीमा प्रणालीप्रति विश्वास बढाएको प्रतिक्रिया दिएका थिए ।
३५ अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब खिच्ने तयारी गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले चैत २५ गते बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २३ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा चार अंकसम्म उल्लेख गर्न राष्ट्र बैंकले भनेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले पटकपटक तरलता खिच्दै आएको छ । राष्ट्र बैंकले चैत २० मा २१ दिनका लागि ३० अर्बको तरलता खिचेको थियो भने चैत १७ मा २१ दिनकै लागि २५ अर्बको तरलता खिचेको थियो । त्यसअघि चैत १३ मा ३० अर्ब, चैत १० मा २० अर्ब, चैत ६ मा २५ अर्ब, चैत ३ मा ४० अर्बको तरलता खिचेको थियो ।
स्वास्थ्य बीमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए । 'स्वास्थ्य बीमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको देखिँदैन,' उनले भने, 'चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा रु एक अर्ब रकम रहेको छभने भुक्तानी दिनुपर्ने रकम १६ अर्ब ४५ करोड छ । यस्तो आम्दानी र खर्च बीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको छ । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ तर प्राप्त हुने रकम स्वीकृत बजेटकोे एक तिहाइ मात्र हुने देखिन्छ ।' काफ्लेका अनुसार स्वास्थ्य बिमा कोषमा बढ्दो दायित्व र प्रत्येक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख भुक्तानी दिँदै आएको छ । कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहन बापत बर्सेनि करोडौं भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उनको भनाइ छ । 'सेवा प्रदायकलाई भुक्तानी दिने रकम मासिक करिब दुई अर्ब थपिने गर्दछ । अन्य प्रशासनिक खर्च पनि नियमित ढङ्गबाट बढेको देखिन्छ । यसबाट स्वास्थ्य बिमा कोषमा आम्दानी र खर्चबीचको अन्तर निरन्तर बढ्दै गएको छ,' काफ्लेले भने, 'बेरुजु बढ्दो छ । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षणको अवधिसम्म बोर्डको बेरुजु रु दुई अर्ब ८५ करोड २४ लाख ८९ हजार ४९५ रहेको छ । बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु आफैमा चुनौतीपूर्ण छ । बेरुजु फर्स्यौट गर्नेतर्फ थप मेहनत गर्नुपर्ने देखिन्छ ।” उनले स्वास्थ्य बिमामा प्रतिपरिवारले गर्ने औसत प्रिमियम भुक्तानी रु तीन हजार ८०० रहेको भन्दै स्वास्थ्य बिमाबाट प्रतिपरिवारले लिएको सेवाको औसत भुक्तानी रु आठ हजार ३५० देखिएको बताए । सेवा लिनेको दरमा समानता, कुल सङ्ख्यामा असमानता रहेको काफ्लेको भनाइ छ । उनका अनुसार प्रदेशमा रहेका बीमितमध्ये आर्थिक वर्ष २०७८÷७९ मा कोशी र बाग्मती प्रदेशमा स्वास्थ्य सेवा लिने ४२ प्रतिशत, गण्डकीमा ३६ प्रतिशत, लुम्बिनीमा ३४ प्रतिशत थिए भने मधेसमा २६ प्रतिशत, कर्णालीमा ३४ प्रतिशत र सुदूरपश्चिममा २५ प्रतिशत रहेका थिए । उक्त दर आर्थिक वर्ष २०८०÷८१ मा क्रमशः कोशीमा ४६, बाग्मती र गण्डकीमा ४४, लुम्बिनीमा ३९, मधेसमा २९, कर्णालीमा ५४ र सुदूरपश्चिममा ४० प्रतिशत रहेको छ । काफ्लले आर्थिक तथा सामाजिक दृष्टिमा पछाडि परेका प्रदेशहरूमा बिमामा सहभागिता निकै कम रहेकाले त्यहाँ सेवा लिनेको सङ्ख्या पनि निकै कम र यसैगरी उक्त प्रदेशका बहुसङ्ख्यक नागरिक स्वास्थ्य बिमामा समेटिन बाँकी रहेको बताए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा विस्तार भएको छ । 'कार्यक्रम लागू भएदेखि हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बिमामा आबद्ध भएका छन् । आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा क्रियाशील बीमितको सङ्ख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ जुन कुल जनसङ्ख्याको २० प्रतिशत हो,' उनले भने, 'जसमध्ये सामान्य क्रियाशील बीमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत रहेका छन् । क्रियाशील बीमितको सङ्ख्या विश्लेषण गर्दा अझै पनि बहुसङ्ख्यक अर्थात् ८० प्रतिशत नागरिकलाई समेट्न थप मेहनत गर्नुपर्ने देखिन्छ ।'