नेपाल बैंक लिमिटेड र भक्तपुर इन्टरनेशनल हस्पिटलबीच छुट सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचार सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई संस्थाबीच सम्झौता भएको छ । यस सम्झौताअनुसार, बैंकका कर्मचारीहरू र खाता भएका ग्राहकहरूले अस्पतालका विभिन्न सेवाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । नेपाल बैंक लिमिटेडका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यस सम्झौताले बैंकका कर्मचारीहरू र ग्राहकहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच बढाउने विश्वास लिइएको छ । नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरूको स्वास्थ्य र कल्याणप्रति प्रतिबद्धता जनाउँदै यस्ता साझेदारीहरू गर्दै आएको छ ।
रोयल मर्चेन्ट बैंकिङः अदालतको फैसला कानुनसम्मत नभएको भन्दै पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी ३ करोड ८७ लाख ९४ हजार ७२४ रुपैयाँ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छवि रमण अधिकारी, साबिक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको थियो । उक्त फैसला कानुनसम्मत नभएको दाबीसहित आयोगले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सोही फाइनान्स कम्पनीका लागि नागरिक लगानी कोषका सञ्चालक छवि रमण अधिकारी, अध्यक्ष वसन्त मल्लका हकमा विशेषले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादीहरु मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मुद्दामा पनि विशेषले गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । बैंकिङ प्रक्रियाविपरीत गएर उनीहरूले ११ लाख ५४ हजार ७०८ रुपैयाँ बराबर कर्जा प्रवाह गरेको अभियोगमा उनीहरू विरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दामा २०८० फागुन १० गते विशेषले फैसला गरेको थियो । आयोगले सो ऋण प्रवाहका सम्बन्धमा विभिन्न १२ वटा मुद्दा दायर गरेको थियो । सबै मुद्दामा विशेषले गरेको फैसला कानुनसम्मत नभएको पाइएको भन्दै आयोगले बिहीबार सामूहिक रूपमा नै पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
घर किन्दै हुनुहुन्छ ? महालक्ष्मी विकास बैंकले ल्यायो ७.९९ प्रतिशतमा घर कर्जा
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा महालक्ष्मी विकास बैंकले ग्राहकहरूका लागि आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले घर खरिद, निर्माण, पुनर्निर्माण वा अपार्टमेन्ट खरिदका लागि ७.९९ प्रतिशत मात्र ब्याजदरमा ‘महालक्ष्मी घर कर्जा’ योजना ल्याएको हो । बैंकले यस कर्जालाई वातावरणमैत्री घर निर्माणलाई प्राथमिकता दिँदै, नवीकरणीय तथा दिगो स्रोतहरूको प्रयोग हुने घरहरूमा कर्जा प्रवाह गर्ने जनाएको छ । यसले वातावरण संरक्षण, दिगो विकासको प्रवर्द्धन र नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशिका पालना गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन बिजनेस कनेक्ट बाट ‘ग्राहक केन्द्रित बैंक’ को अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेको बैंकले आफ्नो मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ लाई परिष्कृत गर्दै थप स्मार्ट सेवा प्रदान गरिरहेको छ ।