राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार 'क' वर्गका वाणिज्य बैंकहरूमा ७७ करोड ६० लाख, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा १४ करोड ५५ लाख र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिनेछ । उक्त लगानी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म, अर्थात् ३६६ दिनका लागि हुनेछ । इच्छुक संस्थाहरूले आवेदन आगामी ३ वैशाख साँझ ७ बजेसम्म दिनुपर्नेछ । निक्षेपको लागि योग्यता प्राप्त बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्नेछ, जसमा कम्तीमा दुई वर्षको सञ्चालन अवधि, निर्धारित पूँजीकोष, न्यूनतम तरलता, सीमित निष्क्रिय कर्जा, तथा विगतमा कारबाहीमा नपरेको अवस्था हुनुपर्नेछ ।
प्रभु क्यापिटलको २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक, लगानी र साक्षरतामा जोड
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सांस्कृतिक र वित्तीय सन्देश समेटिएको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनुमोदित तिथि, सार्वजनिक बिदा, चाडपर्व, नेपाली–अंग्रेजी मिति, साथै प्रभु क्यापिटलका सेवा र सुविधाहरू समावेश गरिएको छ । डिजिटल माध्यममार्फत डाउनलोड र क्युआर कोड स्क्यान गरेर सजिलै पहुँच पाउने गरी क्यालेन्डर उपलब्ध गराइएको छ । प्रभु क्यापिटलले ग्राहकहरूलाई वित्तीय साक्षरताको सन्देश दिनका साथै आफ्नो सेवाबारे जानकारी दिने उद्देश्यले क्यालेन्डरलाई आकर्षक ढंगमा प्रस्तुत गरेको जनाएको छ । कम्पनीको साँचो पहिचान कर्मचारी हुन् भन्ने सोच अनुरूप, क्यालेन्डरमा कर्मचारीहरूकै माध्यमबाट सेवा र योजनाहरू प्रस्तुत गरिएको छ । नेपाली चाडपर्वमा उपहार दिने परम्परालाई आधुनिक सोचसहित विस्तार गर्दै, क्यापिटलले भविष्य केन्द्रित वित्तीय साधनहरू उपहार दिन प्रोत्साहन गरेको छ । जसले लगानी बढाउने, वित्तीय सुरक्षा दिने र समृद्ध भविष्यतर्फ उन्मुख गराउने सन्देश दिन्छ । कम्पनीका अनुसार क्यालेन्डरमा सांस्कृतिक झल्को दिने चित्रहरू र वित्तीय जानकारीलाई सँगै प्रस्तुत गरिएको छ । जसले परम्परा र प्रविधिको सशक्त संयोजन दर्शाउँछ । प्रभु क्यापिटलको यो डिजिटल क्यालेन्डर केवल समयको सूचक मात्र नभई वित्तीय चेतना, संस्कृतिको सम्मान र प्रविधिको प्रयोगको सफल उदाहरण बनेको छ । यसले ग्राहक तथा सर्वसाधारणलाई लगानीप्रति सचेत बनाउँदै, डिजिटल पहुँचमार्फत सुलभ र सन्देशमूलक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
कुमारी, सानिमा र नेपाल बैंकले घटाए ब्याजदर, एभरेष्टले बढायो
काठमाडौं । तीन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले घटाएको छ । विसं २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । कुमारी बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा ०.०९ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, सानिमा बैंकले ०.१ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ५.१५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत कायम राखेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले ०.६१ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ६.६१ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । साथै बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.९७ प्रतिशत र संस्थागततर्फ ४.३६ प्रतिशत कायम छ ।