सगरमाथा आरोहणअघि पर्वतारोही शेर्पालाई लुम्बिनी विकास बैंकद्वारा ब्यानर हस्तान्तरण
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। सगरमाथाको ३१औं सफल आरोहणको तयारीमा रहेका शेर्पालाई बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले विशेष कार्यक्रमका बीच ब्यानर हस्तान्तरण गरेका हुन् । कामी रिता शेर्पाले यसअघि २ पटक सगरमाथाको चुचुरोमा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर पुर्याइसकेका छन् । शेर्पा बैंकसँग दुई दशकभन्दा लामो समयदेखि 'निरन्तर सहयात्रा' गर्दै आएका ग्राहक हुन् । उनले यो किर्तिमानी आरोहण आफ्नो मात्र नभई सम्पूर्ण शेर्पा समाज र नेपालको गौरवको रूपमा रहेको बताए । बैंकले कामी रिता शेर्पाको साहसिक कार्यले संस्था मात्र होइन, देशको प्रतिष्ठा समेत उच्च बनाउने विश्वास व्यक्त गरेको छ ।
एनआईसी एशिया बैंकको नयाँ वर्षको उपहार योजना : मोबाइल टपअपमा जित्न सकिन्छ आइफोन १६
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्टसँगको सहकार्यमा 'नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६' योजना घोषणा गरेको हो । यस योजनाअन्तर्गत सहभागी हुन इच्छुक ग्राहकले एनआईसी एशिया मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ । वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो योजनामा सहभागी ग्राहकहरुमध्येबाट गोलाप्रथामार्फत एक जना भाग्यशाली विजेता छानिनेछ, जसलाई बैंकले आइफोन १६ उपहारस्वरूप प्रदान गर्नेछ । बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नयाँ वर्ष २०८२ ले ग्राहकमा थप खुसी, उत्साह र उमंग ल्याओस् भन्ने कामनासहित, यस योजनाले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ आत्मीय, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास लिएका छौं ।'
सिटिजन्स बैंकले रक्षा नेपाललाई गर्यो सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाको संरक्षणमा सक्रिय संस्था रक्षा नेपाल लाई सहयोग गरेको छ । बैंकले यौन शोषण, बेचबिखन र यौन हिंसाको जोखिममा परेका महिला तथा बालबालिकाको सुरक्षामा क्रियाशील रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड प्रदान गरेको हो । रक्षा नेपाल दुई दशकभन्दा बढी समयदेखि हिंसामा परेका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षा, पुनर्स्थापना, सीप विकास, शिक्षा, कानुनी सहयोग, आत्मरक्षा तालिम तथा आत्मजागरूकता कार्यक्रममार्फत आत्मनिर्भर बनाउन क्रियाशील छ । बैंकद्वारा आयोजित समारोहमा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो । सहयोग प्राप्त गरेपछि संस्थाका प्रतिनिधिहरुले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले आगामी दिनमा पनि महिला तथा बालबालिकाको अधिकारका पक्षमा कार्य गर्न थप हौसला मिलेको प्रतिक्रिया दिए । बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा गर्व महसुस गरेका छौं । यस्ता कार्यले संस्थाको सञ्चालनमा केही सहजता ल्याउने विश्वास लिएका छौं ।' सिटिजन्स बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने कार्यक्रमहरू संचालन गर्दै जाने योजना रहेको जनाएको छ।