राष्ट्रिय बीमा कम्पनी र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरबिक्रम रायमाझि र गाँउपालिकाका अध्यक्ष युवराज कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौतामा गाँउपालिका भित्र रहेका विभिन्न किसान तथा पशुपालकहरुको बाली तथा पशुधनको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गाँउपालिका मार्फत गर्ने व्यवस्था गरिएको छ । यस सम्झौता मार्फत गाँउपालिकाका गाँउबासीहरुको बाली तथा पशुधन बीमाको अतिरिक्त विभिन्न प्रकारका निर्जीवन बीमा लेखहरु समय समयमा गाँउपालिकाको कार्यालयबाटै पाउने छन् । साथै, आवश्यकता अनुसार गाँउबासीहरुलाई समय सापेक्ष बीमा ज्ञान र चेतना अभिवृद्धिका कार्यक्रम तथा सेमिनारहरु दुबै पक्षले गर्ने सहमति पत्रमा जनाइएको छ । राष्ट्रिय बीमा कम्पनीका बजार बिज्ञ सुकल्याण पराजुलीले बीमा शुल्कमा सरकारले उपलब्ध गराएको अनुदान एकातर्फ प्रयोग हुन नसकेको र अर्को तर्फ कृषकहरु कृषि र पशुपालन पेशाबाट विस्तापित हुने अवस्था सृजना भएकोले किसानहरुलाई सचेत गर्दै सरकारी अनुदानको उपयोग गर्दै आर्थिक रुपमा किसानलाई सुरक्षित गर्नु सम्झौताको मूल उद्धेश्य रहेको बताए । त्यस्तै, अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउबासीको हितको लागी विभिन्न कार्यक्रम लागु गर्ने क्रममा सरकारी स्वामित्वको बीमा कम्पनीलाई सहयात्री बनाएर गाँउबासीको जोखिम व्यवस्थापन गर्न लागेको बताए । साथै, उनले आवश्यक परे कृषि र पशुधन बीमामा थप अनुदान दिन गाँउपालिका तयार रहेको र आजैबाट गाँउपालिकामा पशु गणना गर्न थालिएको जानकारी दिएका छन् ।
अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स दोस्रो वर्षमा प्रवेश, साढे ५३ करोड बीमा शुल्क संकलन गर्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको एक वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् । चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखा विस्तार गर्नेे र जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने उनले जानकारी दिए । त्यसैगरि कम्पनीले आगामी दिनमा सबैको लागि पहुँच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पुरा गरि सर्वसाधारणका लागि सेयर जारी गरिने समेत बताएको छ । ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना बनाएको छ । कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ५३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।