महिला उद्यमशीलता प्रवर्द्धनमा लक्ष्मी सनराइज बैंक र आईएफसीको साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता गरेको छ ।

उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वुमन इन्टरप्रेनर्स फाइनान्स इनिसियटिभ’ (वी–फाई) ले सहयोग गरिरहेको छ ।

वी–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लूएमएसएमई) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने ‘वुमन इन्टरप्रेनर्स फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो । यसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए ।

सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (सेक्स डिसएग्रेगेटेड डाटा–एसडीडी) को संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ । यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती तथा अवसरबारे गहिरो बुझाइ विकास गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस सहकार्यका आधारमा महिला उद्यमीका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सहज हुनेछ । साथै, यो साझेदारीले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।  

Share News