नबिल र अजोडबीच बीमा सेवा सम्झौता

काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु हस्तान्तरण गरेको थियो भने सिद्धेश्वर महादेव बृद्धाश्रम गैडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मावि नदिपुर पोखरालाई भौतिक सामाग्री तथा हरिहर आश्रम देबघाटलाई कम्प्यूटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले बताए ।

कामना सेवा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देश भरि ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।