ब्रोकर कम्पनीलाई मर्जरमा लैजाने बोर्डको तयारी, ६ जिल्लाकाे कारोबार नेप्सेमार्फत हुँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अर्को ब्रोकर कम्पनीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था शुरु गर्ने तयारी गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन वाणिज्य बैंकको सहायक कम्पनी तथा ब्रोकर कम्पनीहरुबीच मर्जरको कार्यलाई जोड दिएको हो । त्यस्तै, बोर्ड धितोपत्र दलाल व्यवसायी सम्वन्धी विद्यमान इजाजत र संचालन नीतिमा पुनरावलोकन गर्न धितोपत्र व्यवसायी नियमावली, २०६४ संशोधन मस्यौदा तयार गर्ने क्रममा रहेको बोर्डले जारी गरको विज्ञप्तिमा उल्लेख छ । ब्रोकर कम्पनीको शाखा कार्यालय स्थापना कार्यलाई समेत अझ व्यवस्थित बनाउन नियमावलीमा थप व्यवस्था गरे पश्चात सो प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ । यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुने छ । यसका साथै, कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ । हाल धितोपत्र दलाल व्यवसायीले शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको बोर्डले जनाएको छ । बोर्डले हाल धितोपत्र दलाल व्यवसायीको शाखा नपुगेका जिल्ला/स्थानहरु महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा) मा शाखाबाट हुने कारोबार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध गराउन धितोपत्र दलाल व्यवसायीलाई निर्देशन दिएको छ । साथै, बोर्डले उक्त स्थानको कारोबार केन्द्रीय कार्यालयमा आवद्ध गराई नेप्सेको प्रणाली मार्फत हुने व्यवस्था गराउन आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा खोल्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ । यसबाट धितोपत्रको दोस्रो बजार सबै प्रदेश सदरमुकाममा हुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा बजार विकास हुँदै जाने भई कुल कारोबार संख्यामा समेत वृद्धि हुने बोर्डको अपेक्षा रहेको छ ।
आइएमई र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स
काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु रामजैशीले हस्ताक्षर गरे । सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
दुई कम्पनीले एक अर्ब ४ करोडको आईपीओ जारी गर्दै, कसले कहिलेदेखि भर्न पाउने ?
काठमाडौं । बजारमा दुई कम्पनीले एक अर्ब ४ करोड ७४ लाख ४१ हजार २०० रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावरले १८ करोड र यूनिभर्सल पावर कम्पनीले ८६ करोड ७४ लाख गरी सो मात्राको सेयर बिक्री गर्न लागेका हुन् । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण सेयर बिक्री गर्नेछ । दोलखाका स्थानीयबासीले उक्त आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम ९०० कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता सेयर गौरीशंकर गाउँपालिका वडानम्बर ७ का बासिन्दाका लागि, गौरीशंकर गाउँपालिका वडानम्बर ५, ६, ८ र ९ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख २० हजार कित्ता र बाँकी रहेको ३० प्रतिशतले हुन आउने ५ लाख ४० हजार कित्ता गौरीशंकर १, २ र ४ का बासिन्दा तथा बिगु गाउँपालिकाको वडा नम्बर ४ का बासिन्दाका लागि सुरक्षित गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई १८ करोड र सर्वसाधारण तथा कर्मचारीहरुलाई १८ करोड रुपैयाँ बराबरको सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ । हाल कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, यूनिभर्सल पावरले माघ २५ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरले ८६ लाख ७४ हजार कित्ता सेयरकाे बिक्री खुला गर्न लागेकाे छ । उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । हाल कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कुल ९० करोडको सेयर बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।