सिवाईसी नेपाल लघुवित्तको नाफा २०८.४४ प्रतिशतले बढ्यो

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढाएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१५ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २९.४८ प्रतिशत र सञ्चालन मुनाफा २५०.५३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँबाट बढेर ९ करोड १० लाख रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपेयाँ ८० पैसा बढेर ४४ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा, प्रतिशेयर नेटवर्थ २७७ रुपयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात ४०.२८ गुणा रहेको छ । प्रति सेयर कूल सम्पत्तिको मुल्य २७६ रुपैंया ८४ पैसा रहेको छ । २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ । पछिल्लो १ वर्षमा लघुवित्तको निक्षेप तथा सापटी १०.४९ प्रतिशत र कर्जा ४.९६ प्रतिशत बढेको छ । यसले गर्दा लघुवित्तको वित्तिय सचांकहरु समग्र अवस्था सन्तोष जनक रहेको छ ।

४२ दिनका लागि आज ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्न लागेको हो ।   बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।   निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ भदौ २९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।   यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । मौद्रिक नीतिपछि बजारमा लगानी व्यापक बढ्ने अपेक्षा गरिएपनि त्यसो हुन सकिरहेको छैन । जसकारण अधिक तरलतापछि निक्षेप खिच्न बाध्य भइरहेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएपनि सरकारको वित्त नीति कार्यान्वयन प्रभावकारी हुन नसक्दा लगानीको वातावरण बन्न सकिरहेको छैन ।  

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा आगामी भदौ १८ गते बुधबार बिहान ९ बजे थापाथलीस्थित कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गरिने कम्पनीले जानकारी दिएको छ । क्यापिटलका अनुसार छोटो समयमा नै ग्राहकहरूमाझ लोकप्रियता हासिल गरिरहेको कम्पनीले हालसम्म सातवटा साधारण सभामार्फत २४० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । नवौं वार्षिक साधारण सभामा प्रस्तावित ५० प्रतिशत लाभांश पारित भएसँगै कुल २९० प्रतिशत नगद लाभांश वितरण गर्ने उपलब्धिमा कम्पनी पुग्नेछ । एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउन तथा सेयरधनीलाई दीर्घकालीन प्रतिफल प्रदान गर्ने लक्ष्यसहित सेवा विस्तार र वित्तीय पारदर्शितामा जोड दिँदै आएको जनाएको छ ।