आईएमई लाइफ इन्स्योरेन्सको 'बिजनेस एक्सेलेन्स अवार्ड नाइट २०२५' सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको  'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले 'बिजनेस एक्सेलेन्स अवार्ड २०२५' को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।  कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो । समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे ।  उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे । कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई असार १३ गते देखि २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको थियो । उक्त निष्कासनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँड समितिको बैठकले तयार पारेको बाँडफाँड तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएकोले सोहि तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बिहीबार बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाण्डौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग प्रतिनिधि तथा केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गर्ने कार्य सम्पन्न भएको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई 'लेट मेइन' मा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरू अब कोरियन स्किन हस्पिटल 'लेट मेइन' मा विभिन्न सेवा तथा उत्पादनमा छुट सुविधा पाउने भएका छन् । बैंक र लेट मेइनबीच काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज तथा पोखराको चिप्लेढुंगामा सञ्चालित स्किन हस्पिटलका लागि सहकार्य सम्झौता भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक, लेट मेइनमा उपलब्ध कोरियन सौन्दर्य उत्पादनहरूमा ग्राहकहरूले ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने मात्र नभई डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिएको जनाएको छ । यस विशेष छुट योजनाबाट सौन्दर्य तथा छाला सम्बन्धी सेवा लिने ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ ।