बीमा प्राधिकरणमा इञ्जिनियरिङ बीमासम्बन्धी विषयमा छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनियरिङ बीमासम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ । इञ्जिनियरिङ बीमाअन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनियरिङ बीमा अन्तर्गत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले इञ्जिनियरिङ बीमासम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थाहरूसँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै करिब ९० प्रतिशत बीमालेख नेपाली भाषामा भए तापनि बीमा गर्दा बीमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ, त्यसको यकिन भएपछि स्पष्ट गरिने जानकारी दिए । निर्देशक अधिकारीले बीमालेख बीमितको आवश्यकता अनुसार हुनुपर्ने, बीमालेखका सेवा तथा सुविधाहरू स्पष्ट हुनुपर्ने र बीमाप्रतिको बुझाइमा एकरूपता हुनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बीमा गरेपछि सुरक्षित भइन्छ भन्ने बारेमा सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बीमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बीमालाई बाध्यकारी नभई विश्वसनीय बताउनुपर्ने विचार व्यक्त गरे । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बीमा बेच्ने र लिनेले बीमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बीमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्न समस्या नहुने धारणा राखे । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले बीमा कम्पनीहरूले बीमा सर्भेयरले प्रतिवेदन बुृझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बीमा गराउँदा बीमालेखका सबै प्रावधानका बारेमा स्पष्ट जानकारी गराउनुपर्ने, बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गर्दै डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उठाएका थिए । यसैगरी, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सबैले बीमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्‌नुपर्ने, बीमालेखका प्रावधानहरू पढेर मात्र बीमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बीमालेखका प्रावधानहरू थपिंदै गएको र बीमादरमा खासै समस्या नहेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले गरेका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
४७ अंकले घट्यो नेप्से, १६ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २९५४ बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको हो । बुधबार ३२७ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टिलरीको ७२ करोड, शिवभ् सिमेन्टको ५७ करोड, ग्रीन भेन्चरको ५६ करोड र नेपाल रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशतले बढेको छ । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशतले घटेका छन् । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।