नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् । कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्था अनुसार दुवै लघु वित्त वित्तीय संस्था कोषको उपदान योजनामा आवद्ध भएका हुन् । यसअघि पनि कोषसँग नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भइसकेको छ । कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरिएको छ । यस योजनामा योगदानमा आधारित र गैर योगदनामा आधारित रकम जम्मा गरी सहभागी हुन सकिने व्यवस्था छ । हाल यस योजनामा एक हजार १५० संगठित संस्था र त्यस्ता संस्थामा कार्यरत करिब ३३ हजार कर्मचारी सहभागी रहेका छन् । यस योजनामा व्यक्तिगत सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा सुविधा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण र घर सजावटका लागि कर्जा सुविधा पाउनु हुनेछ । त्यसैगरी सहभागीहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भइपरी आउने कार्यका लागि सरल कर्जा सुविधा पाउने व्यवस्था समेत रहेको छ ।
अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आफ्नो स्वामित्वमा ल्याउने भएको हो । कम्पनीका अनुसार, आयोजनाको आर्थिक र प्राविधिक मूल्यांकनपछि निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएकाले दिव्य ज्योति हाइड्रोपावर प्रालिका विद्यमान सबै सेयर खरिद गर्ने निर्णय गरिएको हो । यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।
२७८५ बिन्दुमा झर्यो नेप्से, ६ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २७८५ बिन्दुमा झरेको छ । आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनाइटेड मोदी हाइड्रोको २७ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र नेपाल रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रहेको छ । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।