अमुदी फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई
काठमाडौं । अमुदी फुड्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले प्रति सेयर अंकित मुल्य १०० रुपैयाँ दरको २० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । साउन २६ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सकोको तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ग्राहकलाई खातामा प्यान अपडेट गर्न एनआईसी एशिया बैंकको अनुरोध, प्रमाणपत्र लिन सहजता
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार, 'आयकर ऐन २०५८' बमोजिम करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो । ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको 'प्यान अपडेट' विकल्प प्रयोग गरी वा आफूलाई सुविधाजनक कुनै पनि शाखामा उपस्थित भई प्यान अद्यावधिक गर्न सक्नेछन् । प्यान अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करको विवरण सो प्यानमा प्रविष्ट हुनेछ, जसले गर्दा आयकर प्रणालीले स्वचालित रूपमा करकट्टीको विवरण मिलान गर्नेछ । यसले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ, साथै बैंकसम्म प्रत्यक्ष जानुपर्ने आवश्यकता हट्नेछ । बैंकले प्यान अद्यावधिक नगरिएकै कारण ब्याज कर दाखिला नहुने वा त्यसमा थप समायोजन गर्नुपर्ने अवस्थामा जिम्मेवारी नलिने स्पष्ट पारेको छ । साथै, यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएका ग्राहकहरूले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (फोन : १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सेयर बजारमा १० अर्बको कारोबार, रिभर फल्स पावरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २८२२ बिन्दुमा झरेको छ । आज ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम्को ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड, साहस उर्जाको ३६ करोड र बुटवल पावर कम्पनीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशतले घटेको छ । बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढेको छ । आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।