सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरुले प्रतिफल लाभांश घोषणा गरेका छन् । फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् । आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको नगद लाभांश रद्द गरी गत आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश वितरण गर्ने घोषणा गरेको हो । सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत वितरण गर्ने भएका हुन । उक्त वितरण गर्ने प्रयोजनको लागि भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । सो अनुसार भदौ ५ गते बिहीबारसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, विश्वभरबाट नेपालमा सजिलै रेमिट पठाउन सकिने
काठमाडौं । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा सुनिश्चित गर्न नयाँ भुक्तानी सम्झौता गरेका छन् । सम्झौता अनुसार अब इजी रेमिटमार्फत नियो मनी ट्रान्सफर प्रयोग गरेर नेपालका कुनै पनि बैंक खातामा वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स पठाउन सकिनेछ । यसका साथै नियो मनी ट्रान्सफरका स्थानीय एजेन्टहरूबाट पनि रकम सजिलै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यो साझेदारीले पैसा पठाउने प्रक्रिया अझ सुरक्षित र आधिकारिक बनाउने उद्देश्य राखेको छ । इजी रेमिटको विश्वव्यापी नेटवर्क र नियो मनी ट्रान्सफरको नेपालभरि फैलिएको बलियो सञ्जालले रेमिट्यान्स भुक्तानीलाई अझ सहज र छिटो बनाउने अपेक्षा गरिएको छ । नियो मनी ट्रान्सफरका सिईओ सागर खनालले भने, 'इजी रेमिटसँग मिलेर अझ प्रभावकारी रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो । हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउनेछ ।'
नेपाल-डेन्मार्क सम्बन्ध मजबुत बनाउन सीएनआई र राजदूतबीच छलफल
काठमाडौं । नेपाल-डेन्मार्कबीच आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजिनेस र डायस्पोरा समिती (सीएनआई)का सभापति चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता सम्पन्न भएको छ । भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि रणनीति, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीको सदुपयोग, साथै साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटको क्षेत्रमा नेपाललाई प्रमुख गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उपायहरूमा छलफल भएको थियो । साथै, डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान, हकहित संरक्षण र नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना निर्माणमा पनि दुवै पक्षले आपसी समझदारी बनाएका छन् । भेटमा नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्ध मजबुत बनाउने विषयमा पनि विचार विमर्श भएको थियो ।