जेनजी आन्दोलन : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ । इन्स्योरेन्सका अनुसार कम्पनीका अधिकारी र सर्भेयर टोलीले भदौ २५ गते कर्फ्युको समयमा विभिन्न बीमित सम्पत्तिको निरीक्षण तथा प्रारम्भिक सर्वेक्षण पूरा गरेका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी र पहिरोका कारण सिर्जित दाबीहरूमा सबैभन्दा बढी भुक्तानी गरेको थियो । कम्पनीले यसपटक पनि दाबी फर्छ्यौट र भुक्तानीमा छिटो, पारदर्शी र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
काभ्रेपलान्चोकमा सहकारी ठगी प्रकरण : २६ जना पक्राउ, ६७ फरार
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २६ जना पक्राउ परेका छन् भने ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २६ जना सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठगीविरुद्ध जाहेरी परेका थप तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको छ । यसअघि पेस भएकामा बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८ बचत फिर्ता नभएको निवेदनकर्ताको दाबी छ भने गरुड सहकारीको रु १४ करोडभन्दा बढी बचत फिर्ता नभएको जाहेरीमा उल्लेख गरिएको छ । जाहेरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेस भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएका आठ सहकारीका ९९ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहका अनुसार युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा बढी बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । यस्तै बाँकी पाँच सहकारीको अनुसन्धान जारी रहेको जनाउँदै उनले जिल्लाका सात सहकारीका सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भइरहेको छ । हालै बनेपा नगरपालिका–८ सिनागाल मार्गमा केन्द्रीय कार्यालय रहेको अग्नि बचत तथा ऋण सहकारी संस्थाबाट रु २४ करोड ९७ लाख पाँच हजार ९७७ ठगी गरेको भन्दै सञ्चालकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ । दुई सय चार बचतकर्ताको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले कागजपत्रसहित जिल्ला सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम गत भदौ २९ मा जिल्ला अदालत काभ्रेपलान्चोकमा ३३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दायर भएका ३३ मध्ये प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरी अदालतमा पेस गरिसकेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार फरार अन्यको खोजी कार्य भइरहेको छ । पक्राउ पर्नेमा अग्नि सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका–१३ जावलाखेलका रवीन्द्र श्रेष्ठ, सचिव बनेपा–१ नालाका सन्तोष पाण्डे, सञ्चालक समिति सदस्य बनेपा–७ का दिनेश वैद्य, व्यवस्थापक बनेपा–७ का राहुल चौ प्रधान, ऋण अधिकृत विकास गौतम र उक्त सहकारी तथा स्थानीयसँग बिचौलियाको काम गर्ने प्रकाश गौडेल रहेका उनले जानकारी दिए । कार्यालयका अनुसार उक्त सहकारी ठगी गरी २७ जना फरार रहेका अदालतमा पेस गरिएको विवरणमा उल्लेख गरिएको छ । विसं २०८१ साउन ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सहकारी ठगीमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धुलिखेललाई पत्राचार गरिएको थियो । विसं २०८१ मङ्सिरमा सहकारी कार्यालयसमेत बन्द गरी सम्पर्कविहीन भएका जनाउँदै बचतकर्ताले नीजहरूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । सहकारी ठगीबारे पछिल्लो वर्षदेखि प्रहरीमा उजुरी तथा जाहेरी आउने क्रम बढेको प्रहरी उपरीक्षक शाहले उल्लेख गरे । रासस
दावी भुक्तानी प्रक्रिया शीघ्रताका साथ अघि बढाइने निर्जीवन बीमा संघको प्रतिबद्धता
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले देशभर जारी आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ । संघले बीमा गरिएका सवारीसाधन र भौतिक संरचनामा परेको वास्तविक क्षतिको विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह पनि गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्वको पालना गर्दै बीमितको क्षतिपूर्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइरहेको उल्लेख छ। बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी दावी भुक्तानी प्रक्रियालाई शीघ्र पूरा गर्ने योजना संघले स्पष्ट पारेको छ । विज्ञप्तिमा बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू छिटो बुझाएर प्रक्रिया सहज बनाउन सहयोग गर्न अपिल गरिएको छ । संघले बीमा कम्पनीहरूलाई दावी भुक्तानी प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ। त्यसैगरी, संघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ । ‘आन्दोलनबाट भएको ठूलो क्षतिको ५० प्रतिशत रकम एडभान्स दिन्छौं, अनलाइनबाट पनि दाबी गर्न मिल्छ’ {अन्तर्वार्ता}