आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता, कर्मचारीले बैंकिङ सुविधा पाउने
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूले प्रभु बैंकबाट छुटसहितका बैंकिङ सेवाहरू प्राप्त गर्नेछन् । उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । सम्झौतापछि आरम्भ चौतारीका कर्मचारीहरूले प्रभु बैंकको उत्कृष्ट तथा सुविधा सम्पन्न बैंकिङ सेवा प्रयोग गर्ने विश्वास बैंकले लिएको छ ।
सानिमा बैंकको तिहार र छठ अफर : विभिन्न मर्चेन्टहरुमा मिठाई किन्दा क्यासब्याक र छुट
काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।