नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले लिए शपथ

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई सर्वसम्मतिले बैंकको नयाँ सञ्चालक समिति अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आइतबार केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । अध्यक्ष कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को प्रधान कार्यालयअन्तर्गत अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् । उनले एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय तथा कूटनीतिक वित्तीय सम्बन्धहरू सम्हाल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यवाहक कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई तथा शरणकुमार अधिकारी उपस्थित थिए । त्यसैगरी, नेपाल एसबिआई बैंकतर्फबाट सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपाल प्रसाद भट्ट, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो ।

सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन बैंकको भएको छ । हिमालयन बैंकको १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, युनियन हाइड्रोपावरको ३४ करोड, बुटवल पावर कम्पनीको २५ करोड, राधी विद्युत कम्पनीको २४ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, गुराँस फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर, तेरथुम पावर कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।  खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ । आइतबार व्यापार उपसमूह बाहेक अरु सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ०.२९, डेभलपमेन्ट बैंक ०.९०, फाइनान्स ५.१७, होटल तथा पर्यटन १.२०, हाइड्रोपावर १.१८, लगानी ०.८०, लाइफ इन्स्योरेन्स ४.३५, प्रशोधन तथा उत्पादन ०.९६, माइक्रोफाइनान्स १.३८, म्युचल फण्ड ०.१०, नन लाइफ इन्स्योरेन्स १.३३ र अन्यको १.२३ प्रतिशतले बढेका छन् । व्यापर समूह भने १.१० प्रतिशतले घटेको छ ।

केही मिनेटमै बीमा, ईसेवा र शिखरले ल्याए छरितो स्वास्थ्य योजना

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै तयार गरिएको यस योजनाले हस्पिटल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण र दुर्घटना उपचारसम्मका सुविधा उपलब्ध गराउँछ ।  बीमांकको विकल्प २ लाख, ३ लाख र ६ लाख रुपैयाँ रहेको छ भने प्रारम्भिक प्रिमियम मात्र १ हजार ३९९ बाट सुरु हुन्छ । यसअन्तर्गत बीमितले नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिमबर्समेन्ट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालमा क्यासलेस उपचार सुविधा पनि उपलब्ध हुनेछ, जसले आकस्मिक स्वास्थ्य अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ । योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ कन्सल्टेसन सेवासमेत समावेश गरिएको छ, जसले बीमितलाई घरमै स्वास्थ्य सल्लाह लिन सहज बनाउँछ । ईसेवा एपमार्फत केही मिनेटमै ग्राहकले बीमा पोलिसी एसएमएस र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।