राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले लिए शपथ
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ गराएका हुन् । नेपाल सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको हो । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
सेयर बजारमा १७२ कम्पनीको मूल्य घट्यो, ६ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अंकले घटेर २६२२ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३३३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ३७ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३३ करोड, राधी विद्युत कम्पनीको २४ करोड, सीनर्जी पावर डेभलपमेन्टको २४ करोड र युनीयन हाइड्रोपावरको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समूहगत सूचकमा बैंकिङ ०.२२, फाइनान्स ०.१२, हाइड्रोपावर १.०५, लगानी ०.७०, जीवन बीमा १.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.०१ प्रतिशतले घटेका छन् । त्यस्तै व्यापार ०.९३, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२५, होटल तथा पर्यटन ०.०१ र विकास बैंक ०.११ प्रतिशत बढेले बढेका छन् ।
कथा लेखन प्रतियोगिता सञ्चालन गर्दै बीमा प्राधिकरण, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कथा लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन तथा पहुँच वृद्धि गर्न चित्रकथा निर्माणका लागि कथा लेखन प्रतियोगिता सञ्चालन गरिएको जनाएको छ । उक्त चित्रकथा लेखन प्रतियोगितामा भाग लिन इच्छुक बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूलाई नियमअनुसार आवेदन दिन प्राधिकरणले सूचना जारी गरी जानकारी गराएको छ । प्राधिकरणका अनुसार बीमाका विविध विषय समेटी नेपाल बीमा प्राधिकरणले तोकेको इमेलमार्फत पठाउन सक्नेछन् । कथाको विषयवस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ । कथा बढीमा ५ सय शब्दको हुनुपर्ने छ । मापदण्ड पुरा भएका १० वटा कथालाई प्राधिकरणले छनौट गरी चित्रकथा तयार गर्ने प्राधिकरणले जनाएको छ । छनोट भएका कथाको लागि प्राधिकरणले प्रतिकथा ८ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिने भएको छ ।