हेलिकोप्टर चढेर मन्त्री स्कूल उद्घाटनमा, हेलिकोप्टर अवतरण हुँदा वृद्ध घाइते

काठमाडौं १५, भदौ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकोप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकोप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे । अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’अन्नपूर्ण पोष्टबाट ।

भाषा सिकाइमै १६ अर्ब खर्च, वार्षिक नौ हजार भन्दा बढी पुग्छन जापान

काठमाडौं १२, भदौ । जापानको सोफिया युनिभर्सिटिको सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तथ्यांक सुनेर अचम्म परिन । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन । मन भरंग भयो । नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थी निम्ति आवेदन दिनेको संख्या घटेको छैन । उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन् । यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणर्थी आवेदनभन्दा धेरै हो । नेपालबाट पनि जापानमा बर्षेनी हजारौ नेपाली जापान पुग्ने गरेका छन् । अधिकांश विद्यार्थी भिसामा जापान पुग्ने गरेको र प्रक्रिया अुनसार भिसा नपाए धेरैको विकल्प शरणर्थी मै आवेदन दिनु पनि हो । जापनानमा वार्षिक पूग्ने यी नेपालीले जापानी भाषा सिकाइमा मात्रै दुई वर्षमा १६ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्य सार्वजनिक भएको छ जापानेले नेपालको शिक्षा क्षेत्र सुधारमा गर्ने वार्षिक खर्च भन्दा पनि यो धेरै हो । जापान अध्ययान गर्न जानेको संख्या वार्षिक नौ हजार नाघ्न थालेको छ । समाचार स्रोतः कान्तिपुर ।

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, ७ भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को नेपाली विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।