सीभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले विज्ञानबाहेक सबै विषय पढ्न पाउछँन्- खवराज बराल
खवराज बराल, सचिव–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एसईईपछि विद्यार्थीहरु के पढ्ने भनेर सोचिरहेको छन्, उनीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ ? विद्यार्थीले आफ्नो क्षमता बुझ्नु पर्छ । पढ्ने विद्यार्थीले हो । अभिभावकले पढ्ने होइन । आफूलाई रुची छ कि छैन ध्यान दिनु पर्छ । जस्तो गणित, विज्ञान लगायतको विषय आफूलाई कतिको सजिलो लाग्छ । त्यो हिसाबमा विद्यार्थीले आफैले आफैलाई चिन्नु पर्छ । आफूलाई सजिलो नलाग्ने विषय विद्यार्थीले छानेर अघि बढ्नु सही हुन्न । सजिलो रुचिकर बिषय छनौट गर्नु राम्रो हो । विद्यार्थीहरुले शैक्षिक संस्था कसरी छान्ने ? मुलुकभर विभिन्न किसिमका विद्यालय र कलेज छन् । विदेशी विश्वविद्यालयाबाट सम्बोधन प्राप्त विद्यालयहरु पनि छन् । उनीहरुसँग स्वदेशी, विदेशी दुवै कोर्ष हुन्छ । विद्यालय छान्ने सन्दर्भमा खर्चको कुरा पनि छ । निजी कलेजहरु केही महँगो छन् । उनीहरुले दिने सुविधाहरुमा केही फरकपन छ । अहिलेको विद्यार्थीको क्षमतामा पनि भर पर्छ । कतिपय कलेजहरुमा छात्रवृद्धिको सुविधा हुन्छ । त्यसबेला विद्यार्थीहरुले छात्रावृद्धिको लागि प्रतिस्पर्धा गर्न सक्ने छन् भने त्यस्ता कलेज विद्यार्थीको लागि अवसरको रुपमा रहन्छ । अहिलेकालाई कलेज भने पनि वास्तवमा सबै विद्यालय नै हुन् । अहिले पढाउने १२ कक्षासम्म हो । मेरो बिचारमा विद्यार्थीहरुले प्रचार, प्रशार तथा विज्ञापनको पछि लाग्नु हुदैन । उनीहरुको प्रचार सामाग्रीका आधारमा यो राम्रो विद्यालय अर्को नराम्रो भनेर छुट्याउन सकिन्दैन । तपाईले अघि भन्नुभयो कि सरकारी र निजी क्षेत्रको उच्च विद्यालयमा शिक्षामा केही फरक छ । फरक कति हुन्छ र कुन बढी राम्रो हो ? ११ र १२ को पाठ्यक्रम एउटै हो । पाठ्यपुस्तक उस्तै हो । पढाउने मोडालिटी, मेथोलोजी लगायतमा फरक होला । तर कन्टेन्ट त एउटै हो । परीक्षा राष्ट्र परीक्षा बोर्डले नै दिएको हो । कस्तो स्कूलहरुमा स्कलरशीप पाइन्छ ? स्कलरसिप पाउनको लागि के कस्तो विधि प्रक्रिया पुरा गर्नुपर्छ ? स्कलरशीप विद्यार्थीहरुले नै खोज्नुपर्छ । विगतमा सरकारले १० प्रतिशत स्कलरशीप राखेको थियो । त्यसको लागि उच्च माध्यमिक शिक्षा परिषद, शिक्षा विभागले परिक्षा सञ्चानल गर्थ्यो । त्यो अनुुसार अगाडी बढ्थ्यो । अहिले चाहीँ स्कलरशीप स्थानीय तहबाट गर्ने अथवा पुरानो पद्दतिले गर्ने निर्णय हुन बाँकी छ । हामी छिट्टै निर्णय गर्दैछौं । उक्त स्कलरशीप भनेको सामूदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मात्रै हो । संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भने त्यस खालको सुविधा छैन । कतिपय ११/१२ पढाउने संस्थाहरुले उनीहरु आफैले स्कलरशीपको व्यवस्था गर्छन् । उनीहरुले थोरैदेखि बढी अंक आएकालाई विभिन्न खालको स्कलरशीप खुलाउने गर्छन् । दुर्गम ठाँउबाट आएका लगायतको लागि समेत छुट्टै स्कलरशीप दिने प्रचलन छ । त्यस्तो कुरा बुझेर स्कलरशीप खोज्नु पर्छ । अहिले कक्षा ११ र १२ पढाउने सकारी विद्यालयहरु कति छन् ? हाल ३ हजारभन्दा बढी विद्यालयहरुलाई ११/१२ कक्षा पढाउनलाई अनुमति दिएका छौं । त्यसमा संस्थागत तथा सामूदायिक दुवै किसिमका विद्यालयहरु छन् । प्लस टुबाट शुरु गरेर व्याजलर, मास्टर लेबलमा बढाउने कलेजहरु पनि ५०/६० वटा कलेज पनि छन् । तपाई विद्यार्थीहरुलाई सरकारी विद्यालयलमा पढ्न सुझाव दिनुहुन्छ कि निजी विद्यालयमा ? तपाईको यो प्रश्न नै गलत भयो । यस्तो विषयमा हामीले बोल्न मिल्दैन । एसईई पढिसकेपछि कलेज पढ्ने कि स्कुल पढ्न जाने भन्ने दुविधा देखिन्छ । पत्रपत्रिकामा विज्ञापन हेर्ने हो भने ११ को भर्नाको लागि स्कूलहरुले पनि विज्ञापन गरेका छन्, कलेजहरुले पनि विज्ञापन गरेको छ । पत्रपत्रिका हेर्दा ११ कक्षाको पढाई स्कूलमा हुने हो कि कलेजमा हुने हो भन्ने दुविधा देखियो नि, किन यस्तो भयो ? केही कलेजहरुले कक्षा ११/१२ मात्र चलाउन अनुमति पाएका छन् । उनीहरुलाई कि कक्षा १ देखि नै पढाउन थाल्नुहोस्, कि स्कूल तहको कक्षा बन्द गर्नुहोस भनेर सरकारले भनेको छ । तर त्यो टुंगीएको छैन । अझै बाँकी नै छ । कक्षा ११/१२ शिक्षा भनेको स्कूलतहको शिक्षा नै हो, कलेज तहको शिक्षा होइन । तर कलेजहरुले ११ कक्षामा भर्ना खुला भयो भनेर राष्ट्रिय स्तरको पत्रपत्रिकाको सूचनाहरु प्रकाशित गरिरहेका छन् । ती शैक्षिक संस्थामा पढ्ने विद्यार्थीले कलेज पढेको अनुभूति गर्ने कि स्कूल पढेको अनुभूति गर्ने ? सञ्चार माध्यमले सत्य तथ्य कुरा बाहिर ल्याइदिनु पर्यो । त्यो ११/१२ कक्षा पढाईलाई प्लस टु एजुकेशन पनि भनिदैन । कलेज पनि होइन । त्यो उच्च माध्यमिक विद्यालय हो । कक्षा ११ र १२ पढ्नको लागि राजधानी बाहिर शैक्षिक संस्थाको उपलब्धता कति छ ? कति विद्यार्थी स्कूल तहको पढाईका लागि पनि राजधानी नै आउनु पर्ने वाध्यता छ ? के ११/१२ पढ्न काठमाडौं नै आउनु पर्छ भन्ने छ र ? अघि नै पनि भनिसके देशभर सो तह पढाउने विद्यालयहरु पर्याप्त छन् । काठमाडौं खासै आउदैनन् । अहिले करिब ११ कक्षामा पढ्ने विद्यार्थी काठमाडौंमा ३ लाख ५० हजार जना छन् । त्यस्तै १२ पढ्ने विद्यार्थीहरु पनि साढे २/३ लाखकै हाराहारीमा छन् । स्वभाविक रुपमै काठमाडौंमा ११/१२ कक्षा पढाउने विद्यालयहरु बढी छन् । जनसंख्या ५० लाख रहेकोले पनि त्यतिका संख्यामा विद्यार्थी हुनु स्वभाविकै हो । बाहिर विज्ञान पढाउने विद्यालयहरु धेरै नभएको भएर पनि काठमाडौंमा पढ्न आएका हुन् । दुर्गम ठाँउमा विज्ञान पढाउने शिक्षकको अभावको कारण विज्ञान पढ्ने चाहनाको कारणले काठमाडौं अथवा पोखरा जस्ता सहरहरुमा गएको देखिन्छन् । त्योसँगै विराटनगर, वुटवल, चितवन लगायतमा पनि विद्यार्थीको चाप त्यतिकै बढी छ । सीभन्दा तलको ग्रेड पाएका विद्यार्थीहरु अब कसरी अघि बढ्ने ? तिनीहरुको लागि ग्रेडबृद्धि परिक्षाको लागि योजना छ । उहाँहरुले ग्रेडबृद्धिको परिक्षा दिनुपर्छ । सी प्लस गणित र विज्ञानमा ल्याउनुभयो भने विज्ञान पढ्न पाउनुहुन्छ । अरु केही रोकावट छैन । सी ग्रेडभन्दा कम भएका विद्यार्थी ११ कक्षामा भर्ना नै हुन नपाएको गुनासो पनि नि ? भर्ना नलिने भन्ने होइन । मापदण्डभन्दा कम छ भने चाहीँ नलिन सक्छ । अर्को प्रवेश परिक्षा लिने हुदा सो परिक्षा उत्तिर्ण नगर्दा विद्यार्थीको छनौट प्रक्रियाको आधारमा नलिने हो । ग्रेट सीभन्दा तलकाले अघि बढ्न नपाउने भन्ने होइन विज्ञान मात्र पढ्न नपाउने हो । पढ्ने अरु धेरै विषय छन् । विज्ञान तथा गणितमा साइन्स पढ्न चाहनेले सी प्लस ल्याउनुपर्छ । त्यसको लागि अघिनै पनि भने पूरक ग्रेडवृद्धि परिक्षाको व्यवस्था गरिएको छ । त्यहाँ उहाँहरुले भाग लिइ आवश्यक स्कोर लिएर अघि बढ्न सक्नुहुन्छ ।
शिक्षामा दोष छैन, व्यवसायिक वातावरण ठिक हुनुपर्यो- दीपिका थापा
करिव २० वर्षअघि भक्तपुरको गट्ठाघरमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्दाको समयबाट आजको दिनसम्म अनेकौं आरोह अवरोह पार गर्दै अघि बढेकी जुझारु महिला दीपिका थापासँग स्कूल सञ्चालनको सुरुवाती समयमा उनले भोगेका तितामिठा अनुभवका साथै नेपालको स्कूल तहमा आवश्यकिय शिक्षा र विद्यार्थीलाई प्रविधिमैत्री बनाउन उनको स्कूलले गरिरहेको क्रियाकलाप लगायतका विषयमा देशविकासका राजाराम न्यौपानेले गरेको कुराकानी । दीपिका थापा, प्रिन्सिपल, सिद्धार्थ विद्यापिठ सेकेण्डरी बोर्डिङ्ग स्कूल कस्तो परिवेशमा तपाईले सिद्धार्थ विद्यापिठ स्कूल स्थापना गर्नु भएको हो ? मैले १५ वर्षको उमेरदेखि नै शिक्षण पेसा शुरु गरेकी हुँ । साना नानीहरुलाई पढाउँदै जाँदा समयक्रम सँगै मैले आफ्नै स्कूल खोल्ने सोच बनाउन थालेको थिएँ । ५ अलग अलग विद्यालयबाट शिक्षिकाको रुपमा प्रशस्त अनुभव बटुलेपछि २०५६ सालमा यस स्कूलको स्थापना गरेकी हुँ । स्कूल सञ्चालन गर्ने योजना सुनाउँदा साथीभाइ, आफन्त लगायतले महिलाले धेरै ठूलो सोच बनाउँदा असफल भइन्छ भनिरहन्थे । तर म पहिलेदेखिनै अलि जिद्धि स्वभावको भएकोले होला सहि काम गर्नमा महिला अथवा पुरुष भन्ने कुराले केहि फरक पार्दैन भन्ने धारणा बनाएँ अनि आफ्नो सपनालाई मलजल गर्दै गएँ । फलस्वरुप २०५६ सालमा सिद्धार्थ विद्यापिठ स्कूलको स्थापना गर्न सफल भएँ । सिद्धार्थ विद्यापिठ अन्य स्कूलहरुभन्दा के कारणले फरक भएको छ ? हरेक विद्यालयले पढाइलाई नै फोकस गर्ने गर्दछन् र हामीले पनि त्यही नै गरेका छौँ । त्यसैगरी विद्यार्थीहरुलाई पढाइका साथसाथै नृत्य, गायन, वादन लगायतको ज्ञान दिनु त सामान्य नै भइसक्यो । तर आज यस मानेमा हामी अन्य स्कूलहरु भन्दा फरक भएका छौं कि हामी आउँदो युग टेक्नोलोजीको युग हुनेछ भन्ने कुरालाई विशेष ध्यान राख्दै हाम्रा विद्यार्थीहरुलाई टेक्नोलोजीको पनि आवश्यकय ज्ञान दिने गर्दछौं । यस अन्तर्गत भिब्ग्योर नेक्स्ट जेन प्रोग्राम्स्का ६ अलग अलग विषयहरुको ज्ञान हाम्रा विद्यार्थीहरुले स्कूल लेभलमै हासिल गरिरहेका छन् । ती ६ विषयहरुमा लाइफ स्किल्स क्लासेज, आर्ट एण्ड डिजाइन क्लासेज, फोटोग्राफी एण्ड सिनेमेटोग्राफी, रोबोटिक्स एण्ड टेक्नोलोजी क्लासेज, इमर्सिभ मिडिया क्लासेज र एनिमेसन एण्ड भिजुअल इफेक्ट्स क्लासेज रहेका छन् । यस्तो फरक किसिमको कक्षा सञ्चालनले तपाईंका विद्यार्थीहरुमा कस्तो किसिमको परिवर्तन ल्याएको छ ? हाम्रो विद्यालयमा दिइने फरक तथा जीवनोपयोगी शिक्षाको एकदम राम्रो प्रभाव विद्यार्थीहरुमा परेको हामीले पाएका छौं । उनीहरुमा सकारात्मक सोच राख्ने र सिर्जनात्मक हुने कला विकास हुँदै गइरहेको छ । पहिलेका विद्यार्थीहरुले पनि कार्टुन हेर्ने गर्थे र अहिलेकाहरुले पनि हेरिरहेका छन् । तर पहिलेका विद्यार्थीहरुले मनोरञ्जनका लागि मात्र हेर्थे भने अहिले हाम्रा विद्यार्थीहरुले कार्टुन हेर्ने मात्र नभई बनाउन पनि सिकिरहेका छन् । त्यसैगरी उनीहरुले कम्प्यूटरमा गेम खेल्ने मात्रै नभई गेम कसरी बनाएको छ भनेर पनि ज्ञान हासिल गरिरहेका छन् । स्कूल नजाने भन्दै बहाना बनाउने बच्चाहरु पनि खुशी हुँदै स्कूल जान हतारिन्छन् भन्ने कुरा अभिभावकहरुको भनाई छ । यसका साथै बोल्ने किताबका माध्यमबाट पनि पढाइने हुँदा विद्यार्थीहरु उत्सुकताका साथ कक्षामा सहभागि हुने गर्दछन् । वेलावेलामा हामीले सिकाएका विषयहरुको बारेमा विद्यार्थीका अभिभावकलाई पनि जानकारी दिने गरेका छाैँ। जसका कारण अभिभावकहरु पनि आफ्नो बच्चाको भविष्यको कुरालाई लिएर धेरै नै ढुक्क हुनुभएको हामीले पाएका छौं । बोल्ने किताब भनेको के हो ? बोल्ने किताब पनि अन्य किताबजस्तै हुन्छ । हाम्रो आँखाले त्यसलाई छुट्याउन सक्दैन । त्यो किताव नदेखिने चिप्सको सहायताले बोल्ने गर्दछ । यसका लागि विशेष प्रकारको कलमले त्यो किताबमा छुनुपर्ने हुन्छ । किताबमा भएको अक्षरमा कलमले छुँदा त्यहाँ लेखिएको कुरा शब्दमा उच्चारण हुन्छ । त्यतिमात्र नभई त्यहाँ दिइएका जनावरहरुको चित्रमा छुने हो भने त सो जनावर कराएको आवाज पनि आउने गर्दछ । बोल्ने किताबबाट पढ्दा विद्यार्थीहरुलाई के फाइदा भएको छ ? हामीले विदेशबाट यस्ता किताब ल्याएर विद्यार्थीहरुलाई सिकाइरहेका छौँ । किन्न सक्ने क्षमता भएका विद्यार्थीहरुले बोल्ने किताव वास्तविक मूल्यमै किनेर लगेका छन् । तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई भने हामीले सो किताब थोरै मुल्यमै उपलब्ध गराएका छौं । बोल्ने किताबबाट पढ्नाले गर्दा विद्यार्थीहरुले विभिन्न शब्दहरुलाई सहि उच्चारण गर्न सिकेका छन्, अनेकौं जनावरहरुको आवाज प्रत्यक्ष सुन्न पाएका छन् । यसका साथै किताब कसरी बोल्न सक्छ भनेर हामीले विस्तारमा बताइदिने भएकोले गर्दा उनीहरुलाई टेक्नोलोजीबाट असीमित कुराहरु निर्माण गर्न सकिने रहेछ भन्ने पनि ज्ञान प्राप्त भएको छ । अंग्रेजी, नेपाली लगायत अन्य विभिन्न भाषाहरुमा समेत सो किताब बोल्ने भएकाले विद्यार्थीहरुलाई अन्य भाषाहरुको सामान्य ज्ञान हासिल गर्न पनि सजिलो भएको छ । यस्तो विधिबाट हुने पढाईको लागि विद्यार्थी शुल्क निकै महँगो छ कि ? होइन, त्यस्तो विल्कुल छैन । हाम्रो पढाउने तरिकाको तुलनामा मासिक शुल्क निकै नै सस्तो छ । यहाँ एक पटक भर्ना भएको विद्यार्थीले अर्को कक्षामा पुग्दा पुनः भर्ना शुल्क तिर्नु पर्दैन । त्यसैगरी विद्यार्थी भर्ना गर्ने बेलामानै हामीले टेस्ट लिएर विद्यार्थीको लेबल छुट्याउने गर्दछौं । ए ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क भर्ना, बी ग्रेड ल्याउनेलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट र त्यसैगरी सी ग्रेड ल्याउनेलाई मात्र पुरै भर्ना शुल्क लाग्ने गर्दछ । सी ग्रेड ल्याएका विद्यार्थीहरुलाई हामीले धेरै मेहनत गर्नुपर्ने भएकोले पनि यस्तो भएको हो । झट्ट हेर्दा केहि मंहगो देखिए पनि प्रविधिको प्रयोग गरेको हिसावमा यो धेरै नै सस्तो हो । नेपाली विद्यार्थीहरु राम्रो शिक्षा प्राप्त गर्नका लागि विदेश जान हतारिएका देखिन्छन् । के नेपालमा शिक्षा वास्तवमै कमजोर हो ? मलाई लाग्छ, हाम्रो देशमा शिक्षाको स्तर नराम्रो भएर विद्यार्थीहरु विदेश गएका होइनन् । बरु यहाँ शिक्षा अनुकुल रोजगारी नभएकोले, लागानीमैत्री वातावरण बन्न नसक्नाले, रोजगारमूलक पाठ्यक्रमको अभाव भएकोले र त्यसैगरी विद्यालय तथा घरपरिवारबाट पनि राष्ट्रप्रेमको पाठ नपढाइएकोले गर्दा पनि उनीहरुले विदेश तिरै गएर थप शिक्षा आर्जन गर्न खोजेका हुन् । शिक्षा क्षेत्रमा तपाईंको सफलताको अनुभव कसरी बाँड्न चाहनुहुन्छ ? म सफल हुनुमा मेरो जिद्धिपना नै प्रमुख कुरा हो । मलाई लाग्छ कोहि मान्छे सफल हुनका लागि उसले आफ्नो कामलाई निरन्तरता दिनु पर्छ । हाम्रो समाजले अहिले पनि धेरथोर मात्रामा छोरा र छोरीमा भेदभाव गरिरहेकै छ । मैले स्कूल स्थापना गर्दाको समयमा त झन् छोराले धेरै पढ्ने र ठूलो काम गर्नुपर्छ तर छोरीले भने घरपरिवार राम्रोसँग चलाउन जान्नुपर्छ भन्ने चलन व्यापक थियो । त्यस्तो परिस्थतिलाई चिर्दै मैले यो स्कूल स्थापना गर्न सकें । आजका महिलाहरु पनि पढाइमा अव्वल बन्दै गएको र हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढेको देख्दा साहै्र खुशी लाग्छ । हाम्रो देशमा एकदम धेरै सम्भावनाहरु छन् । त्यसैले आफूलाई मनपर्ने क्षेत्रमा सम्पूर्ण ध्यान केन्द्रित गर्दै अनि अध्ययनलाई पनि सँगसँगै अघि बढाउँदै जाने हो भने एकदिन अवश्य पनि सफल भइन्छ र देशको नाम उँचो बनाउन सकिन्छ भनी म सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु र त्यसैगरी अभिभावकहरुलाई पनि म के भन्न चाहन्छु भने आफ्ना घरमा बच्चाहरुलाई हप्काएर, डर देखाएर पढ्नमा मात्र दवाव दिइरहनु हुँदैन । यसले उसमा भएको सिर्जनात्मक क्षमतामा ठूलो ह्रास ल्याउन सक्छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने
काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो । व्यवस्थापिका-संसद् नियमावलीलाई निलम्बन गरी सरकारले गत कात्तिक महिनामा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न सो विधेयक सदनमा पेश गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब विधेयक संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने र छिटोभन्दा छिटो विधेयक पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । राष्ट्रिय समाचार समितिसँग आज सङ्क्षिप्त कुराकानी गर्दै उनले देशको आवश्यकता, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिलाई अन्त्य गर्न छिटोभन्दा छिटो विधेयक पारित गर्न आवश्यक रहेको औँल्याए । उनले भने, “नियमित प्रक्रियाबाट विधेयक चाँडो पारित गर्नुपर्छ । अध्यादेशअनुसार गत कात्तिक महिनामा नै धेरै संरचना खडा भएका छन् । खडा भएका संरचनालाई काम गर्न अप्ठ्यारो आउन सक्छ । यसैले विधेयक पारित गराउने कार्यमा सहयोग गर्न म संघीय संसद्, प्रमुख प्रतिपक्षी दललगायत सांसदसित आग्रह गर्छु ।” राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा रहेका सामान्य प्रावधानलाई मात्र पुनरावलोकन गरी माथेमा कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले विधेयक ल्याएको स्पष्ट पार्दै मन्त्री पोखरेलले यसमा दुविधा हुनुपर्ने अर्को केही कारण नै छैन भनेका छन् । विधेयकले विशेषगरी चिकित्सा शिक्षा आयोगमा जोड दिएको छ । चिकित्सा क्षेत्रको एकीकृत प्रवेश परीक्षा, मापदण्ड निर्धारण, आशयपत्र, सम्बन्धन सिट संख्या, शुल्कलगायत काम आयोगबाट हुने मस्यौदामा व्यवस्था गरिएको छ । विधेयकका अनुसार अध्यादेशमा रहेको चिकित्सा शिक्षा आयोगको गठन ३४ सदस्यीय समितिबाट घटाई विधेयकमा १७ सदस्यीय भनी मस्यौदा गरिएको छ । सो आयोगको अध्यक्षमा प्रधानमन्त्री रहनु हुने प्रावधान रहेको छ । शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन स्थापना गर्न प्रस्ताव गरिएको आयोगको स्थापनासम्बन्धी उठान विसं २०५७ मा नै भएको थियो । पटक पटक कुरा उठान हुँदै विधेयकमार्फत मूर्तरुप प्राप्त हुन लागेको सो आयोग स्थापनाले यस क्षेत्रलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको मन्त्री पोखरेलले बताए। आयोगको सहअध्यक्षमा शिक्षा, स्वास्थ्यसम्बन्धी विषय हेर्ने मन्त्री रहने गरी मस्यौदा गरिएको छ । रासस