शैक्षिकसत्र सुरु नहुँदै विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताब पाउने निश्चित भएको छ । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले बताए । कोशी प्रदेशका पहाडी जिल्लाहरु खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरुमा पाठ्यपुस्क पठाइसकिएको बताए । पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताए । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताए । उनले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकोको जानकारी दिए । विशेषगरी कोशी प्रदेशको पहाडी जिल्लाहरूमा यसअघि शैक्षिक सत्र शुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाइ कम हुँदा र समयमै छपाइ नहुँदा जनक शिक्षासँग पनि मागअनुसारको पर्याप्त पुस्तक आइपुग्दैन थियो । तर यसपालि नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्पुस्तक पाउन निकै सहज भएको पुस्तक व्यावसायीहरू बताउँछन् । धनकुटाका पुस्तक व्यवसायी खेमराज पौडेलले २०७० सालदेखि ०८० सम्ममा सबैभन्दा सहज र समयमै पाठ्यपुस्क पाएको पहिलो पटक अनुभव गरेको बताए । त्यस्तै अर्का पुस्तक व्यवसायी शोभित तिम्सिनाले विगत भन्दा धेरै नै सहज रुपमा पाठ्यपुस्तक आएको बताए । दुर्गम भएको कारणले गर्दा यातायातको सामग्रीमा जनक शिक्षा सामग्रीले वितरणमा व्यवसायीहरुलाई दिने सहुलियतमा ब्यालेन्स नमिलेको बताए । त्यस्तै अर्का पुस्तक व्यवासायी शान्तिराम पौडेलले अहिलेसम्म माग गरेअनुसारको पुस्तक पाएको जानकारी दिए । कोशी प्रदेशमा कुल एक सय २२ वटा पुस्तक व्यावसायीहरू जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत छन् । ती व्यावसायीसँग किताव किनेर विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गर्छ । कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव पाँच लाख विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय सरकारी विद्यालयको बढ्दो आकर्षणले गर्दा यो शैक्षिक सत्रमा विद्यार्थीको संख्या झन् बढ्ने अनुमान गर्न सकिन्छ ।

हेराल्ड कलेजद्वारा विद्यार्थीलाई १ करोड बराबरको छात्रवृत्ति प्रदान

काठमाडौं । हेराल्ड कलेजले ८९ विद्यार्थीलाई १.५ करोड रुपैयाँ बराबरीको छात्रवृत्ति प्रदान गरेको छ । कलेजका अनुसार एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । उपस्थिति र हाजिरी, प्राज्ञिकता र आचरण लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत हाम्रा विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ । छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कलेजका अनुसार करिब १.५ करोड पुरस्कार राशिको यस छात्रवृत्तिका प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए । यिनै विद्यार्थीको सम्मानमा आयोजित उक्त समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरुमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको कलेजले जनाएको छ ।  

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ । अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि) सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् । विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिलट बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ भइसक्नेछन् । नगरक्षेत्रका सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ गर्ने सम्भवतः चन्द्रागिरि पहिलो भएको बताइएको छ । नगरपालिकाले विसं २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएका एवं पुराना संरचनाको विद्यालय भवनलाई भत्काई नयाँ भवन बनाइसकेको छ । शैक्षिक सुधार अभियान जारी राखेको नगरपालिकाले विद्यालयमा इन्टरनेटसहित कक्षाकोठामा स्मार्ट बोर्ड जडान एवं आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गर्ने नीति लिएको छ । यसै क्रममा चन्द्रागिरि–२ बाडभञ्ज्याङस्थित श्रीभीम माध्यमिक विद्यालयको बालविकास कक्ष सबलीकरण गरिएको छ । नगरपालिकाको २ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोगमा उक्त विद्यालयमा बालविकास कक्ष सबलीकरण भएको हो । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बालविकास कक्ष सबलीकरण २०८० को उद्घाटन गर्दै सबै सामुदायिक विद्यालयका बालविकास कक्ष नयाँ शैक्षिक सत्र सुरु हुनु अगाडि नै सबलीकरण भइसक्ने जानकारी दिँदै यस्ता कक्षमा समान पाठ्यपुस्तक, खेलसामग्री, स्मार्ट बोर्ड रहने बताए । उनले भने, ‘पहिलो चरणमा सबै सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान दिऔँ । अबका दिनमा सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाको ध्यान गएको छ । कक्षाकोठामा क्रमशः स्मार्ट बोर्ड राखिने, आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गरिने छ ।’ चन्द्रागिरिको शैक्षिक उन्नयनमा करिब ३६ वर्ष व्यतीत गरेको प्रमुख गिरीले मौलिक जीवन उपयोगी, सीपमूलक, प्रविधियुक्त शिक्षाका लागि बलम्बुमा बहुप्राविधिक शिक्षालय सञ्चालन हुन लागेको जानकारी दिए । कार्यक्रममा उपप्रमुख वसन्ती श्रेष्ठले राज्यको लगानीअनुसार सामुदायिक विद्यालयले नतिजा किन दिन सकिरहेका छैनन् भन्ने प्रश्नको जवाफ सामुदायिक विद्यालयका प्रधानाध्यपक, शिक्षक, अभिभावक सबै दिनुपर्छ भन्दै विद्यालयमा नैतिक शिक्षा र विद्यालयका गतिविधिका बारेमा समय समयमा अभिभावक ल्याएर घुमाउन सुझाव दिए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि सोच, स्रोत र ऊर्जा आवश्यकता पर्नेमा जोड दिँदै यी तीन कुराको समन्वय गर्न र सामुदायिक विद्यालय निजीभन्दा अब्बल छन् भन्ने कुरा देखाउन आफ्नोतर्फबाट सहयोग गर्ने बताए । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा निर्देशक सुजनराज खनालले नयाँ शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्षलाई सबलीकरण’ भइसक्ने जानकारी दिँदै यस्ता विद्यालयको शैक्षिक उन्नतिका लागि नगरपालिकाले आफ्नो स्रोत, साधनले भ्याएसम्म सहयोग गर्ने जानकारी दिए । विद्यालयका प्रधानाध्यपक इन्द्रप्रसाद काप्रीले विद्यालयले विद्यार्थी फेल नगर्ने र विद्यार्थीले पनि कक्षा दोहो¥याउन नपर्ने स्थिति रहेको, विद्यालयमा खेल्दै पढ्दै, पढ्दै कमाउँदै वातारण रहेको, आफ्नो स्रोतबाट विद्यालय बसको व्यवस्था गरिएको र वार्षिक ‘क्यालेन्डर’अनुसार विद्यालय सञ्चालन भइराखेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्ट, चन्द्रागिरि–२ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङ, वडा सदस्य बलराम सुवेदी, कार्यपालिका सदस्य चन्द्रकुमारी बस्नेत, सानुकान्छा परियारलगायत अभिभावक एवं विद्यार्थीको सहभागिता रहेको थियो ।