एनसीसी बैंकका सेयरधनीलाई ५१ करोड रुपैयाँ नोक्सान भएकोले विशेष साधारणसभा माग गरेको हुँ -लक्ष्मीबहादुर श्रेष्ठ

एनसीसी बैंकमा सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसक्यो । तर कम्पनी रजिष्ट्रारको कार्यालयले पाँच वटा संस्था मर्जभई एउटा भएको अभिलेख गर्न मानेको छैन । त्यसको परिणाम स्वरुप मर्जर प्रक्रिया टुङ्गिएर एकिकृत कारोबार हुन सकेको छैन । एनसीसी बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठले बैंकको सम्पत्ति मूल्याङ्कन र मर्जर प्रक्रियामा असन्तुष्टि जनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् भने कम्पनी रजिष्ट्रार कार्यालयमा उजुरी दिएका छन् । के चाहान्छन् त लक्ष्मीबहादुर श्रेष्ठ ? विकासन्युजले श्रेष्ठसँग मंगलबार साँझ प्रश्न गर्यो । लक्ष्मीबहादुर श्रेष्ठ -प्रवद्र्धक, एनसीसी बैंक मर्जर प्रक्रिया अवरुद्ध गरेर तपाईले गर्न खोजेको के हो ? मर्जर प्रति हाम्रो असहमति छैन । हामी मर्जको विपक्षमा छैनौं । हामी बैंकको पुँजी बढाउने राष्ट्र बैंकको नीतिको पक्षमा छौं । राष्ट्र बैंकको निर्देशनहरुको पनि हामी पालना गछौं । मर्जरमा पनि जान्छौ । तर सम्पत्तिको मूल्याङकन सहि हुनुपर्यो । स्वाप रेसियो उचित हुनुपर्यो । एनसीसीको सम्पत्ति मूल्याङकन कम भएको छ । यस बैंकका सेयरधनी मर्कामा परेका छन् । सम्बन्धित निकायले एनसीसी बैंक भित्रको समस्या हेरोस् । यो समस्या राष्ट्र बैंकले हेरोस्, कम्पनी रजिष्ट्रार कार्यालयले पनि हेरोस् । राष्ट्र बैंकले नै भ्यालुएटर तोकोस् । राष्ट्र बैंकप्रति मेरो सम्मान छ, राष्ट्र बैंकप्रति विश्वास छ । अहिले एनसीसी बैंकका सेयरधनीलाई परेको मर्का राष्ट्र बैंकले हेरिदिनु पर्छ । राष्ट्र बैंकले मर्जको लागि अन्तिम स्वीकृति दिइसक्यो, अब त के हेर्नु नि ? हामी सबैले विधि, प्रक्रिया, कानुन, अदालत मान्नु पर्छ । एनसीसी बैंकका सेयरधनी अन्यायमा परेका छन् । हामीले अदालतमा न्याय मागेको छौ । अदालतको अन्तिम निर्णय आउन बाँकी छ । राष्ट्र बैंक यो देशको/राज्यको महत्वपूर्ण अंग हो । राष्ट्र बैंकले पनि हामी माथि न्याय गर्नुपर्छ । एनसीसी बैंकका को को सेयरधनी अन्यायमा परे ? कसरी अन्यायमा परे ? अहिले एनसीसी बैंकका ४० हजार सेयरधनी मर्कामा परेका छन् । ८० करोडको सम्पत्ति २९ करोड रुपैयाँ मूल्याङकन गरेर मर्जमा स्वाप रेसियो तय गरियो । एनसीसी बैंकका सेयरधनीले ५१ करोड रुपैयाँ गुमाउनु पर्यो । मर्जको प्रक्रियामा सम्पत्तिको मूल्याङकन गर्दा हरिसिद्धिको ९३ रोपनी जग्गा मूल्य २९ करोड रुपैयाँ मूल्याङ्कन भएको छ । त्यहि सम्पत्ति बिक्री गर्न बैंकले टेण्डर गर्दा ८० करोड रुपैयाँको प्रस्ताव आएको छ । त्यो जग्गाको मूल्याङकन कानुनी रुपमा नै ८० करोड भईसक्यो । ८० करोडको सम्पत्ति २९ करोड मूल्याङकन गरेर मर्ज गर्नु भनेको एनसीसी बैंकका सेयरधनीमाथि ठूलो अन्याय हो । पहिला २९ करोड मूल्याङकन गर्दा तपाईले पनि सहमति जनाउनु भएको देखिन्छ । किनकी विशेष साधारणसभाले स्वाप रेसियो पास गरेको देखिन्छ । त्यसमा तपाईले पनि हस्ताक्षर गुर्न भएको छ ? आफैले सहि गरेको निर्णय विरुद्ध आफै गएर बैंक कसरी चल्छ ? सहमति दिदाँको परिस्थिति अर्कै थियो । मूल्याङकन कर्ताले २९ करोड मूल्याङ्कन गर्यो । त्यतिबेला त्यो सम्पत्तिको मूल्य २९ करोड होइन, ८० करोड भनेर मैले भन्ने आधार थिएन । अहिले त कानुनी रुपमा नै ८० करोडको मूल्याङकन भईसक्यो । सर्बसाधारणले कति दुःखले आर्जेको सम्पत्ति एनसीसी बैंकको सेयरमा लगानी गरेका छन् । ऋण लिएर, मासिक तलव बचाएर, गाँस कटाएर सेयरमा लगानी गरेका छन् । उनीहरुको सेयरको अवमूल्यन गरेर उनीहरु माथि अन्याय कसैले पनि गर्नु भएन । बजारमा सेयरको मूल्य १० रुपैयाँ घट्दा लगानीकर्तालाई रातभरी निद्रा लाग्दैन । एनसीसी बैंकका सेयरधनीलाई त ५० रुपैयाँ नोक्सान परिसक्यो । त्यतिबेला कुमारी बैंकसहित ६ वटा बैंक मर्ज हुने भन्ने निर्णय भएको थियो । दुई दिनपछि कुमारी बैंकले मर्जको विपक्षमा निर्णय लियो । दुई दिनपछि आउने निर्णय हामीलाई थाहा हुने कुरै भएन । यो विषय पनि साधारणसभामा लैजानुपर्छ । एनसीसी बैंकमा धेरै लगानीकर्ता छन्, तपाईले अन्याय महसुश गर्ने, तपाईको मात्र टाउको दुख्ने कारण चाहीँ के हो ? म मात्र होइन, सबै सेयरधनीले अन्याय महसुश गरेका छन् । साना लगानीकर्तालाई बैंक भित्र के भईराखेको छ, जानकारी नै हुँदैन । आफू अन्यायमा परेको थाहा छैन । थाहा पाएर पनि बोल्न सकेका हुँदैनन् । यहाँ लक्ष्मीबहादुरको मात्र कुरा होइन, अरु ठूला लगानीकर्ताले पनि अन्याय महसुश गरेका छन् । विशेष साधारणसभा गरौ, त्यहाँ सबै सेयरधनीले आफ्नो भनाई राख्छन् । एनसीसी बैंकको सम्पत्ति मूल्याङ्कन गर्दा मर्जर पार्टनर बैंकहरुको पनि सम्पत्तिको मूल्याङकन गर्नु पर्ला नि, एनसीसी बैंकको सेयर मूल्य १०० हुँदा एपेक्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ४७ रुपैयाँ तोकिएको छ ? उसको पनि त मूल्य बढ्ला, अरुको पनि स्वाप रेसियो बढ्ला नि ? आवश्यक छ भने अरु बैंकहरुले पनि आफ्नो सम्पत्तिको पूनः मूल्याङकन गर्न सक्नुहुन्छ । डीडीए नै गर्नुपर्छ भन्ने छैन । कुनै सम्पत्तिको कम मूल्याङकन भएको छ भने त्यो उहाँहरुलाई जानकारी हुने विषय हो । उहाँहरुले पुनः मूल्याङकन गर्न सक्नुहुन्छ । सबै बैंकहरु पुनःमूल्याङकनमा जाने, फेरी विशेषसाधारणसभामा जाने गर्दा त लमिलठ्ठ हुने भयो नि ? धेरै समय लाग्दैन । ७ दिनभित्र विशेष साधारणसभा बोलाउन सकिन्छ । एक महिना मित्र सबै प्रक्रिया पुरा हुन्छ । मर्जर गर्न भनेर हामीले दौडदुप गर्न थालेको दुई वर्षभन्दा बढी भयो । अब एक महिना बढी समय लाग्दा सबैमाथि न्याय हुन्छ, सबै प्रक्रिया पुरा हुन्छ भने त्यसले पछिसम्म संस्थालाई फाइदा नै पुग्छ ।

संसारभरमा नै बीमा कम्पनीले दिने लाभांशमा नगद भन्दा बोनस सेयर बढी हुन्छ-उपाध्याय

पछिल्लो समयमा बीमा बजार फस्टाएको छ । त्यसमा पनि प्रिमियर इन्स्योरेन्स कम्पनी प्रतिस्पर्धामा छिटो दौडेर अगाडि आईरहेको देखिन्छ । यो कम्पनीमा विगत करिव ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ सुद्युम्न उपाध्याय । उपाध्यायले नेतृत्व लिएपछि कम्पनीको व्यापार, नाफा, ब्राण्ड इमेज सबै राम्रो भएको छ । ६ वर्षअघि कम्पनीको वार्षिक प्रिमियम १७ करोड थियो । गत आर्थिक वर्षमा १०० करोड नाघेको छ । विगत तीन वर्षमा कम्पनीले सेयरधनीलाई लाभांश पनि राम्रो दिएको छ । प्रस्तुत छ यस कम्पनीको अवस्था र बीमा बजारको अवस्थाबारे उपाध्यायसँग गरिएको विकास बहस: सुद्युम्न प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, प्रिमियर इन्स्योरेन्स कम्पनी  (नेपाल) लिमिटेड प्रिमियर इन्स्योरेन्स कम्पनीको पछिल्लो अवस्था कस्तो छ ? कम्पनीको अवस्थामा पहिले भन्दा सुधार आएको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष ७७ प्रतिशतले विजनेश बढेको छ । गत वर्षको पहिलो तीन महिनामा १९ करोड रुपैयाँको व्यापार गरेकोमा यो वर्ष ३४ करोड रुपैयाँ भएको छ । १७ वटा निर्जीवन बीमा कम्पनी मध्ये प्रिमियम आयको हिसाबले पहिलो त्रैमासमा हामी पाँचौ स्थानमा रहेका छौं । बीमा लेखको हिसावले हेर्ने हो भने हामी तेस्रो स्थानमा छौं । ३६ हजार १ सय ३० जारी विमालेख संख्या छ । पहिलो त्रैमासमा नाफा पनि ३३ प्रतिशतले बढेको छ । गत वर्ष यसअवधिमा नाकाबन्दीको असर भोग्नु परेको थियो । यो वर्ष बीमा बजार राम्रो छ । यो वर्षको लक्ष्य चाहिँ कति छ ? यो वर्ष हामीले १ अर्ब प्रिमियम संकलन गरेका थियौं । यो वर्ष २५ प्रतिशतसम्म बढाउनुपर्छ भन्ने हो । प्रारम्भिक चरण राम्रो नै देखाएको छ । गत वर्षको पहिलो त्रैमासमा त्यति राम्रो नभएपनि दोस्रो र तेस्रो त्रैमासका कारण राम्रो भएको हो । अझै तीन वटा त्रैमास बाँकी नै भएकोले यति नै हुन्छ भनेर भन्न त सकिदैन । तर, पनि २५ देखि ३० प्रतिशतसम्मको विजनेश ग्रोथ हुने अपेक्षा गरिएको छ । गत वर्षको नाफबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको निर्णय आईसकेको छ । यो वर्षको नाफा र सेयरधनीलाई दिने प्रतिफल कस्तो होला ? विजनेश ग्रोथ कै हाराहारीमा नाफा वृद्धि गर्नु पर्छ भन्ने हाम्रो मान्यता हुन्छ । बीमाको नाफामा धेरै कुराले असर गरेको हुन्छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने, कर प्रयोजनको लागि अलग्गै नगद लाभांश दिने निर्णय भएको छ । अघिल्लो वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस दिएका थियौं । त्यस भन्दा अगाडि १४ प्रतिशत थियो । हाम्रो कम्पनी सेयर पूँजी बढाउँदै जाने नीतिमा छ । हामीले लाभांस जतिहुन्छ त्यति बोनस सेयरमा दिँदैछौं । सेयरधनीहरुले पनि बोनस सेयरलाई नै रुचाउनुहुन्छ । पुँजी वृद्धिले कम्पनीलाई बलियो बनाउँदै लगेको छ । यसको लाभ सेयरधनी, ग्राहक, कर्मचारी, अर्थतन्त्र सबैलाई हुन्छ । समग्रमा पुँजी वृद्धिले बीमा उद्योग फस्टाउन सहयोग गर्छ । नगद लाभाश वितरण नगर्दा लगानीकर्ताले असहजताको महसुश गर्दैन ? सेयर बजारमा बीमा कम्पनीहरुको सेयर आपूर्ति कम छ । बीमा कम्पनीहरुको सेयर मूल्य अन्य समूहको भन्दा माथि छ । त्यसैले सर्वसाधारण समूहको सेयरधनी बोनस सेयरमा खुशी देखिन्छन् । सेयर ट्रेडर्सहरुले पनि राम्रो उच्च लाभ लिन सकेको देखिन्छ । तर प्रमोटर सेयरधनीहरुको लागि कम्पनीले लामो समयसम्म नगद लाभांश नदिनु पीडादाहि नै हुन्छ । कम्पनीले प्रवद्र्धक लगातीकर्ताको चाहना कत्तिको पूरा गरेको हुन्छ ? विश्वका जुनसुकै देशमा हेर्नु भयो भने पनि बैंक, बीमा लगायत फाइनान्सियल सेक्टरमा क्यास पे आउट भन्दा स्टक डेभिडेन्ट नै बढी हुन्छ । कम्पनीको ग्रो गर्दै जाँदा क्यापिटल बढाउँदै लानुपर्छ जुनसुकै मार्केटमा पनि । फाइनान्सियल मार्केटमा सधै क्यापिटल गेन नै हो । डिभिडन्टको पे आउँछ भनेको जहाँ पनि कम नै हुन्छ । किनकी, निरन्तर क्यापिटल बढाउनुपर्छ । जति बिजनेश बढ्यो संस्थाको नाफा त्यति नै बढ्दै जाँन्छ । सँगसँगै जोखिम पनि बढ्दै जान्छ र त्यो अनुसारको क्यापिटल पनि बढाउँदै जानुपर्छ । कम्पनीको व्यवस्थापनको रुपमा हामीले गर्ने भनेको कम्पनीको नेटवर्थ बढाउने हो । हामीले कम्पनीको नेटवर्थ बढाउनु भनेको लगानीकर्ताको सम्पत्ति बढ्नु हो । नेटवर्थ बढी भएपछि पक्कै पनि त्यसको भ्यालू बढी नै हुन्छ । सरकारको, नियामक निकायको कानुन, नीति नियमलाई गाइडलाईनमा मानेर अगाडि बढ्ने हो । प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई अरुको भन्दा राम्रो, छिटो छरितो सेवा दिनु परिहाल्यो । यतिबेला बीमा कम्पनीहरुको सेयर किन्ने लगानीकर्ताले कत्तिको जोखिम मोलिरहेका छन् ? बीमाको बजार विस्तार हुँदैछ । लगानीको प्रतिफल देखेर नै होला लगानीकर्ता बीमा कम्पनीको सेयरप्रति आकर्षित देखिएका छन् । सेयरमा गरिने लगानी जोखिममा छ वा छैन भनेर हामीले भन्ने विषय होइन । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५०० रुपैयाभन्दा माथि पुगेको थियो । अहिले करिव १७०० रुपैयाँमा झरेको छ । यतिबेला यो कम्पनीको सेयर किन्नेहरुले कमाउँछन् कि गुमाउँछन् ? यो विषय हामीले बोल्ने भन्दा पनि लगानीकर्ताले विश्लेषण गर्ने र निर्णय लिने विषय हो । यो कम्पनीको आफ्नै सम्पत्ति राम्रो छ । नागरिक लगानी कोषको १ लाख कित्ता भन्दा बढी सेयरमा लगानी गरेको छ । ख वर्गको संस्थागत सेयर हो त्यो । प्रतिकित्ता ६० रुपैयाँमा किनेको हो । त्यसको रिर्टन राम्रो छ । कम्पनीको आफ्नै भवन छ । हरेक वर्ष कम्पनीको ग्रोथ राम्रो छ । विजनेश, प्रोफिट ग्रोथ राम्रो छ । बीमा कम्पनीहरुले सेयरबजारमा पनि लगानी गरिरहेको पाइन्छ, तपाईको कम्पनीले सेयरमा कति लगानी गरेको छ ? नागरिक लगानी कोषमा बाहेक अरुमा उल्लेख्य सेयर लगानी छैन । पहिला लगानी थियो । गत असारमा सबै सेयर बेचिसक्यौं । यतिबेला बैंकको व्याजदर बढेको छ, बीमा कम्पनीको नाफामा कत्तिको वृद्धि हुन्छ ? हामीले गएको वर्ष यतिबेला ५ देखि साढे पाँच प्रतिशत व्याजदर पाइरहेका थियौं । अहिले ६ देखि ७ प्रतिशत पाइरहेको अवस्था छ । यसको नाफा वृद्धिमा सहयोग नै गर्छ । अब बीमा सेवा र ग्राहकको विषयमा कुरा गरौं । बीमितलाई कस्तो सेवा दिदै आउनु भएको छ ? आजको दिनमा प्रिमियर इन्सोरेन्सको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै शाखा सञ्चालनमा छ । ३३ वटा शाखाहरु छन् । पहिला हामीले तराई केन्द्रीय सेवा दिएका थियौं भने अहिले पहाडी जिल्लामा सेवा विस्तार गर्दैछौं । चालू आर्थिक वर्षमा कुन कुन स्थानमा शाखा खोल्ने योजना छ ? चालू आवमा शाखा विस्तार गरी ४० वटा पुर्याउने लक्ष्य लिएका छौं । शाखा खोल्ने स्थानको बारेमा अध्ययन पनि गरेका छौ । नयाँ शाखा खोल्न जनशक्तिको अभाव छ । त्यसको लागि हामीले नयाँ जनशक्ति लिएर तालिम दिएर परिचालन गछौं । जनशक्ति कमी रहेको बजारमा कर्मचारीहरु एउटा अफिस छोडेर अर्कोमा जाने समस्या उच्च हुन्छ, यस कम्पनीको अवस्था कस्तो छ ? हामीकोमा स्टाफ टर्नओभर (कर्मचारी छोड्ने, नयाँ आउने प्रवृति) कम छ । त्यसभित्र खास कारण पनि छन् । हामी अरु कम्पनीबाट अनुभवी कर्मचारी तान्न जोड गर्दैनौ । नयाँ कर्मचारी नियुक्त गर्ने, तालिम दिने, क्षमता विकास गर्ने र जिम्मेवारी दिने यस कम्पनीको अभ्यास छ । यस कम्पनीले कर्मचारीको क्षमता विकासको लागि धेरै लगानी गरेको छ । साथै कम्पनीको ब्राण्ड इमेज राम्रो बनाउने, कम्पनीको ग्रोथसँगै स्टाफको पनि ग्रोथमा ध्यान दिएको छ । त्यसैले प्रिमियर कम्पनी छोडेर अरु बीमा कम्पनीमा जाने अवस्था नै हुँदैन । बीमा सेवालाई ग्रामिण क्षेत्रमा पुर्याउन प्रोत्साहित गर्ने सरकारको नीति छ । बीमा कम्पनीहरु विस्तारै जिल्ला सदरमुकामबाट वाहिरका सहर उन्मुख क्षेत्रमा शाखा खोल्दै छन् । ती शाखाहरुको प्रफर्मेन्स कस्तो छ ? गत वर्षसम्म त्यति राम्रो थिएन । अहिले निकै राम्रो भएको छ । ग्रामिण क्षेत्रमा बीमाको सेवा बढेको छ । पहिले बीमा भनेको धनीको लागि मात्रै भन्ने थियो । अहिले मोटरसाईकल र कृषिले गर्दा बढेको छ । अहिले गाउँमा मोटरसाइकल बढेको छ । बीमा गर्नुपर्छ भन्ने संस्कृति पनि बढेको छ । तपाईको कम्पनीका लागि कुनकुन जिल्लामा कृषि बीमा अनिवार्य गरिएको छ ? दोलखा, रामेछाप, सिन्धुली, सर्लाही र रौतहटमा । ती जिल्लामा अरु कम्पनीहरुको स्वेच्छिक सहभागीता कत्तिको छ ? तुलनात्मक रुपमा कम छ । ती क्षेत्रमा व्यवसायिक कृषि कम छ । माथिल्लो लेकतिर जाँदा चौरी र तल्लो भेगमा बाख्रा पालन छ । नभएको होइन तर, कम मात्रामा मात्रै छ । फलफूल पनि सिन्धुलीमा अलिअली हो । फलफूलमा त्यति धेरै छैन । पूर्वी क्षेत्रमा धनकुटा, सुनसरी, मोरङ, इलाममा कृषि बीमा राम्रो छ । पशु तथा बाली बीमा कत्तिको नाफादायी विजनेश हो ? अहिलेको लागि नाफादायी विजनेस होइन । तर, पछिको लागि नाफादायी विजनेस हुन्छ । अहिले भर्खरै सुरु भएको छ । अहिले पनि घाटाको व्यापार छैन । विस्तारै बढ्दै जादाँ नाफा पनि हुन्छ । पाँच वर्षअघि मोटर बीमा घाटाको व्यापार थियो, अहिले नाफाको व्यापार भएको छ । भविष्यमा कृषि बीमाबाट पनि नाफा आर्जन हुन्छ । तीन वर्ष अगाडिको बीमा गराउँदा र अहिलेको अवस्थामा कति फरक छ ? धेरै फरक छ । अहिले हामीले के पाउँछौ, सुविधा के छ भनेर हेर्ने गरिन्छ । पहिले सचेतना नै कम थियो । पहिले बीमा गरेपछि जीवन बीमामा जस्तै रकम फिर्ता पाउने सोच हुन्थ्यो, अहिले छैन । बीमाको नीति कार्यान्वयनमा ल्याएपछि व्यवसायिक खेती तथा पशुपालन बढेको छ ? व्यवसायिक पशुपालन र कृषि बढ्दै गएको छ । हामीले खुला आँखाले देख्न सकिन्छ । तर व्यवसायिक खेती तथा पशुपालनमा गर्दा अध्ययन अनुसन्धानको खाँचो छ । खेती तथा पशुपालन गर्दा माटो, हावापानी र भूवनोट सुहाउँदो हेर्नुपर्छ । प्रिमियर इन्स्योरेन्सको बीमा प्रडक्टमा कुन बढी चलेको छ ? हाम्रो सबैभन्दा राम्रो क्षेत्र भनेको परियोजनाको नै हो । इन्जिनियरिङ क्षेत्रमा हाम्रो उपस्थित राम्रो छ । बजारको लिडरमा नै पर्छौ यसमा । इन्जिनियरिङ क्षेत्रको बीमामा करिब २० प्रतिशतको बजार हाम्रो छ । प्रिमियर इन्स्योरेन्सको हेल्थ इन्स्योरेन्समा पोर्टपोलियो हामी माथि नै छौं । अहिले पनि हाम्रो पाँच देखि प्रतिशत पोर्टपोलियो हेल्थ इन्स्योरेन्सको छ । कर्पोरेट क्षेत्रमा पनि राम्रो छ । अब हामी रिटेलमा पनि जाँदै छौ । परिवारको सुरक्षाका लागि पनि रिटेलमा जानुपर्छ । प्रिमियरको इतिहास नै हेर्ने हो भने पनि १०/१२ वर्षदेखि हामी कर्पोरेट हेल्थमा टप पोर्टफोलियोमा नै छौं । मोटर बीमामा पनि राम्रो छ । एभिएसनमा भने कम छ । पेशागत दायित्वको बीमा, लायविलिटि इन्स्योरेन्सको बीमामा पनि हामी लागि परेका छौ । नेपालमा साइबर क्राइमको बीमा हुँदैन, हो ? साईबर क्राइम सम्बन्धि जोखिमको पनि बीमा गर्न सकिन्छ । तर अहिलेसम्म भएको छैन । इनोभेटिभ प्रडक्ट हो यो । यसको लागि बजारबाट स्पेसिफक माग आउनुपर्छ । बीमा बजार विकासको समस्याहरु चाहिँ के हो ? यसको सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति विकासको हो । बीमा राम्रो अध्ययन गर्नुपर्दा पनि हामीले जनशक्ति खोजिगरिरहेका हुन्छौ । बीमाको भविष्य राम्रो हुँदा हुँदै पनि हामीले आवश्यक जनशक्ति विकास गर्न सकेका छैनौ । पूँजी ठूलो होइन दक्ष जनशक्ति नै सबैभन्दा ठूलो हो । बीमाको लागि पूँजी प्राप्त गर्न तत्काल सकिएला दक्ष जनशक्ति भने तत्काल पाउँन सकिदैन । अन्य चुनौतिमा पूर्वाधारले साथ नदिनु, इन्टरनेटको पहुँच सहज नहुनु पनि हो । सडक विस्तार बरु त्यति ठूलो विषय भएन, तर भरपर्दो इन्टरनेट सेवाको खाँचो छ । लघुबीमाको बजार कसरी विकास भईरहेको छ ? माइक्रो इन्स्योरेन्सको लागि नेपाल इन्स्यारेन्स एसोसिएशन र नेपाल बैंकर्स एसोसिएशनबीच एउटा सम्झौता भएको छ । त्यसमा नेपाल लघुवित्तहरुले आफ्ना ऋणिको बीमा गर्ने व्यवस्था मिलाउँने भन्ने छ । चाडै नै दुई संस्थासँगको सहमति कार्यान्वयन हुन्छ । माइक्रो लोनको बीमा गर्ने भन्ने छ ।

नगद लाभांश वितरणमा रोक लगाएर बीमा समितिले ठिक काम गर्यो -अभिजीत घोष दस्तीदर

अभिजीत घोष दस्तीदर विगत केही महिनादेखि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । उहाँ सन् १९९१ देखि एलआइसी इण्डियामा कार्यरत हुनुहुन्छ । २०१५ अक्टोबरदेखि एलआइसी नेपालको सेकेण्ड म्यानका रुपमा नियुक्त भएर आउनु भएको अभिजीतले एलआइसीमा २५ वर्ष विताउँदा दुबई, साउदी अरेयिबा, कतार, बराइन, ओमनमा बसेर काम गरिसक्नु भएको छ । बीमा बजार र एलआईसी नेपालको बारेमा उहाँसँग गरिएको विकास वहस यस पटक।   एलआइसी नेपालको बजार कस्तो छ ? एलआइसी नेपाल भनेको नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रको एक नम्बर कम्पनी हो । नम्बर अफ पोलिसीका आधारमा हामी पहिलो नम्बरमा छौं । प्रिमियम रकमका आधारमा हामी दोश्रो नम्बरमा छौं । हामीले गरिबका लागि साना साना पोलीसी पनि गरिरहेका छौं । नम्बर अफ पोलिसीका आधारमा हामीले लाइफ इन्स्योरेन्स बजारको ३५ प्रतिशत हिस्सा लिएका छौं । एलआइसी नेपाल भनेको एलआइसी इण्डियाको सहायक कम्पनी हो । र, एलआइसी इण्डिया विश्वमै ठूलो बजार नेटवर्क भएको इन्स्योरेन्स कम्पनी हो । नेपालमा पनि हामीसँग ३५ वटा ब्रान्च छन् । नेपाल र भारतका धेरै कुरा समान छन् । संस्कृति र परम्परा पनि समान छन् । हामीले नेपालको ठूलो बजार हिस्सा लिएका छौं । हामीले अझै ब्रान्च बढाउने योजनामा छौं । एलआईसी इन्डियाले नेपालमा नाफा गरेर भारत लगिरहेको छैन (कर रकमबाहेक) । हामीले नेपालको बजार विस्तार गर्नुपर्नेछ । यहाँ समाजिक सुरक्षाको खासै राम्रो व्यवस्था छैन् । त्यसका लागि पनि काम गर्नुपर्नेछ । एलआईसी नेपालको बीमा पोलिसी कस्ता कस्ता छन् ? नेपालमा एलआइसी नेपालको पहिचान भनेकै प्रडक्टमा बिबिधता नै हो । सामान्यत बीमा कम्पनीका सबै खाले प्रडक्ट हामीसँग छन् । त्यस बाहेक अरु कम्पनीले नदिएको पोटेन्सियल प्रडक्ट पनि हामीसँग छ । मानिस चाँडै मर्न पनि सक्छ ढिलो पनि हुन सक्छ । यो प्राकृतिक नियम नै हो । हामीसँगै जीवन आनन्द नामको प्रडक्ट छ, जुन आफैंमा नेपाली बजारका लागि नयाँ हो । अरु कम्पनीले मानिसको कामकाजी जीवनको बीमा गर्दै आएका छन् । सामान्यतया सबैले ४० वर्षतिर इन्स्योरेन्स गर्छन र ६० वर्षतिर सम्पन्न हुन्छ । जीवन आनन्दमा प्रिमियम र ब्याज दिन्छौं । त्यससँगै उसको जीवन बीमा भने जीवनभर रहन्छ । एक सय वर्ष बाच्यो भने पनि इन्स्योरेन्स रहन्छ । हाम्रो कम्पनीको सबै भन्दा तीब्र गतिमा बिक्री भैरहेको प्रडक्ट हो । २५ देखि ३५ प्रतिशत बजार हिस्सा यसैले लिएको छ । मानिसलाई वृद्धावस्थामा इन्स्योरेन्स गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्तै, जीवन तरंग नामको प्रडक्ट पनि हाम्रो अर्काे राम्रो बिक्री भैरहेको प्रडक्ट हो । यो एक प्रकारको पेन्सन प्रडक्ड हो । यो अलि प्राबिधीक प्रडक्ट पनि हो । तपाईको कम्पनीको सबै भन्दा बिक्री भैरहेका पाँच वटा प्रडक्टहरु के के हुन् ? जीवन आनन्द, इन्डोमेन्ट, जीवन सरल, चिन्ड्रेन्स पोलीसी र जीवन तरंग हो । जीवन तरंग अहिलेका लागि मेरो सबै भन्दा प्राथमिकताको प्रडक्ट हो । नेपाली नागरिकले जीवनको उत्तरार्धका लागि केहि रकम जम्मा गर्नुपर्छ भनेर ल्याएका हौं । त्यस कारण जीवन तरंग भनेको भविष्यको प्रडक्ट हो । अहिले २ देखि ३ वटा प्रडक्टको डिजाइन भैरहेको छ । यहि आर्थिक वर्षमा २ वटा जति नयाँ प्रडक्ट आउँछन भने बाँकी केहि प्रडक्ट अर्काे आर्थिक बर्षमा ल्याउँदैछौं । त्यसको तयारी भैरहेको छ । प्रडक्टको डिजाइन गरेर एक्चुरीमा पठाउँछौं र त्यसपछि बीमा समितिबाट स्वीकृत गराएपछि मात्र सार्वजनिक हुन्छ । लाइफ फण्डको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? हामीले लाइफ फण्डको व्यवस्थापन राम्रोसँग गरिरहेका छौं । लगानी योग्य निश्चत प्रतिशत रकम इक्वीटीमा लगानी गर्छाै । हामीले धेरै जोखिम लिने गरेको छैनौं । इक्वीटीले धेरै प्रतिफल दिन्छ भन्ने थाहा छ तर पनि त्यस्तो गरेका छैनौं । बाँकी रकम बैंकमा निक्षेप गर्छौ । हामीले सार्वजनिक सूचना निकालेर बाणिज्य बैंकलाई निक्षेपका लागि आव्हान गर्छाै र अधिकतम कबोल गर्नेलाई निक्षेप दिन्छौं । गत वर्ष ब्याजदर साढे ४ देखि ५ प्रतिशत मात्रै थियो । यसपाली बजारमा तरलताको अभाव छ । कमर्सियल बैंकमा पैसा राख्नु भन्दा पूर्वाधार विकासका दीर्घकालिन परियोजनामा लगानी गर्न पाइयो भने राम्रो हुन्थ्यो । हामीले १५ देखि २० वर्षको प्रडक्ट बेच्छौं । तर जम्मा तीन चार वर्षको फिक्स डिपोजिटमा पैसा राख्नु परेको छ । संसारमा इन्स्योरेन्स क्षेत्रको भनेको दीर्घकालिन पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने प्रचलन छ । हामी २० बर्षका लागि पैसा लिन्छौं तर जम्मा दुई चार बर्षका लागि मात्रै लगानी गर्न पाउँछौं । तपाईको कम्पनीको प्रतिष्पर्धी कम्पनी कुन हो ? बजारमा रहेका ९ वटै लाइफ इन्स्योरेन्स कम्पनी हाम्रा सहकर्मी हुन् । प्रतिस्प्रर्धा कसैसँग पनि छैन । लाइफ इन्स्योरेन्सले कुल जनसंख्याको करिब २ प्रतिशत मात्र ओगटेको छ । इन्स्योरेन्सकै क्षेत्र जम्मा ७ प्रतिशतमा सिमित भएको छ । बजार भर्जिन छ । त्यस कारण बजारमा ठूलो सम्भावना छ । त्यसकारण बजारमा कसैको कुनै पनि कम्पनीसँग प्रतिष्पर्धा छैन् । शहरका र गाउँका शाखाहरुको परफरमेन्स कस्तो छ ? पाँचथर, डढेलधुरा, तेह्रथुम, सुर्खेत लगायतका क्षेत्रमा हाम्रा शाखा छन् । सबैको परफरमेन्स राम्रो छ । ती शाखा र काठमाडौंका शाखाको तुलना गर्न मिल्दैन् । सबै शाखाले रेभिन्यु जेनेरेशन मात्रै गर्दैनन् । कति जनतालाई सेवा दिए भन्ने कुरामा पनि हामी ध्यान दिने गरेका छौं । अथाह सम्भावना भएको बजारमा इन्स्योरेन्सको पहुँच बढाउन नियामकले के गरिहेको छ र थप के गर्नु पर्छ ? बीमा क्षेत्रको बजार अभिवृद्धिका लागि बीमा समितिले साह्रै राम्रो काम गरिरहेको छ । शहरमा एउटा शाखा खोल्नु भन्दा पहिले ग्रामीण क्षेत्रमा २ वटा शाखा खोल्नु पर्ने व्यवस्था छ । यसले ग्रामीण क्षेत्रमा इन्स्योरेन्स क्षेत्रको विस्तारमा सघाउ पुर्याइरहेको छ । कतिपय ग्रामीण क्षेत्रमा सूचना प्रविधिको उपलब्धता नभएकाले समस्या पनि हुन्छन् । तर पनि बीमा समितिले गरिरहेका काम साह्रै सराहनिय छ । भारतीय कम्पनीको सहायक कम्पनीका रुपमा नेपालमा काम गर्दा कुनै असहजता महसुस भएको छ ? यो नेपाली कम्पनी हो । एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत, २५ प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत नेपाली सर्वसाधारण जनताको लगानी छ यो कम्पनीमा । नेपाल भनेको हाम्रा लागि दोश्रो घर नै हो । एलआइसी नेपालमा १४० कर्मचारी छन् । तीमध्ये १३८ नेपाली नागरिक छन् । सिइओ र डेपुटी सिइओ मात्रै भारतबाट आएका हौं । ३२ हजार एजेण्ट्स छन ती सबै नेपाली नै हुन् । मलाई यहाँ काम गर्दा आफ्नै घरमा जस्तै महसुश भएको छ । तपाईले कम्पनी राम्रो छ भनिरहनु भएको छ । तर कम्पनीको सेयर मूल्य ४२०० वटा २८०० रुपैंयाँमा झरेको छ, किन ? हाम्रो कम्पनीको सेयर मूल्य १६ प्रतिशतले घटेको देखिन्छ । जबकी नेपालको सेयर बजार २० प्रतिशतले घटेको छ । अब भन्नुस हाम्रो कम्पनीको सेयर सुरक्षित जोनमा छ कि छैन ? फेरी विश्वकै सेयर बजारमा व्यापारीले कमाउँछन पनि र गुमाउँछन पनि । तर कोहि लगानी कर्ता छन् भने दीर्घकालसम्म पर्खने हो भने उसले नाफा नै कमाउँछ । तत्कालै त के हुन्छ भन्न सकिन्न तर केहि वर्ष कुर्ने हो भने हाम्रो कम्पनीका लगानी कर्ताले कमाउँछन नै । हाम्रो कम्पनीले दीर्घकालिन योजना अनुसार लगानी गरिरहेका छौं । राम्रो व्यवस्थापनमा सञ्चालित लाइफ इन्स्योरेन्स कम्पनीले २० देखि २५ प्रतिशत रिटर्न दिन सक्छन् । संस्थागत सुशासनले तीन महिना भन्दा बढी समय सिइओ खाली रहनुलाई उपयुक्त मान्दैन, तर एलआइसी नेपालमा धेरै समय खाली भयो नि किन ? भारतमा सरकारी सेवामा प्रवेशको सबै भन्दा माथिल्लो स्तर भनेको स्नातक उतीर्ण गरेर हो । तर एलआइसी नेपालमा सिइओ नियुक्तीको प्रक्रिया अघि बढिरहेका बेला सरकारले मापदण्ड परिवर्तन गर्यो । स्नातकोत्तर उतिर्ण गरेकाले मात्रै त्यस्तो नियुक्त लिन पाउने भन्ने व्यवस्था गर्यो । यसले सुरु गरिएको प्रक्रिया रोकियो र नयाँ प्रक्रिया अघि बढाउन धेरै निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ । एलआइसी इण्डियाले भारतीय अर्थमन्त्रालयबाट अनुमति लिएर मात्रै नियुक्ती प्रक्रिया अघि बढाउन पाउँछ । एलआइसी इण्डियाले उच्च प्राथमिकतामा राखेर नियुक्त प्रक्रिया अघि बढाएको थियो । तर अगष्टमा हाम्रो प्रक्रिया मध्य अवस्थामा पुगेको बेला नयाँ सर्कुलर आएकाले त्यो रोकियो । त्यसमा पनि गणित, अर्थशास्त्र लगायतका बिषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था पनि थपियो । बीमा समितिले कम्पनीहरुलाई नगद वितरण नगरेर बोनस सेयर मात्रै दिन भनेको छ, एलआइसीको प्रतिक्रिया के हो ? हामीले सन २००१ मा स्थापना भएदेखि नै कर बाहेक एक रुपैंयाँ पनि भारत लगेका छैनौं । बीमा समितिले नगद लाभांश नदिएर बोनस बाढ्न दिएका निर्देशन एक दमै ठिक छ ।  एसेट र लायबिलिटिज एक सयभन्दा माथि हुनु पर्छ । लायबलिटि एक सय भयो भने एसेट १५० हुनुपर्छ भन्ने मान्यता छ । यसलाई पहेँलो जोन भनिन्छ । १५० भन्दा बढि भयो भने ग्रीन जोन मानिन्छ । गत बर्ष हाम्रो लायबलिटि एक सय रुपैंयाँ हुँदा एसेट २०८ रुपैंयाँ थियो । यो भनेको साह्रै राम्रो अवस्था हो । इन्स्योरेन्स कम्पनीको मापनको प्रमुख आधार पनि हो ।