यसअघि कसैले नगरेकाे काम हामीले गरेका छाैं, कम्तिमा ५० वटा गाेल्डमेडल जित्छाैं- रमेश सिलवाल

रमेश सिलवाल- सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक १९९९ मा खेल गराउँदा १२ वटा गेम मात्र थियो । यसपाली सबै गरेर २७ वटा गेम थियो । प्याराग्लाईडिङ हुने नभएर २६ वटा भएको थियो । पछि फेरी हामीले भलिबल र बास्केटबल थपेर २८ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । हामीले २८ वटा खेलमा २५ वटाको स्थान तयार गरिसकेका छौं । हाम्रो हिटिङ स्विमिङपुल, दशरथ रंगशालाको भीआइपी प्याराफिट र पोखराको रंगाशाला ३ वटा खेलको स्थान निर्माणको अन्तिम तयारीमा छौं । खेल मैदान अझै तयार भईसकेको छैन नि ? पूर्वाधार बनेन भनेर कुनै पनि खेल रोकिने अवस्था आउने छैन । ११ गते रातीसम्म सबै काम सम्पन्न गरिसक्ने छौं । १२ गते १ बजे सम्पूर्ण तयारी पूरा गरेर सबै तयारी पूरा भएको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारीमा छौं । पूर्वाधार बाहेकको तयारी कस्तो छ ? पूर्वाधार बाहेक हामीले अन्य सबै तयारी गरिसकेका छौं । जस्तै, हामीले काठमाडौंमा १२५ वटा होटल, पोखरामा ३५, जनकपुरमा १५ वटा होटल बुक गरिसकेका छौं । पत्रकारहरु बाहेक ५४०० व्यक्तिको लागि हामीले सिंगल र डबल गरेर ३२०० बेड बुक गरेका छौं । कति खेलाडी सहभागी हुँदैछन् ? खेलाडी र प्रशिक्षक र पदाधिकारीहरु गरेर ५४०० जना सहभागी हुदैछन् । नेपाली खेलाडीहरुको तर्फबाट कस्तो तयारी भइरहेको छ ? खेलाडीहरुको तर्फबाट तयारी एकदम राम्रो भईरहेको छ । मैले उनीहरुलाई नजिकबाट हेरेको छु । म आउनुभन्दा अगाडी असार मसान्तसम्म १३ वटा खेलको बन्द प्रशिक्षण रहेको थियो । म आएपछि हामीले साउनदेखि बाँकी खेलको बन्द प्रशिक्षण गरायौं । हामीले कम्तिमा पनि हरेक खेलको ४ देखि ५ महिनाको बन्द प्रशिक्षण पहिलो, दोस्रो र तेस्रो ३ चरणमा विभाजन गरि गराएका छौं । यस्तै, बाँकी खेलका खेलाडीलाई विदेशमा लगेर प्रशिक्षण गरायौं । त्यसको मुख्य उदेश्य भनेको एउटा राम्रो प्रशिक्षकबाट प्रशिक्षण गराउनको साथै, एक्सपोजर म्याच, प्रयाक्टिस म्याच तथा एक्र्टनर कम्पिटिशन गराउनु थियो । अहिले हामीले दिएको प्रशिक्षणको नतिजा पनि देखिन थालेको छ । जस्तै, हामीले भलिबल प्रतियोगितामा स्वर्ण पदक, फुटबलमा रजत पदक जितेका छौं । भुटानमा भएको गल्फमा रेकर्ड बे्रक गर्दै स्वर्ण पदक जित्यौं । अहिलेसम्म नजितेको कराँते प्रतियोगितामा चीन खेलेर १ रजत र ३ कास्य ल्याउन सफल भयौं । त्यसैगरि बाङलादेशमा भएको तेकोन्दोमा ८ स्वर्ण, ३ रजत र ३ कास्य पदक ल्याउन सफल भयौं । यी सबैले प्रशिक्षण प्रभावशाली भएको देखिन्छ । सागका नतिजामा नेपालको स्थान के होला ? सागको नतिजा राम्रो आउँछ । हामीले दोस्रो हुने तरिकाले तयारी गरेका छौं। न्युनतम ५० वटा स्वर्ण पदकको हामीले अपेक्षा गरेका छौं । तपाईको भनाईहरु जोशिलो छ र सुन्दा आनन्द पनि लाग्छ । तर नतिजा चाहि निराशाजकन आउने हो कि ? अहिले तपाईहरुलाई मैले हचुवाको भरमा र झुटो बोलेको जस्तो लाग्ला । मैले भरोसा गर्न भनेको प्रशिक्षक र खेलाडी र संघहरुसँग हो । उहाँहरुसँग लिएको रिर्पाट अनुसार हामी ५० भन्दा बढी स्वर्ण जित्छौं । अझै प्याराग्लाईडिङ खेल हुने भएमो भए ५ वटौ स्वर्ण हाम्रो हुन्थ्याे । तर त्यसमा अन्य देशले सहभागि गरेनन्। जम्मा ३४९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुन्छ । त्यसमा ५० हाम्रो पक्का हो । अफगानस्थान किन सहभागी नभएको हो ? १२ औं सागमा अफगानस्थानको सहभागी थियो तर त्यसपछि उ अर्को जोनमा गयो । हामीले यहाँ गेम गराउने कुरा थाहा पाएपछि उनीहरुले सहभागी जनाए । तर हाम्रो सेड्युल बनिसकेकोले हामीले १० खेलमा मात्र खेल्न दिन सक्ने बतायौं तर उनीहरु यसमा सहभागी हुन चाहेनन् । यो सागभित्रको अर्थतन्त्र कस्तो छ ? कति बजेटमा काम भईराखेको छ ? झट्ट हेर्दा यो खर्च जस्तो देखिन्छ किनभने हामीले पूर्वाधार बनाउन र खेल खेलाउनको निम्ति करिब ५ अर्ब बजेट विनियोजित छ । तर यो खर्चभन्दा पनि लगानी भन्ने सोच्नुपर्छ । कसरी भन्दा अहिले हामी भिजिट नेपाल २०२० को संघारमा छौं । हामीले यस पटक विदेशी च्यानलहरु ल्याएर हाम्रो खेलहरुको प्रत्यक्ष प्रसारण गर्दै छौं जुन २ अर्ब भन्दा बढि मानिसको घरघरमा पुग्छ । यसले नेपालको ब्रान्डिङमा ठूलो मद्दत पुर्याउँछ । दोस्रो यसको समचार सम्प्रेशणको लागि विदेश र स्वदेश गरेर ७ सय पत्रकार बोलाएका छौं । जसमा २ सय देखि ३ सय पत्रकार विदेशदेखि आउँछन् । यो हाम्रो निम्ति ठूलो अवसर हो । दोस्रो खेलाडी र प्रशिक्षकको परिवार र साथीभाई यहाँ खेल हेर्न आउँछन् । यस्तै खेलाडीहरु खेलमात्र खैल्न आउँदैनन् । उनीहरुले यहाँका होटल, रेष्टुरेन्ट, मलमा खर्च गर्छन् जुन सबै नेपाली अर्थतन्त्रमा जोडिन जान्छ । खेल आयोजना गर्दा कति आम्दानी हुँदैछ र आम्दानी कुन ठाउँमा खर्च हुँदैछ ? सागको ईतिहासमै पहिलोपटक हामीले यस्तो गर्न लागेका छौं कि प्रसारणको अधिकार अरुलाई दिएर हामीले ८ करोड रुपैंया आर्जन गर्दैछौं । प्रसारणको अधिकार भारतीय नक्षेत्र च्यानलले लिदैछ । त्यस्तै भैन्यु ब्रान्डिङ पनि हामी गर्दैछौं । यि दुवैबाट हामीलाई न्युनतम २५ देखि ५० करोड बराबरको आर्जन हुँदैछ । अर्को हामीले टिकटबाट पनि आर्जन गर्दैछौं । हाम्रो रंगशालाको क्षमता १७ हजार हो । नेपालको खेल भएको दिन दर्शक धेरै हुनेछन् भने अन्य दिन थोरै हुनेछन् । ९ दिन हुने खेलमा न्यूनतम १० हजार दर्शक लिए पनि ५ सयको दरले करिब ५ करोडको हाराहारीमा आम्दानी हुन्छ । यसरी विभिन्न शिर्षकमा उठेको रकमले एउटा जिम हल बनाउने छौं र खेलाडी, प्रशिक्षक सबैको निम्ति रहेका स्र्पोट हस्पिटललाई अझै ठूलो बनाउने सोचेका छौं । खेलाडीहरुले पाउने सुविधाहरु के कस्ता रहेका छ ? पहिला खेलाडीको भत्ता प्रतिदिन १४ सय हुन्थ्यो भने अहिले म आएपछि बढाएर देनिक भत्ता २ हजार, २२ सय, २५ सय र २७ सयसम्म बनाएका छौं । उनीहरुले यस्तो भत्ता खेलको लागि छनोट भएको दिनदेखि खेल सिद्धिएको अन्तिम दिन र त्यसको भोलीपल्टसम्म पाउँछन् । उनीहरुलाई राम्रो प्रशिक्षण दिनको साथै हरेक हप्ता स्वास्थ्य अवस्था जाँचमा लगिरहेका छौं । यस्तै उनीहरुलाई पहिलाका पदक विजेताहरुको तर्फबाट प्रेरणा मिल्ने कार्यक्रम संचाल्न गरेका छौं । यस्ता रिफेश्मेन्टको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका छौं । हामीलाई आशा छ यि सबै कुराहरुले खेलाडीहरुलाई राम्रै प्रभाव परेको छ । सागप्रति संचार क्षेत्रबाट केही गुनासा पनि आएका छन् । जस्तो नेपालीहरुलाई प्रशारणको अधिकार नदिएको गुनासो छ । यसमा भएको के हो ? गुनासो खेलाडी, प्रशिक्षक र संघ कतैबाट आएको छैन । आएको छ त केवल केही पत्रकारहरुबाट जो पत्रकारको दर्जाका लायक छैनन् । प्रशारणको अधिकारको कुरा गर्नुपर्दा कुन नेपाली च्यानलसँग क्षमता छ जसले यी सबै गेमको लाइभ गर्न सक्छन् ? सक्ने व्यक्ति वा संस्था मसँग कुरा गर्न आउन् । साँघुरो मानसिकता बोकेर हुँदैन । अहिले चाँही विश्वमा ओलम्पिकको, एसियन गेमको प्रशारण अधिकार बेचिएको हुन्छ । किनभने त्यो बढी भन्दा बढी मानिसहरुमा पुगोस् भनेर । खेल आयोजना गर्ने भनेको डुब्नको लागि होइन । यो भनेको राष्ट्रको आर्थिक अवस्था बढाउनको लागि गरिन्छ । यो कुराहरु सबैले बुझ्नुपर्छ । हामी नेपालको घेरा भित्र मात्र रहन सक्दैनौ । सात वटा राष्ट्रमा मात्र नभएर जापान, हङकङ, कोरिया, सिङापुर, थाईल्याण्ड जस्ता देशहरुमा पनि हामी लाईभ ब्रोडकास्ट गर्दैछौ । यति राम्रो काम गर्दा कसरी भयो कमजोरी । हामीले जे काम गरेका छौं, यसभन्दा अगाडि कसले हिम्मत गरेको थियो ? प्रशारण अधिकार लिने च्यानलले के के अधिकार लिएकाे छ ? प्रशारण अधिकार लिने च्यानलले सम्पूर्ण ठाउँमा टिभीमा प्रशारण गर्ने अधिकार लियो । उसले त्यसको विज्ञापनको अधिकार पनि लिन्छ । नेपालमा यात्रो ठूलो खेल हुँदा हामीले एउटा फुटेज पनि खिच्न नपाउने भयो भनेर फोटो पत्रकारहरु निराश भएका छन् नि  ? सबैले एउटा कुरा बुझन जरुरी छ कि कसैले प्रशारण अधिकार किन्छ भने सबै उसको हातमा जान्छ । संसारभरमा नियम यही नै हो । यदी तपाई मोबाईल फोन किन्नुहुन्छ भने के त्यसमा मेरो ह्क लाग्छ त ? त्यस्तै यसमा हामीले केही गर्न सक्दैनौं । तर पत्रकारहरुलाई समाचार संकलनमा समस्या भने आउँदैन । यस्तै फोटो पत्रकारहरुलाई पनि फोटो खिच्ने व्यवस्था हामी मिलाउँदै छौं तर हामी यसको लागि पनि केही नियम बनाउँने छौं । उनीहरुले फोटोको नाममा भिडियो खिच्न पाउँदैनन् । यदी यस्को गरेको पाईएमा उनीहरुको कार्ड रद्द गरिनेछ । हाम्रो अफिसियल क्यामराहरुले पनि खिच्नेछ तर यहाँ अन्यलाई भिडियो गर्न दिईनेछैन । नेपाली मिडियाहरुको सबैकुरा खिच्न पाउनुपर्छ भन्ने आएका छन् । के अब नेपाली मिडियाले भनेको सबै कुरामा हामी ल्याप्चे लगाउनु पर्ने ? विदेशी च्यानलले हामीलाई करोडौं दिन्छु भन्दै आएका छन् । नेपाली मिडिया उल्टै हामीले कति दिने भन्ने कुरा गर्छन् । उनीहरुलाई फोटो खिचेको, भिडियो खिचेको पैसा दिनुपर्ने रे । उहाँहरुले समाचार प्रयोजनको लागि पाउने एउटा पाटो हो तर अब भिडियो खिच्नै पाउनु पर्छ भन्नुहुन्छ भने आउनुहोस् पैसा तिरेर प्रशारणको अधिकार लैजानुहोस् । यद्यपी यहाँ विज्ञापनको सबै रकम नक्षत्र च्यानलले लैजान पाउँदैनन् । यसमा हाम्रो ५०/५० प्रतिशत रहनेछ । अनि हामीले कहाँ गल्ती गर्यौं ? प्रतियोगिताको क्रममा हुने जोखिम व्यवस्थापन गर्ने तयारी कस्तो छ ? हामीले जोखिम व्यवस्थापनको लागि दमकलको व्यवस्था गरेका छौं । हामीसँग एमबुलेन्स सेवाको व्यवस्था छ । अस्पतालहरुमा आईसियु र सिसियुमा बेडहरु छुट्टाए राखेका छौं । यस्तै ३५० डाक्टर र नर्सहरु प्रत्यक्ष रुपमा परिचालन गर्दैछौं । यस्तै नेपाली खेलाडी, प्रशिक्षक, संघका कर्माचारीको लागि असोज, कात्तिक र मंसिरको लागि स्वास्थ्य बीमा गरीसकेका छौं । विदेश खेलाडीहरुको हकमा भने हाम्रो गर्ने नियम थिएन तर पनि हामीले विदेशी खेलाडीहरुको पनि ५ लाख बराबरको बीमा गरिदिएका छौं । सागको समग्र व्यवस्थापनमा कति कर्माचारी संलग्न हुन्छन् ? हाल व्यवस्थापनाको तर्फबाट हेर्नु भयो भने काठमाडौं, पोखरा र जनकपुर गरी ३ हजार मान्छे रहेका छन् । जसमा १२ सय कर्माचारी छन् । ५ सय जति स्वयंम्सेवक हुन्छन् । विभिन्न २७ वटा संघसंस्थामा बसेर काम गरिरहेका साथीभाईहरुको क्रियाशिलता रहेको छ । यदी २७ वटै संघको साथीभाई जोड्ने हो भने ५ हजार बढी पुग्छ । २२ हजार सुरक्षाकर्मीहरु खट्दैछन् । ओपनिङ र क्लोजिङ सेरोमोनीको दिन व्यवस्थापन कार्यमा करिव १५ हजार मानिस खट्दैछन्। सार्क आँफैमा सक्रिय हुन सकेको छैन । यसबीचमा साग गेमले कस्तो सन्देश दिन खोजेको छ ? एक दमै राम्रो प्रश्न सोध्नुभयो । राजनीतिले विभाजन ल्याउँछ र खेलकुदले एकता ल्याउँछ । भारत र पाकिस्तानबीच राजनीतिक तनाव भएकोले सागमा यी देशका खेलाडीले भाग लिदैनन् भनेर पनि मिडियाले लेखे । दुबै देशले सागमा भाग लिएका छन् । यस खेलको क्रममा भारत र पाकिस्तान बीचको मिलाप हुँदैछ । दुई राष्ट्रका खेलाडीहरु हात मिलाउँछन् र कतिले खेलपछि अंगालो पनि हाल्छन् जसले अन्तरराष्ट्रिय स्तरमा निकै नै राम्रो सन्देश दिन जान्छ । नेपालले पनि यस्तो अन्तरास्ट्रिय स्तरको कार्यक्रम संचालन गर्न सक्षम छ भनेर विश्वमा चिनाउँछ ।

अब छिट्टै घरमै बसेर उद्योग दर्ता र नवीकरण गर्ने दिन आउँछ : जीवनप्रकाश सिटौला

जीवन प्रकाश सिटौला उद्योग विभागका महानिर्देशक हुन् । निजामति सेवाको करियरमा यसअघि समेत उद्योग विभागमा लामो अनुभव सँगालेका सिटौला करिब २ महिना अघि विभागको महानिर्देशक भएर आएका हुन् । विभागमा आउनुअघि उनी प्रदेश नं १ को अर्थ तथा योजना मन्त्रालयको सचिव थिए भने त्यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको रुपमा थिए । देशभर खुल्ने सबै प्रकारका उद्योग तथा व्यवसायको दर्ता र अनुगमन गर्ने जिम्मेवारी रहेको विभागलाई व्यवसायिक जगतको पहिलो ढोका समेत मानिन्छ । यो विन्दुमा हुने सेवाको गुणस्तर र सहजताले उद्यमीहरुलाई राज्य प्रशासनप्रतिको पहिलो दृष्टिकोण बनाउने काम समेत गर्छ । विभिन्न कानूनी र संरचनागत सुधारसँगै पछिल्लो समय उद्योग तथा कलकारखानाहरुको विस्तार र लगानी वृद्धि बढ्दै गएको देखिएको छ । देशमा औद्योगिक वातावरणको माहोल बढ्दै जाँदा उद्योग विभागले चाहिँ सेवाग्राहीलाई कसरी भरपर्दो सेवाको प्रत्याभूति गराउँदै छ त ? प्रस्तुत छ, विकासन्यूज डटकमका लागि राजाराम न्यौपानेले यिनै सन्दर्भमा केन्द्रित रही गरिएको विकास बहसः तपाईँ उद्योग विभागको नेतृत्वमा आउनुभएको पनि २ महिना हुन लाग्यो, योबीचमा तपाइँले विभागमा गर्नुभएका मुख्य सुधार के हुन् ? म उद्योग विभागको महानिर्देशक भएर आएपछि मैले गरेको सबैभन्दा महत्वपूर्ण काम भनेको इन्भेर्टर्स फ्यासिलिटेसन सेन्टर (लगानीकर्ता सहजीकरण केन्द्र) को स्थापना हो । यो केन्द्रमार्फत् उद्योग दर्ता, कम्पनी दर्ता, दर्तापछिको प्रकृया, वैदेशिक लगानी स्वीकृति, भिसा सिफारिस जस्ता विभिन्न सुविधा तथा सहुलियतका विषयमा जानकारी लिन सकिन्छ । यो केन्द्र सञ्चालनमा आएपछि उद्योग दर्ता गर्ने, नवीकरण गर्ने, लगानी थप, भिसा स्वीकृति जस्ता विभागका सेवाहरुमा निकै सहजता आएको अनुभव हामीले गरेका छौं । यसले गर्दा विभागमा आएका सेवाग्रहीहरु सन्तुष्ट भएर सेवा लिन सकेकाे अनुभव हामीले गरेका छौं । हामीले उद्योग विभागमा दिइएको सेवा चित्तबुझ्दो भयो/भएन भनेर प्रतिक्रिया लिन र चित्तबुझ्दो नभएमा आवश्यक गुनासा र सुझाव दिने प्रणाली समेत विकास गर्दैछौं । निकट भविष्यमै एप्लिकेसन बनाएर मोबाइलबाटै उद्योग विभागसँग सम्बन्धित जानकारी दिने प्रक्रिया अघि बढाइएको छ । त्यसबाहेक विभागबाट प्रदान गरिने सबै प्रकारका सेवालाई हामीले सेवाग्राहीमैत्री र छरितो बनाउने प्रयास गरेका छौं यसका लागि कर्मचारीहरुलाई आवश्यकता अनुसार निर्देशन र परिचालन गरिरहेका छौं । यसमा उहाँहरुले पनि राम्रो साथ र सहयोग गरिरहनुभएको छ । म विभागकाे  विभागका कर्मचारीको सहकार्यमा नै विभाग चलेको छ । विभागमा सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो । यहाँ धेरै काम छ, त्यसमा सबै आ–आफ्नो जिम्मेवारी अनुसार मिलेर नै काम भैरहेको छ । २५ वर्ष पहिलेदेखि प्रतिक्षा गरेको एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएको छ, एकल विन्दुले के फरकपन ल्याएको छ ? नेपालमा औद्योगिक क्षेत्रलाई सुधार्नुपर्छ भनेर एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएको हो । यसले औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, औद्योगिक सम्पत्ति सम्बन्धी प्रशासनिक काम गर्ने, उद्योगहरूको वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने लगायतका काम केन्द्रबाट नै भइरहेको छ । उद्योग दर्ताका सम्बन्धमा अहिले एकै ठाउँबाट उद्योगको सबै काम भइरहेको छ । सेवाको सुरुवात भएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित नै छन् । केन्द्रलाई हामीले सहज र सरल बनाउँदै जानेछौँ । सेवा केन्द्र सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धता वृद्धि हुँदै गहिरहेको छ, सेवाग्राहीहरुले एकै ठाउँबाट सेवा पाइरहेका छन् । विदेशी लगानीको लागि स्वीकृतिपछि कम्पनी दर्ता गरी आएकाहरूको उद्योग दर्ता, विदेशी लगानीकर्तालाई व्यावसायिक भिसा सिफारिस र उद्योगमा काम गर्न आउने विदेशी नागरिकलाई गैरपर्यटकीय भिसाको सिफारिस दिने काम पनि केन्द्रले गरिरहेको छ । तर, जे भइरहेको छ, सबै पूर्ण भइरहेको छ भन्ने हैन । पहिलेको भन्दा राम्रो भएको छ । सेवाग्राहीले अझ राम्रो खोजिरहेका छन् । हामी त्यसका लागि काम गरिरहेका छौँ । नेपालमा बेला बेलामा लगानी सम्मेलन पनि भैरहेको छ, यसबाट नेपालले के फाइदा लिएको छ ? विश्वको राष्ट्रले आफ्नो देशमा लगानी भित्र्याउन बेला बेलामा लगानी सम्मेलन गरिरहेका नै हुन्छन् । नेपालले पनि देशमा लगानीका वातावरण छ है भनेर जानकारी दिन्छ । नेपालमा यो–यो ठाउँमा लगानी गर्न सकिन्छ भनेर जानकारी दिनु पनि यस्ता सम्मेलनहरुको उद्देश्य हो । यसले लगानीकर्ताहरु आकर्षत हुने वातावण निर्माण गर्दछ । लगानी सम्मेलन हुने वित्तिकै हामीले यति नै लगानी आउँछ भन्दा पनि यसले लगानीको वातावरण निर्माण गर्छ र विश्वले जानकारी दिन्छ । लगानी सम्मेलनले लगानीकर्ता र सरकारबीच सिधा सम्पर्क हुन्छ । लगानीकर्ताहरुको अगाडि सरकारले के प्रतिज्ञा गर्छ, नीति–निर्माण तथा पुनरावलोकन कसरी गर्छ र सम्मेलनपछि सरकारले के–कस्ता योजना बनाउँछ, त्यसले उद्योग दर्ता संख्यामा भर पर्छ । तर, अहिले दर्ता संख्या उत्साहजनक नभए पनि राम्रो सुरुवात भने भएको छ । फिटामा परिवर्तन गर्नु हो ? फिटालाई समयको माग अनुसार परिवर्तन गर्न सकिन्छ । त्यसै अनुरुप अहिले भइरहेको कानूनभन्दा पनि अझ विदेशी लगानी सहज र सरल बनाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) लाई परिवार्त गर्न सकिन्छ । शान्ति, सुव्यवस्था आइसकेको छ, औद्योगिक क्रान्ति गर्न बाधा पुर्याउने ऐन कानून छन् र ? कानूनमा भएका जटिलता र बाधालाई ऐनबाट परिमार्जन गरिरहेका छौँ । विस्तारै नेपालमा उद्योगको विकास हुदै गहिरहेका छ । सेज, प्रदेशीक औद्योगिक क्षेत्रहरुको स्थापना हुने क्रममा छन् । सेजमा कति उद्योगहरु सञ्चालनमा नै आइसकेका छन् भने कति उद्योगहरु सञ्चालको तयारीमा छन् । पछिल्लो समय नेपालको उद्योग क्षेत्रमा सकारात्मकता आहिरहेको छ । उद्योगीहरुले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुन नसकेको भन्छन्, किन ? त्यस्तो हो जस्तो मलाई लाग्दैन । विस्तारै उद्योगको स्थापनामा वृद्धि हुँदै गरिरहेको छ । सुधार नै गर्नु नपर्नै भने हैन् । सुधारका सम्भावना जहाँ पनि रहन्छ । विश्वका विकसित देशहरुका उद्योगीले पनि सहज र सरल माध्यम खोजिरहेका हुन्छन् । नेपालमा पनि त्यस्तै हो । उद्योगीहरुले भनेको जस्तै औद्योगिक वातावरण नै सिर्जना हुन नसकेको हैन । तर, हामी पनि पूर्ण रुपमा औद्योगिक वातावरण सिर्जना भैसकेको छ भन्न सक्दैनौँ, विस्तारै हुने प्रक्रियामा छ । उद्योग दर्ता र अन्य काममा सेवाग्राहीलाई अनावश्यक झन्झट दिने गरेको आरोप लाग्दै आएको छ, यो के हो ? विभागले सेवाग्राहीलाई हामीले सहज र सरल तरिकाले सेवा दिहिरहेका छौँ । हामी पनि देशमा धेरै उद्योगहरुको स्थापना होस् भनेर काम गरिरहेका छौ । अरु सरकारी कार्यालयहरु अनलाइनमा गइसके, विभागले अनलाइन प्रक्रियाको सुरुवात कहिलेबाट गर्छ ? हामीले विभागलाई प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु गर्न लागेका छौँ । अगामी वर्ष देखि उद्योग विभाग पुर्णरुपमा अनलाइन प्रणालीमा जान्छ । हामीले त्यसको लागि काम सुरु गरिसकेका छौँ । यसको लागि ८/१० प्रतिशत काम भइसकेको छ । अनलाइन प्रणाली आए पछि डिजिटल सिग्नेचर लगायत सबै काम अनलाइनबाट नै हुन्छ, त्यसपछि सेवाग्राहीहरू उद्याेग दर्ता र नवीकरण लगायत कुनै पनि काम गर्न  विभागमा धाइराख्नु पनि पर्दैन । विभागमा उद्योग दर्ता हुन्छन, तर कति सञ्चालन हुन्छन् भन्ने नियमनको पाटो भने निकै कमजोर छ किन ? उद्योग दर्ता भए पनि नियमनको पाटो भने कमजोर नै छ । हामीले उद्योगको अनुगमन सुरु गरिरहेका छौँ । हामीले दिनमा २/४ वटा उद्योग दर्ता अनुसार सञ्चालन भएको छ कि छैन भनेर अनुगमन सुरु गरेका छौँ । नेपालमा ९ हजार उद्योग दर्ता भएका छन । त्यसमा ५ हजार मात्रै सञ्चालनमा छन् । एकै पटक सबै उद्योग अनुगमन गरेर सकिदैन, विस्तरै हुदै गरिहेको छ । दर्ताको उद्देश्यभन्दा फरक तरिकाले सञ्चालमा भएको पाइएमा हामी कार्वाही गछौँ । अब सञ्चालनमा नभएका उद्योगहरुको विभागले लेखाजोखा गर्ने काम पनि सुरु गरेको छ । अब विभागले सफ्टवेयर नै विकास गरेर सबै उद्योगहरुलाई अनुगमन तथा नियमन गर्छ । उद्योग दर्ता गर्न भन्दा बन्द गर्न गाह्रो हो । यस्तो अवस्थामा नेपालमा कसरी औद्योगिकरण कसरी सम्भव होला ? नेपालमा उद्योग दर्ता गर्न र बन्द गर्न नै सहज छ, उद्योग बन्द गर्दा तिर्नु पर्ने कर लगाएतका प्रक्रिया पुरा गर्नु पर्छ । यो नियम हो, नियम सबैले मान्नु पर्छ । प्रक्रिया पुर्याएर उद्योग दर्ता पनि हुन्छ, प्रक्रिया पुगेपछि उद्योगीले उद्योग बन्द गर्न सक्ने व्यवस्था छ । विदेशी लगानीको ठूला परियोजनाहरु नेपालमा आएर स्वीकृति लिन्छन् र पछि विभिन्न कुरामा समस्या आउँछ किन ? सबै परियोजनामा विवाद आउँदैन । विदेशी ठुला परियोजनाहरु सजिलैसँग सञ्चालित छन् । केहीमा भने समस्या हुन सक्छ । विदेशी लगानीलाई केन्द्रदेखि स्थानीय तहसम्मलाई अधिकार दिएको छ । कतै नमिलेको हो कि जस्तो देखिन्छ । उद्योग विभागको हकमा भन्दा पनि स्थानीय तह, सडक विभाग लगायतकाले नै खानी र सडकको काम गर्ने हो । विदेशी लगानी भित्र्याउने पहिलो ढोका भनेकै विभाग हो, तर विभागमा म्यानपावर, सिस्टम र पूर्वाधारको पाटो कमजोर देखिन्छ ? हो, विभागमा म्यानपावर, सिस्टम र पूर्वाधारमा केही कमी छ । हामी विस्तारै विभागको म्यानपावर फुलफिल गरेर, प्रक्रिया पूरा गरेर आएका फाईलहरुको काम फटाफट नै भएको छ । पछिल्लो समय त्यसैकारणले नै विदेशी लगानी वृद्धि हुँदै गहिरहेको छ । पछिल्लो ४ महिनामा स्वदेशी उद्योगको लगानी बढ्नु पर्नेमा घटेको छ नि ? किन ? आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११ अर्ब ९३ करोड ३० लाख विदेशी लगानी प्रतिवद्धता आएको थियो । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धि भएको छ । ठुला लगानी लगानी बोर्डमा जाने भएकोले उद्योग विभागमा कम भएको जस्तो देखिएको हो । कमि भने भएको छैन् । स्वादेशी तथा विदेशी लगानी प्रतिवद्धतामा वृद्धि हुदै गहिरकेको छ । लगानी बोर्डको र प्रदेश सरकारको लगानी पनि जोडने हो भने कमी आएको देखिदैन । उत्पादनमूलक, खनिज, सेवा र पर्यटनमा नेपालले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । विदेशी लगानी भित्र्याउन चुनौती के के छन् ? प्रतिवद्धता धेरै नै आउने, तर लगानीमा किन कमि ? नेपालमा मात्रै हैन विश्वमा नै प्रतिवद्धता आएका लगानी पूर्ण रुपमा आएको पाईदैन । लगानीकर्ताले धेरै देशमा लगानी प्रतिवद्धता जनाएका हुन्छन् । उनिहरुले आफ्ना लागि कुन देश उपयुक्त हुन्छ भनेर छान्ने गरेका छन् । त्यसैले पनि सतप्रतिशत हुँदैन । कुनै पनि देशका लागि वैदेशिक लगानी आर्थिक प्रगतिको आधारीत हुन्छ ।

अब अस्पतालमा घण्टाैं लाइन बस्ने दिन गए: आभुषण ज्याेती कंसकार

स्वदेशमै केही गर्ने इच्छा सबैको हुन्छ । त्यो इच्छा कसैको पुरा हुन्छ त कसैको तुहिन्छ पनि । काम गर्दै जाँदा धेरै चुनौतीहरु थपिन्छन् जसले ति चुनौतीलाई सामना गर्दै अगाडि बढ्छ उहि नै एकदिन सफल बन्छ । यस्तै एक ठूलो सपना बोकेका व्यक्ति हुनुहुन्छ आभुषण ज्योती कंसकार । भारतमा १५ वर्ष बसेर आफ्नो विद्यालय तह र इञ्जिनियरिङ पुरा गर्नुभएका कंसकार हाल जिभी हेल्थ प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी निर्देशक हुनुहुन्छ । सानैदेखि स्वदेशमै केही गरेर युवाहरुमाझ ठूलो प्रभाव देखाउन चाहने उहाँ डेढ वर्ष भारतमा काम गरेर सन् २०११ मा नेपाल फर्किनु भयो । सुरुमा आफ्नो बुबाको व्यवसायमा साथ दिनुभएको उहाँले काम गर्दै र सिक्दै जानुभयो । सन् २०१४ मा उहाँले हेभी ईक्युपमेन्ट र दुई पाङ्ग्रे प्रिमियम स्कुटर नेपाल भित्र्याउनुभयो । हाल उहाँ नै नेपालमा प्रिमियम स्कुटर भित्र्याउने पहिलो व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ सँग कम्पनीको वर्तमान अवस्था, हालै लञ्च गरेको जिभि हेल्थ एप्स र भावी योजनाहरुको बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ विकासन्युजका लागि डोमी शेर्पाले गरेको विकास बहस ।  जिभीको सुरुवात कहिले र कसरी भयो ? जिभीको सुरुवात हामीले गत अप्रिलमा गरेका हाैं । दुई वर्ष अगाडि मेसिनहरुको बारेमा अध्ययन गर्ने क्रममा हेल्थ केयरको एप बने कस्तो होला भन्ने मनमा लाग्यो । यदि एउटा मानिसलाई हिसाब सोध्यो भने उसलाई आफैले हिसाब गरेर निकाल्न १० मिनेट लाग्छ तर त्यही हिसाबलाई क्यालकुलेटरमा गर्ने हो भने केही सेकेण्डमै उत्तर आउँछ । यसमा हाम्रो १० मिनेटवाला देश हो । हाम्रो देशको स्वास्थ्य सेवा प्रणाली निकै नै कमजोर छ । यसैलाइ मध्येनजर गर्दै हामीले हेल्थ एप बनाउने सोच बनायौं । मैले सबै काम थाति राखेर यसमा नै समय दिएँ । मैले आज स्कुटर बेचिन भने अन्य कोहीले बेच्छ यसले कुनैपनी प्रकारको समस्या उब्जाउँदैन तर आज हामीले यो काम गरेनौ भने आउँदो ५ वर्षमा पनि अरु कोहीले यसलाई प्रयास गर्दैनन्। त्यसैले यही कुरालाई ध्यान दिँदै हामीले एउटा जवान टिम ल्यायौ जसले हाम्रो यस जिभी एपलाई ३ महिनामै बन्न योग्य बनायो। उनीहरुले मलाई पहिला एक वर्ष लाग्छ भनेका थिए तर पछि ३ महिनामा यस एपलाई बनाए । हामीले ३ महिनामा एप मात्र बनाएनौं त्यसलाइ एपलाई पुरा गर्न सहयोग गर्ने हरेक अन्य सहायक एपहरु पनि बनायौं। जिभी नामलाई कसरी रोज्नुभयो ? नाम हामीले किन जिभी नै राख्यौं भन्ने कुराको कथा धेरै रमाईलो र हाँस्यास्पद पनि छ । जिभी नाम राख्नुको पहिलो कारण थियो यस नाममा भएको सरलता । दुई शब्द मात्र भएको कारण यसलाई उच्चारण गर्न निकै नै सजिलो हुनाले पनि यो नामलाई रोजेका हौं । पहिलो महत्वपूर्ण कुरा भनेको धेरै जटिल नाम दिएर पनि हुँदैन। सबैले सम्झिनु सक्नुर्पयो भन्न सक्नुर्पयो। यो निकै नै सरल नाम हो । यसको नाम चिरन्जबी पनि हुन सक्थियो तर त्यस प्रकारको नाम निकै नै अफ्ठ्यारो हुन्छ र सबैलाई यस्तो नाम भन्न पनि गाह्रो हुन्छ । त्यस कारण जिभी नाम रोजेका हौं । नेपालको अहिलेको अवस्थामा स्वास्थ्य सेवाको अवस्था तपाईले बुझे अनुसार कस्तो छ ? स्वास्थ्य सेवा भन्दै गर्दा हामीसँग मेडिसिटी, नर्भिक, ग्राण्डी जस्ता अस्पताल छन् । त्यस्तै अर्को  स्वास्थ्य चौकी मात्र भएका ठाउँ पनि छन् । त्यहाँ एक्स-रे गर्ने मेसिन छ भने कर्माचारी छैनन् । तर स्वास्थ्य क्षेत्रमा भएको मुख्य समस्या एकतर्फबाट मात्र हेरेर त्यसको समाधान खोज्ने हो भने पाईदैन । सबैजनाले प्रयास गरिरहेका छन् र यसमा कुनै पनि प्रश्न गर्ने ठाउँ छैन । सरकारले पनि आफ्नो तर्फबाट मेडिकल कलेजहरु खोल्ने कुरा गरिरहेको छ। अर्को हामीले के बुझ्न जरुरी छ कि जब कसैले पनि काम सुरु गर्छ उसको आफ्नो धारणा हुन्छ । हाम्रै घरमा पनि एउटा काम गरौं भन्दा त कुरा मिल्दैन । जबकी यो देश त ३ करोड जनसंख्याको देश हो । ठूला अस्पतालहरुले आफ्नो मेडिकल रिपोर्टहरुलाई डिजिटाईज गरिसके तर साना साना अस्पतालहरु भने अझैँ पनि कागजको भरमा मेडिकल रिपोर्टहरु तयार पार्छन् । ति कतिबेला हराउँछ पत्तै पाईदैन । जतिबेला हामीलाई केही नयाँ रोगले सताउँछ हामीसँग मेडिकल रिपोर्ट हुँदैन जसको कारण डाक्टरलाई हामीलाई के भएको हो भन्ने पत्ता लगाउन केही हदसम्म गाह्रो हुन्छ । हामीलाई जसरी व्यवसाय गर्दा दुई वर्ष अगाडिको रिपोर्ट हेर्छौ र त्यस्तै डाक्टरलाई पनि बिरामीको पहिलाको अवस्थाहरु बुझ्न जरुरी छ । जसकारण के भएको हो भन्ने पत्ता सजिलै लगाउन सक्छ । यसका साथसाथै अन्य समस्याहरू पनि छन् । तिनै समस्यालाई समाधान गर्नको लागि हामीले जिभीलाई ल्याएका हौं । हामी जति सक्दो धेरै समस्या समाधान गर्ने प्रयास गर्नेछौं । डकनक जस्ता हेल्थ एप पनि नेपालमा छन् । तपाईहरु यस्तै अन्य हेल्थ एप भन्दा कसरी फरक हुनुहुन्छ ? हामीले एप बनाउनु भन्दा अगाडि डकनक एपको बारमा केही जानकारी थिएन । यद्यपी त्यो एउटा अपोइन्टमेन्ट लिने मात्र एप हो। यसले तपाईको कुनै पनि प्रकारको व्यक्तिगत स्वास्थ्य रेकर्ड राख्दैन । यसले औषधी पनि डेलिभर गर्दैन। डकनक हामीले गर्न चाहेको कामको सानो हिस्सा हो । अमेरिकामा भने यो प्रख्यात छ। स्पष्ट हुनु पर्दा नेपालमा हामीले सुरु गरेको काम कसैले पनि गरेको छैन। विश्वव्यापी रुपमा हेर्नु पर्दा हामीले गर्न खोजेको काम गर्ने केही कम्पनीहरु छन् । उनीहरुको पनि ठूलो सोच होला तर उनीहरु हामीले जस्तै सानोबाट सुरु गरेका छन्। धेरैले औषधि पुर्याउने काम सुरु गरेका छन् जुन खासै ठूलो टेक्नोलोजी पनि होइन। तर व्यक्तिगत स्वास्थ्य रेकर्ड बाहिरको कुरा गर्नुपर्दा त्यहाँको एपमा भएको डाटाहरु छरिएको अवस्थामा छ। त्यहाँ इलेक्ट्रोनिक मेडिकल रेकर्ड एकजनाले सम्हालेको हुन्छ । तपाई एउटा अस्पतालमा जानुहुन्छ उनको आफ्नै मेडिकल रिपोर्ट हुन्छ । अर्कोमा जानुहुन्छ उसको पनि आफ्नै मेडिकल रिपोर्ट हुन्छ जुन अर्को कुनै पनि अस्पतालसँग जोडीएको हुँदैन। जसकारण केही नयाँ रोग लागेको कारण दोस्रो अस्पताल जाँदा डाक्टर र बिरामी दुबैलाई समस्या पर्न जान्छ । हुनसक्छ उनीहरुको पनि भविष्यमा गएर सबैकुराको व्यवस्थापन गर्ने योजना होला तर हालको लागि हामी जस्तो फिचर भएको एप कम्पनी एकदमै कम छन्। हामी फरक छौं त भन्दिन तर एकीकृत रुपमा हेर्नुपर्दा हामीसँग उनीहरुको दाँजोमा दिनको लागि धेरै छ र हाम्रो डाटा टुक्रिएको अवस्थामा हुँदैन र डाक्टर, बिरामी, अस्पताल र देश सबैलाई धेरै भन्दा धेरै नै सहयोगी बन्नेछ । हाम्रो अहिलेको अवस्थामा कुन ठाउँमा कुन रोगको अवस्था के छ भन्ने बुझ्नलाई लाखौं पैसा खर्च गर्नुपर्ने अवस्था छ तर भविस्यमा हामीसँग भएको डाटाको माध्यमबाट देशमा के भइरहेको छ भन्ने सजिलै पत्ता लगाउन सक्छौं। यसको सहयोगबाट हामी देशमा हाल कुन रोगको अवस्था के छ भन्ने जानकारी दिन सक्छौं। अस्पताल र डाक्टरहरुसँग जोडिनको लागि हाल के गरिरहनुभएको छ ? हालको अवस्थामा हामीसँग १०० भन्दा बढी डाक्टरहरु जोडी सक्नु भएको छ । हामी अहिले अस्पतालहरुसँग गइसकेको अवस्था छैन।  अहिले क्लिनिकमा गईरहेका छौं किनभने हाम्रो पहिलो निस्किएको फिचर एप भनेको क्लिनिकल एप हो। हामीले हाल ओपीडी अर्थात बाहिर बिरामीको क्लिनिकल र ईएमआर ( ईलेक्ट्रोनिक मेडिकल रिपोर्ट ) गरिरहेका छौं। त्यसपछी हामीले ल्याब रिपोर्टलाई एकीकृत गर्नुपर्ने हुन्छ। त्यसपछी रेडियोलोजी र अपरेसन थिएटर बन्नेछ। यी सबै फिचरहरु तयार भईसकेपछि हामी अस्पतालहरूमा जानेछौं। तर, त्यसको लागि हामीलाई करिब ६ महिनाको समय लाग्छ । हामीले उनीहरुलाई के फाइदा दिइरहेका छौं भने हामीसँग भएको १ हजार बढी प्रयोगकर्ताहरुले अब उनीहरुसँग सिधै सम्पर्क राख्नेछन्। यसले उहाँहरु र बिरामीको दुखाइ कम हुन्छ । उहाँहरुले आफ्नो क्लिनिकमा २० वटा बिरामी कुर्ने सिट राख्नुपर्ने छैन त्यसको साटो उहाँहरुले बरु एउटा बढी ओपीडी बनाउन सक्छन्। बिरामी आएर सिट नभएको अवस्थामा उभिएर बस्नु पर्दैन। डाक्टरलाई दुई/तीन घण्टा कुर्नु पर्दैन । कुनै कारण डाक्टरलाई काम परेर ढिलो भएको अवस्थामा त्यो चिसो सिटमा कुरेर आफ्नो र कुरुवा दुवैको समयको बर्बाद गरेर बस्नु पर्दैन। यसले समय सदुपयाेग गराउँछ । । हामीले समयको कुरा गर्दा बिरामीको समयको कुरा मात्र गर्छौ । सोच्नुस नेपालमा दिनको २ हजार बिरामी मेडिसिटीले हेर्छ भने आज यो देशको २ हजार उत्पादनशीलता भएका मानिसहरु अस्पतालमा कुरेर बसेको अवस्था छ। सुन्दा मुर्खता लाग्छ तर सत्य यही हो। जिभी एपमा के कस्ता विशेषताहरू छन् ? सर्वप्रथम हाम्रो एप डाउनलोड गरिसकेपछि तपाई हामी सँग जोडिएका डाक्टरहरू सँग जोडिन सक्नुहुन्छ । आफुलाई सजिलो हुने समय हेरेर हामीसँग जोडीएका क्लिनिकका डाक्टरहरुसँग समय लिन पनि सक्नु हुन्छ तपाईले डाक्टरको नामबाट, अथवा रोगको नामबाट वा अस्पतालको नामबाट खोज्नसक्नु हुनेछ। तपाईले आफ्नो अपोईन्टमेन्ट लिईसकेपछी तपाईलाई नोटिफिकेसन मार्फत जानकारी गराईनेछ। जब तपाई डाक्टरकोमा जानुहुन्छ उहाँले तपाईको औषधिको प्रेस्क्रिप्सन, तपाईको रिपोर्टहरु सबै एपमै हाल्दिनु हुनेछ। उहाँले लेख्न साथ तपाईको फोनमा सबै रिपोर्टहरु आउनेछन्। तपाईले प्रेस्क्रिप्सनमै क्लिक गरेर औषधि मगाउन पनि सक्नुहुनेछ। त्यो हाम्रो एउटा पाटो हो। भोली गएर तपाईले हाम्रोबाट ल्याब रिपोर्ट पनि मगाउन सक्नुहुनेछ। आज तपाईलाई ल्याब रिपोर्ट देखाउनको लागि डाक्टरलाई रिपोर्ट लिएर फेरी देखाउन पर्नेहुन्छ । तर, यदि जिभी एप प्रयोग गर्नुहुन्छ भने तपाईको एप डाक्टरकोमा पनि देखाउँछ जसले डाक्टरलाई उनको फुर्सदको समयमा तपाईको ल्याब रिपोर्ट हेरेर जे जे तपाईलाई भएको हो त्यो एपको मार्फतबाट तपाईलाई खबर आउँछ । तपाईको समयको पनि बचत हुन्छ। जानु आउनुको पैसाको बचत, बिरामीसँग जाने मान्छेको समय बचतले जीवनलाई धेरै नै सजिलो बनाइ दिन्छ। यस्तै औषधि तथा अन्य सामग्रीमा २५ प्रतिशत सम्मको छुटको हामीले व्यवस्था गरेका छौं। त्यसबाहेक हामीसँग अन्य केही यस्ता स्पेसल फिचरहरु छन् जुन हामीलाई एप बनाउँदै जाँदा महशुस भयो जस्तै रक्तदान। हामीले के महशुस गर्यौं कि जब हाम्रो प्रयोगकर्ता १ लाख देखि १ करोड पुग्छन् त्यहाँ एकदमै रेयर ब्लड ग्रुप भएका मानिसहरु पनि समावेश हुन्छन् जसको माध्यमबाट मानिस हामीले नजिकै भएको मिल्दो ब्लड ग्रुप भएको व्यक्तिलाई पत्ता लगाउन सक्छौं। हाम्रो एप लगईन गर्दा प्रयोगकर्ताले आफ्नो ब्लड ग्रुप राख्नुपर्ने हुन्छ। त्यस्तै हामीले फ्यामिली फिचर पनि ल्याएका छौं’ । यसमा धेरै विशेषताहरू छन् । आगामी योजनाहरु के कस्ता छन् ? अबको पाँच वर्षमा हाम्रो लक्ष्य भनेको देशको २५ प्रतिशत जनसंख्यामा पुग्नु हो । जुन ८० लाख देखी १ करोड मानिसमा पुग्नु हो। हामी पाँच वर्षके अवधिमा काठमाडौं बाहेकका अन्य धेरै भु(भागमा पुग्न चाहन्छौं । कम्तिमा पनि विकट साना गाउँहरुमा सेवा दिन सक्ने बन्ने योजना छ। यदि सबै तर्फबाट हामीलाई सपोर्ट आयो भने हामीले धेरै नै गर्न सक्छौं । अबको पाँच बर्षमा हामी धेरै ग्रामीण क्षेत्रमा टेलिमेडिसिन सेवा पुर्याउन सक्छौं। तपाई जस्तो युवा जो देश मै केही गर्न चाहनुहुन्छ, उहाँहरूलाई तपाईको के सुझाव छ ? सर्वप्रथम त तपाई सकरात्मक हुन जरुरी छ। साना/साना कुराले तपाईलाई असर गर्न नदिनुहोस्। नेपालमा हामी साना/साना कुराले हामीलाई असर गर्न दिन्छौं। हामी छिट्टै नै नकरात्मक हुन्छौं र हाम्रो सोच बदलिहाल्छौं। सबैभन्दा पहिला त मलाई लाग्छ हामीले त्यस बानीलाई बदल्नु जरुरी छ । मलाई लाग्छ कि हामी सबै महत्वाकांक्षी छौं र हामी सबैसँग योजना छ। तर समस्या के छ भन्दा हामीसँग त्यो शिक्षा छैन जसले हाम्रो योजनालाई सहयोग पुर्याउँछ। शिक्षा भन्नाले युनिभर्सिटीमा लिएको डिग्री होईन। कलेज बाहिर पनि दुनियाँ छ भन्ने हामी बुझ्दैनौं। पर्याप्त अध्ययन गर्दैनौं, आफुलाई पर्याप्त शिक्षित गर्दैनौं। हामीलै युनिभर्सिर्टीले वर्षमा ८ देखि १० वटा किताब पढ्न दिन्छ तर संसारमा २० बिलियन भन्दा बढी किताबहरु छन् जसको सहयोगले हामी धेरै कुरा सम्बन्धि ज्ञान हाँसिल गर्न सक्छौं तर हामी यसको लागि समय नै निकाल्दैनौं। अनि हामी हाम्रो शिक्षा प्रणाली राम्रो छैन भनेर गुनासो गर्छौं। मैले बिजनेस गर्नको लागि कतैबाट पनि डिग्री लिएको होइन र मैले केही ट्रेनिङ पनि लिएको छैन । तर, मैले आफुले आफुलाई धेरै किताबहरु पढेर र यही क्षेत्रमा लागेका व्यक्तिहरुसँग भेटघाट, कुराकानी गरेर आफुलाई प्रशिक्षित गराएको छु । मलाई लाग्छ हामी सकरात्मक हुन जरुरी छ।  मैले २०१५ मा आफ्नो दुईवटा बिजनेस सुरु गर्दा भूकम्प गयो र नेपालमा नाकाबन्दी भएको थियो। तर, त्यसले मलाई कहिल्यै पनि असर गरेन। म र मेरो टिम सकरात्मक भएर अगाडि बढ्यौं र आज हामी दुवै क्षेत्रमा देशको दोस्रो राम्रो कम्पनीमा पर्छौं।