ब्याचलर सकेर विदेश गएका विद्यार्थी व्यवस्थित र सफल

काठमाडाैं ।  प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या उच्च छ। अमेरिका र बेलायतपछि अन्तरर्राष्ट्रिय विद्यार्थीद्दारा रुचाइएको तेस्रो लोकप्रिय गन्तव्य हो अष्ट्रेलिया। अमेरिका र बेलायतको दाँजोमा सजिलैसँग भिषा पाईने र पढाई पछि पनि लामो समयसँग बस्न मिल्ने प्रावधानको कारण यो विद्यार्थीहरु माझ लोकप्रिय रहेको छ। १३ वर्ष अगाडि स्थापना भएको ग्रेस ईन्टरनेसनल सुरुवाती दिन देखि नै विधार्थीको करियर काउन्सिलिङमा विशेष ध्यान दिदैँ आएको कन्सल्टेन्सी हाे ।विदेश पढ्न जाने विद्यार्थीहरूलाई  मध्येनजर गर्दै ग्रेस ईन्टरनेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्दशक एन्ड्रियु पाैडेलसँग  विकासन्युज का लागि डाेमी शेर्पाले गरेकाे कुराकानी ः अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाईमा पर्नुको कारण के हो ? अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि अहिलेसम्मैको राम्रो गन्तव्य मध्येकाे एक हो। यो पहिला पनि बेस्ट थियो, अहिले पनि बेस्ट छ र सधैं बेस्ट रहनेछ। किनभने सर्वप्रथम वातावरणको कुरा गर्नुपर्दा नेपाल र अष्ट्रेलियाको तापक्रम, बस्ने ठाउँ सबै करिब एउटै एउटै जस्तो छ। त्यसले गर्दा बेग्लै ठाउँमा गएको जस्तो अनुभव नै हुँदैन। दोस्रो सुरक्षाको कुरा गर्नुपर्दा महिला र पुरुष दुवैको लागि अष्ट्रेलिया सुरक्षित स्थान हो। अमेरिकामा जस्तो सुपरमार्केटमा गोली चलेको जस्तो घटनाहरु अहिलेसम्म त्यहाँ घटेको छैन। यसले गर्दा अष्ट्रेलिया एउटा सुरक्षित स्थान हो। अर्काे कुरा नेपाली विद्यार्थीहरुको कोही न कोही आफन्त, साथीभाईहरु अष्टे«लियामा हुन्छन् जसले उनीहरुलाई धेरै तरिकाबाट सहयोग गर्दछ चाहे त्यो बस्नलाई होस् वा काम खोज्नलाई। म आफै पनि समय-समयमा अष्ट्रेलिया गइरहन्छु। त्यहाँ नेपालीहरुको बाहुल्यताको कारण पनि देशमै बसेको महसुस हुन्छन्। अहिले त हामी दशैं तिहार नेपालमा के मनाउँछौं त्यहाँ त्यति भव्यसँग मनाईन्छ।  सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी बाहिर जाने भनेको गुणस्तरीय शिक्षाको लागि हो र त्यस बाहेक केही राम्रो कमाई र बसाई पनि होस् भन्दा यो सबै अवसरहरु अष्टे«लियामा रहेकोले पनि नेपाली विद्यार्थीहरुको रोजाईमा अष्ट्रेलिया परेको हो। कुन स्तरका आए स्रोत भएका विद्यार्थीले अष्ट्रेलियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन् ? अहिले हाई लेभलका र मिडियम लेभलका आय स्रोत भएका नेपाली विद्यार्थीले अष्टे«लियाको ट्युसन शुल्कलाई सजिलै धान्न सक्छन। त्यहाँको ट्युसन शुल्क कम्तिमा पनि वार्षिक १५ देखि २० लाख रुपैंया रहेको छ जुन हाल सामान्यस्तर भएको व्यक्तिले पनि धान्न सक्ने अवस्था देखिएको छ। २००६ सालको अवस्था हेर्ने हो भने त्यसबेला उच्च आय स्रोत भएका विद्याथीहरु मात्र जान सक्थे तर हाल निम्न आय स्रोत भएकाहरु पनि सजिलै जान सक्ने अवस्था छ। विदेश अध्ययनको लागि प्लस टु पछि अथवा ब्याचलर पछि ? यसलाई मैले कसरी लिने गरेको छु भन्दा प्लस टु पछि अथवा ब्याचलर पछि जाने भन्दा पनि अभिभावकहरुले आफ्नो छोराछोरीलाई पठाउँदै हुनुहुन्छ भने आफ्नो छोराछोरी कत्तिको ईमान्दार छन् । कुन हदसम्म आफुलाई सम्हाल्न सक्छन् भन्ने कुरा बुझेर पठाउनुभयो भने मात्र प्लस टु पछि अथवा ब्याचलर पछि भन्ने कुराले फरक पार्दैन। हुनत ब्याचलर सकेका विद्यार्थीहरु प्लस टु सकेका विद्यार्थीको दाँजोमा आफ्नो पढाई प्रति गम्भिर हुने, बिच्चैमा पढाई छोड्ने समस्या नदेखिने र फोकस भएर काम गर्न सक्ने त्यसैले ब्याचलर सकेमा विद्यार्थीहरुको काम, बासस्थानको बन्दोबस्त राम्रो भएको देखिन्छ। प्लस टु पछि अध्यन गर्न चाहाने विद्यार्थीहरुको मुख्य समस्या आउनु भनेको उनीहरु आफ्नो लक्ष्य प्रति गम्भिर नहुनु हो। तर यस्तो नभएको अवस्थामा भने प्लस टु पछि पनि विद्यार्थी अध्ययन गर्न जान सक्छन् किनभने जति पछि गए पनि उनीहरुले लगभग उस्तै काम पाउँछन्। पढाई र काम दुवैलाई निरन्तरता दिन सक्ने हो भने जतिबेला गए पनि हुन्छ। एउटा विद्यार्थीले अष्ट्रेलियाका लागि कति समयको भिषा पाउँछन् ? यो कोर्षको अवधि हेरेर हुन्छ। कुन लेभलको कोर्षमा जाँदै हुनुहुन्छ भन्ने कुरामा भरपर्छ। यदि विद्यार्थी ब्याचलर डिग्रीको लागि जाँदै हुनुहुन्छ भने कम्तिमा पनि ३ देखि ४ वर्षको भिषा पाउनुभएको हुन्छ। अब मास्र्टसको लागि भने साढे २ वर्ष जतिको भिषा पाउनुहुन्छ। यसबाहेक २ वर्षको पोस्ट वर्क भिषा पनि अष्ट्रेलियन सरकारको प्रावधानमा छ। यद्यापी अष्ट्रेलियाको सबैभन्दा गज्जबको कुरा के छ भन्दा विद्यार्थीले दश वटा विषयमा डिग्री गर्छु भने पनि उनीहरुले सजिलै भिषा पाउन सक्छन्। त्यहाँको सरकारले तिमी लामो समयसम्म विद्यार्थी भिषामा बस्न पाउँदैनाैं भनेर भन्दैन। विभिन्न कारण अझै पनि कति नेपाली विद्यार्थीहरु ठगिन पुगेका छन्। यसबाट बच्न विद्यार्थी तथा अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ? हाम्रो विद्यार्थी र अभिभावकमा त्यो स्तरको चेतना नभएकै कारण हो। जस्तै हामी अष्ट्रेलिया पढ्नको लागि जाँदा कुन विषय पढ्न जानको लागि जाँदैछु, त्यो डिग्री भोली नेपालमा काम गर्छ कि गर्दैन भन्ने कुराको ज्ञान नहुँदा यो अवस्था आएको हो। किनभने अष्ट्रेलियन कोर्षमा जसको आईएल्टीएसको स्कोर कम छ, शैक्षिक योग्यता कमजोर छ भने उनीहरुले त्यहाँ १ वा २ वर्षको डिप्लोमा कोर्ष गर्नुपर्न हुन्छ। त्यसपछि मात्र उनीहरुले ब्याचलर अध्यनमा सामेल हुन पाउँछन्। यसरी उनीहरुलाई ब्याचलर पुरा गर्न ४ वर्ष लाग्छ तर सिधै जाँदा त्यो ३ वर्षमा पुरा हुन्छ। यसरी जाँदा फेरी कलेज खोज्ने समस्या देखि अनेकौं समस्या आईपर्छ त्यसैले जो जति पनि विद्यार्थीहरु जाँदै हुनुहुन्छ उहाँहरुलाई सजिलैसँग बसोबास मिलाउन डिप्लोमा भन्दा पनि सिधैं ब्याचलर अध्यनको लागि जाँदा राम्रो हुन्छ। विद्यार्थीले अष्ट्रेलिया जाँदा कस्तो विषय रोज्ने ? हामीले करियर उन्मुख काउन्सिलिङ गर्ने हुनाले सबैलाई के सुझाव दिन चाहान्छौं भने विद्यार्थीहरु अध्यनको लागि जाँदा आफुलाई कुन विषयमा रुची छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ। कति विद्यार्थीहरु अकाउन्टिंगमा पिआर छ भनेर बिएचएम सिद्दाएर एमएचएम गर्नु छोडेर एमपिए गर्न गईरहनुभएको छ। अकाउन्टिंगको बारेमा केही थाहन नभएका उनीहरुलाई त्यहाँ पढ्न जाँदा धेरै समस्या हुन्छ किनभने अष्ट्रेलियको अकाउन्टिंग भनेको सिए लेभलको हुन्छ। यसले गर्दा विद्यार्थीहरु पढाईमा झुण्डेर बस्ने, पिआर पाउने त परको कुरा उल्टै निराश हुने अवस्था छ। त्यसैले पिआरको कोर्षहरु गर्छु भन्दा पनि आफुलाई मनपर्न कोर्ष पढ्दा हामीले आफ्नो बेस्ट दिएर बेस्ट बन्छु भने जहिले अवसरहरु प्रशस्त छन्। अष्ट्रेलियामा राम्रो गर्न सबैलाई प्रशस्त अवसरहरु छन्। यदि कुनै कार्षले पिआरको लागि आवेदन दिन मिल्दैन भने उसले कहीँ कतै रोजगार पाउँछ भने उसले पिआरको लागि आवेदन दिन सक्छ। एक जना मेरो विद्यार्थी भिक्टोरिया युनिभर्सिटीमा स्पोर्टस साईन्स पढ्न जानुभयो। उनी नेपालको ए डिभिजनबाट फुटबल खेल्थिए। उनको एक दुई वर्ष ग्याप पनि थियो त्यसैले उनलाई स्पोर्टस साईन्स नै पढ्न सुझाए। पछि उनी त्यहाँ गएर यसले त पिआर नै पाउँदैन रहेछ भनेर तनाव लिए। मैले उनलाई धेरै सम्झाए र अहिले उनी मेलबर्नको लोकल कल्बमा कोच भएर जुनियरलाई ट्रेनिङ दिईरहेका छन्। आफ्नो ईच्छा विपरितको काम गर्न पर्दा कोही खुशी हुन सक्दैन। त्यसैले अहिलेको हरेक मानिसहरुले चाँही आफुलाई के गर्दा खुशी मिल्छ भन्ने कुरामा ध्यान दिए उसले आफ्नो करियरमा अगाडि बढेको पत्तै पाउँदैन। उदाहरणको लागि यदी रिपोर्टिर बन्न मनलागेको मान्छेलाई अकाउन्टिङमा लगेर राख्दियो भने उसले २ दिन मै काम छोडेर जाने अवस्था आउँछ। आफुलाई राम्रो लाग्ने कुरामा पो मन लागेर गर्न सकिन्छ। त्यसैले म हरेक विद्यार्थीहरुलाई के सुझाव दिन चाहन्छु भने, यस्तो काम छान्नुहोस् जसले तपाईलाई हरेक दिन काममा जामजाम बनाओस्। यस्तो नहोस् कि ह्या आज पनि बिदा लिम कि क्या हो, आज बिरामी भए भन्दिऔं कि क्या हो जस्तो नहोस्। अष्ट्रेलिया जानको लागि न्युनतम आवश्यकताहरु के के हुन् ? विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र न्युनतम ६० प्रतिशत, आईएल्टिएसमा लगभग ६ अंक भए ब्याचलर र मास्टर्स अध्ययनको लागि काफी हुन्छ। कति कुरा युनिभर्सिटी, कलेज हेरेर फरक पर्न जान्छ तर अंकमा खासै फरक भने पर्न जाँदैनन्। अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु सरकारी कलेजमा जान्छन् कि प्राईभेट कलेजमा जान्छन् ? अष्ट्रेलियाका प्रायः विश्वविद्यालयहरु सरकारी मातहतमै चलेर आएका छन् र एकदम कम संख्यामा मात्र प्राईभेट कलेजहरु रहेका छन्। अर्को कुरा नेपालमा सरकारी विद्यालयहरुलाई नराम्रो भन्ने गरिन्छ भने त्यहाँका सरकारी शैक्षिक संस्थालाई बेस्ट भन्ने गरिन्छ। साथै प्राईभेट कलेजहरुलाई पनि सरकारी सरह बनाउने प्रयास गरिएको देखिन्छ। अष्ट्रेलियामा अन्तर्राष्टिय विद्यार्थीहरुले काम गर्ने प्रावधान कस्तो छ ? कति पे गरिन्छ अन्तर्राष्टिय विद्यार्थीहरुलाई ? अन्तरराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियामा कलेज लागेको अवस्थामा हप्ता मा २० घण्टा काम गर्न पाउने प्रावधान छ। जसमा उनिहरुको तलब दायरा १८ देखी २० अष्ट्रेलियन डलर रहेको छ। जसको अर्थ उनिहरुले हप्तामा कम्तिमा पनि ३० हजारको हाराहारिमा कमाउन सक्छन्। त्यसपची उनिहरुको कामको योग्यता अनुसार पे(स्कले बढ्दै जान्छ। साथै नयाँ सेमेस्टर हुन अगाडिको ब्रेकहरुमा विद्यार्थीहरुले फुल टाईमा काम गर्न पाउने प्रावधन छ। वर्षमा यस्तो ब्रेक २ पटक सम्म हुने गर्छ। सुरुवाती अवस्थामा जस्तो सुकै काम गरे पनि यदी पछी गएर काम बदल्न सकेन भने प्रगती हुन देखिदैन। हाम्रो नेपालीहरुमा चाँही लामो समय सम्म एउटै काम मै अड्किएर बसेको देख्छु। यहाँबाट आजभन्दा १० वर्ष अगाडि गएका नेपालीहरुले अहिले पनि के गर्नुहुन्छ भनेर सोध्दा म त क्लिनिङ गर्छु, हाउसकिपिङ गर्छु भन्छन्। उहाँहरु आफ्नो काम बदल्न नसक्दा जसले गर्दा उहाँहरु जहाँ को त्यहीँ हुनुहुन्छ। आज हामीले यसो हेर्यो भने २००६ तिर विदेशी विश्वविद्यालयहरुको प्रतिनिधि हेर्दा कोही अमेरिकिहरु आउँछन् भनेर हामी तयार हुन्थियौं तर अहिले हेर्ने हो भने प्रतिनिधिहरु कोही भारती कोही बंगाली कोही चाईनिज हुन्छन्। उनिहरुले आफ्नो कामलाई बिस्तारै बदल्दै लगेर त्यो स्थानमा पुग्न सफल भएका छन्। हामी नेपालीहरु पनि राम्रो गरिरहेका छौं तर त्यो गर्ने मात्र १० प्रतिशत मात्र छन् बाँकी ९० प्रतिशत चाँही जे छ त्यसमै रमाएर बस्ने गरेका छन्। उनिहरु अलग करियर तर्फ जान सकिरहेका छैनन्। एउटा पढ्छन् र अर्को काम गर्छन्। त्यसैले यदी केही गर्ने हो भने हरेक विद्यार्थीले सुरुवाती अवस्थामा जे जस्तो काम गरे पनि केही समय पछी आफ्नो पढाई अनुसारको काम र कारीयर तर्फ मोडिदै जानुपर्छ अथवा त्यसमा अलिक बढी प्रयास गर्ने, बरु २ ४ रुपैंया कम पैसामा काम गर्ने किनभने यसले तपाईलाई जीवनको लामो दौडमा निकै नै सहयोग पुर्याउँछ। अन्त्यमा तपाईलाई उच्च शिक्षाको लागि सिमापारिको देश छान्ने विद्यार्थीहरुलाई तपाईको के सुझाव छ ? नेपालको शिक्षा नै नराम्रो भएर बाहिर जाने भन्ने होईन। हाम्रो नेपालको शिक्षा पनि राम्रो छ नत्र हाम्रा यहाँ पढेर गएका विद्यार्थीहरु बाहिर गएर किन टप गरिरहेका छन् तर हाम्रो यहाँको शिक्षा नितीले अवसर र प्लेटफर्म बनाउँदैन। गएर ३ घण्टा परिक्षा दिएको भर्मा उसले टप गरेको भनेर विद्यार्थीको गुणस्तर निर्धारण गरिन्छ। तर बाहिर घोकन्ते शिक्षा भन्दा पनि जिन्दगीमा कसरी अगाडी बढ्ने, जिन्दगीलाई कसरी धान्न भन्ने सिकाउँछ। त्यस्तै अभिभावकहरुलाई आफ्नो छोरा छोरीलाई पढेको बेला कमाएर पठाईदियोस भन्ने आसाको साथ नपठाउनु। उनिहरुले केही समय पढाईमा ध्यान दिए लामो उनिहरुको जिन्दगी सधैंको लागि उज्ज्वल हुन्छ। गएको भोली पल्टबाट बाबु काम पाईस भन्नु भन्दा बाबु कलेज कस्तो हुँदै छ, पढाई कस्तो भईरहेको छ भनेर सोध्ने वातवरण बनाईदिनुहोला। पक्कै पनि हामी दुस्ख सुख गरेर हाम्रा छोराछोरीलै पढ्न पठाएका हुन्छौ तर अन्त्यमा बच्चाको कमाईको पछी मात्र लाग्ने उसले आफ्नो करियर बिगारए उसले कमाएको पैसाले तपाई हामीलाई केही नै पो सुख दिन्छ र। उसले राम्रो पढेर राम्रो करियर बनाउन सक्यो भने त्यही नै असली सुख हुनेछ।

१० हजार मानिसलाई रोजगारी दिने लक्ष्य लिएको छु- उद्योगपति राजेश अग्रवाल

भारतमा ग्राजुएट पास गरेपछि २०४९ सालदेखि व्यवसायमा प्रवेश गर्नु भएका राजेश अग्रवाल भैरहवाबाट उदाएका सफल उद्यमी हुनुहुन्छ । व्यवसायमा प्रवेशपछि करिव २० वर्षसम्म परिवारिक रुपमा चलेका राइसमिल, दाल उद्योग, तेल उद्योग, कपडा उद्योग विस्तारमा बिताउनु भएका अग्रवाल पछिल्लो ७ वर्षदेखि ठूला उद्योग निर्माण र विस्तरमा जुट्नु भएको छ । यस अवधि अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रेटो जस्ता निर्माण सामाग्री उत्पादन गर्ने ठूला उद्योगमा लगानी गरिरहनु भएको छ । उद्योग, व्यापार र सेवा क्षेत्रमध्ये सबै भन्दा कठिन व्यवसायको रुपमा उद्योगलाई लिइन्छ नेपालमा । राजेश अग्रवाल यस्ता व्यवसायी हुनुहुन्छ, जसको लगानी उद्योगमा मात्र छ । व्यापारमा शुन्य छ भने सेवा क्षेत्रमा नगन्य छ । ‘वेल्थ फर्मेशन एण्ड इम्प्लोइमेन्ट क्रियशन’ बाट मात्र देशको विकास हुन्छ भन्ने सोचका साथ कम्तिमा १० हजार मानिसलाई रोजगारी दिने लक्ष्यका साथ अगाडि बढिरहनु भएका अग्रवालसँग गरिएको विकास वहस पस्केका छौं यस पटक । तपाई उद्योगमा सफल देखिनुहुन्छ तर व्यवसायिक संघ संस्थामा देखिनुहुन्न, किन ? पहिला म भैरहवा उद्योग संघमा सदस्य थिए । अहिले छैन । म काममा खुशी हुने मान्छे । म धेरै समय उद्योगमा हुन्छ । म काठमाडौंमा बेलाबखत मात्र पुग्छु । तपाईको व्यवसायिक यात्रा कहाँबाट शुरु भएको हो ? एसएलसी नेपालबाट पास गरे । ग्राजुएशनसम्मको शिक्षा भारतबाट लिएँ । २०४९ सालमा बुबाले गर्दै आएको व्यवसायमा प्रवेश गरेँ । त्यतिबेला हाम्रोमा दाल मिल, राईस मिल थिए । हाम्रा उत्पादन नेपालमा मात्र बिक्री हुने गरेको थियो । जब म व्यवसायमा प्रवेश गरे, तब मुसुरोको दाल श्रीलंका, बंगलादेश निर्यात गर्न थालेँ । त्यसपछि तेल मिल राख्यौ । त्यसपछि सोयविनको मस्यौरा बनाउने मिल राखेँ । त्यसपछि मैदा मिल राखे । त्यसपछि आयल रिफाइनर मिल राख्यौ । एउटा फुटवेयर इन्डष्ट्रिज छ एक्सन पोलिमर, जसले मिलानो ब्राण्डको जुत्ता, चप्पल उत्पादन गर्छ । इटाली प्रविधिमा आधारित यो उद्योगमा ४० करोडभन्दा बढी लगानी भएको छ । साढे तीन सय मानिसले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट भन्ने उद्योग छ जसले विभिन्न किसिमका बोटल तथा पानीको जार उत्पादन गर्छ । जापानिज प्रविधिमा आधारित यो उद्योगमा करिव २२ करोड लगानी भएको छ । १५ वर्षअघि मलाई लाग्यो यो देशको विकासले गति लिन्छ । विकास निर्माणका काम शुरु हुन्छ । सडक, पुल, एयरपोर्ट, नहर, जलविद्युत, शुरुङ मार्ग, ठूला भवन जस्ता निर्माण क्षेत्रले गति लिन्छ । त्यसैले निर्माण सामाग्रीहरु सिमेन्ट, स्टिल, कंक्रीट, जस्तापाता लगायतका सामाग्री उत्पादन गर्ने उद्योग खोल्नुपर्छ भन्ने लाग्यो । आय स्रोत बढेपछि मानिसले एक किलोको सट्टा दुई किलो खाँदैन । खाद्यन्यको बजार विस्तार सीमित मात्रामा हुन्छ तर निर्माण सामाग्रीको माग उच्च हुन्छ भनेर मैले निर्माण सामाग्रीको उद्योग खोल्ने निर्णय गरँे । २००४ मा पहिलो पटक सिद्धार्थ सिमेन्ट उद्योग सञ्चालनमा ल्याए । त्यो ग्राण्डिक उद्योग थियो । त्यसपछि म साझेदारीमा ठूला उद्योगहरु निर्माणमा लागे । साझेदारीमा सञ्चालित ठूला उद्योगहरु कुन कुन हुन् ? सन् २००८ मा म क्लिङकर उद्योग खोल्ने निर्णयमा पुगेँ । पहिला २०० टन क्षमताको भीएसके प्रविधिको उद्योग खोल्ने तयारी गरेँ । त्यतिबेला व्रिज सिमेन्टको तर्फबाट मनोज केडियाले पनि २०० टनको र सुप्रिम सिमेन्टको तर्फबाट पशुपति मुरारकाले पनि २०० टनको क्लिङकर उद्योग लगाउने योजना बनाउनु भएको रहेछ । हामीलाई के लाग्यो भने भीएसके प्रविधि पुरानो हो, केही वर्षभित्र काम लाग्दैन । रोटरी क्लिंक प्लान्ट लगाउनुपर्छ । हामी तिनै जना मिलेर ७०० टन क्षमताको क्लिाङकर उद्योग लगाउने निर्णयमा पुग्यौ । ७०० टन क्षमताको उद्योगलाई विस्तार गर्दै अहिले ३००० टन क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालन गरेका छौं । हाल स्थापित कम्पनीहरु मध्ये अर्घाखाँची सिमेन्ट नेपालको दोस्रो ठूलो कम्पनी रहेको छ । यो उद्योगमा शुरुदेखि लगभग १० अर्ब लगानी भईसकेको छ । तीन वर्षअघि निर्माण सामाग्रीको माग वार्षिक १५/२० प्रतिशतले बढ्दै गएको थियो । त्यतिबेला त १०/१० महिनामा सरकार परिवर्तन हुन्थ्यो । जब बहुमतको सरकार बन्यो तब हामीलाई लाग्यो कि अब निर्माण सामाग्रीको माग वार्षिक ३० प्रतिशतभन्दा उच्च दरमा वृद्धि हुन्छ । अबको दश वर्षमा नेपालीको प्रतिव्यक्ति आय भारतको भन्दा धेरै माथि पुग्छ भन्ने मेरो आकलन थियो । त्यही आकलनमा हामीले निर्माण सामाग्री उत्पादनमा जोड दियौ । यहि क्रममा नेपालकै सबैभन्दा ठूलो स्टील उद्योग ‘श्री स्टील’ उद्योग लगाएका छौं । यसको उत्पादन क्षमता वार्षिक २ लाख ५० हजार टन छ । यसमा करिव २ अर्ब लगानी छ । सिमेन्ट, डण्डी उद्योग लगाएपछि हामीले एशियन कंक्रिटो उद्योग लगायौं । पेभर, व्लक, स्लाव, कर्व स्टोन, इटा, होलोब्लक लगायत निर्माण सामाग्री उत्पादन गर्ने यस उद्योगमा पनि करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भईसकेको छ । यसको उत्पादन क्षमता दैनिक ५०० टन छ । सडक, सडक पेटी, पुल, नहर बनाउनदेखि घर बनाउनसमेत उपयोगि उत्पादनहरु हामीले शुरु गरेका छौं । व्यापार र सेवाको क्षेत्रमा लगानी कति छ ? व्यापार र सेवाको क्षेत्रमा मेरो लगानी छैन । पढेर आएपछि मेरो मनमा के आयो भने यो देशमा जन्मिएपछि मैले केही काम गर्नुपर्छ । मरेर लाने केही होइन । हामीले कमाएको सम्पत्ति पनि यहि देशमा छोडेर जाने हो । अहिले मसँग जति पैसा हुन्छ, मेरो बुबा, बाजेसँग त्यति पैसा थिएन । तर उहाँहरुको नाम थियो, इज्जत थियो । बुबा, बाजेको नाम लिएर बजारमा जाँदा आज भन्दा २५ वर्ष अघि पनि २५/३० करोड पैसा पत्याउथे मान्छेले । बुबा बाजेले आर्जन गरेको त्यो ख्यातिमा मैले केही थप योगदान गर्नुपर्छ, गुणस्तरीय सामान उत्पादन गरेर नाम राख्नुपर्छ भन्ने थियो । त्यहि भएर मैले जापानी प्रविधिमा पेट उद्योग, इटाली प्रविधिमा मिलानो, जर्मन प्रविधिमा कंक्रिटो उद्योग लगाएको छु । रोजगारी सिर्जनाले नै देशको गरिबी निवारण हुन्छ । १० हजार मान्छेलाई रोजगारी सिर्जना गर्ने मेरो चाहाना छ । तर अहिले कठिन परिस्थित छ । तपाइको लगानी रहेका उद्योगमा कति जनाले रोजगारी पाएका छन् ? १० हजार मानिसको लागि रोजगारी सिर्जना गर्ने तपाईको लक्ष्यबाट तपाई डगमगाउनु भएको हो ? अर्घाखाँची सिमेन्टमा प्रत्यक्ष रुपमा ५०० जनाले रोजगारी पाएका छन् । श्री स्टील उद्योगमा २४० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । एशियन कंक्रिटोमा १०० जनाले रोजगारी पाएका छन् । एक्सन पोलिमरमा साढे तीन सय जनाले रोजगारी पाएका छन् । सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ सिमेन्ट, अरु रिफाइनरी उद्योग लगायत सबैमा गरि करिब १५ सय मानिस पेरोलमा छन् । करारमा काम गर्नेको संख्या पनि जोड्ने हो भने ३००० भन्दा बढीले जागिर पाएका छन् । अहिले नै १० हजार जनाको लागि रोजगारी सिर्जना गर्न सकिएको छैन । तर मेरो जीवनको लक्ष्य १० हजार मानिसलाई रोजगारी सिर्जना गर्नु हो । प्रविधिको प्रयोगसँग जनशक्तिको प्रयोग कम हुँदैछ । १० हजारलाई रोजगारी सिर्जना सम्भव छ अब ? पुरानो प्रविधि प्रयोग गरी वार्षिक ५० हजार टन स्टील उत्पादन गर्ने कम्पनीमा ३०० जना कर्मचारी छन् भने हामीले नयाँ प्रविधिको प्रयोग गर्यौं, वार्षिक २ लाख ५० हजार टन स्टील उत्पादन गर्छौ तर २५० जनाले मात्र रोजगारी सिर्जना गरेको छ । यसको अर्थ हामीले जनशक्तिको अप्टिमम प्रयोग गरेका छौं । प्रविधिको प्रयोग नगरी एक जनाले दिनमा ५० वटा इँटा बनायो र एउटा इँटाको २ रुपैयाँ पायो भने १०० रुपैयाँ मात्र कमाउँछ । तर प्रविधिको प्रयोग गर्यो उसले दिनमा २००० इँटा बनायो भने प्रति इँटा ५० पैसा पाउँदा पनि १००० रुपैयाँ कमाउँछ । हामीले श्रमिकको आय वृद्धिमा पनि ध्यान दिनुपर्छ । यूरोपमा श्रमिकले प्रतिघण्टा १० डलर कमाउँ छ भने हामीले दिनभर काम गरेको ५०० रुपैयाँ दिएर उनीहरुको जीवनस्तर उकास्न सकिदैन । त्यसैले प्रविधिमा आधारित उद्योगको विकल्प छैन । धेरै रोजगारी सिर्जना गर्न हामीले उद्योगको संख्या वृद्धि गर्दै जानुपर्छ । निर्माण सामाग्रीको बजारमा मन्दी आएको छ । यो बेलामा कम्पनीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? निर्माण सामाग्रीमा मात्र होइन, अरु क्षेत्रमा पनि मन्दी आएको छ । मैले हालै नेपालको ठूलो मदिरा उद्योग चलाईरहेका उद्यमीसँग भेटेको थिए । उहाँले भन्नु भयो कि मदिरा उपभोग ५० प्रतिशतले घटेको छ । यसको अर्थ हो उपभोक्तासँग खर्च गर्ने पैसा कम भईरहेको छ । हिजो हप्तामा दुई पटक रेस्टुरेन्ट जाने मान्छे अब हप्तामा १ पटक मात्र जान थाले । यस्तो बेलामा हामीले पनि खर्च कम गर्ने हो । जसको उत्पादन लागत कम हुन्छ उ नै हो मन्दीको बेलामा टिक्ने उद्योग । हामी धैर्यपूवक आफूलाई समालेका छौं । हुनसक्छ सरकारको अहिलेको नीतिले ५÷६ महिनापछि राम्रो नतिजा दिनसक्छ । सरकारले केही कुरा व्यवस्थित गर्न खोजेको छ जुन बजारमा एडजस्ट नभएको पनि हुनसक्छ । उद्योग विस्तारमा नयाँ योजना के छ ? तपाईसँग तीन वटा बच्चा छन् । उनीहरुलाई आवश्यक पोषण नै खुवाउन सक्नु भएन, उनीहरु कुपोषणबाट ग्रसित छन् भने के तपाई चौथो बच्चा जन्माउनु चाहानुहुन्छ ? के तपाईका उद्योगहरुमा कुपोषणको खतरा छ ? एस । आजको दिनमा खतरा छ । हामीले बजारमा माग वृद्धि गर्न सकेनौं भने धेरै उद्योग सखाप भएर जाने खतरा छ । हामीले कसरी आर्थिक गतिविधिलाई बढाउने भनेर सबैले सोच्ने बेला भएको छ । तपाईलाई हामीले एक सफल उद्यमीको रुपमा लिन सक्छौं । तपाईको व्यक्तिगत चाहाना र अभिलाशाहरु के के छन् ? उद्योग चलाउनु मेरो नशा हो । कसरी रोजगारी सिर्जना गर्ने र गरिबी घटाउन सहयोग गर्ने भन्ने मेरो चाहाना हो । त्यसबाहेक मेरो व्यक्तिगत चाहाना केही पनि छैनन् । म पारिवारिक मान्छे हु । मलाई हरेक दिन कुनै पनि हालतमा १० बजे सुत्नुपर्छ । विहान ५ बजे उठ्छु । दुई घण्टा मर्निङ वाक गर्छु । १०० प्रतिशत शाकाहारी हुँ । मलाई हरियो तरकारी अनिवार्य चाहिन्छ । घरमा दुई थरीभन्दा बढी तरकारी बनाउन दिन्न । मेरो जीवन सामान्य छ । तपाईसँग उद्योग चलाउने तिब्र इच्छाशक्ति देखिन्छ । यसलाई कुन तत्वले ड्राइभ गर्दोरहेछ ? त्यो तत्व भनेको मेरो ब्लड (रगत) नै हो । मेरो बाजे, बुबा सबैले उद्यमशिलता नै गर्नुभयो । बाजेको भन्दा बुबाले ठूलो विजनेश बनाउनु भयो । बुबाको भन्दा मैले ठूलो बनाए । मलाई विश्वास छ छोराले अझ ठूलो बनाउने छ । ऊ पनि लण्डनबाट एमबीए सकेर नेपाल आएको छ । श्री स्टीलको सबै काम उसले हेरिरहेको छ । यो उद्योग बनाउदा देखिन नै उ यसमा सक्रिय छ ।

बेलायतमा ५० लाख पर्ने शिक्षा नेपालमा साढे ७ लाख रूपैयाँमा दिएका छौंः पंकज जलान

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा समस्याहरु धेरै छन् । विद्यार्थीहरु नियमित रुपमा विदेशिने क्रम बढ्दो छ । करिब ८० लाख नेपालीले विदेशमा आर्जन गरि पठाएको रेमिट्यान्सको ठूलो हिस्सा नेपाली विद्यार्थीले विदेश जाँदा लगिरहेका छन् । सरकारी स्कूल कलेजले दिने शिक्षाको गुणस्तरमा धेरै प्रश्न छन् भने नीजि क्षेत्रले दिँदै आएको शिक्षा महंगो भनिन्छ । नेपालको शिक्षा क्षेत्रमा नीजिको लगानी भएको पनि दुई दशक बितिसकेको छ । नीजि कलेजहरुले आफूहरुले राम्रो शिक्षा दिईरहेका छौं भन्दै आईरहेका छन् । तर विद्यार्थी र अभिभावकहरु नेपालको स्कूल कलेजहरुप्रति अझै शंका र प्रश्न गर्छन् । अर्कोतिर, सरकारको नीतिगत अस्थिरताले पनि नीजि क्षेत्रका शैक्षिक संस्थाहरु शिकार भएका छन् । प्रस्तुत छः यसै क्षेत्रमा करिब दुई दशकदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका लर्ड बुद्ध एजुकेन फाउन्डेसन (एलबीईएफ)का अध्यक्ष पंकज जलानसँग गरिएको विकास बहस । तपाईहरुले विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्नको लागि ठूलो लगानी गर्नु भएको छ । के तपाईहरुको प्रयास सार्थक छ ? पक्कै पनि सार्थक छ किनभने हामी नेपालको पहिलो सूचना प्रविधि व्यवस्थापन विषयमा अध्ययन गराउने कलेज हौं । नेपालमा पहिलो पल्ट आईटी एजुकेशनको सुरुवात पनि हामीले गरेका हौं । अहिलेसम्म हाम्रो कलेजबाट ८ हजार विद्यार्थी दिक्षित भईसकेका छन् । ती विद्यार्थीहरु संसारभर फैलिएका छन् । हाम्रो कलेजबाट पास आउट भएका करिब १३० जना त नेपाली र विदेशी कम्पनीहरुका सीईओ भईसकेका छन् । विदेशकै कुरा गर्नु पर्दा अष्ट्रेलिया, अमेरिका, जापन, कोरिया र माईक्रोसफ्टमा पनि हाम्रो विद्यार्थी काम गरिरहेका छन् । त्यस्तै अधिकांश बैंकहरुमा आईटी प्रमुख हाम्रोबाट मास्टर्स गरेका विद्यार्थीहरु छन् । साथै विभिन्न विद्यालयहरुमा एलबीईएफबाट अध्ययन गरेका शिक्षकहरुले पढाईरहेका छन् । त्यसैले हाम्रो प्रयास सार्थक छ । नेपालका कलेजहरुले राम्रो जनशक्ति उत्पादन गर्दै गर्दा अझै पनि नेपाली विद्याथीहरु बाहिर जान नै रुचाउने गरेको देखिन्छ । के विद्यार्थीले नेपालमा राम्रो जबको अवसर नपाएकाले विदेश गएका हुन् भन्न मिल्छ ? अँह यो कदापी पनि भन्न मिल्दैन । नेपालमा पनि धेरै अवसरहरु छन् । अहिलेको विद्यार्थी भिषामा विदेश जाने जुन ट्रेन्ड छ, त्यसमा थोरै प्रतिशत विद्यार्थीहरु मात्र अध्ययनको लागि जाने गरेका छन् । ८० देखि ९० प्रतिशत विद्यार्थीहरु कामको खोजीमा विदेश जाने गरेका छन् । तपाईको नजरमा नेपाली विद्यार्थीहरु विदेश रहरले गईरहेका छन् कि कहरले कि फेसन हो ? उनीहरु नेपालमा काम गर्न सक्दैनन् । १५/२० लाख लगानी गरेर विदेश जान सकिन्छ । विदेशको वातावरण पनि बुझिन्छ । पढ्दै जान्छु । पैसा पनि कमाउँदै जान्छु भन्ने सोचले उनीहरु विदेश जान्छन् । तर त्यो गलत हो । पढ्नको लागि विदेश जाने ८० देखि ९० प्रतिशत विद्यार्थी पढाईमा असफल हुन्छन् । त्यसमा अष्ट्रलियामा पढ्न गएका धेरै विद्यार्थीहरुले आफू पढ्न गएको कोर्षहरु पुरा गर्न सकेका छैनन् । उनीहरु हरेक वर्ष कलेज चेन्ज गर्दै काम गरिरहेका हुन्छन् । उनीहरुको मनसाय काम गर्ने मात्र हुन्छ । उनीहरुको समस्या के छ भन्दा न त उनीहरु घर फर्कन सक्दैनन् । किनभने उनीहरु ऋण लिएर गएका हुन्छन् । यदि बेलामौकामा नेपाल आउँदा आफूले गर्दै आएका साना तिना कामको कुरा गर्दैनन् । अब हाम्रो यहाँ चलन के छ भन्दा मानिसहरु सफलताको कथा मात्र सुन्न चाहन्छन् । सबैलाई लाग्छ कि म अष्ट्रेलिया पुगेर शेष घले भईहाल्छु तर उनले मास्टर्स त नेपालमै पढेर गएका थिए । उनी त्यहाँ व्यवसाय गर्न गएका हुन् र उनी सफल भए भन्ने कुरा धेरैलाई थाहा छैन । धेरै मानिसहरु गलत धारणा पालेर विदेश गईरहेका छन् । विदेश अध्यन गर्न जाने वा जान चाहाने विद्यार्थीहरुमा यस्तो धारणा पाइन्छ कि विदेशमा पढाईसँगै कमाई पनि राम्रो हुन्छ । तर नेपालमा त्यस्तो अवसर छैन । सहि हो ? एकदम गलत धारणा हो । किनभने गर्नेले यहाँ धेरै गरेका छन् । अष्ट्रेलियामा शेष घले सफल भएको उदाहरण छ भने नेपालमा चन्द्रप्रसाद ढकाल सफल भएको उदाहरण छ । मिहेनत गर्नेले नेपालमा पनि राम्रो गर्न सक्छन् । नेपालका कलेजमा पढ्ने विद्यार्थीहरु फुडमाण्डूमा गएर काम गर्न गाह्रो मान्छन् । विदेशमा गएपछि उनीहरु खाना पकाउने वा भाडा माझ्ने वा अरु कुनै पनि काम गर्न तयार हुन्छन् । तर उनीहरु नेपालमा त्यहि काम गर्न लाज मान्छन् । अर्को भ्रम के छ भन्दा विदेश गयो भने टन्नै पैसा कमाईन्छ । तर त्यहाँ पुगेपछि त्यस्तो छैन । यसमा शिक्षा प्रणालीको पनि गल्ती छ । हामीले विद्यार्थीहरुलाई देशप्रति जिम्मेवारीको भावना जगाउन नै सकेनौं । राष्ट्र र राष्ट्रियताप्रति मायाको भावना विकास हुन सकेन । यो देश हाम्रो हो । यसको लागि केही गर्नुपर्छ भन्ने भावना यहाँको युवाहरुसँग छैन । तपाईले भनेको जस्तै भावना जगाउने काम तपाईहरु जस्तो शिक्षा क्षेत्रमा लागेका मानिसकाे होईन र ? यो प्रश्न तपाईले अरुलाई गर्ने ठाउँ छ र ? राष्ट्रियताको विषयमा विद्यालय तहदेखि नै सिकाईनु पर्ने कुरा हो । मेरो आफ्नै पनि जनकपुरमा विद्यालय छ, अक्षर विद्या मन्दिर । हाम्रो विद्यालय प्रदेश नम्बर २ कै उत्कृष्ट विद्यालय भनेर चिनिन्छ । हाम्रो विद्यालय सूचना प्रविधिमैत्री रहेको छ । तपाईलाई अनौठो लाग्ला, अन्य विद्यालयमा जहिले पनि अंग्रेजी बोल्न लगाउँछन् तर हाम्रो विद्यालयमा हरेक शुक्रबार नेपाली भाषा बोल्न लगाईन्छ । त्यहाँ तराई भएकोले नेपाली बोल्न समस्या हुन्छ । त्यसैले हामीले हरेक १५ दिनमा नेपाली नाटक गराउँछौं । हाम्रो वार्षिक कार्यक्रममा पनि हामी विभिन्न सांस्कृतिक कार्यक्रमहरु गराउँछौं । देश के हो भन्ने नबुझ्दा धेरै कुराहरु बिग्रिएर गएका छन् । यसमा सरकार पनि दोषी छ । पाठ्यक्रम बनाउँदा देशको राष्ट्रियता झल्काउने विषय नराख्नु ठूलो कमजोरी हो । नेपालको सबैभन्दा ठूलो ताल कुन हो, हाम्रा विद्यार्थीलाई थाहा छैन । सिंगापुर जानेहरु त्यहाँको ताल देखेर दङ्ग हुन्छन् । तर नेपालको रारा ताल त्यो भन्दा कम छैन नि । यो कुरा हामीले हाम्रा विद्यार्थीलाई सिकाएनौ । नेपाली भाषा, राष्ट्रियता, संस्कृति झल्काउने विषय विद्यालय तहमा मात्रै नभएर कलेजहरुमा पनि हुन सक्दैनन् र ? कलेजमा पनि छ । हामीले यहाँ अनिवार्य नेपाली विषय राखेका छौं । त्यस विषयको माध्यमबाट उनीहरु नेपालको परिचय, नेपालको संविधान, नेपालको कला संस्कृति बारेमा जानकार हुन्छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको २१ वर्षको यात्रा कस्तो रह्यो? अहिले सम्मको यात्रा निकै राम्रो छ । म र मेरो संस्थाका हामी सबै खुशी छौं किनभने हामीले जुन उद्देश्य लिएर यस संस्थालाई स्थापना गरेका हौं, त्यो पुरा गर्न हामी सफल भएका छौं । ८ हजार विद्यार्थी यहाँबाट पास भएर गईसकेका छन् । उनीहरु संसारभर फैलिएर बसेका छन् । उनीहरुले आफ्नो र यस कलेजको नाम पनि राखेका छन् । नेपालको सूचना प्रविधिमा हामीले पनि केही योगदान गर्न पाएकोमा हामीलाई गर्व महसुस हुन्छ । हामी सबैलाई थाहा छ कि सूचना प्रविधिको विकासले देशमा ठूलो फरक परिवर्तन ल्याउन सक्छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा कुन कुन विषय पढाई हुन्छन् ? अहिले हामीले फोकस गरेको विषय भनेको सूचना प्रविधि र व्यवस्थापन हो । यहाँ बिएससी आईटी, एमएससी आईटी, बीबीए र एमबीए कोर्ष रहेको छ । यी चार वटै विषयहरु एसिया प्यासिफिक यूनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त हाे । त्यो विश्वविद्यालय त्यहाँको सूचना प्रविधि अध्ययनको लागि प्रख्यात छ । त्यहाँ १२ हजार विद्यार्थीहरु पढ्छन् जसमा ६ हजार विद्यार्थीहरु विभिन्न देशबाट आएका छन् । उनीहरुले आफूलाई मल्टिकल्चरल विश्वविद्यालयको रुपमा स्थापना गरेका छन् । यस्तै हाम्रै छाता अन्तर्गत पाटन कलेज अफ प्रोफेसनल स्टडिज रहेको छ जुन युनिभर्सिटी अफ बेडफोर्डसाईन, लण्डन युकेबाट सम्बन्धन प्राप्त गरेको छ । त्यहाँ बीएससी इन कम्प्युटर साइन्स एन्ड सफ्ट्वेयर ईन्जिनियरिङ्ग पढाईन्छ । मलाई लाग्छ सफ्टवेयर ईन्जिनियरिङ्गमै मात्रा फोकस गराएर पढाउने कलेज हामी मात्र होला । जसलाई प्रोग्रामिङतर्फ जान मन छ उसको लागि त्यो एकदमै उपयुक्त बिषय हो । त्यहाँ हामीले बीबीए पनि संचालन गर्दै आएका छौं । आईटी र बिजनेस म्यानेजमेन्ट बिषय मध्ये कुन बिषयमा विद्यार्थीहरु बढी आकर्षित छन् ? हामी सूचना प्रविधिको कलेजको रुपमा स्थापना भएका हौं र पहिचान पनि यहि बनिसकेको छ । त्यसैले पनि सूचना प्रविधिको विद्यार्थीहरु पनि धेरै छन् । तर हामीले एमबीएहरुलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । अफिसमा काम गर्नेहरुको लागि हामीले हप्ताको २ पटक शुक्रबार र शनिबार कक्षा संचालन गर्दै आएका छौं । शुक्रबार दिउँसो ४ देखि साँझ ८ बजेसम्म र शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म पढाई हुन्छ । शनिबार लञ्च पनि कलेजमा नै व्यवस्था गरिएको छ । बैंकिङ र बीमा क्षेत्रमा काम गर्नेको लागि यो विकइन्ड पढाई बरदान नै सावित भएको छ । उनीहरुलाई काम गर्दै पढ्न सजिलो भएको छ । यसबाट धेरै विद्यार्थीहरु खुशी छन् । सामान्य मानिसहरुले नीजि कलेजमा पढ्न महँगो भएको बताउँछन् । तपाईको कलेजमा कति छ शुल्क ? हामीले मैतिदेवीमा साढे ७ लाखमा ब्याचलरमा आईटी पढाउँदै आएका छौं । नेपालको सन्दर्भमा यो शुल्क भनेको निकै नै सस्तो हो । यही विषय यूकेमा पढ्नुपर्दा कम्तिमा ५० लाख खर्च हुन्छ भने मलेसियामा हामीलाई सम्बन्धन दिने विश्वविद्यालयमा पढ्ने हो भने ४० देखि ४५ लाख रुपैयाँ खर्च हुने गर्दछ । म्यानेजमेण्टतर्फ ब्याचलर कोर्ष हामीले साढे ६ लाखमा पढाईरहेका छौं र मास्टर्सको कोष साढे ४ लाखको हाराहारीमा पढाईरहेको छौं । किन तपाईहरुले नेपाली विश्वविद्यालयबाट सम्बन्ध लिनु भएन ? हामीले जुन बेलामा सूचना प्रविधिका कलेज यहाँ खोल्न खोजेका थियौं त्यो बेलामा हामी त्रिभुवन विश्वविद्यालयमा गयौं तर उहाँहरुले हाम्रो सिस्टममा त्यस्तो छैन भन्दै अनेक समस्याहरु देखाएको कारण हामीले बाहिरको विश्वविद्यालयबाट सम्बन्धन लिएका हौं । त्यतिबेला नेपालमा त्यो कार्यक्रम थिएन । विदेशबाट सम्बन्धन लिएर हामीले सुरुवात गर्यौ । अर्को राम्रो कुरा नेपालमा कोर्षहरु अपडेट हुन ४ वर्ष लाग्छ तर हाम्रो विश्वविद्यालयमा हरेक ६ महिनामा नयाँ नयाँ अपडेट भईरहन्छ । अर्को भनेको मूल्याङ्कन विधि । यहाँ हाम्रो वार्षिक परीक्षाको आधारमा विद्यार्थीलाई अंक दिईन्छ तर विदेशी विश्वविद्यालयमा भने विद्यार्थीले हरेक दिन गरेका कृयाकलापका आधारमा विद्यार्थीहरुलाई मूल्यांकन गरिरहेका हुन्छन् । पछिल्लो समय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका कलेजहरुले नेपालको नियम पालना गरेनन्, नियम पालना नगर्ने कलेजहरुलाई कारवाही गर्नुपर्छ भन्नु भएको छ । मन्त्रीको उक्त भनाई कसकसलाई लक्षित छ ? हामी विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि संचालित पहिलो कलेज हौं । विदेशबाट सम्बन्धन लिएका कलेजहरुको नियमन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले जारी गरेको निर्देशन सबैले पालना गर्नुपर्छ । त्यो निर्देशन बनाउने क्रममा म पनि समितिमा थिएँ । पछिल्लो समयमा केही साथीभाईहरुले कलेज समयमा नविकरण गर्नुभएको छैन । मन्त्रीको भनाई उहाँहरुलाई लक्षित हो । जसले नियम पालन गर्दैनन् उसलाई त अवश्य पनि कारबाही हुनैपर्छ । लर्ड बुद्ध एकेडेमीले सञ्चालन गरेका ४ वटा कोर्षमध्ये एउटा कोर्सले त्रिभुवन विश्वविद्यालय स्थाई रुपमा समकक्षता पाएको छ तर बाँकी ३ वटा कोर्सले भने अस्थाई समकक्षता मात्र प्राप्त गरेको छ । किन यस्तो भएको ? यो हामीलाई मात्र नभएर सबैलाई यस्तै नियम रहेको छ । त्रिभुवन विश्वविद्यालयले पहिला स्थाई समकक्षता भन्ने शब्द दिनुहुन्थ्याे तर पछिल्लो २ वर्षयता अस्थाई समकक्षता भनेर दिने गरेको छ । यो कुरा हामीले पनि बुझ्न सकेका छैनौं । तर यसको मतलब हाम्रो कोर्सले मान्यता नपाएको भन्ने चाँही पक्कै पनि होईन । विश्वविद्यालयले कलेजहरुमा हरेक २ वर्षमा अनुगमन गर्दै आएका छन् । अनुगमनको लागि हामीले आँफै नै निवेदन दिनुपर्छ । अझै रमाईलो कुरा के छ भने हामीले उहाँहरुलाई अनुगमनको पैसा बुझाउनुपर्छ । अनुगमनमा आउनेला अनुगमनकर्तालाई हामीले नै भत्ता दिनुपर्छ । तपाई आँफै पनि सोच्नुहोस् जो तपाईकै भत्ता खाएर अनुगमन गरिरहेको छ के त्यसले तपाईको बारेमा नराम्रो लेख्ला त ? नियममा नै लेखिएको छ । हामीलाई पनि समकक्षता लिनुपर्ने बाध्यता छ । अर्को ठूलो समस्या के छ भने सरकारी मान्छेहरु नै शिक्षा क्षेत्रमा काम गर्नेलाई सरकारले नै चोर, डाका, फटाहा भन्छन् । सरकारी मान्छेले, सर्वसाधारणले शिक्षा क्षेत्रका लगानीकर्ताहरुलाई मानिसहरुले चोर, डाका, फटाहा भन्दै गर्दा तपाईलाई कस्तो लाग्छ ? हरेक मानिसको फरक फरक धारणा र दृष्टिकोण रहेको छ । कुनै साथी नाफाको लागि मात्र काम गर्दै आएका छन् भने कोही सेवामुलक रुपमा मात्र लागेका हुन्छन् । उदाहरणको लागि मेरो यो व्यवसाय बाहेक अन्य कुनै पनि व्यवसाय छैन । अब मैले पनि त आफ्नो छोरा छोरी पाल्नुपर्छ । अब सरकारले छोराछोरी पढाईदिन्छु, तँलाई चोटपटक लाग्यो, कुनै समस्या आयो भने हामी हेरिदिन्छु भने त कुनै पनि फाईदा बिना काम गर्नु हुन्थ्याे । त्यो अवस्था छैन । मेरै कुरा गर्नुहुन्छ भने शुरुको ८ वर्ष लर्ड बुद्ध एकेडेमी घाटामा नै चलाए । पछि विस्तारै नाफामा गयो । फेरी अहिले घाटामा जाला जस्तो भएको छ । तपाईहरुले शिक्षा क्षेत्रमा आफ्नो लगानीलाई कत्तिको सुरक्षित महसुस गर्नुभएको छ ? जसले लामो समयदेखि लगानी गरिसकेको छ उनीहरुको भने सबै लगानी उठेर राम्रो भईरहेको अवस्था छ तर अबको अवस्थामा शिक्षा क्षेत्रमा ठूलो लगानी आउने सम्भावना एकदमै कम देखिएको छ । सरकारले नीजि संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने अवस्थामा उहाँहरु उल्टो कुरा गर्दै आउनु भएको छ । सरकारले जग्गा दिन्छ । भवन बनाउँछ । शिक्षकलाई तलब दिन्छ । भत्ता दिन्छ । पेन्सन दिन्छ । विद्यार्थीलाई खाजा दिएको छ । अन्य खर्च दिन्छ । त्यसको साटो, जग्गा, भवन नीजि क्षेत्रलाई दिएर नीजि क्षेत्रसँग साझेदारी गर्ने हो भने धेरै राम्रो हुन्छ । बरु सरकारले २५/३० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।