अब ग्राहकहरुलाई बैंकमा गएर सेवा लिने समय हुँदैन: सीईओ भण्डारी
सुरेन्द्र भण्डारी, प्रमुख कार्यकारी अधिकृत-कुमारी बैंक लिमिटेड कुमारी बैंक र सुरेन्द्र भण्डारीबीचको सम्बन्ध एउटै सिक्काका दुई पाटा जस्तो छ । स्थापनासँगै एक दशक कुमारी बैंकमा बिताउनु भएका भण्डारी केही वर्ष सिद्धार्थ बैंकको सीईओ हुनुभयो । तीन वर्षअघि फेरि उहाँ कुमारी बैंकमा नै फर्किनु भयो । देव विकास बैंकलाई प्राप्तिपछि कुमारी बैंक पनि ठूलो बाणिज्य बैंकको रुपमा स्थापित भएको छ । १२ अर्ब ५२ करोड चुक्ता पुँजी, १२० अर्ब निक्षेप, ११२ अर्ब कर्जा लगानी, २०६ शाखा, १० लाख भन्दा बढी ग्राहकसहित दह्रिएको कुमारी बैंक फेरि पनि मर्जको कुरा गर्दैछ । प्रस्तुत छ कुमारी बैंकको आगामी यात्रा र बैकिङ क्षेत्रका समसामहिक विषयमा सुरेन्द्र भण्डारीसँग गरिएको विकास वहस । दुई दशकदेखि कुमारी बैंकले हाँसिल गरेका उपलब्धिहरुलाई तपाई कसरी समिक्षा गर्नुहन्छ ?/बैंकका प्रमुख उपलब्धिहरु के–के हुन् ? आजभन्दा २० वर्ष अगाडि कुमारी बैंक स्थापना भएको हो । २० वर्ष अगाडि स्थापना गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि म नै हुँ । त्यतिखेर हामीले कुमारी बैंकलाई नयाँ स्रोत र स्वरुपका साथ अगाडि बढाएका थियौं । त्यतिखेर मास बैंकिङ र डिजिटलाइजेसनमा कसरी जाने भन्ने कुरालाई हामीले प्राथमिकता दियौं । त्यही क्रममा सन् २००१/०२ तिर हामीले नेपालमा पहिलो पटक मोबाइल बैंकिङ रइन्टरनेट बैंकिङ पनि सुरु गरेका थियौं । अनलाइनबाटै सपिङ गर्न सकिने, अनलाइनबाटै ब्यालेन्स चेक गर्न सकिने व्यवस्था पनि हामीले गर्यौं । यी सबै दुई दशक पहिले नै सुरु भएको अवस्था हो । कुमारी बैंकको ग्रोथ सबै कुरा राम्रो नै गइरहेको थियो । बीचमा आएर कुमारी बैंकको जुन प्रोग्रेस हुनु पर्ने थियो त्यो अलि कम भयो । म त्यो बीचमा कुमारी बैंकमा थिइन । बीचमा केही लस भएको जस्तो भएको थियो । विगत ३ वर्षदेखि म फेरि कुमारी बैंकमा छु । अहिले प्रोग्रेस भइरहेको नै छ । जब कुमारी बैंकले तपाईलाई गुमायो त्यसपछि कुमारी बैंक पछाडि पर्याे भन्न खोज्नु भएको हो ? मैले त्यस्तो भन्न त खोजेको होइन । एउटासंस्था एक जनाले चल्दैन ।संस्थामा जस्ता मानिसहरु छन्, संस्था पनि त्यस्तै हुन्छ । पुरै टीमले काम गरेको अवस्थामा मात्र संस्थाको वृद्धि विकास हुन्छ । सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ नकी एउटा सीईओले गर्दा केही पनि हुन सक्दैन । मैले इम्पावरमेन्ट मात्र गर्ने हो । काम हाम्रो टीमले गर्ने हो ।सबै काम मैले मात्र गर्छु भनी सोच्यो भने उपलब्धि केही पनि हुन सक्दैन । कलेक्टीभ फोर्स र कलेक्टीभ इनर्जीले नै हामी अगाडि बढ्न सक्छौं । विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने पनि कुमारी बैंकको ग्रोथ राम्रै भएको छ । हाम्रा सम्पूर्ण वित्तीय परिसूचकहरु राम्रो नै छन् । बजारमा हाम्रा नयाँ प्रडक्टहरु पनि लिएर आएका छौं । बैंकको प्रोगेस पनि राम्रै छ । आफ्नै रफ्तारमा बैंक गइरहेको छ । तपाईले बैंक ग्रोथमा छ, सबै इण्डिकेटरहरु राम्रा छन् भन्नुभयो । कुमारी बैंकको स्ट्रेन्थ वा राम्रा सूचकहरु के–के हुन् ? कुमारी बैंककोसबैभन्दा बलियो पक्ष ह्युमान रिसोर्स हो । जुन सिस्टम र प्रोससका साथ हामी काम गर्छौं त्यो एकदमै ट्रान्सपरेन्सी छ । त्यो भइसेकपछि बिजनेस त त्यसबाटै जितिन्छ । त्यो कुरामा राम्रो भयो भने ग्रोथ आफै भएर आउँछ । हामीले देव विकास बैंकलाई पनि एक्वायर गर्यौं । हामसँग २ सय ६ वटा शाखाहरु छन् । १४/१५ वटा एक्सटेन्सन काउन्टरहरु छन् । त्यस्तै, हाम्रो निक्षेप १ सय २० अर्ब रुपैयाँ रहेको छ भने कर्जा १ सय १२अर्ब रुपैयाँ छ । दुई हजारको हाराहारीमा कर्मचारीहरु छन् । हाम्रो लगानी राम्रोर सुरक्षित क्षेत्रमा छ । पहुँच देशभर छ । प्रविधिमा धेरै अगाडि बढिरहेको छ । हामी लक्ष्य र सोच प्राप्त गर्दै अगाडि बढिरहेका छौं र आगामी दिनमा पनि अझ बलियो भएर जानेछौं । कुमारी बैंकको एक दशक अगाडिको स्ट्रेन्थ भनेको थोरै शाखा, थोरै कर्मचारी, थोरै सञ्चालन खर्च र प्रतिस्पर्धी वासलात थियो । त्यतिबेलाको तुलनामा अहिले कर्मचारीको संख्या र बैंकका शाखाहरुको संख्या ओभर क्लाउडेड भएन ? अहिलेबैंक तथा वित्तीय पहुँच बढेको छ । नयाँ उद्यमीहरु पनि बढी आएका छन् । बैंक तथा वित्तीय संस्था बढी भएकै र सबैमा वित्तीय पहुँच र ज्ञान भएकै कारण नयाँ उद्यम गर्ने सोच विचारहरु आएका छन् । जुन राम्रो पक्ष हो । हाम्रो विजनेश पनि पहिला भन्दा धेरै ठूलो भएको छ । शाखाहरु बढी भएर धेरै फाइदाहरु भएका छन् । देव विकास बैंबलाई एक्वायर गर्दा पनि शाखा बढी भएकोले नयाँ ठाउँमा आफ्नो पहुँच बढाएका छौं । नयाँ र धेरै ग्राहक बनाउन सकिरहेका छौं । हामीसँग अहिले १० लाख ग्राहकहरु छन् । अझ यसलाई एक्विजिसन र मर्ज गराएर १० लाख मात्र ग्राहक होइन २० लाख नै हुन सक्छन् । कुमारी बैंकले देव विकास बैंकसहित धेरै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्वायर गरेको छ । यसले कुमारी बैंक सीनर्जी दिइरहेको छकि एक्वाएर पछि कुमारी बैंक आफै रुम्मलिरहेको छ ? ३ वर्ष अगाडिको कुरा गर्नु हुन्छ भने बैंकको लेण्डिङ ४२ अर्ब र डिपोजिट ५० अर्ब रहेको थियो । देव विकाससँग एक्विजिसन भइसकेपछि तीन वर्षमा डिपोजिट डबल भइसकेको अवस्था छ । यो कहाँबाट आयो त ?जब हाम्रो नेटवर्किङ भयो । कर्मचारीहरुको संख्या बढ्यो । नयाँ ठाउँहरु हामीले पायौं त्यसले गर्दा हामीले यो ग्रोथ लिन सक्यौं । हामी हाम्रो पुरानै शाखाहरुमा बसेको भए यति चाँडै यस्तो फड्को मार्न सक्थेनौं । तपाईको अबको याजना के हो ? अब बैंकको फोकस डिजटल ओरिन्टेसनमा हो । कोरोना भाइरसले पनि प्रविधिमा जानुपर्छ भन्ने कुरा सिकाएको छ । त्यसले पनि बैंकहरुले मुभ गर्नैपर्छ । हामीले डिजिटल माध्यमबाट कसरी अगाडि बढ्न सक्छौं भनेर योजनाबद्ध तरिकाले अगाडि बढ्दै छौं । त्यसको लागि हाम्रो रोडम्याप र भिजन तयार पनि हुँदैछ । संस्था सर्भिस प्रोभाइडर र हाम्रा ग्राहकलाई लाभ तथा आकर्षक गराउने हिसावले हामी हाम्रा योजनाहरु बनाउँदैछौं । हामी छिट्टै नै नयाँ कुराका साथ अगाडि आउँछौं। अबको एक दशकपछि नेपालको बैंकिङ क्षेत्रमा के कस्तो रुपान्तरण होला जस्तो लाग्छ तपाईलाई ? मैले देखेकको अबको दश वर्षपछि क्यासलेस इन्भाइरोमेन्ट बन्छ । शाखाहरु पनि त्यति धेरै नचाहिएला । सबै अटोमेटिक सर्भिस अपरेटमा जान्छन् । विदेशमा पनि यस्तै भइरहेको छ । पहिले बैंक भनेपछि ठूलो स्ट्रोथ बिल्डीङ हुन्थे, अब त्यस्तो हुँदैन । भोलिको दिनमा बैंक भनेपछि प्रविधिका सामग्रीहरु देख्नुहुन्छ । विश्वभर यस्ता परिर्वतन भइरहेका छन् । अबको दश वर्षमा नेपालमा पनि त्यस्तो अवश्य नै हुन्छ । ग्राकहरुलाई पनि बैंकमा गएर सेवा लिने समय हुँदैन । २० वर्षमा त यति परिवर्तन भइसक्यो अर्को १० वर्षसम्म त धेरै परिवर्तन हुन्छ । १० वर्षपछि जनशक्तिमा कस्तो किसिमको परिर्वतन आउला ? अहिले हामीसँग जुन जनशक्ति छ, यसले नै भोलि नेपालमा परिवर्तन ल्याउँछ ।यही जनशक्तिले प्रविधियुक्त नेपाल बनाउन भूमिका खेल्छ । त्यो पपुलेसनले भोलि नेपालमा नयाँ सोच र नयाँ आइडियाहरु सिर्जना गर्छन् । डिजिटल प्रविधिमा जाने तपाईको योजना र तपाईले अहिले व्यवहारिक रुपमा गरेको अभ्यासबीच तालमेल छ ? एकदमै तालमेल छ । मैले के भनेको हो भने बैंकको आफ्नो संरचना त अवश्य रहन्छ नै । तर, त्यसको शाखाहरु हराउँछन् । यसको हेड अफिस त भव्य नै रहन्छ । यसका सर्भिस आउलेटहरु बन्द हुन्छन् । एटीएमहरु पुरै विस्तापित हुन्छन् । बैंकरले जुन किसिमलेसेवा सुविधा दिन खोजिरहेका छन् त्यसलाई ग्राहकले सजिलै एडप्ट गरेका छन् ? हामीले हाम्रा ग्राहक तथा प्रयोकर्ताहरुलाई पनि डिजिटल प्रविधिमा इंगेज गर्नुपर्ने छ । पहिले बैंक आफै इंगेज हुनुपर्यो । त्यसपछि सर्भिस प्रोभाइडरहरु त्यसमा सक्षम हुनुपर्यो र हाम्रा ग्राहकहरु पनि त्यो सुविधालाई पनि लिन सक्नुपर्यो । हामी सबै इंगेज भइसकेपछि त्यसमा सबैले खेल्न सक्नु पर्यो । त्यसका लागि बैंकहरुले पनि भूमिका खेल्नुपर्छ । ग्राहकहरुले पनि विस्तारै हाम्रा सेवा सुविधाहरु प्रति जानकार र आकर्षण पनि बढ्दै गएको छ । बैंकहरुले धेरै पहिलेदेखि इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका प्रविधिगत सेवा सुरु गरेका थिए । तर त्यसमा प्रयोगकर्ताको आकर्षण खासै देखिएन । त्यसको प्रयोग गर्नको लागि कोभिड आउनु पर्यो । बैंकहरुले प्रडक्ट बनाइरहेका त छन् तर त्यसलाई उचित किसिमले मार्केटिङ गर्न सकिरहेका छैनन, किन ? तपाईको प्रश्नमा म सहमत छु । प्रयोगकर्तालाई हाम्रो प्रडक्टहरुमा हामीले इंगेज गर्नुपर्छ । उनीहरुलाई प्रडक्टमा आकर्षण गराउनका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्छ । हामीले त्यो काम पनि गरिनै रहेकाछौं । यो सबै विस्तारै सिक्दै गर्दै जाने कुरा हो । प्रयोगकर्ताले पनि जान्दै र बुझ्दै गएका छन् । समग्र बैंकिङ क्षेत्रकोट्रेण्डको कुरा गरौं, बैंकका प्रयोगकर्ताहरु र बैंकहरुले दिने सर्भिसमा के कसरी डेभलप भइरहेको छ ? हामीले अझ पनि धेरै काम गर्न बाँकी नै छ । अहिले पनि हामी डिजिटलाइजेसनको एकदमै लो स्टेपमा छौं । हामी त अहिले डिजिटलमा पेमेन्ट मात्र गरिरहेका छौं । अनलाइन ट्रान्जेक्सनमा मात्र छौं । अब विस्तारै सबै बैंकहरुले रोडम्यापहरु तयार गरिरहेका छन् । अब कसरी जाने भन्नेबारे सबैले आफ्नै खालका योजनाहरु बनाइरहेका छन् । अब अवस्थाको बारेमा कुरा गरौं । अस्वभाविक रुपमा बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेका छन् । कल एकाउण्टमा त ब्याज नै छैन । यो नर्मल अभ्यास हो ? यसलाई अस्वभाविक भन्न मिल्दैन ।सबैभन्दा पहिले त निक्षेपको ब्याज पहिले किन बढेको थियो र अहिले किन घट्यो भन्ने कुरा हामीले अध्ययन गर्नुपर्छ । जब बजारमा डिपोजिट सरप्लस हुन्छ कष्ट अफ गुड्स आफै कम हुन्छ । जब टाइट हुन्छ त्यसको कष्ट बढ्दै जान्छ । यही फण्डामेन्टल पनि यसमा लागु हुन्छ । अहिले पनि स्वभाविक रुपमा त्यस्तै भएको हो । कमोडिटको कुरा गर्दा पनि कमोडिटी सरप्लस छ भने मूल्य त घटेर नै आउँछ । फण्डामेन्टल त्यही लागू भएको हो । सेयर बजारको इक्डेक्स तलमाथि भएजस्तै बैंकको ब्याजदर पनि त्यस्तै उच्च दरमा तलमाथि हुनुलाई सामान्य नियम भन्न मिल्छ ? मिल्दैन । त्यहाँ अन्य फन्डामेन्टलहरुले पनि काम गरिरहेका हुन्छन् । तरलता प्रयाप्त छ भने कष्ट अफ डिपोजिट घट्छ र कष्ट अफ लेण्डिङ पनि घटेर नै जान्छ । बजारमा तरलता छैन उद्योगले पैसा मागिरहेको छ भने पनि उद्योगलाई पनि हाई कष्टमा पैसा लैजान्छ र डिपोजिट पनि हाइकष्ट मै हाल्छ । त्यसैले आजका दिनमा बजारमा तरलता प्रयाप्त भएकोले कष्ट घटेको हो । आजको दिनमा तपाईले मुद्दती निक्षेप कतिमा लिइरहनु भएको छ ? हामीले ६/७ प्रतिशतमा लिइरहेका छौं । ढेड वर्षअघि १३ प्रतिशतमा कुमारीले नै निक्षेप लिएको थियो । अहिले ६ प्रशितमा झरेको छ । विदेशमा ०.५ वा एक प्रतिशत व्याजदर घटबढ हुनुलाई पनि ठूलो परिवर्तन मानिन्छ । तर नेपालका किन यस्तो अश्वाभाविक रुपमा व्याजदर परिवर्तन भएका छन् ? अर्थतन्त्रकाे लागि ब्याजको मुभमेन्ट०.५ र १ प्रतिशतभन्दा बढी घटबढ हुनु राम्राे हुँदैन । तर नेपालमा यसको कारणहरु धेरै छन् । आज डिपोजिट दर घटिरहेको छ र लेण्डिङ रेट पनि घटिरहेको छ । केही दिन हामीले पर्खेर बस्नु पर्ने हुन्छ । बैंकको संख्याहरु धेरै छन् । हामीले चाँडै रियाक्ट गर्छौं । बैंकको ब्याजदरमा जुन किसिमको अस्थिरता सिर्जना भइरहेको छ यसमा बैंकका अपरेटरहरु अर्थात सीईओहरु नै जिम्मेवार छैनन् ? यसमा बैंकिङ क्षेत्रको कमजोरी पनि छन् । मेरो व्यक्तिगत धारणा लिनु हुन्छ भने यो किसिमको उतारचढाव हुनै हुँदैन । यस्तो खालको परिवर्तन आउनु पर्छ भने पनि ३/४ वर्षमा आउनु पर्छ । हाम्रोमा त २ महिनामै आउँछ । मर्जको बारेमा कुमारी बैंकले के सोचिरहेको छ ? हामीले पहिले मर्ज र एक्विजिसन पनि गर्यौं । आउने दिनहरुमा पनि हामी तयार भएर बसेका छौं ।जो सँग हाम्रो कल्चर र विजनेस मिल्छ हामी मिल्न सक्छौं । हामी त्योसँग मिल्न तयार हुन्छौं । फेरि पनि पहिलेको जस्तै डिभलोमेन्ट बैंक अर्थात फाइनान्स कम्पनीलाई एक्वायर गर्नुहुन्छ कि वाणिज्य बैंकहसँग मर्ज हुने हो ? ए क्लास अर्थात बी क्लास जहाँ हाम्रो कम्बिनेसन मिल्न उनीहरुसँगै मिल्छौं । हाम्रो बोर्ड पनि त्यसको लागि ओपन छ र हाम्रो मर्ज कमिटी पनि ओपन छ र म पनि झनै ओपन छु । मेरो धारणा देशमा बैक तथा बित्तीय संस्थाको संख्या कम हुनु पर्छ भन्ने हो । अब लगानीकर्ताको साइडबाटहेरौं,कुमारी बैंकका लगानीकर्ताहरु कतिको खुसी छन् ? त्यो मैलेभन्दा पनि तपाईहरुले बुझ्नु पर्ने कुरा हो । मेरो सोच भनेको बैंकले आफ्नो पूर्ण क्षमता देखाएर काम गर्ने हो । हामीले नियामक निकायहरुका अगडि राम्रो संस्था भनेर चिनाउनु पर्छ र त्यही अनुसार अगाडि बढ्नुपर्छ । लगानीकर्ता, कर्मचारी र ग्राहकहरुका लागि पनि हामीले राम्रो संस्था बनाउने हो ।त्यही अनुसारको भिजन बनाएर अगाडि बढ्ने हो । यी ४ कुराहरुलाई लिएर अगाडि बढ्ने हो हामीले कति उपलब्धि हाँसिल गरिरहेका छौं त्यो तपाइहरु जस्तो मान्छेले मूल्यांकन गर्ने हो । कुमारी बैंक २० वर्ष पुरानो वाणिज्य बैंक हो । अहिले यसको सेयर मूल्य २ सयभन्दा तल छ । यो सेयर मूल्यले त तपाईहरुलाई लगानीकर्ताले पत्ताएको जस्तो त देखिँदैन नि ? त्यो भन्ने तपाइले हो । हाम्रो उदेश्य राम्रोसँग काम गर्दै जाने हो । राम्रै काम गर्दै गएपछि त्यसको रिर्टन पनि अवश्य नै आउँछ । विगत दुई वर्षदेखि हाम्रो राम्रै नै भइरहेको छ ।हामी एउटा उदेश्य लिएर अगाडि बढेका छौं । यो सोचले हामीलाई डेस्टिनेसनमा पुर्याउँछ । हामीले बैंकको पर्फमेन्स राम्रो गर्ने बित्तिकै लगानीकर्ताको रिर्टन आफै आउँछ । कुमारी बैंकका लगानीकर्ताले अर्को वर्ष कति लाभांश पाउँछन् ? अर्को वर्ष कति लाभांश पाउँछन् भन्ने कुरा अहिले नै जवाफ दिन मिल्दैन । मौद्रिक नीतिमा आएका प्रोभिजनहरुलाई मिलाएर गर्नुपर्ने हुन्छ । हामीले कहाँबाट कसरी ग्रो भइरहेको छ भन्ने कुरा हेर्नुपर्छ । सबै बिजनेस एक्कासी हाई भएर जाँदैन, विस्तारै ग्रो हुँदै जान्छ । वर्षेनी बढाउँदै जाने हो । बैंकिङ भनेको रिक्सको क्षेत्र पनि हो । यी सबै कुराहरुलाई अध्ययन गरेर अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्यो भने लगानीकर्ताहरुले चाहेको रिर्टन दिन सकिन्छ । राष्ट्र बैंकले असोजमा पनि कर्जा नउठेमा कर्जाको ५ प्रतिशतका प्रोभिजन गर्नुभनेको छ । त्यसले बैंकहरुको नाफामा निकै असर गर्छ अड्कलबाजी पनि गरिएको छ ।यसमा तपाईको धारणा के हो ? हो, अवश्य असर धेरै नै पर्नेछ । अहिले अर्थतन्त्र स्ट्याण्डमै छ । यो समय आफूलाई जोगाउने समय हो । बैंकले ग्राहकलाई जोगाएपछि बैंक पनि आफै जोगिन्छ । यो रिर्टन हेर्ने बेला होइन । कोरोनाको असर अझै कहाँसम्म जान्छ भन्ने कुरा भन्न सकिन्न । त्यसैले अहिले हामी सुरक्षित हुने कुरा हो । अर्थतन्त्रमा अहिले धेरै असर त गरेको नै छ तर हामीले सुरक्षित ल्याण्डिङ गर्ने हो । टेक अफ गर्ने समय त आउँछन नै ।
८ वर्षमा एशियन लाइफको जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ-राजेश कुमार श्रेष्ठ
राजेश कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड २०१६ सालमा विरगञ्जमा जन्मनु भएका राजेश श्रेष्ठले २०४१ सालमा त्रिभुवन विश्वविद्यायलबाट एमबीए गरी २०४२ सालमा सोल्टी होटलबाट पेशागत यात्रा शुरु गर्नु भयो । २०४३ सालमा नेपाल बैंकमा अधिकृत हुनुभयो । बैकिङ सेवामा रहदारहदै कानुन विषयमा स्नातक (विएल) डिग्री पनि लिनुभयो । १७ वर्ष नेपाल बैंकमा काम गरेपछि उहाँ २०५९ पुसमा एनसीसी बैंकमा प्रवेश गर्नुभयो । एनसीसी बैंकमा रहँदा विरगञ्ज शाखा प्रबन्धक, काठमाडौं शाखा प्रबन्धक, आन्तरिक लेखापरिक्षण प्रमुख भएर काम गर्नुभयो । २०६३ साल फागुनमा उहाँ महालक्ष्मी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । उक्त फाइनान्समा ५ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेपछि २०६९ साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएको आज ठिक ८ वर्ष पूरा भएको छ । ८ वर्षमा उहाँले के गर्नुभयो, के गर्न सक्नुभएन ? २०६४ सालमा खुलेका ४ कम्पनी मध्ये एशियन लाइफ इन्स्योरेन्स कम्पनी कसरी अगाडि आयो ? एशियनको सबल पक्ष के हुन् ? एउटा बैंकको सीईओ पद जति ग्ल्यामर देखिन्छ, बीमा कम्पनीको सीईओ किन हुँदैन ? प्रस्तुत छ विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाई बैंकिङ पृष्ठभूमिबाट बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आउनुभयो । बीमा कम्पनीको ८ वर्ष सीईओ भईसक्नुभयो । बैंकको सीईओ निकै ग्ल्यामरस देखिन्छ, इन्स्योरेन्सको सीईओमा त्यो देखिन्न, किन ? तपाईले सहि कुरा गर्नुभयो । बैंकको सीईओ र बीमाको सीईओमा फरक नै ग्ल्यामरको हो । हुन त बैंकिङ र बीमा दुबै व्यवसायिक संस्था हुन्, सेवा प्रदायक संस्था हुन् । फरक के छ भने बैंकको सीईओ र ग्राहकबीच प्रत्यक्ष सम्पर्क हुन्छ । कर्जा लिन, व्याजदर घटाउन, निक्षेपको सुरक्षा गरिदिन वा निक्षेपमा बढी व्याजको लागि नेगोसिएट गर्न मानिसहरु बैंकका सामान्य कर्मचारी देखि सीईओसम्म पुग्छन् । मार्केटिङ भ्यूबाट हेर्दा पनि बैंकका कर्मचारी, सीईओहरु ग्राहकको ढोकाढोकामा पुग्नै पर्छ, कर्जाको लागि वा निक्षेपको लागि । यसले ग्राहक र बैंकका कर्मचारीबीच अन्तर्क्रिया र सम्बन्ध राम्रोसँग हुन्छ । तर बीमा कम्पनीको कर्मचारी वा सीईओ बीमितसँग प्रत्यक्ष अन्तर्क्रिया वा सम्बन्ध हुँदैन । अभिकर्ता मार्फत बीमा गराइन्छ । अभिकर्ताहरु नै बीमितको ढोकाढोकामा पुगेका हुन्छन् । मैले सुनेको थिए इण्डियामा ‘बि वेयर अफ दी इन्स्योरेन्स एजेन्ट’ भनेर ढोकामा टाँस्थे रे । बीमा अभिकर्ता पटक पटक आउँछन्, विजनेशको कुरा गरेर झन्झट गर्छन् भनेर । नेपालमा पनि बीमाको बुझाई कम छ । ३ लाखको मोटरसाईकल किनेर तुरुन्त बीमा गर्छन्, तर आफ्नो जीवन बीमा गर्दैनन् । आफ्नो जीवन अमूल्य छ भनेर मानिसहरुले बुझेका छैनन्, हामीले बुझाउन सकेका पनि छैनौं । सामाजिक दृष्टिकोणमा पनि फरक छ । समाजमा पनि परिचय गराउँदा उहाँ त फलानो बैंकको सीईओ, फाइनान्सको सीईओ हुनुहुन्छ भनेर चिनाउँछन् । बीमा कम्पनीको सीईओलाई चिनाउँदा ‘उहाँ बीमा कम्पनीमा काम गर्नुहुन्छ’ भनेर चिनाउँछन् । बैंकको कर्मचारी भनेपछि मान्छे नजिक हुन खोज्छन् । आज पनि नचिनेको बैंकबाट कर्जा लिन निकै गाह्रो हुन्छ । चिनेको छ भने सजिलो हुन्छ । चिनेको मान्छेलाई निक्षेपमा प्वाइट ५ प्रतिशत बढी व्याज दिने अधिकार हुन्छ । कर्जामा कम व्याज गरिदिनसक्छ । यस्ता आशा भनौं वा लोभले मानिसहरु बैंकका कर्मचारी वा सीईओसँग नजिक हुन्छन् । तर त्यहि बीमा अभिकर्ता भनेपछि मान्छेहरु टाढाटाढा हुन खोज्छ । त्यस्तै, बैकिङ सेवा सबैलाई आवश्यक परिरहेको हुन्छ भने जीवन बीमाको पैसा बचत भएपछि गरौंला भन्ने मानिसहरुको सोच हुन्छ । त्यसैले बैंकिङ क्षेत्र ग्ल्यामर जबको रुपमा आउँछ भने बीमा त्यति ग्ल्यामरसको रुपमा लिईंदैन । भविष्यमा पनि यस्तो होला वा परिवर्तन आउँला ? समयसँगै मानिसको सोच पनि परिवर्तन हुन्छ । आवश्यकता पनि परिवर्तन हुन्छन् । कार्यप्रणालीमा परिवर्तन हुन्छ । हिजोको दिनमा बीमाले समयमा भुक्तानी दिँदैनन् भन्ने गुनासो थियो भने अहिले त्यो हटेको छ । हामी बीमा दावी भएको ३ दिनभित्र भुक्तानी गर्ने अभ्यास गरिरहेका छौं । दुर्घटनाको केसमा एक दिनमै दावी भुक्तानी गर्छौ । विगतमा यूनिटीले बीमाको नाममा ६/७ अर्ब उठाएर भाग्यो वा सरकारले कारवाही गरेपछि बन्द भयो । त्यसले बीमाप्रति धेरै मानिसको धारणा नराम्रो बनायो । अहिले परिस्थिति फरक हुँदैछ । बीमा गर्नुपर्ने रहेछ, अप्ठ्यारो अवस्थामा बीमाबाट लाभ हुँदो रहेछ भन्ने सन्देश समाजमा गएको छ । बैंकिङ क्षेत्रबाट आएको व्यक्ति, बीमा कम्पनी चलाउन कठिन भएन ? बैकिङ पृष्ठभूमिबाट आएको व्यक्तिले बीमा कम्पनीको सीईओको जिम्मेवारी समाल्न नसक्ने भन्ने हुँदैन । व्यवस्थापकीय काम धेरै हुँदैन । प्राविधिक विषयहरुमा जान्ने मान्छेलाई जिम्मेवारी दिने, आफू पनि अपडेट हुँदै जाने नियमित प्रकिया नै हुन् । अनुभवजन्य भन्दा पनि अन्य प्रकृतिको चुनौतिहरु, कठिनाईहरु आए । जस्तै, यस कम्पनीको व्यवस्थापकीय नेतृत्वमा म आउँदै गर्दा यस कम्पनीले एक विषम परिस्थितिको सामना गरी रहेको थियो । कम्पनीले लाभांश वितरण सम्बन्धमा फरक निर्णय गरेको थियो । कम्पनीमाथि नियामकले एक प्रकारको कारवाही गरेको थियो । नियमनकारी निकायबाट जारी ६ प्रतिशतको इन्सेन्टिभ वितरणको कारण जीवन बीमा अभिकर्ताहरु असन्तुष्ट थिए, आन्दोलित थिए । कम्पनीका कर्मचारीहरु पनि असन्तुष्ट थिए । कम्पनीको उच्च व्यवस्थापनका व्यक्तिहरुले राजीनामा दिएका थिए । त्यस कठिन अवस्थामा कम्पनीलाई समाल्न स्वभाविक रुपमा गाह्रो भयो । हामीले संयमित रुपमा कम्पनीलाई अगाडि बढाउने प्रयास गर्यौं । पछि पनि हामीले गम्भिर र प्रतिकूल परिवेशको सामना गर्नुपर्यो । २०७२ सालको महाभूकम्पको सामना गर्नुपर्यो । आर्थिक वर्ष २०७३/७४ मा सरकारले थप १० वटा जीवन बीमा कम्पनीहरुलाई इजाजत दिएपछि बजारमा ठूलो तरङ्ग पैदा भयो । यस कम्पनीबाट करिब ५०/६० जना अनुभवी कर्मचारीहरु अन्य कम्पनीमा गएको कारण यस कम्पनीमा असहज अवस्था सिर्जना हुन गयो । उक्त समयमा खुल्न लागेका अधिकांश नयाँ कम्पनीहरुको लक्ष्य यसै एशियन लाईफ इन्स्योरेन्सका अनुभवी कर्मचारीहरुलाई २/३ पद माथि दिएर, दोब्बर तेब्बर तलब दिएर भए पनि ताना तान गर्ने अवस्था थियो । त्यस्तो संकटको घडीमा यस कम्पनीमा रहेका कर्मचारी साथीहरुले व्यवस्थापनलाई साथ दिई कम्पनीलाई बचाउन तथा व्यवसायमा वृद्धि गर्न समेत ठूलो सहयोग गरे जसको कारण आ.व.२०७४/७५ मा कम्पनीले प्रथम बीमा शुल्कमा ८१.८१ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भयो भने आ.व.२०७५/७६ मा प्रथम बीमा शुल्कमा ७१ प्रतिशतले वृद्धि भएको थियो । फेरी हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको छ । यस परिवेशमा पनि कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कुल बीमा शुल्क संकलनमा वृद्धि गर्न सफल भएको छ । महाभूकम्प गएको वर्ष पनि हामीले व्यवसाय वृद्धि गर्यौं । एकै पटक ठूलो संख्यामा अनुभवी कर्मचारीले छोड्दा पनि व्यवसाय वृद्धि गर्यौं । अनेक आपतविपत्का बावजुद पनि कम्पनीको ग्रोथ नियमित रह्यो । र, २०६४ सालमा स्थापना भएका चारवटा कम्पनीहरु मध्ये एशियन लाइफले आफूलाई अब्बल स्थानमा राखिराख्न सफल भएकाे छ । एशियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएको ८ वर्ष अवधिमा के कस्तो उपलब्धी भए ? म यस कम्पनीको व्यवस्थापनमा आउँदा आ.व. २०६८/६९ मा, कूल बीमा शुल्क १ अर्ब ३ करोड रुपैयाँ थियो । जीवन बीमा कोष २ अर्ब १४ करोड रुपैयाँ थियो । २० वटा शाखा, ७० वटा उपशाखा थिए । अभिकर्ता संख्या करिब ४५ हजार रहेको थियो । आ.व. २०७६/७७ मा प्रथम बीमा शुल्क १ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । कुल बीमा शुल्क ४ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । जीवन बीमा कोष करिब २२ अर्ब रुपैयाँ भएको छ । शाखा संख्या ३६, उपशाखा संख्या १०४, अभिकर्ता संख्या करिब ९० हजार पुगेको छ । एशियन लाइफ इन्स्याेरेन्स कमपनीकाे बीमा शुल्क आम्दानी यस अवधिमा जीवन बीमा कोषको वृद्धि असाध्यै राम्रो छ । ८ वर्षमा जीवन बीमा कोष १० गुणाले वृद्धि भएको छ । त्यस्तै, ८ वर्षमा बीमा शुल्क साढे ४ गुणाले वृद्धि भएको छ । नेटवर्कको कुरा गर्दा डोल्पा, मनाङ्ग र मुस्ताङ्ग वाहेक ७४ जिल्ला मै शाखा, उपशाखा कार्यालयहरु रहेका छन् । शाखा, उपशाखा कार्यालय नभएका जिल्लाहरुमा पनि अभिकर्ताको उपस्थिति रहेकोछ । ७७ वटै जिल्लामा हामीले व्यवसाय विस्तार गरेको छौं । ०६४ सालमा खुलेका अन्य जीवन बीमा कम्पनीहरु भन्दा एशियन लाइफ हरेक दृष्टिले अगाडि छ । जीवन बीमा क्षेत्रमा भईरहेका असल अभ्यास के के हुन्, सुधार गर्नुपर्ने विषय के के छन् ? पछिल्लो समयमा १० वटा नयाँ कम्पनी खुलेपछि बीमा बजारको विस्तार उच्चदरमा भएको छ । नयाँ कम्पनीको प्रवेशपूर्व बीमा पहुँच ६/७ प्रतिशत मात्र थियो । अहिले २६ प्रतिशत पुगेको छ । एकै पटक १० वटा जीवन बीमा कम्पनी बजारमा आउँदा चुनौतिहरु पनि आए । सर्वाभाइबल अफ द फिटेस्टको अवस्था आयो । सबै कम्पनीहरु आफूलाई बचाउन र टिकाउन आक्रामक रुपमा अगाडि बढे । सबै कम्पनीहरुले कार्यक्षेत्र विस्तार गरे । सिस्टममा एकिकृत गर्दै लगेका छन् । अपरेशनलाई क्रमशः अटोमेशन गर्दै लगेका छन् । अभिकर्ता उत्पादनमा जोड दिने, ग्राहकको सेवास्तर वृद्धि गर्ने कार्यमा जोड दिए । ८ वर्षअघि सुशासनको परिपालनाको मामलामा बीमा क्षेत्र पछाडि नै थियो । अहिले धेरै सुधार भएको छ । यस मामिलामा बीमा समितिको भूमिका धेरै राम्रो रह्यो । बीमाप्रतिको विश्वास बढाउनको लागि, बीमा कम्पनी बलियो बनाउनको लागि, बीमा बजार विस्तारको लागि, सर्वसाधारणमा बीमाको पहुँच बढाउनको लागि बीमा समितिले खेलेको भूमिका राम्रो छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आफ्ना संरचनाहरु परिवर्तन गरिरहेका छन्, कार्यप्रणालीमा परिवर्तन गरिरहेका छन् । नयाँ १० वटा कम्पनी आउनुपूर्व निदाएका थिए, नयाँ कम्पनी आएपछि पुराना कम्पनी पनि जागेका हुन् ? यसलाई यसरी पनि नहेरौं । बीमाबारे जनचेतनाको कमी छ । आर्थिक अवस्थाले पनि मानिसहरुको लागि बीमा प्राथमिकताको सूचिमा धेरै पछाडि छ । अहिले पनि ७४ प्रतिशत मानिसले आफ्नो बीमा गराएका छैनन्र। पहिला बीमा कम्पनीहरु अलि सुसुप्त भएको र अहिले बढी जागरुक भएको कुरा त सहि नै हो । नयाँ कम्पनी आएपछि पनि उनीहरुको ग्रोथ पनि राम्रो देखिएको छ । पुराना कम्पनीहरुको पनि व्यवसाय वृद्धि भएकै छ । पछिल्लो समय बीमाको पहुँच वृद्धि हुनुमा बीमा अभिकर्ता इन्सेन्टिभ स्थीर हुनु पनि एउटा कारण हो । हामीसँग जीवन बीमाको इतिहास ५० वर्षको भईसक्यो । तर ४६ वर्षसम्म अभिकर्ताले पाउने इन्सेन्टिभ अस्थिर भयो । कहिले बढ्ने, कहिले घट्ने । त्यसले बीमा कम्पनी र अभिकर्ता एकदमै अन्यौलमा रहेको पाइन्छ । कतिपय अभिकर्ता पलायन भए । किनकी अस्थिरताले बीमा बजारप्रति विश्वास नै जागेन । अरुको भविष्यको आर्थिक सुरक्षा गर्न भनेर कार्यस्थलमा खट्ने अभिकर्ताले आफ्नै आर्थिक भविष्य असुरक्षित भएको कुरा हामीलाई सुनाउँथे । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईँ सर आउनुभएपछि इन्सेन्टिभ सम्बन्धि विवाद पनि टुङ्ग्याई दिनुभयो । इन्सेन्टिभ दर पनि स्थीर भयो । त्यसले पनि बजार विस्तारमा मद्दत गरेको छ । त्यस्तै, २०७२ सालमा महाभूकम्पले बीमाप्रतिको जनचेतना वृद्धिमा सहयोग गरेको छ । बीमाको महत्व सर्वसाधारणले बुझ्न थालेका थिए । यस परिवेशमा २०७४ सालमा नयाँ कम्पनी आए । विगत तीन वर्षमा आर्थिक वृद्धि दर पनि लगातार ६/७ प्रतिशत रह्यो । सर्वसाधारणको आय स्तर पनि वृद्धि भएको छ । यी सबै कुराले बजार विस्तारमा सहयोग गरेको छ । बीमा अभिकर्ताको इन्सेन्टिभ वृद्धि भएपनि, स्थीर भएपनि बीमा अभिकर्ताहरु अहिले पनि पूर्णकालिन भएका छैनन्, पार्टटाइम जबको रुपमा लिन्छन्, किन ? जीवन बीमामा अभिकर्ताको ठूलो महत्व छ । अभिकर्ताहरु सन्तुष्ट नभएसम्म बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुन पनि सक्दैन । अभिकर्ता कतिबेला सन्तुष्ट हुन्छन्, कतिबेला पूर्णकालीन हुन्छन् भने जब उनीहरु आर्थिक रुपमा सुरक्षित हुन्छन् । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा नेपालमा अभिकर्ताले पाउने इन्सेन्टिभ एकदमै कम पनि छैन, धेरै पनि छैन । मध्यमस्तरको रहेको छ । तपाईले नै भन्नुभयो एशियन लाइफमा ९० हजार जना अभिकर्ता छन् । अरु कम्पनीको डाटा पनि यस्तै उच्च देखिन्छ । तपाईहरुले देखाउने सबै अभिकर्ता पूर्णकालिन छन् ? अभिकर्ता पेसाप्रति समर्पित छन् ? सबै बीमा कम्पनीको डाटा जोड्दा झण्डै ६ लाख अभिकर्ता छन् । तर त्यसमा १५ देखि २० प्रतिशत मात्र सक्रिय छन् । नयाँ वा पुराना जुनसुकै कम्पनीबाट तालिम लिएका, अभिकर्ता बनेका व्यक्ति हुन्, १५ देखि २० प्रतिशत मात्र सक्रिय हुन्छन् । त्यसमा पनि पूर्णकालिनको संख्या निकै कम छ । सबैतिर अनलाईन कारोबार विस्तार हुँदै गएका छन् । बीमा कम्पनीहरुले पनि डिजिटल सेवालाई विस्तार गर्दै लगेका छन् । अनलाइन सेवा विस्तार हुँदै जाँदा कुनै मानिसले अनलाइनबाटै बीमा पोलिसी लिने, प्रिमियम भुक्तानी गर्ने दिन कति पर छ ? अर्थात बीमा अभिकर्ता विस्तापित हुने सम्भावना कति छ ? तत्काल त्यस्तो परिस्थिति नहोला । बीमा समितिले ३ लाखसम्मको बीमा पोलिसी अनलाईनबाट बिक्री गर्न पाउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुले काम गरिरहेका छन् । तर प्रभावकारी कम भएको छ । बीमितहरु पनि अनलाइन फ्रेण्डली छैनन् । अनलाइन पोलिसी सेल अभ्यास क्रमशः विस्तार होला तर तत्काल अभिकर्ता भूमिकाहीन बन्ने अवस्था आउँदैन । नेपालमा बैंकास्योरेन्सको अभ्यास किन विवादित भयो ? बैंकास्योरेन्स भन्दा पनि कर्पोरेट एजेन्सीको रुपमा काम शुरु भएको थियो । त्यसमा केही विवाद छन् । बैंकहरुको भूमिका पनि विवादमा परेको छ भने बीमा अभिकर्ताहरुले आफ्नो रोजगारी गुम्ने भयो भनेर विरोध पनि गरेका छन् । मेरो विचारमा बैंकास्योरेन्स बन्न नै गर्नु ठिक होइन । ५/६ लाख अभिकर्ता बेरोजगार बनाउने गरी कर्पोरेट एजेन्सीमा जानुपनि हुँदैन । यसबारे अध्ययन गरेर सबैको हित हुने गरी नयाँ विधि निर्माण गरिनुपर्छ । बैंकास्योरेन्सलाई निषेध गर्नु पनि ठिक होइन । किनकी आज सबै स्थानीय तहमा बैंकहरु पुगेका छन् । बैकिङ पहुँच पनि बढी छ । बैंकप्रति सर्वसाधारणको विश्वास पनि राम्रो छ । बैंकास्योरेन्सलाई कर्पोरेट एजेन्सीको रुपमा लैजानु हुन्न । बैंकले बीमा गर्दा पाउने कमिशन अभिकर्ताले पाउने कमिशन भन्दा कम गरिनुपर्छ । केही आचारसंहिता बनाइनुपर्छ । बैंकहरुले बीमालाई ग्राहक सेवा वृद्धि गर्ने स्कीमको रुपमा लैजानुपर्छ, कमिशनको लागि मात्र होइन । एशियन लाइफको सवल पक्ष के हो ? यस कम्पनीले १२/१३ वर्षको दौरानमा जीवन बीमा कोष २२ अर्ब रूपैयाँ बराबर बनाएको छ । जीवन बीमा क्षेत्रका अन्य पुराना कम्पनीले उक्त समयावधीमा समयमा रु.१०/१२ अर्ब भन्दा बढी पुर्याउन सकेका थिएनन् । जीवन बीमा कोष भनेको कम्पनीको सबैभन्दा ठूलो स्ट्रेन्थ हो । कम्पनीले यो कोषलाई विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । त्यसले निरन्तर कम्पनीका लागि आम्दानी सिर्जना गर्छ । यस कम्पनीको एशियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे जीवन बीमा काेष सञ्चालक खर्च अरु कम्पनीको तुलनामा निकै कम छ । कम्पनीले कुल बीमा शुल्क आम्दानीको ९५ देखि १०० प्रतिशत जीवन बीमा कोषमा राख्दै गयौं । १९ वटा जीवन बीमा कम्पनी मध्ये सबैभन्दा बढी रकम जीवन बीमा कोषमा पठाउने कम्पनी एशियन लाइफ हो । बीमा शुल्कको १०० प्रतिशत रकम जीवन बीमा कोषमा पठाउँदा कम्पनीको खर्च कहाँ जुट्छ ? जीवन बीमा कोषको रकम विभिन्न क्षेत्रमा लगानी गरिएकाे हुन्छ । त्यसरी गरिएकाे लगानीबाट हुने आयबाट हाम्रो सबै सञ्चालन खर्च धानेको हुन्छ । कम्पनीको सेयर लगानीकर्ताले कति लाभांश पाईरहेका छन् ? जीवन बीमा कम्पनीमा १० वर्षसम्म लगानीकर्ताले लाभांशको अपेक्षा गर्नुहुन्न भन्ने पनि गरिन्छ । तर यस कम्पनी सञ्चालनमा आएको तेस्रो वर्ष नै २७ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछि विभिन्न पटक लाभांश वितरण भएको छ । आर्थिक वर्ष २०७४/७५ को आर्थिक प्रतिवेदनमा केही प्राविधिक त्रुटी भएकोले बीमा समितिबाट स्वीकृत गराउन ढिला भएको छ । बीमा समितिमा निर्णयको प्रक्रियामा रहेको छ । कम्पनीको व्यवसाय पनि राम्रो छ । नियम, कानुन, बीमा समितिका निर्देशनको परिपालना राम्रो छ । त्यसैले आगामी दिन पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउनेछन् । तपाईको कार्यकालमा भएका उत्कृष्ट तीन काम के के हुन् ? व्यवसाय सुदृढिकरण, व्यवस्थापन सुदृढिकरण र नियमको परिपालना । यी तिनै क्षेत्रमा राम्रो भएको छ । कम्पनी स्थापना भएको ५ वर्षकाे २१४ करोडको बीमा कोष १३औं वर्षमा २२ अर्ब भयो । १३ वर्षको अवधिमा कुनै पनि बीमा कम्पनीले २२ अर्बको जीवन बीमा कोष बनाउन सकेको थिएन । सम्पन्न गर्न नसकेको काम नि ? बीचमा केही उचावचढाव आए । आईटी सिस्टम इन्डियाको भेण्डरसँग लिएका थियौं । त्यसले हामीलाई दुःख दियो । अहिले परिवर्तन गरेर नेपाली कम्पनीसँग काम गरिरहेका छौं । अनलाईन प्रडक्टमा मैले चाहेजति काम गर्न सकिएन । फूल्ली अटोमेशनको काम गर्न सकिएन । मेरो चाहाना २०७५/७६ को साधारणसभा गरेर लगानीकर्तालाई लाभांश दिएर जाने । तर समयले मलाई दिएन । यसमा मलाई दुःख लागेको छ । त्यसमा एक्चुरीको समस्या, भ्यालुएशनको समस्या, एनएफआरएससँग जोडिएका समस्याले हामी ढिला भयौं । बीमा बोनस दर न्युनतम ६५ रुपैयाँ पुर्याउने मेरो सोच थियो । बीमाङ्कीय मूल्याङकन ढिला हुँदो मेरो लक्ष्य पूरा भएन । अपरलाईनमा अहिले पनि हाम्राे बाेनस दर ८७ रुपैयाँ छ । यो नेपालकाे सबैभन्दा बढी बाेनस रेट हो । एशियनले २०७४/७५ देखि साधारणसभा गर्न नसकेको देखियो । २०७५/७६ को साधारणसभा त कुनै पनि जीवन बीमा कम्पनीले गर्न सकेका छैनन्, समस्या के हो ? मुख्य कुरा नेपालमा एक्चुरी छैनन् । बीमा समितिको एक्चुरीले २०७४/७५ नयाँ मापदण्ड बनाएको छ, जुनअनुसार नेपालका बीमा कम्पनीले एक्चुरी गराउँदै आएका पुराना एक्चुरीले काम गर्न नपाउने भए । नयाँ एक्चुरीहरु नियुक्त गर्नुपर्ने भयो । त्यसले पनि समय लियो । २०७५/७६ देखि बीमा समितिले भ्यालुएशन रिपोर्टिङको नयाँ फर्म्याट गर्नुपर्ने व्यवस्था गर्यो । २०७४/७५ देखि एनएफआरएस पनि लागू भयो । यी तीन वटा पक्षमा धेरै परिवर्तन भएकोले बढी समय लागेको हो । नयाँ सिस्टमअनुसार एक पटक आर्थिक प्रतिवेदन पास भएपछि नियमित गर्न सजिलो हुन्छ, धेरै समय लाग्दैन । एशियन लाइफ इन्स्याेरेन्स कम्पनीमा तेस्राे कार्यकालकाे लागि तपाईकाे नियुक्ती हुन्छ कि हुँदैन ? सबैलाई थाहा छ कि बीमा समितिले जारी गरेकाे संस्थागत सुशासन निर्देशिका अनुसार कुनै पनि कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक वा प्रशाशकले बढिमा २ कार्यकाल मात्र नियमित काम गर्न पाउँछ । त्याे निमय यस कम्पनीमा पनि लागू हुन्छ । साउन २१ गतेदेखि म यस कम्पनीमा रहदिन ।
बीमा गराएर मात्र बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउनुपर्छ- सुनिल बल्लभ पन्त
सुनिल बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड एनएलजी इन्स्योरेन्स कम्पनीको इतिहास ३ दशक लामो छ । सन् १९८८ मा स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स (एनएलजीआई) सन् २००५ मा लाइफ र ननलाइफ अलग भए । निर्जीवनतर्फ ‘एनएलजी’ र जीवनतर्फ ‘नेशनल लाइफ’ । एनएलजी इन्स्योरेन्समा तीन दशकदेखि कार्यरत सुनिल बल्लभ पन्त सोहि कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएको दुई वर्ष पुरा हुन लागेको छ । तीन दशकमा बीमा क्षेत्रमा कस्तो परिवर्तन आयो ? आगामी दिन बजारमा कस्तो परिवर्तन जरुरी छ ? कोभिड-१९ पछिको सिकाई कस्तो रह्यो ? एनएलजीको आफ्नै अवस्था कस्तो छ ? प्रस्तुत छः पन्तसँग विकासन्युजका लागि प्रधान सम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस । तपाईले बीमा क्षेत्रमा तीन दशकभन्दा बढी बिताउनुभयो । यसअवधिमा बजारको विकासलाई कसरी चित्रण गर्नुहुन्छ ? जतिबेला म बीमा क्षेत्रमा प्रवेश गरेको थिए, त्यतिबेला ५ हजार रुपैयाँ बीमा शुल्क आउँदा खुशी मनाउँथ्यौं, अहिले ५ लाख रुपैयाँ बीमा शुल्क आउँदा पनि धेरै खुशी सकिदैन । सम इन्स्योर्ड धेरै बढेको छ । जोखिम व्यवस्थापनमा प्रणाली सोही अनुसार विकसित भएर गएको छ । रिटेन्सन पनि बढेको छ । जोखिम हस्तान्तरणको शैलीमा पनि ठूलो परिवर्तन भएको छ । बीमाबारे जनचेतना पनि बढेको छ । बैंकबाट कर्जालिँदा मात्र हुने सम्पत्तिको बीमा अहिले कर्जा नलिएको अवस्थामा पनि बीमा गर्नुपर्छ भन्ने मान्यता विकास हुँदै आएको छ । त्यतिबेला मानिसहरु गाडीको बीमा पनि गर्न रुचाउँदैन थिए । अहिले मानिसहरु बाली, पशुधनको समेत बीमा गर्न थालेका छन् । तर बीमालाई बजारीकरण गर्न तौल तरिकामा भने ठूलो परिवर्तन भएको छैन । स्थान र माध्यम फरक होला, दिने सन्देश उही छ । अहिले पनि बीमा कम्पनीहरुले आफ्नो सवल पक्ष, सेवाको गुणस्तर देखाएर बजारीकरण गर्नुको साट्टो अरुको कमजोरी कोट्याउने, लाभभन्दा लोभ देखाउने अभ्यास पनि यदाकदा देखिन्छ । आजको दिनमा बीमा बजारीकरणको तरिका, विधि, पद्धति, शैली, अजेण्डा कस्ताे हुनुपर्दथ्यो ? जोखिम हस्तान्तरणको विषय ग्राहकलाई राम्ररी बुझाउने प्रयास हुनुपर्दथ्यो । बीमा करारमा भएका सर्त, सीमा, सुविधा ग्राहकलाई राम्ररी बुझाइनु पर्दथ्यो । क्षति भएको अवस्थामा कुन विधिबाट बीमा दावी गर्ने, कुन अवस्थामा कति दावी गर्न मिल्छ, कहिलेसम्म दावी भुक्तानी हुन्छ, त्यसको प्रक्रिया के छन् ? सबै कुरा बीमितलाई बुझाउन सक्नुपर्दथ्यो । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कँही कतै चुकेका छौं । बजारको असन्तुष्टि सुनेर बीमा कम्पनीहरुले समिक्षा गरेका छन् ‘हामी कहाँ चुक्यौ’ भनेर ? हामीले ग्राहकलाई बुझाउन चुकेका छौं, बुझाउन सकेका छैनौं । दुर्घटनाबाट क्षति भएपनि बीमा गरेको छु भनेर बीमित ढुक्क हुने, बीमा दावी भुक्तानीपछि बीमितहरु खुशी बनाउने वातावरण हामीले निर्माण गर्नुपर्छ । उनीहरुलाई हामीले खुशी बनाउन नसक्नु, उनीहरुलाई उत्साहित बनाउन नसक्नु कम्पनीहरुको कमजोरी नै हो । यसमा सबै बीमा कम्पनीहरु एक भएर लाग्नुपर्ने हुन्छ । ग्राहकलाई दुविधामा राखेर बीमा गराउनु भएन । विदेशमा मध्यस्तकर्ता राखिन्छ । सर्भेयर स्ट्रोङ हुन्छ । दुर्घटना स्थलमा गएर हेर्ने, डकुमेन्टहरु बनाउने सर्भेयर नै हो । यस्ता पक्षमा सुधार जरुरी छ । नयाँ बीमा ऐनमा धेरै सुधारको प्रयास भएका छन् । कुनै पनि कम्पनीले ग्राहकलाई कति सन्तुष्ट बनाएका छन् भन्ने कुरा बीमितले हाल्ने मुद्दा मामिलाबाट पनि देखिन्छ । एनएलजीको कुरा गरौं, विगत दुई वर्षदेखि एउटा ग्राहक पनि बीमा समिति वा न्यायिक निकायमा गएका छैनन् । समग्रमा अरु कम्पनीको पनि उजुरीको संख्या घट्दो क्रममा छ । बीमा कम्पनीको विश्वसनियता बढाउन बीमितलाई छिटोभन्दा छिटो यथाचित क्षतिपूर्ति दिनुपर्छ भन्नेमा सबै कम्पनीहरु सहमति भएका छन्, सबै लागेका छन् । घट्दो मुद्दाको संख्याले पनि त्यो पुष्टि गर्छ । भूकम्पले पुर्याएको क्षतिपूर्ति स्वरुप बीमा कम्पनीहरुले १८ अर्ब रुपैयाँ बीमितलाई भुक्तानी दिएका छन् । भूकम्पले मेरो क्षति भयो, बीमा कम्पनीले भुक्तानी दिएन भन्ने एउटा पनि उजुरी वा मुद्दा छैनन् । र्स्ट्रोङ सर्भेयरको कुरा गर्नुभयो । प्रभावशाली बीमित वा बीमा कम्पनीबाट सर्भेयरको रिर्पोट कति प्रभावित हुन्छ ? प्रभावित हुँदै हुँदैनन भनेर म भन्दिन । व्यक्ति पिच्छे फरक पर्ला, कम्पनी पिच्छे फरक पर्ला । बीमा कम्पनीहरुले आफ्नो शाखा अभिवृद्धि गर्नको लागि, समग्र बीमा क्षेत्रको विश्वसनियता अभिवृद्धि गर्नको लागि सर्भेयरलाई प्रभाव पर्ने काम गर्नुहुन्न । बीमकले बीमितलाई सबै कुरा छर्लङ्ग बुझाउनुपर्छ । बीमा गराउँदैमा बजार विस्तार हुँदैन, बीमितलाई खुशी बनाउन सक्यो भने मात्र बजार विस्तार हुन्छ । तर ग्राहकलाई सन्तुष्ट बनाउने मामिलामा हामी बीमा कम्पनीहरु कही कतै चुकेका छौं । निकट भविष्यमा बजारको विकास कसरी होला ? भौतिक पूर्वाधार निर्माणमा सरकारले लगानी वृद्धि गर्न सकेमा बीमा बजार विस्तार हुन्छ । दोस्रो, कृषिबाली तथा पशुधनको बीमा बढ्छ । गत वर्षमा पनि ६ प्रतिशतले बजार विस्तार हुँदा आशा बढाएको छ । नियामकको भूमिकामा के कस्तो सुधार जरुरी छ ? सुधार भनेको नियमित प्रक्रिया हो । तीन वर्षअघि हामी जनचेतना अभिवृद्धि भएन भनेर एक स्वरमा भन्ने गरेका थियौं । अहिले त्यसतर्फ धेरै काम भएका छन् । अहिले सेवाको स्तर सुधार गर्नु पर्यो भन्नेमा केन्द्रीत भएका छौं । कृषिबाली तथा पशुधन बीमा, लघुबीमा वृद्धिमा बीमा समितिको भूमिका धेरै राम्रो छ । दावी भुक्तानी यथासमयमा गराउन बीमा समितिले बीमा कम्पनीहरुसँग बारम्बार छलफल गरेको छ, एक किसिमका दवाव दिईरहेको छ । यसलाई म राम्रो मान्छु । प्रणालीगत सुधारतर्फ एनएफआरएस लागू भयो, सल्भेन्सी मार्जिनको नियम लागू भयो । पुँजीमा आधाररित अण्डरराइटिङको अभ्यास हुनु, कम्पनीहरुको पुँजी वृद्धि हुनु राम्रो प्रयास हो । मर्जरको नीति ल्याइसकेको छ । त्यसैले मलाई लाग्छ, बीमा समितिको भूमिका धेरै सकारात्मक नै छ । बीमा बजारको साइज र पुँजीको साइजबीच असन्तुलनको कुरा हुन्छ । तपाईलाई लाग्छ बीमा क्षेत्रले लगानीकर्तालाई उचित लाभांश दिन सक्छ ? जस्तो एनएलजी इन्स्योरेन्सकै कुरा गर्नु हुन्छ भने हकप्रद सेयर निष्काशन गरेर पुँजी १ अर्ब रुपैयाँ पुर्याउँदै छौं । आवेदन नभएको डेढ लाख कित्ता सेयर अक्सनमा लैजादै छौं । बीमा कम्पनीहरुले ठूलो रकम बैंकमा निक्षेप राखेका हुन्छन् । त्यसको व्याज घटेको छ । बीमा कम्पनीको आम्दानीमा यसले नकारात्मक असर पार्छ । लगानी निर्देशिकाले सेयर, घर जग्गा, जलविद्युत, पूर्वाधार बण्ड लगायतका क्षेत्रमा लगानी खुला गरिएता पनि त्यसतर्फ हौसिएर लगानी गर्न गाह्रो छ । हामीसँग अहिले पनि निक्षेप, ऋणपत्र, म्यूचअल फण्ड र सेयरबाहेक लगानी गर्ने बैकल्पिक क्षेत्र कम छन् । त्यसमा पनि सबैभन्दा ठूलो लगानी निक्षेपमा छ । एनएलजी इन्स्योरेन्स कै बारेमा कुरा गरौं । असार मसान्तको वित्तीय अवस्था कस्तो रह्यो ? गत आर्थिक वर्षको अन्तिम चार महिनामा कोभिड-१९ महामारी र लकडाउनका कारण आर्थिक गतिविधि ठप्प नै रह्यो । सरकारले पनि विकास निर्माणमा खर्च गर्न सकेन । विकास निर्माणको काम नहुँदा त्यस क्षेत्रको बीमा भएन । यस कठिन अवस्थामा पनि समग्रमा निर्जीवन बीमाको बजार ६ प्रतिशतले वृद्धि भएको छ । एनएलजीको बजार विस्तार पनि बजारको औषत दरको हाराहारीमा छ । गत वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छौं भने बीमा दावी आउटस्ट्याण्डिङ ८० करोडको हाराहारी रहेको छ । ६ प्रतिशतको व्यवसाय विस्तारमा तपाई सन्तुष्ट हुन सक्नुहुन्छ ? कोडिभ-१९ को महामारी, झण्डै चार महिनाको लडकाउन, विकास निर्माणका काम ठप्प भएको अवस्थामा अघिल्लो वर्षको बराबरी व्यवसाय गर्नुलाई पनि यस पटक सन्तोषजनक मान्नुपर्छ । कति कम्पनीहरुको व्यवसाय खस्किएको छ । तर हाम्रो त ६ प्रतिशतको वृद्धि छ । यसमा हामी सन्तुष्ट हुनुपर्छ । १७३ करोड बीमा शुल्क संकलन गर्दा २० वटा निर्जीवन कम्पनीमा एनएलजीको पोजिसन कहाँ छ ? बीमा शुल्कको आधारमा पाँचौ स्थानमा । टप फाइभ भित्र रहिरहने हाम्रो मिसन हो । टप वान भन्ने छैन । अबको प्रयास टप थ्रीमा जाने भन्ने हो । एनएलजी इन्स्योरेन्स कम्पनीको सबल पक्ष के-के हुन् ? नेटवर्क । सबैभन्दा ठूलो शाखा सञ्जाल हामीसँग छ । ९८ आउटलेट छन्, केन्द्रीय कार्यालय, शाखा, उपशाखा, एक्सटेन्सन काउन्टरसहित । इन्ट्रिग्रेटेड सफ्टवयर छ । एमआईएस सिस्टम दह्रो छ । प्रत्येक्ष क्षेत्रको रियलटाइम व्यवसायिक डाटा हातमा लिएर काम गर्छौ । हाम्रो कर्मचारी यो संस्थाको अर्को सबल पक्ष हो । यहाँ कर्मचारीमा स्थायीत्व छ । यहाँका कर्मचारी ट्रेन छन्, सक्षम छन् । एनएलजीको कर्मचारीलाई बजारले विश्वास गरेको छ । हामीहरुले अनलाईन पोलिसीलाई प्रभावकारी बनाएका छौं । लकडाउनपछि २ महिना हामीले १०० प्रतिशत सेवा अनलाईनबाट दियौं । हाम्रा ग्राहकहरुले गुणस्तरीय सेवा पाएका छन् र खुशी पनि छन् । अनलाइनबाट सेवा दिए पनि त्यसलाई फेरी कागजी फाइल बनाउनु पर्ने नियामकको निर्देशन छ । के अब बीमा सेवालाई लकडाउनको अवस्थामा झै पुरै डिजिटल्ली सञ्चालन गर्न सकिदैन ? अहिलेको नीति, कानुन र व्यवस्था अनुसार हामी गरेका सबै कामको कागजी फाइल बनाउनैपर्छ । डिजिटल सेवा ग्राहकलाई सजिलो र छिटो बनाउनको लागि हामीले गरेका हौं । लकडाउन खुकुलो भएपछि हामीले एउटा यूनिट नै खटाएर लकडाउनको बेलामा गरिएको सबै अनलाईन कारोबार विवरणलाई कागजी फाइल बनाएर राखिसकेका छौं । आगामी दिनमा पनि हामी डिजिटल कारोबारमा जोड दिन्छौं । व्याकअपको लागि कागजी फाइल पनि बनाउँदै जान्छौं । बीमा क्षेत्रले डिजिटल कारोबार गर्न तथा सेवा सञ्चालक गर्ने प्रयास गर्दै आएपनि त्यसमा सफलता मिलेको थिएन । लकडाउनको अवधिमा १०० प्रतिशत सेवा डिजिटल्ली गर्यौ भन्नु भयो । यसबाट सिकाइ के रह्यो ? हाम्रा कार्य प्रणालीमा कस्तो सुधार देखियो ? यसमा दुईटा सिकाइ रह्यो । पहिलो, ग्राहकसँगको प्रत्यक्ष सम्बन्ध कमजोर हुने देखियो । दोस्रो, जोखिम विश्लेषणमा समयमा नै गर्न सकिएन । त्यसको लागि अर्को संयन्त्र बनाउनु पर्ने देखियो । यी हाम्रा चुनौति पनि हुन् । अनलाइनबाटै बीमा पोलिसी लिन सकियोस्, बीमा शुल्क भुक्तानी गर्न सकियोस्, बीमा दावी माग गर्न सकियोस्, दाबी भुक्तानी गर्न सकियोस् भन्ने सोचलाई व्यवहारमा रुपान्तरण गर्न नसकिने रहेछ ? निश्चय नै सकिन्छ । साना तथा मझ्यौला बीमा, खासगरी आवसीय घरका बीमा, निजी सवारी साधन, कृषिबाली र पशुधन बीमा डिजिटल्ली गर्न सकिन्छ । रुपान्तरण भनेको क्रमशः हुने कुरा हो । एकै पटक रुपान्तरित हुने प्रयास भयो भने त्यसले जोखिम बढी ल्याउन सक्छ । सबैभन्दा बढी शाखा हुनुलाई तपाईले एनएलजीको सबल पक्षको रुपमा चित्रण गर्नु भयो । तर कोडिभ-१९ महामारीसँगै मान्छेको आनीबानी र कार्यशैलीमा ठूलो परिवर्तन हुने संकेतहरु देखिएका छन् । बस्तु तथा सेवाको व्यापारदेखि सामूहिक छलफलसम्म भर्च्युअल हुन थालेको छ । धेरै शाखा खोलेर गल्ती गरिएछ भन्ने लाग्दैन तपाईलाई ? शाखा, उपशाखा विस्तार गरेर हामीले जे गरेका छौं, त्यो ठिक छ । अहिले पनि यसतर्फ गल्ती भयो जस्तो मलाई लाग्दैन । किनकी त्यस क्षेत्रका मानिसलाई डिजिटल्ली अभ्यस्त गराउन पनि हामीले सहयोग गर्नैपर्छ । उनीहरुलाई जनचेतना फैलाउन, एप प्रयोग गर्न सिकाउन, उनीहरुलाई डिजिटल कारोबारप्रति विश्वास दिलाउन पनि हामीले कर्मचारी खटिनै पर्छ । त्यसको लागि अफिस चाहिन्छ नै । त्यसो भए बीमा कम्पनीहरुले आफ्ना शाखा मर्ज गर्न पाउनु पर्यो, बन्द गर्न पाउनु पर्यो भन्दै बीमा समितिमा किन गए ? समग्रमा बजारको पर्याप्त अध्ययन नगरी, सम्भाव्यता अध्ययन रिपोर्ट नै नबनाई शाखा खोल्ने काम बीमा कम्पनीहरुबाट भएका छन् । त्यहि कारण केही क्षेत्रमा आवश्यक भन्दा बढी शाखाहरु छन् । हामीले पनि २ ठाउँमा शाखा खोल्न हतार गरेछौं कि जस्तो लागेको छ । बीमाको पहुँच बढाउन शाखा विस्तार पनि जरुरी छ । जहाँ व्यवसाय कम छ, शाखा धेरै छ, त्यहाँ शाखा मर्ज गर्दा राम्रो हुन्छ । विश्वकै नारा हो, ‘आफू बाँचौ र अरुलाई बचाऔं’ । बीमा कम्पनीहरुले पनि यस नारालाई आत्मसाथ गर्नुपर्छ । मिलिजुली अगाडि जानुपर्छ । विकसित देशमा सामान्य अवस्थामा पनि ‘वर्क फर्म होम’ अर्थात घरबाटै काम गर्ने अभ्यास शुरु भईसकेको छ । नेपालमा महामारीको बेलामा त्यो अभ्यास भयो । यसबाट सिकाई के रह्यो ? लकडाउन हुन सक्छ भन्ने आभास हामीलाई पहिले नै भएको थियो । त्यो अवस्थामा कसरी काम गर्ने भन्ने हाम्रो केही तयारी पनि थियो । त्यसैले जिम्मेवार कर्मचारीको घरमा कम्प्यूटर, प्रिन्टर लगायत हार्डवयर, सफ्टवयरको प्रबन्ध हामीले गरेको थियौं । लकडाउन भएको भोलिपल्ट १० बजेदेखि नै हाम्रा सेवा सुचारु थिए । हाम्रा कर्मचारीलाई ट्रेन पनि गराएका थियौं । वर्क फर्म होमबाट पनि धेरै प्रकारको सेवा दिन सकिन्छ भन्ने अनुभव भएको छ । कोभिडका कारण अर्थतन्त्रमा मन्दी आउँदैछ । कर्पोरेट हाउसहरुले खर्च कटौती गरिरहेका छन् । यसतर्फ एनएलजीले कस्तो अभ्यास गरिरहेको छ ? निश्चय नै अहिलेको चुनौति भनेको खर्च कम गर्नु हो । यसलाई हामीले दुई धारमा हेरेका छौं । पहिलो, सुविधायुक्त खर्च, दोस्रो आधारभूत खर्च । जीवनपार्जनको लागि आवश्यक आधारभूत खर्च हामी कटौती गर्दैनौं । कर्मचारी खर्च कटौती हुँदैन । सुविधायुक्त खर्चमा कटौती हुन्छ । सबै घरधनीलाई भाडा घटाउन अनुरोध गर्यौ । कर्पोरेट कार्यालयका घरधनीले एक वर्षको लागि भाडा घटाएर राहात दिनुभएको छ । त्यस्तै, हाम्रो जीवनशैलीमा परिवर्तन आएको छ । होटल, रेष्टुरेन्टको खाना कम भएको छ । त्यसले अफिसको खर्च स्वतः घटेको छ । फ्यूल खर्च कम हुने भएको छ । गत वर्षभन्दा बढी खर्च भएन भने पनि त्यो राम्रो हुन्छ । चालु आर्थिक वर्षको व्यवसाय कस्तो होला ? बैंकको व्याजदर घटेको छ । कर्जा लिनेलाई सस्तो भएको छ । अब स्थिति सामान्य उन्मुख हुने बित्तिकै बैंकबाट कर्जा लिने र व्यवसाय गर्नेहरु बढ्छन् । बैकिङ गतिविधि बढ्ने बित्तिकै बीमा पनि बढ्छ । कोभिड-१९ बीमाबारे एक पटक बजारमा हाइक्राइनै भएको थियो । अहिलेसम्म कोभिड बीमामा कम्पनीहरु नाफामा नै छन् कि नोक्सानमा गए ? नोक्सान भएको छैन । तर यो बीमामा हामीले ६०० रुपैयाँ लिएर एक लाख रुपैयाँको जोखिम कभर गरेका छौं । यसमा नाफा घाटाको कुरै नगरौं । बीमा भनेको विपतकाे बेलामा सहयोग गर्ने सेवा हो । यतिबेला आम मानिस त्रासमा छन् । उनीहरुलाई अप्ठ्यारो परेमा बीमाले सहयोग गर्छ भन्ने प्रमाणित गर्नुछ । यसमा हामीले नाफा नोक्सान हेर्ने होइन । कोरोना बीमा गराउँदै मानिसहरुलाई हरेक प्रकारको जोखिम कम गर्न बीमा गर्नुपर्छ भन्ने सन्देश दिनसक्नुपर्छ । र, आजको मितिसम्म यो कोभिड-१९ बीमामा नोक्सानी भएको पनि छैन ।