मैले पाउने मत माेटामाेटी आकलन गरिसकेँ, चुनाव जित्छु-रामचन्द्र संघई

रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी) अवार्ड समेत प्रदान गरेको थियो । यहि साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा संघईले एसोशिएट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था रहेको छ । उद्योग, व्यापार र सेवाका क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनीहरु चलाईरहेको र १६ हजार भन्दा बढी मानिसलाई रोजगारी दिएको  त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक संघई निर्वाचनमा विजयी भएका श्रमिक र रोजगारदाताबीचको सम्बन्ध राम्रो बनाउने बताउनु हुन्छ । प्रस्तुत छ कोभिड–१९ले व्यवसायमा पारेको असर र आगामी निर्वाचनको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको विकास वहस । त्रिवेणी ग्रुप उद्योग, व्यापार र सेवा क्षेत्रमा ठूलो लगानी रहेको व्यावसायिक घराना हो । कोभिड–१९ र लकडाउनले व्यवसायमा कस्तो असर पारेको छ ? सर्वप्रथम त त्रिवेणी ग्रुपको बारेमा जानकारी राख्नुभएकोमा यहाँलाई धन्यवाद । कोभिड–१९ को संकट हाम्रा लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि अप्रत्याशित थियो । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकलाई समेत यस्तो समस्या समाधान गर्न गाह्रो परेको अवस्थामा हामीलाई पनि पक्कै सजिलो त थिएन । नेपालको निर्यात क्षेत्र पुरै ठप्प भयो र अझै समस्यमा छ । नेपालले समयमै वाह्य सीमाहरु बन्द गरेका कारण कोभिड संक्रमण पनि भयावह हुने गरी फैलिन नपाएका कारण हामीले अपेक्षा गरेभन्दा कम नै प्रभाव परेको छ । तर पनि साना ठूला सबै उद्योग व्यवसायीलाई समस्या परेको छ । तीन महिनासम्म पूर्ण लकडाउनमा रहनुपर्दा हाम्रा पनि उद्योग व्यवसाय पूरै ठप्प रहे । त्यसको क्षति न्यूनीकरणका लागि हामीले धेरै मेहनत गर्नुपर्नेछ । हाम्रो आन्तरिक बजार त चाँडै नै रिभाइभ होला तर हामी त निकासीमूलक व्यवसायमा पनि भएकाले वाह्य बजार हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले कोभिड–१९ र लकडाउनले हामीलाई आर्थिक, सामाजिक, मनोवैज्ञानिक सबै प्रकारका असर पारे पनि हामी विस्तारै माथि उठ्ने प्रयासमा छौं । अब व्यावसायिक गतिविधि नियमित हुन कति समय लाग्ला ? सरकारले लकडाउनको मोडालिटी केही परिवर्तन गरेसँगै निश्चय पनि आर्थिक गतिविधि बढ्न थालेको छ । सडकमा सार्वजनिक यातायातसमेत आंशिक सूचारु भइसकेको अवस्स्थामा मानिसहरु काममा फर्किन थालेको अवस्था छ । हामीले पनि प्रशासनिक काम त सुरु गरिसकेका छौं । सेवा क्षेत्रमा पनि केही काम भइरहेका छन् तर, उत्पादन क्षेत्रमा अझै पनि समस्या छन् । आन्तरिक खपतका वस्तु उत्पादन चाँडै रिभाइभ भए पनि निकासीमूलक व्यवसायलाई केही समय लाग्छ । तीन महिना लकडाउनले घरमै बस्नुपरेका नेपालीको उत्साह हेर्दा लाग्छ कि अब चाँडै नै व्यावसायिक गतिविधि पनि नियमित हुनेछ । कोरोना भाइरस र कोभिड–१९ को अन्त्य चाँडै नहुने विश्वव्यापी अध्ययन अनुसन्धानले देखाइसकेकाले अब हामी यसको खोप वा औषधि पर्खेर बस्ने अवस्थामा छैनौं । हामीले सुरक्षात्मक उपायहरु अवलम्बन गरेर काममा फर्कने र दैनिक गतिविधि सूचारु गर्नुको कुनै विकल्प देखिँदैन । कोभिड–१९ पछि व्यावसायिक संस्कारमा कस्तो परिवर्तन आउला ? कोभिड–१९ ले अर्थतन्त्र र मानव स्वास्थ्यमा ठूलो क्षति पु¥याए पनि हामीलाई धेरै कुरा सिकाएको पनि छ । हामीले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने देखाएको छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो व्यवसाय र व्यावसायिक संस्कारमा पनि देखिनेछ । अबको व्यवसाय भौतिकभन्दा पनि बढी डिजिटल हुने देखिन्छ र सूचना प्रविधिको अधिकतम उपयोगका माध्यमले हामी अगाडि बढ्नुपर्ने देखिन्छ । उपभोक्ताको फेरिँदो रुचि र आवश्यकताका आधारमा हामी उत्पादक र सेवा प्रवाह गर्ने व्यवसायीहरु पनि चल्नुपर्छ । हाम्रो व्यावसायिक संस्कार भन्नु नै उपभोक्तामुखी हो र अहिलेको अवस्थामा उपभोक्तालाई डिजिटलका माध्यमले नै सेवा प्रवाह गर्न सकियो भने हाम्रो व्यावसायिक लागत पनि घट्न सक्छ । यसैले मलाई लाग्छ कि अब हामी परम्परागत ढंगभन्दा माथि उठ्नु जरुरी भइसकेको छ । अर्को महत्वपूर्ण विषय के हो भने कोभिड–१९ले हामीलाई आत्मनिर्भर बन्नको लागि उत्प्रेरित गरेको छ । आज विश्व पुरै बन्द भएको अवस्थामा हामी आफूलाई चाहिने खाद्यन्य, औषधि, कपडा लगायत अत्यावश्यक बस्तुहरु आफैले उत्पादनु गर्नुपर्छ, कृषिलाई निकै प्राथमिकता दिनुपर्छ भन्ने सन्देश कोभिडले दिएको छ । कोभिड–१९ पछि आएको नेपाल सरकारको बजेट र राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि त्यसतर्फ जोड दिएको हामीले पाएका छौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । तपाइँको चुनावी एजेण्डका के छन् ? हो, साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनमा मैले एशोसिएटतर्फ उपाध्यक्षको उम्मेदवारी दिने निर्णय सार्वजनिक गरिसकेको छु । मैले चन्द्र ढकालजी को जुन टिमबाट उम्मेदवारी घोषणा गर्ने बेलामा पनि भनिसकेको छु कि निजी क्षेत्रको सम्वद्र्धन र संरक्षणका लागि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने नै मेरो योजना हुनेछ । महासंघको सिंगो शरीरमा रक्तसञ्चार गर्ने धमनी भनेकै एशोसिएट समूह भएकाले यसलाई निर्वाध सञ्चालनमा गराउन, त्यसको गति अवरुद्ध हुन नदिन मैले आफ्नो अनुभव, ज्ञान तथा विवेकको पूर्ण उपयोग गर्नेछु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । एशोसिएट उपाध्यक्ष रोजगारदाता परिषदको सभापति पनि हो र मैले विगतमा यही परिषदमा रहेर सहसभापतिको भूमिमा निर्वाह गरिसकेको छु । हाम्रो त्रिवेणी समूह अन्तर्गत अहिले पनि करिब १६ हजार व्यक्ति कार्यरत रहेकाले असल श्रम सम्बन्ध भनेको के हो भन्ने मैले बुझेको छु । यतिमात्र नभइ उत्पादनमूलक, सेवामूलक, व्यापार सबै क्षेत्रम म प्रत्यक्ष संलग्न रहेकाले यी क्षेत्रमा रहेका समस्या र सम्भावनाको गहिराइको ज्ञान मलाई राम्रोसँग रहेको छ । सरकारले यसै वर्ष मलाई उत्कृष्ठ निकासीकर्ताका रुपमा कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) अवार्ड प्रदान गरेको यहाँलाई स्मरण गराउँदै सम्पूर्ण निजी क्षेत्रलाई यस्तो सम्मानको लायक बनाउने मेरो ध्येय रहनेछ । मतदाताहरुले तपाइँलाई नै किन मतदान गर्ने ? महासंघमा तपाइँको योगदान के छ ? महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था हो र म त्यसमा प्रत्यक्ष रुपमा विगत डेढ दशकदेखि जोडिएको पनि छु । महासंघमा मैले धेरै नेतृत्वसँग नजिक रहेर काम गरेको अनुभव पनि छ र अब त्यो अनुभवका आधारमा मैले नेतृत्व तहमा जान खोजेको हो । विगतमा महासंघमा कार्यकारिणी समिति सदस्य मात्र रहे पनि अब उपाध्यक्षमा रहेर मेरो व्यावसायिक र संस्थागत अनुभव, ज्ञान, सीप र विवेक निजी क्षेत्रको उन्नति र समृद्धिमा लगाउने दृढ इच्छाशक्तिका कारण मैले यो निर्णय लिएको हो । विगतमा मैले व्यवसाय पनि हेर्नुपर्ने कारणले महासंघमा समय दिन सक्दिनँ कि भनेर नेतृत्व तहमा जाने इच्छा देखाइनँ तर अहिले मेरो व्यवासायमा अर्को पुस्ता नेतृत्व सम्हाल्न सक्षम भइसकेकाले म महासंघलाई पर्याप्त समय दिन सक्छु भन्ने लागेर पनि म उपाध्यक्षका लागि तयार भएको हो । मैले विगतमा रोजगारदाता परिषदको सहसभापति रहेर योगदान पु¥याएको छु । म कहिल्यै पनि कुनै समिति माग्न नेतृत्वसँग गइनँ तर दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको छु । यसैले एशोसिएटका विवेकशील अग्रज तथा मित्रहरुले मलाई एकपटक सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने ठानेको छु । महासंघमा एशोसिएट सदस्य नै सबैभन्दा धेरै छन् र सबैभन्दा बढी मतदाता पनि एशोसियट हुन् । तर, एशोसिएट उपाध्यक्षको हैसियत महासंघमा कमजोर छ । एशोसिएट उपाध्यक्षको अधिकार र भूमिका वृद्धि गर्न तपाइँको भूमिका कस्तो हुन्छ ? एशोसिएट उपाध्यक्षको भूमिका कम भएजस्तो त मलाई लाग्दैन । महासंघको विधान र कार्यविधिमा नै एशोसिएटको भूमिका स्पष्ट छ । तीन उपाध्यक्षमध्ये मर्यादाक्रममा तल राखिएको विषयलाई तपाइँले इंगित गर्न खोज्नुभएको हुनसक्छ । तर, आफ्नो भूमिका पदले भन्दा पनि कामले देखाउने हो भन्ने मलाई लाग्दछ । असल श्रम सम्बन्ध निर्माणदेखि लगानीको वातावरण निर्माणसम्म एशोसिएटकै क्षेत्रमा पर्दछ । वस्तुगत र जिल्ला नगरका व्यवसायी साथीहरुको पनि व्यवसायको आकार बढ्ने वित्तिकै उहाँहरु आउने एशोसिएटमै हो । अर्कोतर्फ यसमा प्रत्यक्ष सदस्यता प्रणाली भएकाले भोटिङका लागि कुनै अर्को संगठनबाट निर्वाचित भएर आउनुपर्ने अवस्था पनि छैन । तपाइँले इंगित गर्नुभएको जस्तै प्रतिशतका आधारमा यस क्षेत्रको प्रतिनिधित्व कम भएको भने म स्वीकार गर्छु र यसलाई बढाउने मेरो प्रयत्न रहनेछ । यद्यपि, हामीले सामूहिक निर्णयमा विश्वास राख्नु आवश्यक छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरुबीच दुई समूह बनाएर प्रतिस्पर्धा हुने गरेको छ । आगामी निर्वाचनमा चन्द्रप्रसाद ढकाल भर्सेर किशोर प्रधान टीमबीच प्रतिस्पर्धा हुँदैछ । तपाइँले चन्द्र ढकालको टिम किन रोज्नुभयो ? महासंघमा मैले धेरै पूर्वअध्यक्षसँग नजिक रहेर काम गर्ने अवसर पाएको छु । सबैका आफ्नै विशेषता छन् भने कमजोरीरहित व्यक्ति कोही पनि हुँदैन । विगतदेखि नै महासंघमा मन मिल्ने साथीहरुको टिम बनाएर निर्वाचनमा जाने प्रचलन रहिआएको हो र यस वर्ष पनि त्यसले निरन्तरता पाएको मात्र हो । निर्वाचन नभइ सर्वसम्मति भएको भए अझै राम्रो हुन्थ्यो तर स्वस्थ प्रतिस्पर्धाका आधारमा निर्वाचन हुन्छ भने त्यसलाई पनि खराब भन्न मिल्दैन, यो प्रजातान्त्रिक संस्कार पनि हो । निर्वाचनको दिनसम्म हामी दुई समूह भए पनि निर्वाचनको परिणामसँगै हामी सबै एउटै समूह हौं । यसैले हामी अरुको कमजोरी देखाएर नभइ आफ्नो क्षमताका आधारमा निर्वाचनमा जानुपर्छ र गएका छौं । जहाँसम्म चन्द्र ढकालजीको टिममा नै किन तपाइँ जानुभयो भन्ने प्रश्न गर्नुभयो, यो त्यति ठूलो कुरा हो जस्तो पनि मलाई लाग्दैन । ढकालजीलाई हामीले शेखर गोल्छापछिको अध्यक्षका रुपमा सबल र सक्षम नेतृत्व दिनसक्ने व्यक्तिका रुपमा पाएर नै साथ दिएका हौं । उहाँले आफ्नो व्यवसायसँगै सबैखाले व्यवसायीसँग गर्ने समान व्यवहार, नीति निर्माण तहसम्मको पहुँचजस्ता विषयले सम्पूर्ण निजी क्षेत्रलाई नै फाइदा हुन्छ र महासंघको गरिमा माथि जान्छ भन्ने लागेर नै हामी सामूहिक रुपमा अगाडि बढ्न खोजेका हौं । मैले अघि पनि भनेँ कि मन मिल्ने साथीहरु एउटै टिममा हुनु स्वाभाविक हो र ढकालजी एशोसिएट समूहबाटै सदस्य र उपाध्यक्ष भइसक्नु भएकाले उहाँको अनुभवले मलाई पनि राम्रो हुन्छ र सहयोग पुग्ने भएकाले र म पनि सोही समूहको भएकाले एउटै समूहमा भएका हौं । एशोसिएटबाट तपाइँले कति मत पाउने अनुमान छ र यस क्षेत्रबाट चन्द्र ढकालले कति मत पाउने सम्भावना देख्नुहुन्छ ? कति मत पाउँछु भनेर मोटामोटी आकलन गरिसके पनि म अहिल्यै यसलाई सार्वजनिक गर्नु त्यति उपयुक्त ठान्दिनँ । एशोसिएटका सबै मतदाता विवेकशील हुनुहुन्छ र आफ्नो व्यवसायमा पनि उत्तिकै सवल र सक्षम भएकाले नेतृत्व चयनमा पनि यसैगरी विवेक पु¥याउनु हुन्छ भन्नेमात्र मलाई विश्वास छ । निश्चय पनि निर्वाचनमा जित्नकै लागि भाग लिइने हो र म त्यसमा भने विश्वास राख्दछु । अहिलेसम्म कति प्रोक्सी संकलन भए ? मलाई लाग्छ, यो प्रोक्सी भन्ने शब्द चयन धेरै भइरे पनि यो नितान्त गलत छ । व्यवसायी अग्रज तथा मित्रहरुको व्यस्तताका कारण उहाँहरु आफैं आउन सक्नुहुन्न भने उहाँहरुले प्रतिनिधि पठाउनु हुन्छ । यसैले उहाँहरुलाई प्रोक्सी नभइ प्रतिनिधि भनौं र यो हामीले संकलन गर्नेभन्दा पनि उहाँहरुले नै विधान र कार्यविधिअनुसार पठाउने हो । पठाइरहनु भएको पनि छ । यसका लागि समय सीमा पनि छ र केही दिनमै यसको आधिकारिक तथ्यांक थाहा हुनेछ । कोभिड–१९ का कारण व्यवसायीहरु आर्थिक संकटमा छन् । तपाइँहरुलाई चुनाव लागेको छ । यस्तो बेलामा भोट माग्दा व्यवसायीहरुले कस्तो प्रतिक्रिया दिइरहेका छन् ? महासंघले निर्वाचनको मिति सार्वजनिक गरेको बेलासम्म त निर्वाचन होला र ? भन्ने जुन आशंका गरिँदै थियो अहिले पूरै माहौल बनिसकेको छ । कोरोना संक्रमितको तथ्यांक पनि क्रमशः घट्दो स्थितिमा भएकाले अहिले निर्वाचन हुने अवस्था नै देखिन्छ । हामीले सामूहिक र व्यक्तिगत भेटघाटलाई विस्तारै अगाडि बढाइरहेका छौं । सबैले सकारात्मक प्रतिक्रियाहरु दिइरहनु भएकाले उत्साहित छौं । खासगरी कोरोना प्रभावित अर्थतन्त्रलाई गति दिन सरकारको बजेटले त्यति उत्साहित नरहेको निजी क्षेत्रका साथीहरु मौद्रिक नीतिबाट उत्साहित रहनुभएको पनि मैले पाएको छु । अर्थतन्त्रलाई अब लयमा फर्काउनुपर्छ र यसका लागि तपाइँ पनि निजी क्षेत्रको नेतृत्वमा आउनुपर्छ भनेर पनि मलाई उहाँहरुले भनिरहनुभएको छ । यसैले म निकै उत्साहित पनि छु । तपाइँले महासंघमा धेरै वर्ष बिताउनु भयो । कतिपय मानिसहरुले भन्छन् कि महासंघ विगतको तुलनामा कमजोर हुँदै गयो । यसको कारण के हो ? महासंघप्रति धेरैको अपेक्षा छ र विश्वास पनि । देशव्यापी उपस्थिति रहेको र सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको निजी क्षेत्रको छाता संगठन भएकाले महासंघले निजी क्षेत्रको अभिभावकत्व लिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । महासंघमा विगतमा केही आन्तरिक समस्याका कारण कुनै विषय ठिक ढंगले सम्बोधन हुन सकेनन् होला तर यतिले मात्र महासंघ कमजोर नै भइहालेको भन्न मिल्दैन । आजको दिनमा महासंघको कुनै विकल्प छैन । उद्योग परिसंघ, चेम्बर, घरेलु लगायत सबै वस्तुगत संस्थासँग सहकार्य गरेर महासंघले नेतृत्व गरेर निजी क्षेत्रको एउटै आवाज महासंघले नै सरकारसमक्ष पु¥याउनु पर्नेछ । विगतका कमजोरीले हामीलाई शिक्षा दिएको छ र त्यो सच्याउँदै अगाडि बढ्न सकिन्छ । निर्वाचनले दुई पक्ष जन्माउँछ र झन कमजोर हुन्छ भन्ने चिन्ता पनि देखिन्छ । यो चिन्ता स्वाभाविक भए पनि हामी कुनै कार्यकारिणी संस्थामा नभइ स्वयमसेवी संस्थामा जान लागेको रुपमा सबैले बुझ्न सक्यौं भने विवादको जड बाँकी रहँदैन ।

रुरु हाइड्रोपावरको आईपीओमा किन लगानी गर्ने ? आशिष सुवेदीसँगको अन्तर्वार्ता

रुरु जलविद्युत परियोजनाले अब केही दिनमै साधारण सेयर निश्कासन गर्दैछ । कम्पनीले वि.स २०७१ सालदेखि ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना सञ्चालन गरी विदुत उत्पादन गर्दै आएको छ । करिब १ हजार जना प्रवद्र्धक रहेको परियोजना सरकारी-निजी-साझेदारी अवधारणामा निर्माण गरिएको हो । कम्पनीले ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण सेयर निश्कासन गर्न नेपाल धितोपत्र बोर्डमा असार २५ गते आवेदन दिएकाे छ। अयोजनाको वर्तमान अवस्था, निश्कासन गर्न लागेको साधारण सेयर र कम्पनीको वित्तीय अवस्थाको बारेमा कम्पनीका अध्यक्षा आशिष सुवेदीसँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।  रुरु जलविदुत परियोजनाद्वारा प्रवद्र्धित माथिल्लो हुग्दी हाइड्रोपावरको वर्तमान अवस्था कस्तो छ ? ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना वि.स.२०७१ साल चैत्रबाट विद्युत उत्पादन सुरु भएको हो । यो  परियाेजना गुल्मीको रुपाकोटमा अवस्थित छ । यसमा २ सय ५० जति स्थानीय गरी १ हजार जना प्रवद्र्धकहरु रहेका छन् । हामीले यसको राम्रोसँग प्रवद्र्धन गर्न सफल भएका छौं । हामी सबै अनुभवी टीम छौं । हामीले यसलाई सफल किसिमले बनाएका हौं । यसलाई हामीले प्रति मेगावाट १५ करोडभन्दा कम खर्च गरी निर्माण पुरा गरेका छौं । हामीले अनुमानित रकमभन्दा ७ करोड कममा आयोजना निर्माण गरेका हौं । यो आयोजनाको लगानी कति हो ? हामीले प्रति मेगावाट १५ करोडभन्दा कममा निर्माण गरेका हौं । यसको कुल लागत भने ७५ करोडभन्दा पनि कम लागेको छ । माथिल्लो हुग्दी जलविद्युत आयोजनामा कुन बैंकको लगानी छ ? यसमा ५ बैंकको लगानी रहेको छ । तिनीहरुमध्ये लिड बैंकको रुपमा एनएमबी बैंक रहेको छ । अन्य बैंकहरु सेन्चुरी, कुमारी, माछापुच्छ्रे, लुम्बिनी विकास बैंक रहेको छन् । हामीले किस्ता ऋण पनि समयमै तिरिहरेका नै छौं । अपरेसनल रुपमा हाम्रो एकदमै राम्रो टीम छ । टीम पनि सानो नै छ । तपाईहरुले प्रिमियम मूल्यमा आईपीओ निश्कासन गर्दै हुनुहुन्छ । धेरै जलविद्युत कम्पनीकाे सेयर मूल्य १०० भन्दा कम छ । केही कम्पनीकाे साधारणा सेयर बिक्री नै नभएकाे अवस्था छ । रुरुकाे सेयर किन प्रिमियम मूल्यमा ?  हामीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको कूल ८ लाख १५ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्दैछाैं । हामीले साधारण निश्कासनका लागि  असार २५ गते बोर्डमा आवेदन दिइसकेका छाैं । जसमध्ये परियोजनाले स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता र सर्वसाधारणलाई ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्काशन गर्न लागेकाे हाे । रुरु हाइड्रो सञ्चालनदेखि नै राम्रैसँग चल्दै आएको छ । हामीले लगातार रुपमा लाभांश पनि बाँडिरहेका छौं । यो वर्ष १७ देखि १८ प्रतिशतसम्म लाभांश बाड्ने स्थितिमा छौं । त्यसैले अरुको र हाम्रो धेरै फरक छ । यसमा लगानीकर्ताले बुझेर, जलविद्युतको अवस्था कस्तो छ भन्ने हिसावले अध्ययन गरेर लगानी गर्यो भने राम्रो नै हुन्छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा हामीले औषत रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ४ प्लस’ पाएका छौं । यो धेरै कम हाइड्रो पावर कम्पनीले पाउँछन् । यसले पनि हामी विश्वस्त छौं । त्यसैले हामी प्रिमियममा आएका हौं । लगानीकर्ताहरुले पनि लगानी गरेको भोलिदेखि नै रिर्टन पाउने अवस्था छ । हाम्रो विगतको पर्फमेन्स पनि राम्रै छ । सर्वसाधारणहरुले लगानी गर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । सर्वसाधारणहरुले रुरु हाइड्रोपावरमा किन लगानी गर्ने, यसका सवल पक्ष र लगानीकर्तालाई प्रतिफल दिन सक्ने आधार के छन् ? हाम्रो पहिलो आधार भनेको हामीले सुरुदेखि नै लगानीकर्ताहरुलाई हामीले लाभांश बाँड्दै आएका छौं । प्राविधिक रुपमा हाम्रो उत्पादन एकदमै राम्रो छ । प्राविधिक रुपमा अनुभवि टीमले काम गरिरहेका छन् । निरन्तर मेन्टिनेन्सदेखि लिएर सफिसियन्ट स्पेयर पार्टहरु पनि राखेका छौं । आयोजना लामो समयसम्मका लागि अवरुद्द भएको छैन ।हाम्रोमा रिक्स छैन । ऋण आधा तिरिसकेका छौं । लगानी गरेको वर्षदेखि नै रिर्टन पाउन सक्ने स्थिति छ । लगानीकर्ताहरुले कति पटक लाभांश पाए ? हामीले चार वर्ष अर्थात चार पटक लाभांश वितरण गरिसकेका छौं । चारै वर्ष १०/१० प्रतिशत लाभांश वितरण गरेका छौं । कुनै वर्ष ट्याक्स बाहेको लाभांश थियो होला कुनै वर्ष ट्याक्ससहितको दिएका थियौं । रुरुकाे सञ्चित कोषमा कति रकम छ ? करिब ७ करोड रुपैयाँ हाम्रो सञ्चित कोषमा छ । तपाईहरु जति कित्ता सेयर निश्कासन गर्दै हुनुहुन्छ, ती सबै कित्ता सेयर बिक्रि हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ? हामीले ८ लाख कित्ता जति निश्कासन गर्दैछौं । त्यो भनेको धेरै ठूलो अमाउन्ट पनि होइन । जुन हिसाबको हाम्रो विगतको पर्फमेन्स छ त्यस हिसावले हामी एकदमै विश्वस्त छौं । हामीले स्थानीयका लागि भनेर ५० प्रतिशत छुट्याएका छौं । लोकल लेभलमा ४ लाख कित्ता नै बिक्री हुन्छ भन्नेमा हामी विश्वस्त छौं । पछिल्लो समय केही हाइड्रोपावर कम्पनीहरुले सेयर निश्कासन गरेर बाँडफाँड भइसकेपछि पनि नेप्सेमा सूचिकृत भएकाे छैन, काराेबार भएकाे छैन। रुरु हाइड्रो पावरमा त्यो प्रवृति दोहोरिने सम्भावना कतिको छ ? त्यस्तो काम निर्माणाधीन आयोजनाले गरेका होलान् । ती आयोजनाहरु कसरी बनेका छन् । निर्माण कार्य कहिले सकिने हो भन्ने कुरा भन्ने निश्चित पनि हुँदैन । तर, हाम्रो हकमा हामीले निर्माण गरेर पनि विदुत उत्पादन गरेका पनि ६ वर्ष भइसकेको छ । हामीले हामी कस्तो छौं भन्ने कुुरा प्रमाणित पनि गरिसकेका छौं । आयोजना कतिको छ भनेर सर्वसाधारणले अध्ययन गर्न सक्नु पर्छ । धेरैमा हाइड्रोपावरमा लगानी गर्यो भने डुबिन्छ कि भन्ने धारणा पनि धेरैले बनाएका छन् तर हाम्रो हकमा त्यो लागु हुँदैन । प्रोजेक्ट सँगसँगै प्रवद्र्धकहरु कस्तो छन् भन्ने कुरा पनि लगानीकर्ताले बुझ्नु पर्छ । हामी प्राविधिक रुपमा राम्रो भएकोले नै १५ करोडमा प्रतिमेगावाट निर्माण गर्न सफल भयौं । हामीले ७ करोड बजेट बचायौं । हामीले बदमासी गर्न चाहेनौं । हामीले त्यस्तो गरेको भए हामी अहिले लाभांश बाड्ने स्थितिमा हुँदैनथ्यौं होला । मुख्य कुरा सबै प्रवद्र्धक राम्रो र अनुभवि हुनुहुन्छ । आयाेजनाको ऋण भुक्तानी अवधि कति हो ? हाम्रो जलविद्युतको भुक्तानी अवधि १२ वर्षको छ । हामीले आईपीओबाट आएको पैसाले ऋण तिर्यो भने अझ सजिलो हुन्छ भन्ने हिसावले हामी अगाडि बढाइरहेका छौं । अझ १२ वर्षभन्दा पनि १० वर्षभित्र हामी सिध्याउने सोचमा छौं । हामीले अहिले जुन हिसावले काम गरिहरको छौं, यो हिसावले हामी सक्छौं पनि । यसकाे उर्जा खरिद सम्झौता दर कति हो ? हाम्रो वर्षामा ४.८० र हिउँदमा ८.४० रुपैयाँ रहेको छ । सरकारले २०७१ चैत मसान्त भित्र सक्नेलाई २० प्रतिशत थप गरी भुक्तानी दिने भनेको छ । हामी त्यसको लागि योग्य भएकोले त्यसमा हाम्रो थपिन्छ । अन्तिममा, आम सर्वसाधरणलाई रुरु हाइड्रपावरको सेयरमा लगानी गर्नको लागि प्रोत्साहन गर्न केही भन्न चाहनुहुन्छ ? हाम्रो ट्र्याक रेकर्ड राम्रो छ । हाम्रो प्रवद्र्धकदेखि परियोजनाको अवस्था कस्तो छ, यसको सञ्चालन कस्तो छ भनेर सर्वसाधरणले बुझ्न जरुरी छ । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । हाम्रो विगत रेकर्ड पनि राम्रो छ । हामीले लगातार १० प्रतिशत लाभांश वितरण गर्दै आएका छौं । हाम्रोमा लगानी गर्दा शतप्रतिशत सुरक्षित हुन्छ । प्रतिफल पनि केही समयपछि पाइन्छ । केही परियोजनाहरु नराम्रो भयो भन्दैमा सबै हाइड्रो परियोजनालाई नराम्रो भन्न मिल्दैन । हाइड्रो पावर राम्रो क्षेत्र नै हो । केही परियोजनाहरु विभिन्न कारणले समस्या भएको हुन सक्छन । त्यस्तो समस्या सबै परियोजनामा हुँदैन । हामीले नाकाबन्दीमा पनि निरन्तर विदुत उत्पादन र सञ्चालन गर्दै आयौं । अन्य धेरै क्षेत्र लकडाउनको समयमा समस्या देखापरे तर हाइड्रो पावरमा त्यस्तो कुनै समस्या देखा परेन । हामीले देशको अर्थतन्त्रमा प्रभाव पार्छ । हामी सबैलाई यसमा सहभागी गर्न आग्रह पनि गछौं ।

हाम्राे टीम राम्राे छ, पुरै टीमले चुनाव जित्छः सौरभ ज्योति

सौरभ ज्योति, उपाध्यक्षको उम्मेदवार- नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुन् सौरभ ज्योति । पूरानो व्यवसायिक घराना ज्याेति ग्रुपका हर्ताकर्ता, महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा, महासंघको कार्यसमितिमा ४ कार्यकाल केन्द्रीय कार्यसमितिमा रहेर भूमिका निर्वाह गरिसकेका ज्योतिको उम्मेदवारी स्वभाविक हो । प्रस्तुत छ चुनावी तयारी, चुनावी अजेण्डा र व्यवसायिक समस्या समाधानतर्फ गरिएका प्रयासबारे उनीसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको कुराकानी । तपाई एउटा पुरानो र ठूलो व्यवसायीक घरानाको व्यक्ति । आफ्नो व्यवसायमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । विस्तारै महासंघमा पनि तपाईका खुड्किलाहरु माथि चढ्दै छन् । तपाईभित्रको स्ट्रेन्थ के हो ? म आफूलाई सबै कुरा थाहा भएको जस्तो सक्षम व्यक्ति मलाई लाग्दैन । जो जति विज्ञ भएपनि उ सबै क्षेत्रमा विज्ञ हुन सक्दैन । मेरो उद्देश्य भनेको एउटा राम्रो टीमको साथ लिएर अगाडि बढ्नु हो । उनीहरुको साथ सहयोगले सँगसँगै अगाडि बढ्ने हो । हाम्रो उद्देश्य एउटै हुन्छ । अहिलेको हाम्रो एउटै उद्देश्य भनेको महासंघलाई राम्रो संस्था बनाउने हो । महासंघ सबै उद्योगी व्यवसायीको छाता संगठन हो । महासंघको उद्देश्य भनेको अर्थतन्त्रलाई मजबुद बनाउनु हो । त्यो उद्देश्य हासिल गर्नको लागि सक्षम नेतृत्व र टीम हुनुपर्छ । राजनीति नभई काम गर्ने नेतृत्व र टीम हुनु आवश्यक छ । महासंघमा राजनीतिक धेरै भयो भन्ने आवाज उठ्दै गएको छ । हाम्रो टीम राजनीतिभन्दा पनि पेशागत मर्यादालाई बुझेर अगाडि बढ्न चाहान्छ । पहिलेको भन्दा अहिलेको परिवेश अत्यन्तै कठिन छ । यो विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कारण अर्थतन्त्रलाई पुनरुत्थान गर्नको लागि राम्रो टीमको आवश्यकता छ । तपाईले आफ्नो चुनावी टिम राम्रो छ भनेर भन्नु स्वभाविक हो । तर यो जटिल परिस्थितीमा महासंघका प्रतिनिधिहरु राहतका कुरा होइन, भोट माग्न हिडिरहेका छन् । यो कत्तिको उचित हो ? मेरो चुनावी क्याम्पियन भनेको मेरो काम हो । यो राजनीतिक संस्थाभन्दा पनि व्यवसायीहरुको संस्था हो । कसले कति काम गरेको छ । कसले कति संस्थामा काम गरेको छ । कसले कति मेहेनत गरेको छ । त्यो प्रष्टै देखिएको छ । योग्यताको हिसावले नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता हो ।  अहिले मौद्रिक नीति सबैभन्दा महत्वपूर्ण विषयका रुपमा रहेको छ । यो नीतिले निजी क्षेत्रलाई राहत दिन सकेन भने एकदमै समस्या हुन्छ । आफ्नो विशषेज्ञता नभए पनि सबैको समस्या सुनेर, जिल्ला नगरहरुका समस्याहरु सुनेर विभिन्न स्टक होल्डरहरुलाई सुझाव दिनुपर्छ । र, दिएका पनि छौं । त्यसको केही रिजल्ट पनि आइसकेको छ । रिजल्ट के आयो अहिलेसम्म ? अहिलेसम्म कहिल्यै पनि केन्द्रिय बैंकले २ प्रतिशत व्याजदर छुट दिएको थिएन । निजी क्षेत्रको पहलमा नै यो सुविधा हामीले पाएका छौं । चैत महिनाको लागि १० प्रतिशत व्याज छुट पनि भयो । विभिन्न आयकरमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट दिने किसिमले लविङ पनि गर्यौं । बजेटमा यस्तो सुविधा आएको पनि छ । यस्तो खालको केही रिजल्ट आएको छ । केही रिजल्ट आउन बाँकी नै छ । अझै हामी प्रयासरत छौं । मौद्रिक नीतिपछि फेरि हामी विभिन्न पक्षमा राहतका लागि पहल गर्नेछौं । नीतिगत रुपमा समस्या समाधान भएर आएपनि त्यसको कार्यान्वयनमा हामीले जोड दिनुपर्छ । अहिलेको अवस्थामा व्यवसाय चलाउनु नै ठूलो उपलब्धि भयो । नाफाको सम्भावना नै छैन । यस्तो बेलामा २० लाख वा ५० लाख कारोबार हुने व्यवसायीलाई दिइएको आयकर छुटले व्यवसायीलाई लाभ मिलेको छ ? ज्योती ग्रुपको कुरा गर्ने हो भने हामीलाई लाभ छैन । साना व्यवसायीलाई लाभ मिलेको छ । महासंघ भनेको निजी क्षेत्रको छाता संगठन हो । त्यसमा साना ठूला सबै व्यवसायी रहेका छन् । बजेटमा आएको आयकर छुटको सुविधाले ठूला व्यवसायलाई त्यति फरक नपर्ला तर सानो व्यवसायलाई फरक पर्छ । सरकारले ऋणीलाई २ प्रतिशत व्याज छुट दिन बैंकहरुलाई निर्देशन दियो । यसले निजी क्षेत्रलाई फाइदा पुग्यो ? आखिरी बैंकहरु पनि निजी क्षेत्रकै लगानीमा चलेका छन् ? सरकारले एउटा व्यवसायिको खल्तीको पैसा झिकेर अर्को व्यवसायीको खल्तीमा हाल्दैमा निजी क्षेत्रले सरकारप्रति गर्व गर्न मिल्छ ? अहिले  गर्व गर्ने विषयभन्दा पनि बाँच्ने बचाउने विषय ठूलो हो अहिले कोरोनाले यस्तो अवस्था सिर्जना गर्छ भनेर कसैले पनि सोचेका थिएनन् । यसले धेरै उद्योग व्यवसायहरु बन्द गर्ने अवस्थामा पुगे । ३ महिनासम्म व्यवसाय बन्द भएपछि कसरी कर तिर्ने ? कसरी ऋण तिर्ने ? कसरी तलव भुक्तनी गर्ने ? भाडा कसरी तिर्ने ? हामीले ऋण नतिर्ने भनेका छैनौ, लिएपछि तिर्नै पर्यो । यो विषम परिस्थितिलाई रिस्ट्रचरिङ गरौं भन्ने हो । अहिले हामीलाई समय दिनोस् भन्ने हो । हाम्रो भनाई पहिलेकै धितोमा थप ऋण पाओस् भन्ने हो । अहिले खर्च पनि बढेको छ । ज्यान जोखिममा राखेर कोहि पनि काममा आउन मान्दैनन् । उत्पादन घटेको छ, खर्च २० प्रतिशत बढेको छ । कोभिडको असर ३ देखि ५ वर्षसम्म हुन सक्छ । यस्तो अवस्थामा एकले अर्कोलाई सक्दो सहयोग गरौं । त्यसैले अहिले कर्जामा रिस्ट्रचरिङको व्यवस्था हुन पर्छ जसले गर्दा हामीलाई विस्तारै व्यवसाय माथि उठ्दै जान्छ भन्ने हाम्रो भनाई हो । तपाईहरुको बैंकको व्याज, किस्ता र ऋण सुविधाको मात्र कुरा गर्नुहुन्छ । यो परिस्थतीमा सरकारबाट श्रमिकलाई दिने भुक्तानीमा राहत देउ, आम्दानी करमा छुट देउ किन भन्नुहुन्न ? त्यो हामीले भनिसकेका छौं । समस्या अहिले बैंकमा छ । राहत बैंकबाट दिनु  पर्ने भएकोले बैंकहरु र राष्ट्र बैंक मुख्य केन्द्रबिन्दु भएका छन् । बजेटबाट त्यस्तो राहत आएन । त्यही भएर बैंकहरु र म्रौद्रिक नीतिमा हाम्रो जोड हो । हामीले नेपाल सरकारले ल्याउने बजेटमा धेरै सुझावहरु दिएका थियौं । हामीले बजेटको ५ प्रतिशत राहत माग गरेका थियौं । त्यसमा ४ प्रतिशत आयो । हामीले श्रमिकहरु र होटल व्यवसायीलाई छुट्टै खालको राहत दिनु भनेका थियौं । सरकारका पनि आफ्ना सीमा छन् । चुनावको कुरा गरौं, तपाईले एसोटिएटको तर्फबाट उपाध्यक्षका लागि उम्मेदवारी दिदै हुनुहुन्छ । चुनाव जित्ते आधार के छन् ? जुन मेरो टीमका साथी छन् ती सबै एक सय एक हुनुहुन्छ । सबै टीम एफोर्ट गरेर हामी कन्फिडेन्ट छौं कि यो पुरै टीमले जित्छ । तपाईसँग प्रोक्सी कति छ ? प्रोक्सीभन्दा पनि चुनाव भनेको मेरो लागि राजनीतिक कुरा होइन । मेरो जहिले पनि धारणा बेष्ट म्यान फोर द जब हो । मभन्दा राम्रो व्यक्ति त्यो पदमा जान्छ भने म छोडेर त्यो व्यक्तिलाई राख्न चाहन्छु । मलाई जित्नु भन्दा पनि त्यो संस्थामा उपलब्धि हुनु पर्यो । त्यो संस्थामा काम गर्ने मान्छे चाहियो । हाम्रो समस्याको समाधान गर्न सक्ने मान्छे चाहियो । मलाई हार्नुभन्दा पनि जित्नुको डर छ । हार्यो भने त के छ म आफ्नो व्यवसाय हेर्छु । अझै पुरा समय दिन्छु । चुनाव जितेपछि, संस्थामा बसेपछि धेरै काम गर्नुपर्छ । समय दिनुपर्छ । जित्यो भने आफ्नो काम व्यवसाय छोडेर पुरै संस्थामा लाग्नु पर्ने हुन्छ । अहिले नेतृृत्वका लागि सबैभन्दा कठिन समय हो । त्यसैले मलाई हार्नुभन्दा बढी जित्नुको डर छ । जित्यो भने हामीले यति मेहेनत गर्नुपर्छ, दिनरात काम गर्नुपर्छ । हाम्रो टीम सम्पूर्ण उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्न तर्फ अगाडि बढ्छ । हाम्रो टीमको सोच परिवर्तन ल्याउनु पर्छ भन्ने हो । आर्थिक विकास गर्नुपर्छ भन्ने हो । काम धेरै हुनुपर्छ, राजनीति कम हुनुपर्छ भन्ने हो । यो कार्यकाल मात्र होइन दश वर्षसम्म महासंघलाई कहाँ लग्ने भन्ने हाम्रो टीमले त्यो खालको वातावरण सिर्जना गर्छ । सबै राम्रा मान्छेहरुलाई तपाईका टीमले समेट्न सकेको छ ? सबैलाई चित्त बुझाउन गाह्रो नै हुन्छ । तर, समग्र रुपमा मेजोरीटी र राम्रो मान्छेहरु समेट्ने कोसिस गरेका छौं । अहिले पनि ढिलो भएको छैन । त्यहाँ काम गर्न जाने हो । मिलेर काम गर्ने हो । तपाई किशोर प्रधानको टिममा हुनुहुन्छ, प्रधानको स्ट्रेन्थ के हो ? उहाँ सबैको सर सल्लाह लिने, धेरै अनुभवी मान्छे हो । उहाँ नेपालको सानो–सानो उद्योगदेखि ठूलो उद्योग व्यवसायहरु सबैले चिनेको नेटवर्क भएको र सबैका समस्या बुझेको व्यक्ति हुनुहुन्छ । त्यो हुनु भनेको नेतृत्व गर्न सक्नु हो । कहिले काहिँ विज्ञ मान्छे आएर पनि सफल नेतृत्व गर्न सक्दैन । विज्ञ मान्छे भयो भने मलाई सबै कुरा थाहा छ कसैको कुरा चाहिँदैन भन्ने खालका हुन्छन् । त्यसलै टीम अगाडि बढाउने, टीमको नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । मेरै कुरा गर्ने हो भने मैले लाष्ट टाइममा पनि छोडेको हो । सबैले तपाई युवा नै हुनुहुन्छ । तपाईको उमेर समय छ भन्छन् । म अहिलेको हिसावले किशोर दाईपछि सबैभन्दा अग्रज हो । मेरो उमेर होइन महासंघका बिताएको समय हेर्नोस् । नेपाल उद्यमी मञ्चमा अध्यक्ष भएर लामो समय काम गरेको छु । मैले विभिन्न संघ संस्थामा अध्यक्ष भएर काम गरेको छु । मैले धेरै अनु्भव हाँसिल गरेको छु । महासंघमा पनि ४ कार्यकाल बिताइसकेको छु । महासंघमा नेश्नल एक्सलेन्ट अर्वाड समितिको सभापतिदेखि कर राजश्व समितिको सभापति र अहिले बैंकिङ र वित्तीय संस्थाको सभापति छु । तपाई बैंकिङ र वित्तीय संस्थाको सभापति भएको बेलामा बैंकर र व्यवसायीबीच द्वन्द्व नै भयो नि ? जहाँ आलोचना र द्वन्द्व हुँदैन त्यहाँ काम नै हुँदैन । जे पनि टाउको हल्लाएर राम्रै छ भन्यो भने काम नै नभएको सोच्नु पर्छ । जति तपाईले कोट्याउँदै जानुभयो, जति विवाद हुन्छ, त्यति बढी अन्र्तक्रिया तथा काम भयो सम्झनु पर्छ । महासंघमा एसोसिएटबाट अहिले ९ सय २७ जना सदस्यहरु छन्, तिनीहरुले भोट हाल्दा त्यसको वेटेज ३० प्रतिशत मात्र हुन्छ । १ सय ६ जनाले जिल्लाबाट भोट हाल्दा त्यसको वेटेज ५० प्रतिशत हुन्छ । यो संरचना ठीक छ ? यसमा इतिहासबाटै हेर्नुपर्छ । मेरो पनि महासंघमा एक दशकभन्दा बढी भइसकेको छ । यो दुइटै हामीले पहिलेदेखि नै गर्दौ आएका छौं । जिल्लामा हाम्रो बढी प्रतिनिधिहरु छन् । नेपाल सरकारभन्दा पनि बढी सञ्जाल भएको हाम्रो उद्योग वाणिज्य महासंघ हो । कर उठाउन पनि हाम्रो सञ्जाल ठूलो छ । महासंघको त्यो सञ्जाल एउटा स्ट्रेन्थ हो । समग्र रुपमा नेपालले समृद्धि हाँसिल गर्नको लागि जिल्ला नगरका एसएमईहरुको भूमिका महत्वपूर्ण हुन्छ । हामीले उहाँलाई त्यो अधिकार दिनै पर्छ । वर्तमान अध्यक्ष, स्वतः अध्यक्ष हुने मान्छे र पूर्व अध्यक्षहरु समूहगत रुपमा निर्वाचनमा सक्रिय हुनुहुन्छ । यो असल अभ्यास हो ? यो नयाँ नौलो कुरा होइन । ५४ वर्ष भइसक्यो यही प्रक्रिया चल्दै आएको छ । तर, यसलाई म असल अभ्यास मान्दिन । अहिलेको वरिष्ठ उपाध्यक्ष जो अध्यक्ष हुँदैहुनुहुन्छ। उहाँको जुन भिजन छ । महासंघलाई राजनीतिबाट मुक्त गर्न व्यक्तिगत स्वार्थबाट निस्केर संस्था अगाडि बढ्नु पर्यो । संस्थाको स्वार्थको लागि काम गर्ने मान्छे चाहिएको छ । आइडियोलोजी, प्रिन्सिपल र काम गर्ने तरिका फरक भएर पक्ष विपक्ष भएको हो ।  मेरो सिद्धान्त मेरो लागि सही हो । अरुको लागि उहाँहरुकै सिद्धान्त सही होला । त्यसैले सैद्धान्तिक रुपमा र महासंघ कहाँ लग्ने कुरा फरक भएको हुनाले उहाँले आफ्नो हिसावले अगाडि बढेको हुनुपर्छ । आ–आफ्नो टीमलाई समर्थन गर्नु भएको हो । महासंघ अध्यक्षमुखी संस्था त हो तर अध्यक्ष एक्लैले महासंघमा काम गर्न सक्दैन । उहाँलाई सहयोग गर्ने टीम चाहिँन्छ । त्यसमा हामी परिवर्तन गर्न लागेका छौं । अहिलेसम्म अध्यक्षमुखी संस्था हो । तर, अहिले हाम्रो जुन टीम आउँदैछ अध्यक्षमुखीबाट टीममुखी बनाउने हो । उपलब्धि हाँसिल गर्ने रिजल्ट ओरिन्टेड, प्रोफेसनल संस्था, निजी क्षेत्रको हक हितका लागि नतिजा ल्याउने संस्था अहिले चाहिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०७३ कार्तिकमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने प्रावधान जुन मर्मले ल्याएको थियो अहिले त्यो मर्म लागू तथा कार्यान्वयन भएको छ ? हामीले निर्वाचन हुँदा अध्यक्ष राजनीतिबाट न्युट्रल होस् भन्ने हो । उहाँ स्वतः अध्यक्ष भएपछि चुनाव नै लड्नु नपरेपछि पक्ष विपक्ष हुनु हुँदैन भन्ने उद्देश्यले यो प्रावधान गरिएको हो । तर, त्यही व्यक्तिलाई वरिष्ठ हुँदा विभिन्न कठिनाईहरु ल्याएर संस्था नै विथोल्न अगाडि बढेको हुनाले जुन दिशामा हामी जान चाहन्थ्यौ, त्यो हुन सकेन । यसपाली हुन सकेन । हामीले अब निरन्तर प्रयास गर्यो भने अध्यक्षलाई राजनीतिबाट टाढा राख्न सक्छौं । त्यसैका लागि यो टीम आवश्यक छ । महासंघको चुनाव नजिकिँदै गर्दा एकले अर्कालाई होच्याउने, गाली बेइजती गर्ने खालको टिकाटिप्पणीहरु भइरहेका छन् । यसले महासंघको गरिमा बढ्छ ? यो कुरामा धेरै लामो इतिहास छ । अरुले कसरी भन्नुहुन्छ त्यसमा मेरो कुनै धारणा छैन । तर म आफ्नो सिद्धान्त र हाम्रो पुरै टीमको कोड अफ कण्डक्ट छ । हामीले आफ्नो काम गर्ने हो र त्यसको बलमा प्रचार प्रसार गर्ने हो । आफ्नो राम्रो कुरा प्रचार प्रसार गर्ने, अरुको नराम्रो कुरा हामी बोल्दैनौं । हाम्रो टीमबाट त्यस्तो कुरा हुँदैन । अरुको बारे आरोप प्रत्यारोप गर्ने काम हामी गर्दैनौं । हामीले कसरी महासंघको गरिमा बढाउने कुरामा कमिटमेन्ट गर्छौं । अरुको नराम्रो कुरा हामी गर्दैनौं । त्यस्तो कार्यमा हामी सहभागी पनि हुँदैनौं ।