१०० दिनमा के गर्यौं ? अब के गर्छौं ?
नेपाल उद्योग वाणिज्य महासंघको २०७९ चैत्र २८ र २९ गते सम्पन्न ५७ औ बार्षिक साधारणसभाबाट यो कार्यकारिणी समिति चयन भएको हो । कार्यकारिणी समितिले १०० दिन पुरा गरिसकेको छ र यस अवधिमा भएका मुख्य गतिविधि यहाँहरुसमक्ष साझा गर्न पाउँदा हामीलाई खुशी लागेको छ । अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौ । बार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गइसकेको छ । मूलतः कोभिडपछिको तीव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौ । निजी क्षेत्र उपेक्षित हुँदा सरकार र सर्वसाधारण सबैलाई मन्दीले छोएको छ । सरकारको राजश्व करिब १३ प्रतिशत घटेको छ भने पछिल्लो बर्षभरि नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रह्यो । हाम्रो पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै थियो र छ पनि । यस परिप्रेक्षमा हामीले पहिलो कार्यकारिणी समितिको बैठकबाट आफ्नाे प्राथमिकता सार्वजनिक गरेका थियौ । १) वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने, २) स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने, ३) राज्य र निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने, ४) दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, ५) व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने । अर्थतन्त्र जटिल अवस्थामा छ । निजी क्षेत्रले निर्वाध काम गर्न सकेन भने यसमा सुधार सम्भव छैन् । नीति निर्माताहरुले यो बुझेका पनि छन् । तर व्यवहारमा निजी क्षेत्रलाई अत्याउने काम भैरहेको छ । यस अबधिमा मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि पैरवी, अध्ययन अनुसन्धानको प्रकाशनका साथै विभिन्न अन्तर्राष्ट्रिय फोरममा महासंघको दरिलो सहभागिता रहँदै आएको छ । हामीले कार्यभार सम्हाल्ने वित्तिकै राष्टिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संसोधित विधेयक पारित गर्यो । जसमा निजी क्षेत्र पनि अख्तियारको दायरामा आउने बिषय उल्लेख थियो । हामीले तत्काल यसको विरोध गर्यौ । यसबारे हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति शेर वहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गरायौ । नेपाल कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा आपफ्नो धारणा राख्नुका साथै तत्कालीन कानुनमन्त्रीलाई भेटर पनि यो बिषय राख्यौ । हाम्रो विरोधका कारण अहिले प्रतिनिधि सभाले थप छलफलका लागि उक्त विधेयकलाई समितिमा पठाएको छ । यो अझै पूर्ण रुपमा नरोकिएकाले हाम्रो पैरवी भने निरन्तर जारि राख्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ र इन्टरनेशनल फाइनान्स कर्पाेरेशनले पहिलोपटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान विषयक एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत देखाएको छ । यसले रोजगारी राजश्व लगायतमा निजी क्षेत्रको योगदान पनि देखाएको छ । जुन अहिले धेरै तिर प्रयोग भैरहेको छ । यो निजी क्षेत्रको सम्मान बढाउन र निजी क्षेत्रमैत्री नीति तर्जुमा गर्न महत्वपूर्ण दस्तावेज बन्नेछ । निजी क्षेत्रको सम्मानसहित मर्यादाक्रमको बिषय सार्थक हुने अपेक्षा गरेका छौ । निजी क्षेत्रको मर्यादाक्रम तोकिने बिषयमा म आशावादी छु र सरकारसंग यसबारे सकारात्मक छलफल भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र साझेदार संस्था भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा भारतमा पहिलोपटक नेपाल भारत बिजनेस समिटको आयोजना गरियो । नेपालबाट धेरै निजी क्षेत्रका संघ संसस्थाहरु गएका थिए । ती संस्थाहरुको समेत नेतृत्व गर्दै महासंघले भारतको राजधानीमा कार्यक्रम आयोजना गर्नु आफैमा निक्कै उपलब्धिमूलक हो । भारतकै कोलकतामा आयोजित बिम्सटेक बिजनेस कन्क्लेभमा मैले विम्सटेक बिजनेस फोरमको अवधारणा अगाडि सारिएको छ । यस बिषयमा यस क्षेत्रका अन्य चेम्बरहरु पनि सहमत देखिन्छन् । चेम्बरहरुको फोरम बनाउने बिषयमा इन्डियन चेम्बर अफ कमर्शले यस अवधारणालाई अगाडि बढाउने र नभेम्बरमा बैंककमा आयोजना हुने विम्सटेक सम्मेलन अघि गठन गरिसक्ने बिषयमा छलफल अगाडि बढेको छ । यसबारे थप बुझ्न परराष्ट मन्त्रालयले हामीलाई पत्राचार गरिसकेको छ । मुलुकमा धेरै क्षेत्र विभाजित भैरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा मौद्रिक नीतिको सुझाव पेश गर्यौ । मैले रोजगारदाता परिषदको सभापति हुँदादेखि नै निजी क्षेत्रका मुद्याहरु संयुक्त रुपमा उठाउने गरेको थिए । संयोगवश परिषदमा संगै रहनुभएका राजेश अग्रवाल अहिले परिसंघको अध्यक्ष हुनुभएको छ भने चेम्बर अध्यक्ष राजेन्द्र मल्लसंग पनि पुरानो सहकार्य हो । यसले हामी एकै ठाउँ आउन सहज भयो । हामीले मौद्रिक नीतिमा संयुक्त रुपमा सुझाव पेश गर्यौ । मुलुकको कठिन समयले पनि हाम्रो सहकार्य माग गरिरहेको छ । बजेटमा पनि निजी क्षेत्रका सुझाव उही र उस्तै थिए । हाम्रो मुल माग अहिलेको मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई सुधार्ने नै थियो । बजेटमा हामीले माग गरेको जग्गा सम्बन्धि व्यवस्था, वातावरणीय मुल्यांकन सम्बन्धि सहजता, खानीजन्य वस्तुको उत्खनन तथा निर्यात जस्ता दीर्घकालीन महत्वका बिषय समेटिए । तर तत्कालको समस्या समाधान हुन सकेन । कसैको व्यक्तिगत मात्रै हैन प्रणाली नै बचाउने बिषयमा हामीले चर्चा गरेका हौ । विगतमा आयात निरुत्साहित गर्ने र चालु पूँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको हो । यसले वाह्य क्षेत्र सन्तुलित बनाएपनि मुलुकभित्र अर्थतन्त्र मन्दीमा गयो । मौद्रिक नीतिमा हाम्रो अपेक्षा थियो । तर नीतिले पनि यसलाई सम्बोधन गर्न सकेन । कुल गार्हस्थ्य उत्पादनको तुलनामा अत्यधिक कर्जा प्रवाह भएको र यसले आर्थिक वृद्धि नभएको बिषयलाई उठाइयो । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुइ दिन अघि अन्तराष्टिय मुद्रा कोषको मिसन महासंघमा आएको थियो । उनीहरुको पनि यही चासो थियो । देशभित्र पनि कर्जा प्रवाह र आर्थिक वृद्धिको बिषयलाई लिएर चर्चा भैरहेको छ । बढि कर्जा गएपनि वृद्धि हुन नसकेको एकथरि भनाइ छ । यसपटकको मौद्रिक नीतिको कर्जा प्रवाहको लक्ष्य र सरकारको आर्थिक वृद्धिको लक्ष्यमा मेल खाएन भन्दा फेरि उच्च पदस्थ अधिकारीहरु नै कर्जा प्रवाह यत्ति नै भएपनि लक्षित वृद्धि हासिल हुनसक्छ भनिरहनु भएको छ । त्यसैले कर्जा विस्तार भएर पनि आर्थिक वृद्धि किन भएन अध्ययन गर्नुपर्ने बिषय रह्यो । त्यसैले अहिले नै वढि ऋण प्रवाह भएकै कारणले समस्या भएको हो र यसलाई हठात रोक्नुपर्छ भनेर पनि कसरी भन्न सकियो ? अर्को बिषय के यसमा ऋण लिने मान्छेमात्रै दोषी हो त ? बैंक वित्तिय संस्थाले पनि त ऋण दिएकै हुन । केन्द्रिय बैंकले किन त्यति बेलै सजग बनाएन । अनुगमन किन गरेन । सरकारले किन पूँजीगत खर्च गर्न सक्दैन । समस्या सबैका कारणबाट सिर्जना भएको हो । अनि यसको मार निजीक्षेत्रलाई मात्र पार्न मिल्छ । यसै त समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको भनेर थप मान मर्दन गर्न मिल्छ ? अहिले आएर एकैपटक ब्रेक लगाउन मिल्छ ? यसले दुर्घटना हुन्छ । म केन्द्रिय बैंक, सरकार र अन्तराष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराउन चाहन्छु । हामीले सरकारी निकाय र यसमा चासो राख्ने अन्तराष्ट्रिय निकायहरुसंग पनि यो बिषयमा छलफल गरिरहेका छौ । यही सातामात्रै अन्तराष्ट्रिय वित्त निगमको आर्थिक सुधार र निजी क्षेत्र हेर्ने उपाध्यक्ष सुसन लन महासंघ आउनु भएको थियो । यी लगायत पुर्वाधार बिकास, वित्तिय पहुँच विस्तार र साना तथा मझौला उद्यमको विस्तारका लागि हामीले सहकार्य गर्नेछौ । अन्तराष्ट्रिय मुद्रा कोषको विभिन्न समयमा आउने मिसनसंगै यहाँको कार्यालयसंग पनि हामी निरन्तर छलफल गरिरहेका छौ । हामी भनिरहेका छौ, सुधार गरौ तर विस्तारै । अहिले निजी क्षेत्रलाई केहि समय आफ्नाे ऋणको व्यवस्थापन गर्न समय दिऔ । नया उद्यमीलाई प्रोत्साहित गरौ । बर्षौ लागेर सिर्जना भएको वृकृतिलाई विवेकपूर्ण रुपमा समाधान गरौ । यो सम्पूर्ण निजी क्षेत्रको आवाज हो । तर सरकारी नीतिहरुमा यसरी सम्पूर्ण नीजि क्षेत्रको सुझाव सुनिदैन भने यो मुलुककै लागि दुर्भाग्यपूर्ण छ । अब म महासंघ तर्फ नै फर्किन चाहन्छु । हामीले विधान संसोधन प्रक्रियालाई पनि अगाडि बढाएका छौ । यसअघि तयार भएको मस्यौदामा नै थप छलफल गरि अगाडि बढाउने योजना हाम्रो छ । यसका लािग सुझाव संकलन गर्न पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ । उहाँहरुले आफ्नाे क्षेत्रबाट सुझाव लिएर आएपछि पदाधिकारी समितिको वैठकमा छलफल हुनेछ । पदाधिकारीहरुले नै अपनत्व लिएर छलफल गरि अगाडि बढाउँदा कार्यान्वयनमा लग्न सहज हुने हुँदा यसपटक अध्यक्षको नेतृत्वमा नै पदाधिकारीले संसोधनको जिम्मा लिंदैछन् । महासंघमा परिषद, समिति र फोरम गठन भैसकेका छन् । यी महासंघका मुख्य अंग हुन् । समिति फोरमहरुलाई कार्यशर्त टिओआर पनि दिइएको छ । यसअघि समिति फोरममा जतिपनि सदस्य रहने गरेकोमा समितिको गरिमा बढाउन र प्रभावकारी नतिजाका लागि समिति फोरममा सभापति, उपसभापति, सदस्य, आमन्त्रित सदस्य र सल्लाहकार गरि बढिमा १८ जनामात्रै रहने व्यवस्था गरिएको छ । यो महासंघलाई प्रभावकारी रुपमा संचालन गर्न चालिएको कदम हो । यसले समिति र फोरमको महत्व बढनुका साथै प्रभावकारी काम हुनेछ । ६।६ महिनामा समिति फोरमका सभापति एवं सदस्यहरुको कार्य सम्पादन मुल्यांकन हुने व्यवस्था पनि गरिएको छ र सोही अनुसार आवश्यकता परेमा परिवर्तन पनि गरिनेछ । सबै परिषद, समिति र फोरममा सचिवालयबाट संयोजन गर्ने प्रमुख तोकिइसकेको छ । परिषद, समिति र फोरमको मासिक कार्ययोजना अनुसार काम हुनुपर्नेछ । पदाधिकारीहरु र सभापतिज्यूहरु निरन्तर काममा जुटनु भएको छ । यसबीचमा राजधानी र बाहिर जब फेयर आयोजना गरिएको थियो । विभिन्न अध्ययन अनुसन्धानको काम शुरु भएको छ । उहाँहरुले सरकारका उच्च पदस्थ अधिकारीहरुसंग छलफल शुरु गर्नुभएको छ । म आशावादी छु सकारात्मक नतिजा आउने नै छ । अहिले नै हामी धेरै योजना सार्वजनिक गर्नुभन्दा पनि काम गर्दै जाँदा नतिजा निस्किने गरि गर्नेछौ । हामी संचारकर्मी साथीहरुसंग छलफल गर्ने नै छौ । परिषद, समिति र फोरमहरु पनि सम्पर्कमै हुनुहुन्छ । महासंघ सचिवालयको सुदृढिकरणमा हाम्रो विशेष ध्यान रहेको छ । महासंघको लेखा र प्रशासन सफ्टवेयर मार्फत पारदर्शी बनाइएको छ । हामीले सबै प्रदेशको लेखा प्रणालीलाई केन्द्रिय लेखा प्रणालीसंग जोडिसकेका छौ । महासंघको शाखाका रुपमा रहेका प्रदेशको लेखा प्रणाली पनि चुस्त र पारदर्शी बनाउन नितान्त आवश्यक थियो । उत्पत्तिको प्रमाणपत्र जारि गर्ने जिल्लाहरुमा पनि यस्तै सफ्टवेयर जडान गर्ने योजना छ । यसले स्वच्छ र पारदर्शी प्रणालीलाई प्रश्रय दिनेछ । प्रशासन सम्बन्धि बिषयमा पनि सफ्टवेयर मार्फत नै हुन थालेको छ । (नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने कार्यक्रममा ढकालले दिएको मन्तव्यको सम्पादित सार)
नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा
काठमाडौं । ‘कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा’ राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्तम्भकारको मनमा पनि माथिका पङ्क्ति छचल्किन पुगे । धेरै पहिलेदेखिको चाहना हुँदाहुँदै पनि गत असारको पहिलो साता मात्रै पहिलोपटक देशको सबैभन्दा ठूलो ताल भनेर चिनिने मुगु जिल्लामा पर्ने रारा ताल पुगेर प्रत्यक्ष नियाल्ने र स्पर्शसमेत गर्ने अवसर मिल्यो । जीवनमा एकपटक रारामा पुग्ने धेरैको धोको हुन्छ तर कमैलाई यो अवसर जुट्छ । सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लाको खलङ्गासम्म पुग्ने कर्णाली राजमार्गको नाग्म भन्ने स्थानबाट राजमार्गबाट अलग्गिएर जुम्लाको सिञ्जा उपत्यका भएर मुगु जाने बाटो अघि बढ्छ । सुन्दर पनि उत्पादनशील पनि यो उपत्यका नेपालभित्र मानव सभ्यतालाई हुर्काउने मूल ठाउँ पनि भन्ने गरिन्छ । मानवशास्त्री डोरबहादुर विष्टले लामो समय बिताएको र कर्णाली इन्स्टिच्युट स्थापना गरेको स्थान पनि यही सिञ्जा उपत्यका नै हो । अहिले यो उपत्यकाको अधिकांश भाग हिमा गाउँपालिकामा पर्दछ । दुईतिर हराभरा फाँट अनि अलि माथि केही लेकाली वनस्पतियुक्त जङ्गल अनि बस्ती भएको यो ठाउँमा मोटरबाटो बनेपछि भने बाटोको दायाँबायाँ आवास बनाउने क्रम बढेको छ । फाँटलाई सिञ्चित गर्दै बीचबाट बगेको हिमा नदी जुम्ला र कालीकोटको सीमास्थल नाग्ममा पुगेर तीला नदीसँग मिसिन्छ । यो सिञ्जा उपत्यकाको मनोरम दृश्यले सबैका मन रोमाञ्चित बनाउँछ । बोटविरुवा, हरियाली, हिमा नदी बनेर अविरल बगिरहेको कञ्चन हिमाली पानी यी सबै दृश्यलाई नजिक बसेर नियालिरहुँ जस्तो लाग्ने सुन्दरता । साँच्चिकै रारा ताल अनुपम सुन्दरताको खानी रहेछ । पढ्नु, सुन्नु र प्रत्यक्ष पुग्नुमा कति फरक छ भन्ने विषय रारा पुगेर मात्र अनुभूत हुन्छ । सदरमुकाम गमगढी नपुग्दै ताल्चा विमानस्थलको छेउबाटै रारा जाने बाटो देब्रेतिर मोडिन्छ । नाग्मबाट सिँजातिर लागेदेखि नै मोटरबाटो भने ग्राभेलयुक्त कच्ची बाटो हो तर मुगुका ठाडा भीर रहेको खण्ड नपुगुन्जेलसम्म दुर्गम जिल्लाको कच्ची बाटो यात्रा गरिरहेका छौँ भन्ने अनुभूत भएन । कालिकोट जिल्लाका भिराला अग्ला र डरलाग्दा पहाड छिचोलिसकेकाले होला जुम्लाको समथर भूभाग हुँदै मुगुसम्म पुग्दा देखापरेका मध्यमखालका हिमाली पहाडले खासै अघिल्लो दिनको अप्ठेरो बाटोको सम्झना गराउन सकेनन् । यात्रा पनि जीवनकै प्रतिविम्वजस्तो लाग्छ दुःख, सुख अनि फेरि दुःखको चक्र अर्थात अप्ठेरा र सप्ठराहरु झेल्दै र पार गर्दै अघि बढ्नुपर्ने । पहिलोपटक पुगेको यो जिल्लाको सदरमुकाम गमगढीको अवस्थिति, कार्यालयहरु, बजार, शैक्षिक संस्थाको अवस्थिति मोटामोटी जानकारी लिएपछि रारा पुग्ने सुरमा गमगढीलाई बिदाई अभिवादन गरेर अघि बढियो । रारा पुग्नै लाग्दा सल्लाका रुख भएको बाक्लो बन पार गरेर खुल्ला चौरमा पुगेपछि देखिन्छ छौँ विशाल जल सतह । चौरमा नपुगुन्जेलसम्म रुखहरुका बीचबाट देखिएको ताल खण्डखण्ड परेको अपुरो देखिन्छ । जब पूरा ताल देखिन्छ, अनि त बाटाका अनेक दुःख कष्ट च्याट्टै बिसर्न मात्र होइन, शरिर नै हलुका भएर उड्न खोज्छ । मानौँ कि कुनै समुद्रको किनारमा पुगिएको छ । लेखक चारैतिर नियालिसक्दा मात्र थाहा हुन्छ कि यो ताल नै हो । खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरुपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट रहेका रुख बिरुवा एवं केही न केही खेती हुर्किइरहेका बारीहरु । हिँउद्मा हिउँले भरिएका डाँडाहरु देखिंदा हुन् तर अहिले हिउँको च्यादर उतारेर उदाङ्ग छन् । लामो यात्रा गरेर आएका पर्यटक, आगन्तुक वा यात्रुहरु पनि तालको समिपमा पुगेपछि थकाई हराएजस्तो, उमङ्ग पलाएजस्तो अनुभूत गर्दछन् । घोडा, डुंगा, भेडा र मान्छे ताल वरिपरिको परिवेश वर्णन गर्नुपर्दा नवआगन्तुक आइपुग्नासाथ घोडा चढ्ने हो ? भन्दै केही मुगाली घोडा मालिकहरु देखा पर्दछन् । धेरै अपेक्षा नभएका र खुशी अनुहारसहितका मुगाली केटाहरु । घोडा कतिबेर चढ्ने हो कहाँसम्म जानुपर्ने हो वा चौरमा केहीबेर चढेर फोटो मात्र पो खिच्ने हो कि हेरिकन तिर्नुपर्ने दररेट रहेछ । यहाँ पुग्ने प्रायः सबैले घोडा चढेर फोटो खिच्ने अवसर गुमाउन चाँहैनन् । घोडचढी बाहेक तालसँगै रमाउने अर्को माध्यम भनेको १२ बजे अगाडि नै डुंगाबाट ताल वारपार गर्ने वा तालको किनारैकिनार परिक्रमा गर्नु रहेछ । मध्यान्ह १२ बजेपछि भने हावाका कारण डुङ्गा चढ्ने काम असुरक्षित मानिदोरहेछ । तालसँगैको चौरको अर्को भागतिर भने केही बथान भेँडाहरु मज्जाले चरिरहेका देखिन्थे । प्रयोगमा नआएका घोडाहरु पनि विभिन्न दिशामा फर्केर चरिरहेको हुन्छन् । यसरी घोडा, डुंगा, भेँडा यी तीनवटै चिजलाई निर्देशित गर्ने अरु कोही नभएर उही मान्छे थियो । यहाँका स्थानीयहरुले ताललाई पेशासँग आवद्ध गरेका छन् भने घुम्न आउने आगन्तुकले भने नयाँ ठाउँमा आफ्नो मनलाई निर्देशित गरिरहेको, साथमा आउने साथीलाई सघाइरहेको र रमाइरहेको हुन्छ । तालको संरक्षणका लागि नेपाल सरकारका निकायहरुका साथमा स्थानीयहरुको पनि ठूलो योगदान रहेको छ । मुर्माटपको यात्रा र बसाइः रोमाञ्चक अनि स्मरणीय तालबाट उत्तरतर्फ मुर्माकोट नामक बस्ती तथा डाँडाको सर्वाधिक उच्च भागलाई मुर्माटप नाम दिइएको रहेछ । ताललाई दक्षिण पारी उक्त वस्ती र नजिकैको रिसोर्ट पुग्न कि त घोडा चढेर जानुपर्यो कि पैदल यात्रा । तालतर्फ नै फर्केको मुर्माकोटको पाखामा केही रिसोर्टहरु सञ्चालनमा रहेछन् भने मुर्माकोट बस्तीमै केही होमस्टे समेत सञ्चालनमा ल्याइएको रहेछ । तालदेखि हिँडेको करिब दुई घण्टामा मात्र रिसोर्ट भएको ठाउँ पुग्न सकिन्छ । रिसोर्ट पुग्दा असिनपसिन बनाउँछ । कहिलेकाहीँ सिमसिम पानी पर्दा जाडोले जिउ थरथर कमाउँछ । यस्तो बेला शरिरलाई तातो राख्न भित्र न्यानो ठाउँमा गएर रुमहिटर बाल्ने, तातोतातो खाना खानुपर्छ । भोलिपल्ट बिहान रिसोर्टबाट उकालो लाग्ने गरिन्छ मुर्माटप पुग्नका लागि । मुर्माटपमा पुगेर सूर्योदयसँगै तालको अवलोकन गर्ने धेरैको धोको हुन्छ । वर्षायाममा सूर्योदयको लालित्यमय दृश्य भेटाउन भने मुस्किलपर्दछ । डेढ दुई घण्टाको हिँडाइपश्चात् मुर्माटपमा पुग्न सकिन्छ । चारैतिरको प्रकृतिको सिर्जना नियाल्दै खासगरी आकासमै झुन्डिएजस्तो भान हुने रारा तालको दृश्यले थकान, भोकप्यास केही अनुभव हुँदैन । प्रकृतिको सुन्दरतामा रमाउन पाउँदा यी सबै कुरा बिर्सिन्छ । केही समय मुर्माटपमा बिताएर रिसोर्टमा फर्किदा तातो फापरको रोटीको स्वाद जिब्रोमै झुण्डिएको हुन्छ । यसरी राराको यात्रामा जाने जो कोहीले जीवनमा महत्वपूर्ण प्राप्ति भएको अनुभव गरेकै हुन्छन् र यो सम्झनालाई जीवनभर संगालेकै हुन्छन् । फेरिँदै कर्णाली देखिँदै सम्भावना कर्णाली अहिले पनि टाढा छ भन्ने कुरा त रारा पुगेर काठमाडौ फर्कन सडक मार्गबाट सरासर यात्रा गर्दा पनि पूरा छ दिन लाग्दछ । राष्ट्रिय राजमार्गमा जोडिन बाँकी हुम्ला, जाजरकोट हुँदै डोल्पाको दुनैसम्म कच्ची बाटोले जोडे पनि पुलहरु बन्न बाँकी छ । सबै पालिकाहरुमा सधैँ प्रयोगमा आउने सुरक्षित सडकको उपलब्धता सम्भव हुन त केही वर्ष नै कुर्नुपर्ने देखिन्छ । यद्यपि, २०६० सालयता कर्णालीलाई उज्यालो बनाउन, कर्णालीलाई देशका बाँकी भागसँग जोड्न, शिक्षा स्वास्थ्य र उत्पादनका लागि भएको समग्र लगानी र प्रयत्न भने कम छैन । प्रदेशमा पहिलेको कर्णाली अर्थात कर्णाली अञ्चलबाट मुख्यमन्त्री पनि भइसके । कर्णालीका उत्पादनहरु उवा, फापर चिनो जुनेलो मार्सी चामल जडिवुटीलगायतलाई प्रवद्र्धन गर्न काठमाडौँलगायतका सहरमा पसलहरु राख्ने, यहाँका युवालाई राष्ट्रिय श्रम बजारमा बढी माग भएका सीप विकासका लागि उचित प्रवन्ध गर्ने जस्ता कामहरु गरिनुपर्छ । रारा ताल, सिँजा, मुकुट हिमाल, मुर्माटप, चन्दननाथ रहेको जुम्ला सदरमुकामलगायत पर्यटकीय स्थानहरुलाई ‘प्याकेजिङ’ गर्दै कर्णालीका खोँचहरुमा साहसिक पर्यटन सञ्चालन गर्ने ध्येयका साथ पुलहरु निर्माण गर्न सके स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने देखिन्छ । कर्णालीबाट बग्दै आएका नदीहरु जलविद्युत्, सिँचाइ, जलपर्यटनका लागि दिगो स्रोत पनि हुन् । हवाई यातायातका पूर्वाधारलाई थप सुदृढ बनाएर पनि थप पर्यटक भित्र्याउन सकिन्छ । यार्चागुम्बा जस्ता बहुमूल्य जडिवुटी प्रशोधन र प्याकेजिङ गरेर विश्व बजारमा पठाउने सम्भावना त छँदैछ । यी सम्भावनाको अधिकतम् प्रयोग गर्न तीनै तहका सरकारहरु चुक्नु हुँदैन । फेरि पनि रारा तालको आफ्नो मौलिकता कायम राख्दै विश्व पर्यटन बजारमा पर्याप्त प्रचारप्रसार गरी नेपालकै नाम ‘द कन्ट्री अफ रारा लेक’ भनेर समेत राख्न सकिने सम्भावना उत्तिकै छ । विदेशमा रहँदै आउनुभएका नेपालीले पनि राराको प्रचार गर्नमा पछि पर्नु हुँदैन । यसमा सञ्चार माध्यमहरुले पनि प्रचारात्मक भूमिका खेल्न सक्नुपर्छ । पुरानो सभ्यताको प्रमाणका साथै ‘भर्जिन’ रुपमै उपलब्ध प्राकृतिक सम्पदा र क्रमिक विकासको ज्वलन्त प्रमाण हो कर्णाली । कर्णालीको सुन्दरता सबै नेपालीले देख्न पाउनुपर्दछ र सँगसँगै कर्णालीको व्यथा पनि काठमाडौँमा बसोवास गर्नेले बुझ्ने र सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ । रारा ताल कर्णालीका थुप्रै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक अनुपम प्राकृतिक सौन्दर्यतासहित आगन्तुकलाई स्वागत गरिरहेको छ । समय र अनुकूल मौसम मिलाएर सबैले जीवनमा कम्तिमा एकपटक जीउँदै स्वर्ग देख्न सकिने यस ठाउँमा पुग्न भुल्न हुँदैन । रासस (लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)
के हो कर्जाको जोखिम भार ? कसलाई के असर गर्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न प्रकृतिका कर्जाहरूमा जोखिम भारको पुनरावलोकन गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ । यस्ता कर्जामा कति प्रतिशत जोखिम भार पुनरावलोकन गर्ने भनेर मौद्रिक नीतिमा खुलाइएको छैन । यसलाई स्पष्ट गर्न राष्ट्र बैंकले सर्कुलर जारी गर्ने भनेको छ । हाललाई ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यसअघि २५ लाखसम्मको सेयर कर्जामा एक सय प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार थियो । यस्तै, नेपाल सरकारको स्वीकृति लिएर आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जाको हकमा एक सय प्रतिशत जोखिम भार कायम गरिएको अधिकारीले बताएका छन् । यसअघि यस्तो कर्जामा जोखिम भार १५० प्रतिशत थियो । साथै, हायर पर्चेज कर्जा अन्तर्गत साना किसिमको अटो लोनमा राखिएको १५० प्रतिशत जोखिम भार घटाएर एक सय प्रतिशत मात्रै कायम गर्न लागेको गभर्नर अधिकारीले बताएका छन् । बैंकहरुले सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकमबाट नै ऋणीलाई कर्जा दिन्छन् । बैंकहरुले कर्जा प्रवाह गर्दा स्वपूँजी र निक्षेपबीचको रेसियो निकाल्छन् । बैंकसँग भएको स्वपूँजीले कतिसम्म लगानी गर्न सक्छ भनेर जोखिम वर्गीकरण गरिन्छ । जसलाई जोखिम भार भनिन्छ । यदि जोखिम भार बढी भयो भने बैंकहरु कर्जा प्रवाह गर्न असक्षम हुँदै जान्छन् भने जोखिम भार कम हुँदा कर्जा दिने क्षमता बढ्दै जान्छ । राष्ट्र बैंकले पूँजी पर्याप्तता अनुपात (पूँजी कोष) ११ प्रतिशत र प्राथमिक पूँजी कोष ८ दशमलव ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको छ । पूर्व बैंकर पर्शुराम कुँवर कर्जा रकम जति धेरै हुन्छ जोखिम भार पनि त्यति नै बढी हुने बताउँछन् । राष्ट्र बैंकले साना कर्जामा जोखिम भार घटाएको हुँदा बैंकहरुलाई कर्जा वितरणमा सहज हुने र लगानी बढाउन सक्ने कुँवर बताउँछन् । ‘अर्बाैंको कर्जा लिएर दोस्रो बजारमा सेयर खरिद गर्छन् भने उच्च जोखिम हुन्छ । त्यसमा जोखिम भार पनि बढी हुने भयो’, उनले भने, ‘अब बैंकहरुको जोखिम भार कम भएपछि फाइदा नै हुन्छ ।’ उदाहरणका लागि एक करोड कर्जा प्रवाह गर्दा एक सय प्रतिशत जोखिम भार लागू गर्दा जोखिम भारित सम्पत्ति (क्यापिटल) एक सय प्रतिशत नै छु्ट्याउनु पर्छ । बैंकले एक करोड रुपैयाँको कर्जामा एक सय प्रतिशत जोखिम भार लगाउँदा ११ लाख रुपैयाँ स्वपूँजी (क्यापिटल) छुट्याउनु पर्छ । किनभने जोखिम भारित सम्पत्तिमा ११ प्रतिशत क्यापिटल छुट्याउनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यदि राष्ट्र बैंकले जोखिम भार ६० प्रतिशत तोकेको हुन्थ्यो भने एक करोड रुपैयाँको कर्जामा ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात (पूँजी कोष)का दरले हुने ११ लाख स्वपुँजीको ६० प्रतिशत जोखिम भार अर्थात ६ लाख ६० हजार रुपैयाँ मात्रै जोखिम भारित सम्पत्ति (क्यापिटल) छुट्याए पुग्थ्यो । अहिले एक सय प्रतिशत जोखिम भार छुट्टयाउनुपर्ने भएकोले एक करोडको ऋणमा ११ लाख नै जोखिम भारित सम्पत्ति (क्यापिटल) छुट्याउनुपर्छ । यसरी कर्जामा जोखिम भार बढी हुँदा बैंकले ब्याज पनि बढाउँदै जान्छ । जोखिम भार कम राख्नुपर्दा क्यापिटल फ्रि हुने भएकाले ब्याज पनि घट्दै जान्छ । अन्ततः बैंक र ऋणी दुवैलाई सहज हुन्छ । पूर्व बैंकर अनलराज भट्टराईकाअनुसार बैंकले कर्जा प्रवाह गर्दा निक्षेप र स्वपुँजी (क्यापिटल) जोडेर ऋण दिन्छन् । कर्जा प्रवाह गर्दा जोखिम भार गणना गर्नु पर्ने हुन्छ । यसअघिको १५० प्रतिशतको तुलनामा शतप्रतिशत मात्रै जोखिम भार कायम गर्दा बैंकले पहिलेको भन्दा बढी कर्जा लगानी गर्न पाउने भए । जोखिम भार बढी भयो भने क्यापिटल बढी खर्च हुने भएकाले बैंकको कर्जा क्षमता घट्दै जान्छ । एलसी, ग्यारेन्टी लगायत अन्य केही कर्जामा पनि धेरै जोखिम भार राखेको हुँदा बैंकको कर्जा क्षमता कम र ब्याजदर बढी हुन्छ । उनकाअनुसार राष्ट्र बैंकले जुन क्षेत्रमा जोखिम भार बढाउँछ सो क्षेत्रमा कर्जा विस्तारलाई निरुत्साहित गर्न चाहेको बुझ्नुपर्छ । यदि जोखिम भार घटाउँदै गयो भने कर्जा विस्तार गराएर चलायमान गर्न खोजेको भनेर बुझ्नुपर्ने पूर्व बैंकर भट्टराई बताउँछन् । हाललाई बैंकको क्यापिटल १२ प्रतिशत छ । यदि एक सय रुपैयाँको सामान किन्न कर्जा माग भयो भने बैंकले १२ रुपैयाँ क्यापिटल र ८८ रुपैयाँ निक्षेप प्रयोगगर्नु पर्छ । त्यस्तै, एक सय प्रतिशत जोखिम भार लागु भएको अवस्थामा एक सय रुपैयाँ कर्जाको लागि बैंकले १२ प्रतिशत अर्थात १२ रुपैयाँ नै क्यापिटल छुट्याउनु पर्छ । १५० प्रतिशत जोखिम भार लागू गरेको अवस्थामा भने १२ रुपैयाँको १५० प्रतिशत अर्थात १८ रुपैयाँ क्यापिटल बैंकले छुट्याउनु र ८२ रूपैयाँ निक्षपबाट प्रयोग गर्नुपर्छ । जोखिम भार बढी भएको बेला बैंकले अटो कर्जाभन्दा अन्य कर्जामा जोड दिने गरेको भट्टराईले बताए । किनभने अन्य क्षेत्रमा जोखिम भार कम हुँदा बैंकको क्यापिटल कम खर्च हुन्छ । ‘जति बैंकमा फ्रेस क्यापिटल भयो त्यति उसले कर्जा दिन पाउँछ । अहिले सबै बैंकको क्यापिटल टाइट हुनुको कारण भनेको जोखिम भार बढी भएर हो,’ उनले भने । सेयर कर्जामा पनि सोही व्यवस्था लागू हुने पूर्व बैंकर भट्टराईले बताए । उनका अनुसार ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गर्दा बैंकको कर्जा दिने क्षमता बढ्छ । यसअघि २५ लाखभन्दा माथिको कर्जामा १७ रुपैयाँ क्यापिटल राख्नु पथ्र्याे भने अब ११ रुपैयाँ मात्रै क्यापिटल राख्न पाउने छन् । साथै, जोखिम भार घट्दा ऋण लिने ब्यक्तिलाई समेत फाइदा हुने उनको भनाइ छ । किनभने क्यापिटल धेरै खाँदा बैंकले ब्याज पनि बढाउँथ्यो । अब जोखिम भार घटेपछि क्यापिटल पनि कमै भए पुग्छ । त्यसो हुँदा ब्याज पनि घट्न सहयोग मिल्ने उनी बताउँछन् । ‘अब ऋण लगानी गर्दा क्यापिटल धेरै नपरेपछि ५० लाख रुपैयाँ लिन समस्या छैन । बैंकले ५० लाखसम्म सहजरूपमा कर्जा दिन्छन् । यसले बैंक र लगानीकर्ता दुवैलाई फाइदा हुन्छ,’ भट्टराईले भने, ‘पहिला ३५ लाखसम्म लगानी गरेको लगानीकर्ताले मात्रै १ सय प्रतिशत जोखिम भारमा सेयर कर्जा लिन पाउँथे । अब कर्जा लिन सहज भयो ।’ यस्तै, अटो लोनमा जोखिम भार १ सय प्रतिशतमा झार्दा ५० लाखसम्मको गाडी किन्न सहजरुपमा कर्जा पाउने उनले बताए । तर, २ करोडको गाडी किन्न कर्जा माग गर्याे भने जोखिम भार बढ्ने भएकाले ब्याज पनि बढ्दै जाने उनले बताए । मौद्रिक नीतिले जोखिम भार घटाउने भनेपछि गाडीहरुको फाइनान्स पनि सजिलै हुने हुँदा बिक्री बढ्ने र बजार चलायमान हुने उनले बताए ।