लगानीकर्ताबाट प्रत्येक कर्मचारीले कमिसन खोज्ने प्रवृतिले समस्या पार्यो
ऊर्जा विकासका नीतिगत व्यवस्थाहरू अवरोधकका रूपमा छन् कि भनेर अध्ययन गर्दा त्यस्तो अवरोध नै गर्ने नीतिगत व्यवस्था छैनन् । कतिपय विषयलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता भने छ । अहिले नयाँ विद्युत् विधेयक संसदमा गएको छ । त्यसमा पनि धेरै विषयलाई सुधार गरिएको छ । उदाहरणका लागि बजारीकरण, दुई पक्षीय व्यापार, नियमन, उत्पादकहरूबीचको प्रतिस्पर्धालगायत कुरा समेटिएका छन् । यसले निजी लगानीकर्तालाई समग्रमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नेछ । कानुनी रूपमा गरिएका व्यवस्थाहरू सकारात्मक नै छन् । तर, के निर्णय हुनुपर्ने हो भन्ने विषयमा भने थप छलफल आवश्यक देखिन्छ । संसदमा पनि विधेयकबारे धेरै वटा संशोधन प्रस्ताव भएका छन् । यसबारेमा विज्ञ टोली राखेर बहस गर्नुपर्ने देखिन्छ । नेपालको मूल समस्या भनेको कार्यान्वयनको हो । कार्यान्वयनसँगै समन्वयको अभाव पनि ठूलो बाधकका रूपमा छ । क्षेत्रगत मन्त्रालयहरू धेरै छन् । ती मन्त्रालयअन्तर्गत विभाग र अन्य कार्यालयहरू छन् । एउटा परियोजना निर्माण गर्न ३५ देखि ४० वटा कानुन छिचोल्नुपर्छ, ठोक्किनुपर्छ । त्यहाँबाट अपेक्षित समन्वय हुँदैन । यो विषय उठाएकै पनि २० वर्षभन्दा धेरै भइसक्यो । यो त हुँदै भएन । लगानीकर्तालाई सहजीकरण गरिदिनुपर्यो । सजिलो बनाउनुपर्यो । त्यो सजिलो बनाउने काम सरकारको हो । सरकार सञ्चालन गर्ने राजनीतिक पार्टीहरूको जिम्मेवारी हो । सहजीकरण गर्नका लागि भनेर सरकारले लगानी बोर्डको स्थापना गन्यो । त्यसलाई चुस्त बनाउने र सहजीकरणका लागि दीर्घकालीन रूपमै काम गर्न सक्ने गरी विकास गर्ने भनियो । ठुला परियोजनालाई यसले नै समन्वय गर्ने र साना योजनालाई उद्योग विभाग र अन्य निकायबाट अगाडि बढाउन खोजियो । तर, त्यो प्रभावकारी बनाउन सकिएको छैन । यसकारण सबैभन्दा आवश्यक भनेको एकद्वार प्रणालीको स्थापना र प्रभावकारी कार्यान्वयन नै हो । त्यो प्रणालीको अवरोधविहीन सञ्चालन लगानी ल्याउन अहिलेको सबैभन्दा प्रमुख आवश्यकता हो । भाषण गरेर लगानी यति भित्र्याउँछौं र अति भित्र्याउँछौं भन्नुको अब कुनै औचित्य देखिँदैन । लगानीको बुझाइमा फरक छ । लगानी भन्नाले निजी वा देशबाहिरबाट आउँछ । पैसा (नाफा) कमाउँछ र फर्किन्छ भन्ने धारणा छ । तर यस्तो हुँदै होइन । यथार्थमा लगानी भनेको हाम्रो आर्थिक विकासको अन्तर्निहित र अविभाज्य पक्ष हो । लगानीले नै आर्थिक विकास ल्याउँछ । अझ ऊर्जा विकासका लागि यो अत्यावश्यक भएर आउँछ । हामीसँग देशलाई आवश्यक भएको भन्दा बढी ऊर्जा उत्पादन गर्न सक्यौं भने त्यो बंगलादेश निर्यात गर्न सक्छौं, उसले चाहिरहेको पनि छ । त्यस्तै, राजनीतिक तहमा समझदारी भयो र अगाडि बढ्यो भने भारतमा पनि थप निर्यात गर्न सक्छौं । यसका लागि बजार छ भनेर देखाउने विषयमा हामीले र हाम्रो नेतृत्वले पहल गर्नुपर्यो । बजार नभई लगानी मात्र गर्न आइज भन्न पनि मिल्दैन । लगानी गरेपछि त्यो उत्पादन भएको वस्तु वा सेवालाई उपभोक्तासम्म पुग्नका निम्ति आवश्यक पूर्वाधार तयार गर्नुपर्यो । दुई देशबीच विद्युत् आयात वा निर्यात गर्ने प्रसारण लाइन बनाउनुपर्छ । संसारभरि नै लगानीलाई गम्भीरताका साथ लिने गरिएको छ । लगानीकर्तालाई के गर्दा आकर्षित गर्न सकिन्छ भन्नेमा अधिकांश देश सचेत रहन्छन् र त्यसैअनुसार लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रमहरू सार्वजनिक गर्ने गर्छन् । अधिकांश देशमा अवरोधविहीन एकद्वार प्रणाली कार्यान्वयन गरिएको छ । विभिन्न छुट र ‘अफर’ पनि दिइएको छ । तर, नेपालमा हामीलाई विकास नै चाहिँदैन जस्तो गरेर व्यवहार गरिएको छ । हामीसँग छ र त्यो छ भनेर खाली गफ मात्र वा भाषण मात्र गर्छाैं । केहीअघि मात्र दूरसञ्चार कम्पनी एनसेलको विषय आयो । हामी गफ गर्नमा माहिर छौं । संसदीय समितिहरूमा पनि गरमागरम छलफल गछौं । ‘एक्सन’ लिनुपर्छ’ भन्छौं । देश निकाला गर्नुपर्छसम्म भन्छौं । तर, मुलुकको विकासचाहिँ कसले गर्ने हो । त्यसका लागि जिम्मेवारको हुन् को भन्ने बारे हामीले सोचेका छैनौं । कतै भएको कानुनी व्यवस्थाभन्दा विपरीत भाउ भएको छ भने त्यसलाई गिजोल्ने होइन, सरकार र संसदीय समिति पनि एउटै स्वर आउनुपर्छ । एउटै मत आउनुपर्छ । मिडियाअनुसार रिपोर्टिङ हुने, कुल या भनेर छुट्याउनसमेत कठिन पर्ने अवस्था सिर्जना गरेको छ । यसले आरोप प्रत्यारोप र तथ्यमा आधारित हुनभन्दा पनि हल्ल्लामा कराउने र बहस गर्नुभएन । यस्तो अवस्थाले लगानीकर्तालाई भय उत्पन्न गराएको छ । कुनै लगानीकर्ताले लगानी र अर्को सरकार आएपछि के गर्ने हो भन्ने आशंका र भयरहिरहने भयो । यसले समग्रमा अन्तर्राष्ट्रिय मञ्चमा दिने सन्देश पनि सकारात्मक हुँदैन । कारण हामीले देशभित्र कुनै पनि परियोजनाको विषयमा वा कम्पनीको विषयमा यथार्थमा आधारित, तथ्य र कानुनी व्यवस्थालाई आधार बनाएर सञ्चार गर्नुपर्छ । एउटै आवाज जानुपर्छ वा हुनुपर्छ । कुनै परियोजना वा कम्पनीमा समस्या आउँछन् । त्यसको बारेमा संसदीय समितिहरूमा छलफल हुन्छ । तर, निष्कर्षसहितको एकमतको निर्णय आउँदैन । आफू शक्तिकेन्द्रमा रहेर अरूलाई दुःख दिने काम मात्र भएको छ । संसदको सार्वजनिक लेखा समिति होम् वा पूर्वाधार समिति, तिनीहरूले लगानीका के कस्ता समस्या छन्, कसरी समाधान गर्न सकिन्छ भनेर लगानीकर्तालाई बोलाउनु, विषयलाई गहिराइमा पुगेर र समाधानका लागि पहल गरुन । समाधानको साधक बन्नुपर्ने हो । तर, यो मुलुकका कलाहरू एक-अर्काबीच’ गोमा अगाडि बढिरहेको जस्तो लाग्छ । नेपाल आफैँमा सम्भावनायुक्त मुलुक छ । विविध क्षेत्रमा लगानी आउन सक्छ । सरदृष्टियुक्त नेतृत्व हुने हो भने नेपाली उत्कृष्ट फलोअर हुन् । राम्रो नेतृत्व हुने हो भने नेपालीहरू विकास निर्माणमा पनि लाग्छन् । विश्वका विभिन्न देश जस्तै–अमेरिका, मध्यपूर्व, मेसियालगायत ज्यान दिएर काम गरेका छन् । त्यसैगरी आफ्नै मुलुकमा गर्न सक्छ । तर, त्यो बाटो देखाउने मानिस चाहिएको छ । जनतालाई लगानीको बारेमा बुझाउन सक्नु पर्छ । लगानीबाट कसरी देशलाई फाइदा हुन्छ भनेर बुझनुपर्छ । जुन देशमा गए पनि नेपालीले काम गरेनन् भनेर सुन्नुपर्दैन । काम गर्ने, इमानदार भनेको सुनिन्छ, तर आफ्नै देशमा भने सबैतिर भताभुंग छ । अहिले नेपालमा लगानी भन्यो कि त सबैको आँखा लाग्ने विषय भएको छ । लगानी गर्न पनि नदिने र लगानी गरेपछि जान पनि नदिने गरिएको छ । यसरी चल्दैन । संसार कहाँ पुगिसक्यो । लगानीकर्ता सहजीकरण गर्न होइन, दोहन गर्न सबै अग्रसर हुने, कमिसन खोज्ने प्रवृत्ति भयो । जहाँ पुग्यो खर्च गर्नुपर्ने भएपछि त्यो परियोजना राम्रोसँग बन्दैन । यो संसारभर नै देखिएको छ । यसकारण माथिल्लो तहदेखि तल्लो तहसम्म यस्ता कमजोरीलाई सुधार गरेर लगानी भित्र्याउन सक्छौं । उनीहरूलाई बलियो साथ दिने र सहजीकरण गरिदिने, हातेमालो गरेर, उनीहरूलाई आवश्यक भएका कुरा बुझेर सहयोग गर्न सक्छौं । अन्य परियोजनाभन्दा जलविद्युत् आयोजनामा धेरै वटा जोखिम हुँदाहुँदै पनि विद्युत् खरिद सम्झौता भएपछि आयोजना बन्ने र त्यसबाट आउने प्रतिफलले कर्जा तिर्छ भन्ने विश्वास गरिन्छ । पीपीए भएपछि लगानीको भुक्तानी सुनिश्चित हुन्छ । तर, जगा प्राप्तिदेखि हाइड्रोलोजीदेखि इलेक्ट्रोमेकानिकलसम्मका समस्या आउन सक्छ । भारतसँग पछिल्लो पटक १० हजार मेगावाट विद्युत दीर्घकालीन रूपमा व्यापार गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ । त्यस्तै, बंगलादेश उतिकै इच्छुक छ । यसकारण पनि छिटोभन्दा छिटो आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्नुपर्ने आवश्यकता छ । त्यो हाम्रै हितमा हुन्छ । जनताको तहमा विषयलाई बुझाउने विषय पनि महत्वपूर्ण छ । अहिले धेरै वटा परियोजनाबारे स्थानीयलाई बुझाउन नसक्दा वा नआउँदा पनि समस्या आएको छ । कतिपय अवस्थामा त आयोजनावारे नबुझाउँदा राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल सूचना जारकारी गराउने र स्थानीयलाई उम्र बनाउने समेत गरेका छन् । यो दुर्भाग्यपूर्ण छ । उदाहरणका लागि फलानो ठाउँमा आयोजना बनायो भने त तपाईंका सबै बाख्रा, गाई, भैंसी जल्छन् भनिदिएको छ, अन्य के के भनिदिएको छ । यसले अवरोधलाई बढाउन सहयोग पुगेको छ । लागत बढाएको छ । विकासमा अवरोध भएको छ । कतिपय राजनीतिक नेतृत्वले समेत त्यो परियोजनाबारे बुझेको हुँदैन । तर, भड्काइरहेको हुन्छ । अर्कातर्फ नेतृत्वबीच पनि एकमत नहुँदा त्यो जनतामा पनि प्रतिम्वित भइरहेको छ । अवरोधकलाई हटाउनुको साथै नेतृत्वमा एउटा रणनीतिक योजना पनि हुनुपर्छ । कुन-कुन आयोजना निर्माण गर्ने स्पष्ट हुनुपर्यो । सार्वजनिक गर्नुपर्यो । ती आयोजनामा लगानीका लागि जसको नेतृत्वमा सरकार आए पनि फरक धारणा हुनुभएन । एउटा आएर रोक्ने, अर्को आए अगाडि बढाउने भन्ने नै गर्नुहुँदैन । संसारमा कहीँ पनि यस्तो गर्न मिल्दैन । जहाँ यस्तो गरिएको छ, त्यो देशले ठुलो मूल्य चुकाउनुपर्छ । अर्कातर्फ कस्ता-कस्ता आयोजना बनाउने हो, कस्ता कस्ता योजना नेपाललाई चाहिन्छ, कस्ता योजना निर्यात गर्नका लागि निर्माण गर्ने भन्ने विषयमा सबै राजनीतिक पार्टीमा एकमत हुनुपर्छ । यसले जुन पार्टी सत्तामा आए पनि परियोजना अगाडि बढाउन रोकावट नहोस् । यसले रोक्छ कि भन्ने त्रास नहोस् । त्यस्तो अवस्था सिर्जना गरियो भने जनताले पनि विरोध गर्ने सम्भावना हुँदैन । तर, एउटा पार्टीले विरोध र अर्कोले समर्थन गर्ने बित्तिकै जनता अलमलिन्छन् र शंका उत्पन्न हुन्छ । यसले परियोजना अगाडि बढाउन साँच्चिकै कठिनाइ हुन्छ । अर्को महत्वपूर्ण विषय भनेको कुन तहको सरकारले परियोजना निर्माण गर्दा कस्तो भूमिका खेल्ने हो भन्ने विषय पनि स्पष्ट हुनुपर्छ । अहिले अस्पष्टताले पनि धेरै विषय बिगार्नमा भूमिका खेलेको छ । संघ, प्रदेश, पालिकाको भूमिका र दायित्व व्यावहारिक रूपमा नै स्पष्ट भएपछि अवरोधहरू घट्दै जानेछन् ।अहिले कर्मचारीतन्त्रमा कर्मचारी काम गर्नभन्दा काम नगर्नतर्फ बढी अग्रसर हुने गरेका हुन्छन् । काम गर्दा नियमाकीय निकायको दृष्टि पर्छ र बयान दिन जानुपर्छ भन्ने त्रास देखिन्छ । तर, अन्योलमा सधैँ रहनुहुँदैन । गर्ने हो वा नगर्ने हो भन्नेबारे एउटा निर्णयमा भने पुग्नुपर्छ । अर्कातर्फ अदालतदेखि लिएर जनतासम्मलाई विषयवस्तुबुझाउने विषयमा पछि परिरहेका छौं प्रभावकारी सञ्चार गर्न सकिरहेका छैनौं । यसमा पनि कतिपय विषय प्राविधिक हुन्छन् । जलविद्युत् जस्तो प्राविधिक विषयको बारेमा सूचित गर्ने र बुझाउने विषय पनि उत्तिकै महत्वपूर्ण छ अदालतले पनि प्राविधिक विषय बुझ्ने र नबुझेको विषयमा विज्ञलाई बोलाएर स्वतन्त्र रूपमा बुझाउन लगाउने विषयलाई प्राथमिकता दिनुपर्छ । परियोजनामा कुनै विषय आयो भने अदालतले अन्तरिम आदेश दिन्छ र केही वर्षसम्म पनि अन्तिम फैसला दिँदैन । आयोजना रोक्नु भनेको पनि नोक्सान हो । ढिलो निर्माण गर्दा पनि देशलाई नोक्सान हुन्छ । यसरी भइरहेको नोक्सानको जिम्मेवारी कसले लिने ? यस्ता विषयमा बहसको आवश्यकता छ तर, बहस हुँदैन । किनकि ठुला परियोजना निर्माण गर्दा खर्च हुने भनेको जनताले नै तिरेको रकम हो । यसतर्फ गम्भीर हुनुपर्ने समय भइसकेको छ । (पन्त लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा विरोक एण्ड कम्पनीका अध्यक्ष हुन्, साभार ऊर्जा समृद्धि )
‘हात नहाल्नुस्, म बैंक लुट्न आएको होइन’
ब्लग । सुरुमा सँगैको तस्बिरको व्याख्या गरौं । माघ ७ गते आइतबार साँझपख खिचिएको फोटो हो यो । जहाँ एभरेष्ट र कुमारी बैंकका शाखा जोडिएका छन् । जहाँ दुवै बैंकका ‘नाइट भिजन’ साइन बोर्ड देख्न सकिन्छ । सँगै दुवै बैंकको एटीएम बोर्ड पनि देख्न सकिन्छ । एभरेष्ट बैंकको एटीएम खुला छ । कुमारी बैंकको एटीएममा सटर लागेको छ । सटरमा ताला पनि लगाइएको छ । तस्बिरमा तीन जना महिला फुटपाथमा हिँड्दै गरेको देखिन्छ । अनुमान गर्न सकिन्छ कि उनीहरू काम सकेर घर फर्कदैछन् । तर, यस सन्दर्भमा ती यात्रीहरू प्रधान पात्र होइनन् । साँझ बागबजारमै रहेको युनिटी क्याफेमा कफी पिएको थिएँ । पर्समा पैसा सकिएछ, त्यहाँ क्यूआरबाट भुक्तानी गरेँ । सबैतिर मोबाइलबाट भुक्तानी सम्भव हुँदैन । थोरै भएपनि पर्समा नगद बोक्नै पर्ने बाध्यता छ, राजधानीकै जीवनशैलीमा पनि । साविकको एनसीसी बैंक मुख्य कार्यालय (हाल कुमारी बैंकको बागबजार शाखा) मा खाता खोलेर कारोबार गर्न थालेको एक दशकभन्दा बढी समय भयो । यो बैंकमा लामो समय कारोबार गर्नुमा दुइटा कारण छन् । पहिलो, आफ्नो कार्यालय बागबजारमा खुल्दा एनसीसी बैंक मात्र थियो बागबजारमा । दोस्रो, पछि बागबजारमा अरू बैंकका शाखाहरू खुले पनि एनसीसी बैंकको मुख्य कार्यालय भएकोले सुविधा अलि सहज हुन्छ भन्ने लाग्यो । यसैमा निरन्तर कारोबार गरियो । एनसीसी र कुमारी मर्जपूर्व कुमारी बैंकको पुतलीसडक शाखामा पनि खाता खोलेको थिएँ । मर्जपछि पुतलीसडकको शाखामा खाता बन्द गरेँ । बागबजारमा कारोबार निरन्तर चल्यो । नियमित कारोबार गर्नेलाई बैंकका पुराना कर्मचारीले पनि चिन्ने । केही पर्यो भने पनि लौन भन्न पाइने । कुमारी बैंकको बागबजार शाखामा दुइटा एटीएम छन् । एउटा मुल सडकमा, अर्को काउन्टरमा । कहिलेकाहीँ एउटा एटीएमले काम नगर्दा अर्को एटीएमबाट कारोबार गर्न पाउने सुविधा यहाँ छ । कार्यालय समय अघिपछि वा शनिबार पनि यस बैंकको काउन्टरमा रहेको एटीएम प्रयोग गर्न पाइन्थ्यो, पछाडिपट्टिको सानो गेट प्रयोग गरेर । गत आइतबार साँझ मुल सडकको एटीएममा सटर लागिसकेको रहेछ । भित्रको एटीएम प्रयोग गर्न पछाडिपट्टिको सानो गेटबाट भित्र छिर्दै थिएँ । सुरक्षा गार्डले स्टाफ हो भनेर सोधे । मैले ‘होइन’ भनेँ । ‘बैंक बन्द भयो, अब भित्र जान पाइँदैन,’ गार्डले भने । मैले एटीएम प्रयोग गर्ने बताएँ । गार्डले पाइन्न नै भने । मैले विगतमा पाइन्थ्यो, म नियमित आइरहने ग्राहक हुँ भनेर भित्र छिर्न दिन आग्रह गरेँ । दुई जना सुरक्षा गार्ड थिए । दुबैले पाइन्न नै भने । बैंकको काउन्टर बन्द भएसँगै एटीएम सेवा पनि बन्द गर्न र ग्राहकलाई भित्र छिर्न नदिने बैंकले निर्देशन दिएको उनीहरूले बताए । साँझ भइसक्यो, मलाई जरुरी परेर हो । थोरै पैसा निकाल्नुछ भनेर अलि बढी जोड दिएँ । गार्डले भित्र छिर्न दिएनन् । तालिम प्राप्त नभएका सुरक्षा गार्डले घर फर्कन भन्दै धकेल्ने खाेजे । ‘हात नहाल्नुहोस्, म बैंक लुट्न आएको होइन । मेरो खाताबाट पैसा निकाल्न आएको हुँ । गेट बन्द थियो भने म फर्कन्थें । खुला भएकोले एटीएम सेवा लिन चाहेको हुँ,’ मैले आफ्ना कुरा भनेँ । यत्तिकैमा बैंक ड्रेसमा रहेका एक स्टाफ गेटमा आए । उनले पनि गार्डले भनेझैं काउन्टर बन्द भएपछि एटीएम सेवा बन्द हुने तर्क गरे । समस्या भएको भए सँगै भएको एभरेष्ट बैंकको एटीएम प्रयोग गर्न सुझाव दिए । लगत्तै, गार्डले गेटमा ताला लगाउन लागे । मैले फोटो खिच्न अनुमति मागेँ । उनीहरूले ‘हुन्छ’ पनि भने । गेट लगाउँदै गरेको तस्बिरहरू खिचेँ । एटीएम सेवाबारे ममा भएको चेतना र बैंकका सुरक्षाकर्मीहरुको क्रियाकलापबीच व्यापक बेमेल थियो । यो तस्बिरको विशेष महत्व हुने नै भयो । गेट लगाउँदै गर्दा सुरक्षाकर्मीले माथिको आदेश आएमा खोल्ने पनि बताउँदै थिए । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा, प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल लगायत उच्च तहका धेरै व्यक्तिसँग मेरो चिनजान मात्र होइन, मित्रवत सम्बन्ध नै छ । ‘सामान्य एटीएम सेवा लिनको लागि के सोर्सफोर्स लगाउनु ? भैगो’ खिन्न र भारी मन बोकेर म फर्कें । बाहिरिँदै गर्दा बैंकको त्यो ठूलो भवनमा एक नजर पर्यो । बैंक भित्र झलमल्ल बत्ति बलिरहेका थिए । भित्र कर्मचारीहरू काम गरिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । सोही शाखामा काम गर्ने सरिता केसीको याद आयो । भित्रै छन् कि भनेर फोन लगाएँ । उनी अफिसबाट निस्किसकेकी रहिछन् । उनले पनि अरू बैंकको एटीएम प्रयोग गर्न सुझाव दिइन् । सँगै रहेको एभरेष्ट बैंकको एटीएमबाट पैसा निकालेर म फर्कें । सडक पार गर्दै गर्दा खाता नै नभएको एभरेष्ट बैंकको एटीएम सेवाप्रति मनमा सद्भाव पलायो । तर, कुमारी बैंकप्रति असन्तोष मडारियो । सडक पार गरेपछि सँगै रहेका दुइटै बैंकको साझा फोटो खिचेँ । सोही दिन बिहान बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरणहरू हेरेको थिएँ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले वृद्धि भएको विवरण प्रकाशित गरेको थियो भने कुमारी बैंकले नाफा १४.३१ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको थियो । राम्रो सेवा दिने बैंकको वित्तीय विवरण राम्रो हुने हो । नराम्रो सेवा दिने बैंकको वित्तीय विवरण खराब हुने हो । सिद्धान्त, व्यवहार र परिणामबीच गज्जबको तालमेल यही पाइन्छ । किताबका ठूला ठेली पढ्नै पर्दैन, ठूला अनुसन्धान पनि गर्नै पर्दैन । यो फोटो अर्थपूर्ण लाग्यो । बैंकका सीईओ रामचन्द्र खनाललाई ह्वाट्सएपमा पठाइदिएँ । तस्बिरसँगै एउटा शब्द पनि टाइप गरिनँ । ‘जुङ्गा चल्यो कि कुरा बुझ्यो’, सायद खनालले कुरा बुझे हाेलान् । जवाफमा उनले भने, ‘हस्’ (Huss) । एउटा अनुभूति लेख्न मन लाग्यो । दुई दिनपछि समय जुर्याे । एटीएम सेवा कति बजेदेखि कति बजेसम्म दिने भन्ने बारे बैंकको नीति के रहेछ ? मंगलबार साँझ बैंकका सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत मुकुन्द सुवेदीलाई सोधेँ । उनले भने– ‘राजधानीसहित देशभरका सहरी क्षेत्रमा २४सै घण्टा एटीएम सेवा खुला हुन्छ, सुरक्षाको दृष्टिकोणले उच्च जोखिम भएका पहाडी इलाकामा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र एटीएम खुला राख्ने बैंकको नीति छ ।’ बागबजार शाखामा काउन्टर बन्द भएसँगै एटीएम सेवा बन्द गर्ने भन्ने बैंकको नीति नभएको उनले जानकारी गराए । तर, भनाइ र व्यवहारमा मेल खाएन । सुधार गरे बैंकलाई नै लाभ हुनेछ ।
अत्यधिक तनावले गर्दा युवावस्थामै हुन्छ मधुमेह
मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा निश्चित स्तरभन्दा माथि जान सक्दैन । शरीरभित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज ग्रन्थीको हो । प्याक्रियाजले आवश्यक मात्रामा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिनसँग कोषले प्रतिक्रिया जनाउन सकेन भने रगतमा चिनीको मात्रा बढ्न जान्छ । लामो समयसम्म रगतमा चिनीको मात्रा बढिरह्यो भने मुटु, मिर्गौला, आँखा, खुट्टालगायत विभिन्न अङ्गमा हानि पुग्दछ । केही वर्षयता विश्वव्यापी रुपमा मधुमेहका रोगी सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । सन् १९८० पछिको तथ्याङ्कलाई हेर्ने हो भने १८ वर्षमाथिका चार प्रतिशतमा मधुमेह देखिएको थियो । यो समस्या अहिले साढे आठ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ । सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा झन्डै ४२ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ । । विश्वमा करिब २२ करोड मानिस मधुमेह रोगबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो सङ्ख्या दोब्बर हुने डब्लुएचओले जनाएको छ । विश्वमा रोगबाट मर्नेहरुमध्ये पाँच प्रतिशत मधुमेहका रोगी छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको सङ्ख्या ५० प्रतिशतले बढ्नेछ । सन् २०३० सम्ममा १७ वर्षमुनिका मानिसको मृत्यु दरमा मधुमेहको हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपालमा पनि प्रत्येक घरमा मधुमेहका रोगी बढिरहेका छन् । कति रोगी छन् भन्ने तथ्याङ्क नभए पनि झन्डै आठ प्रतिशत मानिसलाई मधुमेह हुनसक्ने अनुमान गरिएको छ डब्लुएचओले नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करिब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करिब १९ प्रतिशतलाई मधुमेह लागेको तथ्याङ्क स्वास्थ्य विभागले दिएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । पहिले–पहिले मधुमेह ४० वर्ष कटेपछि हुन्थ्यो भन्ने भनाइ थियो । बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ । बूढेसकालमा लाग्ने रोग भनिने यो रोग अहिले ३०–३५ वर्षभित्रै मधुमेह देखिन थालेको छ । अस्वस्थकर जीवनशैली, पत्रुखाना, अत्यधिक तनाव आदिले गर्दा अहिले त युवावस्थामै मधुमेह हुन्छ । मधुमेहका धेरै हुन्छन् । मधुमेहलाई मुख्य दुई प्रकारमा हेर्न सकिन्छ । पहिलो प्रकारमा शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषमा चिनीलाई नियन्त्रण गर्दछ । दोस्रो प्रकारको मधुमेह प्रायः ४०–५० वर्ष उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरैमा हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिलाई हुन्छ यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । खानपान, जीवनशैली र भौगोलिकतासँगै वंशाणुगत मधुमेह रोग लाग्छ । वातावरणीय कारण खानपान, तनाव मात्र होइन, प्रदूषण, खाद्यान्न उत्पादनमा रासायनिक मलको प्रयोग पनि मधुमेहसँग जोडिएको पाइएको छ । मोटोपन भएका मानिसमात्र होइन, स्वस्थकर खाना नभएर, कुपोषण भएकालाई पनि मधुमेह हुनसक्छ । आमालाई कुपोषण हुँदा पनि उनीबाट जन्मिएको बच्चालाई पछि मधुमेह हुनसक्छ । गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ । कतिपय मानिसमा वंशाणुगत कारण पनि मधुमेह हुने गर्दछ । मधुमेह भएको बिरामीमा पटकपटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, सङ्क्रमणहरु निको नहुने, पानी प्यास लाग्ने हुन्छ । झन्डै ५० प्रतिशत व्यक्तिमा त यसको लक्षण नै देखिँदैन । लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । त्यस्ता व्यक्तिहरुमा पनि केही लक्षणहरु जस्तै : बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनेजस्ता लक्षणहरु देखिन्छ । जोखिम मधुमेह हुँदैमा डराइहाल्नु पर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौँ । यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको विकल्प नै छैन । जीवनशैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिइएन भने मधुमेहको समस्याबाट टाढा रहन सकिन्छ । धेरै मानिसहरु मधुमेह भएको पत्ता लाग्नासाथ डाक्टरको सल्लाह लिनुभन्दा आत्तिने वा अनेक घरेलु औषधितिर लाग्ने गरेको देखिन्छ । यसले रोग निको हुनुभन्दा झन् जटिल बनाउने हुन्छ । बिरामीलाई पहिलो प्रकारको मधुमेह भएको छ भने इन्सुलिनको सुई दिनुपर्ने हुन्छ भने दोस्रो प्रकारको मधुमेहमा चिकित्सकले बिरामीलाई खानपानमा अपनाउनुपर्ने सावधानीका बारेमा बताउँछन् र सँगसँगै रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्नका लागि खाने गोली पनि दिन सक्छन् । सावधानीका उपाय मधुमेहको लक्षण देखिएमा वा नदेखिएमा पनि जाँच गरेर पे्रसर, सुगर र कोल्डस्टोर सुरक्षित घेराभित्र राख्नुपर्छ । यो भनेको नराम्रो र महँगो पर्ने रोगबाट जोगिने उपाय हो । गुलिया खानेकुरा शरीरका लागि हानीकारक हुन्छन् । बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ । गुलिया मिठाई मात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेयपदार्थमा पनि फ्रुक्टोसिरफ भन्ने हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । विश्वका एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखिएको थियो । मधुमेह मात्रै होइन, जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य छ । हाम्रा शरीरका सबै अङ्गलाई राम्ररी चलाउनुपर्छ । दिनमा एक घन्टा वा कम्तीमा आधा घन्टा हिँड्नैपर्छ । मधुमेहबाट बच्ने अर्को सावधानीको उपाय भनेको तनावलाई कम गर्ने हो । तनावबाट पूर्ण रुपमा मुक्त हुन सकिँदैन तर, कम गर्न सकिन्छ । खुसी रहन, हाँस्न प्रयत्न गर्नुपर्दछ । दुखी रह्यो भने सुगर व्यवस्थापन गर्न गाह्रो हुन्छ । तनावमा भएका बेला सुगरको मात्रा ह्वात्तै बढ्छ । तनावमा कर्टिसोल नामक हर्मोन निस्कन्छ र यसले सुगर निकाल्छ । त्यसैले सकेसम्म हामीले तनावलाई घटाउनुपर्छ । अचेल मधुमेह नाप्ने यन्त्र ग्लुकोमिटर पनि सस्तैमा पाइन्छ । बेला–बेला सुगर चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, कोलेस्टोर, उच्च रक्तचापको परीक्षण गरिरहनुपर्छ । त्यस्तै, नियमित औषधि सेवन गर्नुपर्छ । पछि गएर अन्धोपन नहोस्, मुटुरोग, यौन दुर्वलता आदि नहोस् भनेर औषधि दिइएको हुन्छ । औषधिले खासगरी सुगर घटाउन र कोलेस्टोर, उच्च रक्तचाप सन्तुलित राख्न मद्दत गर्दछ । सुगर घटाउने, पे्रसर घटाउने र मुटुरोगबाट जोगाउने अत्यावश्यक औषधि भनेर सरकारले निःशुल्क वितरण गर्ने लिस्टमा राखेको छ । औषधिमा पहुँच भएपछि यो हानिकारक होइन भनेर आम सर्वसाधारणले बुझिदिनुपर्छ । मधुमेहलाई सुरुदेखि नै लापरबाही गरियो र उपचार गराइएन भने मुटु, मिर्गौला, आँखा, नसाजस्ता महत्वपूर्ण अङ्गमा असर गर्नाका साथै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ । के खाने के नखाने ? मधुमेहका बिरामीले खानपिनमा निकै ध्यान दिनुपर्छ । खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौँ भने मधुमेहबाट जोगिन सक्छौँ । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ तर सागसब्जी बढी र अन्न कम अर्थात् दुई मुठीमा अटाए जति खाने । माछामासु हत्केलामा अटाए जति दुई–तीन पिस खान सकिन्छ । तर कुखुरालगायत दुईखुट्टे पन्छीको सेतो मासु खानुपर्छ । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मधुमेहका बिरामीले एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने गर्नुपर्छ । तेलको मात्रा निकै कम गर्नुपर्छ । दाल, तरकारीमा बूढी औँलाको टुप्पामा अट्ने जति मात्र तेल प्रयोग गर्ने गरेमा त्यसले हानि गर्दैन । दूध–दही, फलफूलको पनि मात्रा मिलाएर खाइरहनुपर्छ । यो नै सन्तुलित भोजन हो, यसले अन्य रोगबाट पनि बच्न मद्दत गर्छ । सकभर तारेको खानेकुरा नखानु नै राम्रो हुन्छ । त्यस्तै, मिठाईलगायत गुलियो खानेकुरा, कोक–फेन्टालगायत पेय पदार्थ पनि खानु हुँदैन । यति कुरामा ध्यान दिन सकेमा मधुमेहको समस्या कम भएर जानेछ । यी कुरामा आम सर्वसाधारणले ध्यान दिन आवश्यक छ । सानो लापरबाहीले जीवनभर औषधि खानुपर्ने वा सुई लगाउनुपर्ने समस्याबाट मुक्त हुन सकिन्छ । रासस (मधुमेह तथा हर्मोन रोग विशेषज्ञ एवं मेट्रो काठमाडौँ हस्पिटलका प्रबन्ध निर्देशक डा. भट्टराईसँग कृष्ण अधिकारीले गरिएको कुराकानीमा आधारित)