विदेश जाने भन्ने पनि सपना हुन्छ ? रञ्जित आचार्यको विचार

पढ्न जानको लागि, काम गर्नको लागि देश छाड्ने त वर्षेनी लाखौं छन्, जो हामीले देखिरहेका छौं । त्यतिमात्रै होइन, मासिक रुपमा ८० हजारदेखि एक लाख कमाउने स्थापित पारिवारका, जागिर खाइरहेको रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरु पनि नेपालबाट पलायन भइरहेका छन् । हामीले धेरै लेखाजोखा गरिरहेका छैनौं, तर डिभी परेर जानेहरु बाहेक पनि यहाँ भएको सम्पत्ति बेचेर केही सम्पत्ति हातमा राखेर सधैँलाई विदेश नै जाने भनेर परिवार लिएर पनि विदेशीइरहेका छन् । यस्तो संख्या जति भएपनि काम गर्नसक्ने, अनुभवी, दक्ष जनशक्ति हो, जसले आफूले काम गरेर देशको विकासको लागि केही परिणाम दिनसक्ने जनशक्ति हो । यदी हामीले समस्याको कुरा गछौं भने देशभरी नै समस्या छ । हामीले सरकारले केही गरेन भन्छौं, नेताहरुले केही गरेन भन्छौं, गाली गर्छौं । यहाँ के लाग्छ भने नेताहरुलाई किन गाली गर्ने ? यी नेताहरुले केही गरेको भए पो गाली गर्ने । यिनले त केही त गरेका छैनन् किन गाली गर्ने ? यहीँ नै सकारात्मक कुरा के छ भने यिनले केही नगरेकै कारणले कहिँ न कहीँ न कहीँ हाम्रा लागि अवसर छन् । सरकारले राम्रा स्कुल चलाइदिएको भए निजी स्कुल नै चल्दैनथे । मैले नै स्कुल नै सञ्चालन गर्दैनथेँ होला, इन्स्टिच्युट सञ्चालन गर्दैनथेँ होला । सरकारले बेलैमा हाइड्रो क्षेत्रमा लगानी गरेर बिजुली उत्पादन गरेर लोडसेडिङको अवस्था सिर्जना नभएको भए आजको दिनमा जसरी निजी क्षेत्रले हाइड्रो पावरमा लगानी गरिरहेको छ, यो अवस्था नै सिर्जना हुने थिएन । त्यस्तै, स्वास्थ्य लगायत जतिपनि क्षेत्रहरु सरकारले नै गर्नुपर्ने हो त्यसमा पनि सरकारले केही नगरेको कारणले आज निजी क्षेत्रले ती क्षेत्रमा पनि अवसर देख्ने अवस्था सिर्जना भएको हो । मुख्य विषय उपभोक्ताले के खोजेको पहिचान गर्नसक्नुपर्यो । उदाहरणको रुपमा गोल्डस्टार कम्पनीले उपभोक्ताले खोजेको गुणस्तर र आकर्षणलाई ख्याल गरेर अहिले २५ सय तीन हजार मूल्यसम्मका जुत्ताहरु बजारमा ल्याएको छ । जसलाई नेपालीहरुले पनि लगाइरहेका छन् । त्यसैले सम्भावनालाई पहिल्याउन सक्यो भने अवसर छ । अहिले आर्थिक मन्दीको कारणले गर्दा बजारमा सुस्तता आएको छ होला, उपभोक्ता र व्यवासायीहरु अलिक निराश भएका होलान् । यो लामो समयसम्म टिक्नु हुँदैन । यसको लागि नीति निर्माताहरु र सरोकारवालाहरुले अहिले नै केही न केही गर्नुपर्छ । सबैजनाले नारी छामिसक्यौं, बिमारी हो भनेर थाहा पाइसक्यौं । तर, औषधि खुवाउने कसैले जमर्को गरेको छैन । हामीलाई थाहा छ, नेपालमा धेरै नै ठूलो मात्रामा भ्रष्टाचार भयो । भ्रष्टाचार भएको कालोधन भयो भन्ने हामीलाई लाग्छ भने अब त्यो कालोधन बाहिर निकाल्ने उपाय हामीले गर्नुपर्छ । यदी हामीले त्यसो नगर्ने हो भने केही व्यक्तिहरुले त्यो धनलाई लुकाएर नै बस्नेछन् । हामीले भर्खरै सुनेका छौं, भारतमा डिमोनिटाइजेसन भएको विषय । यस्तो कुरा किन गरिरहेको छ भारतले ? हामीकहाँ पनि त्यो अवस्था आएको भने हामीले पनि गर्नसक्नुपर्छ । हाम्रो धेरै ऋण छैन, हाम्रो अर्थतन्त्र त्यति धेरै ठूलो छैन, त्यसैले यदी ऋण लिनसक्ने अवस्था हाम्रो हो भने ऋण लिएर पनि अवसर सिर्जना गर्नुपर्यो । त्यो ऋणलाई उत्पादित क्षेत्रमा लगानी गर्न सकिन्छ । राज्यले केही काम गर्नुपर्छ । उदाहरणको लागि कुनै बेला थियो । हामीले काठमाडौंमा कामको लागि अन्र्तवार्ता लिने बेलामा भक्तपुरको मान्छे आयो भने टाढाको भयो भनेर लिँदैनथ्यौं । कुनै बेला भक्तपुरको जुजु धौ दही खानको लागि भक्तपुर नै जानुपर्ने अवस्था थियो । जब सरकारले १४ किलोमिटर लामो ६ लेनको सडक बनाएपछि आज भक्तपुर काठमाडौं एउटै बनेको छ । त्यो १४ किलोमिटरको बाटो बनेपछि त्यसको क्षेत्र वरिपरि कति धेरै विकास भयो । कसले गर्यो त्यो विकास ? निजी क्षेत्रले गर्यो । भनेपछि यत्ति कुरा बुझिदिए त हुन्छ, राज्यले धेरै गर्नपर्ने रहेनछ, राज्यले पूर्वाधार विकास गरिदियो भने बाँकी सबै काम जनता आँफैले गर्छ । मात्रै राज्यले कस्तो पूर्वाधारमा खर्च गर्ने र त्यो पूर्वाधारको उत्पादकत्व कस्तो हुन्छ बुझेर गर्नुपर्छ । त्यसैले आजको युवापुस्ताको लागि मुलुकमा अवसर धेरै क्षेत्रमा छ, मात्रै अवसरलाई बुझ्नसक्नुपर्यो । सकारात्मक रुपमा अवसरको खोजी गर्न सक्यौं भने प्राप्त गर्न सकिन्छ । तर, समस्या कहाँनेर छ भने आजको युवापिँढीले सकारात्मक ढंगले हेरिरहेको छैन । युवाहरुलाई लाग्छ की यो देश छाडेर विदेश गयो भने मेरो लक्ष्य प्राप्ति हुन्छ । लक्ष्य के हो भने विदेश जाने । कसैको पनि विदेश जाने लक्ष्य हुन्छ र ? लक्ष्य भनेको त म विदेश गरेर काम गरेर कमाउने होइन, आफ्नै देशमा काम गरेर कमाउँछु र कुनैदिन ती देशहरुमा घुम्न चाहिँ जान्छु, परिवारलाई घुमाउन लिएर जान्छु भन्ने हुनसक्छ बरु । ज–जसले त्यस्तो लक्ष्य लिएका छन्, ज–जसले यही देशमा केही गर्न सकिन्छ भनेर आफ्नो तरिकाले केही गर्न खोजिरहेका छन्, उनीहरु सफल भएका छन् । पछिल्लो समयमा नेपालमा नै बसेर धेरै युवाहरुले विदेशी कम्पनीहरुको काम गरेर मासिक लाखौं रुपैयाँ पनि कमाइरहेका छन् । अहिले विदशको काम गर्नको लागि विदेशमा नै जानपर्ने अवस्था पनि छैन । जस्तो, हलिवुड, नेटफिल्क्स, आइटी लगायत धेरै त्यस्ता क्षेत्रहरु छन् । प्रविधिले गर्दा संसार साँघुरो भएको छ । तर, धेरैले त्यस्तो अवसरहरु देख्न सकिरहेका छैनन् । युवाहरुले त्यस्तो अवसर देख्न सक्न पर्यो । नेपाली उत्पादनहरुलाई नै लिएर काम गर्न सकिन्छ । यहाँनेर एउटा छलफल गर्नुपर्ने हुन्छ । सम्भावना देख्ने विषयलाई लिएर कुरा गर्दा आजको युवापुस्ता आफ्नो स्कुल कलेजको अध्ययनकै प्रकृयामा अलिकति चुकिरहेको छ । उदाहरणको रुपमा म विद्यालय तहमा पढ्दै गर्दा कक्षा ८ मा फेल भएँ । सो समयमा तीन महिना मेरो अध्ययनमा ग्याप हुने अवस्था सिर्जना भयो । सो बेलामा मैले हिमालयन कार्गोमा इन्टर्नसिप गर्न काममा जोडिएँ । त्यतिबेला मेरो पारिश्रमिक भनेको एउटा कचौरामा अण्डा हालेको चाउचाउ मात्रै थियो । मैले दिनभरी त्यहाँ छ घण्टा काम गरेँ । एसएलसी सकिएपछि मैले अर्को कम्पनीमा गएर काम गर्न थालेँ । मलाई तलबको मतलब थिएन, तर पाँच छ महिना काम गरेपछि मैले १२ सय रुपैयाँ तलब पनि पाउन थालेँ । अहिलेको युवापुस्तामा काम सिक्नको लागि प्यासनको अभाव देखिन्छ । काम जहाँ पनि रहेर सिक्न सकिन्छ । नजिकैको पसल, उद्योग, फार्म लगायत धेरै ठाउँहरुमा काम सिक्न सकिन्छ । उद्यमीहरुलाई थप श्रमिक चाहिएको छैन भपने उनीहरुले पारिश्रमिक पनि दिएर काम सिक्न नदिन सक्छन् तर, त्यस्तो ठाउँमा पारिश्रमिक नलिईकन काम सिक्न चाह्यो भने अवस्य पाइन्छ । कसैले दिन्न भन्दैन । त्यसो गर्दा समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ । आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ की एउटा उपभोक्ता भएर हेर्न सकियो भने यस्ता धेरै स्टार्टअप सम्भावनाहरुको विषयमा थाहा पाउन सकिन्छ । कतिपय अवस्थामा मानिसहरुले प्रयोग नै नगरिरहेका वस्तुहरुलाई लिएर पनि स्टार्टअप शुरु गर्न सकिन्छ । ‘उदाहरणको लागि कुनै एउटा स्थानमा मानिसहरुले जुत्ता नै लगाउँदैनथे, त्यो ठाउँमा जुत्ताको मार्केटिङ गर्ने क्रममा एउटा जुत्ता उद्योगबाट कर्मचारी पुगेछ । उसले कसैले पनि जुत्ता नलगाएको देखेपछि यहाँ हाम्रो उद्योगको काम छैन भनेर फर्किएछ । त्यसको लगत्तै जुत्ता उद्योगको मालिक त्यो ठाउँमा पुगेछ । उसले उद्योगबाट तुरुन्त एक ट्रक जुत्ता मगाएर सबैलाई निःशुल्क लगाउन दिएछ ।’ खाली खुट्टा हिँड्ने मानिसहरुले जब जुत्ता लगाए उनीहरले आनन्दको महशुस गरे । उद्योगले एकपटक निःशुल्क दिएको जुत्ता त सँधै टिक्दैन, त्यसपछि उनीहरुले खरिद नै गरेर लगाउन शुरु गर्छन् । यस्तै प्रकारका सम्भावना पनि हामीकहाँ हुनसक्छन् । त्यसैले अवसरको लागि गहिरिएर अध्ययन पनि गर्नसक्नुपर्छ । नेपालको चाउचाउको बजारमा अधिकतम् मूल्य ३० रुपैयाँ सम्मको पाइने अवस्थामा अहिले करेन्ट चाउचाउले ५० रुपैयाँमा चाउचाउ बेचिरहेको छ । अहिले करेन्ट चाउचाउको माग सबैभन्दा धेरै छ । करेन्टले के बुझ्यो भने नेपालीहरुले टाठोपिरो मन पराउँछन् । त्यसैले उसले सोही उपभोक्ता सर्वेक्षणको आधारमा काम गर्दा उ सफल भइरहेको छ । उपभोक्ताले हरेक समय वर्तमानमा उपभोग गरिरहेको भन्दा नयाँ खोजिरहेको हुन्छ । खाइरहेको कुरामा नयाँ स्वाद, लगाइरहेको कुरामा नयाँपन, यसलाई निड ग्याप भनेर बुझिन्छ । यो जब पत्ता लगाउन सकिन्छ । त्यहाँ व्यवसायको सम्भावना हुन्छ । यो विषय खोजेर अनुसन्धान गरेर थाहा पाउन सकिने विषय हो । स्टार्टअप व्यवसाय वा सफल आइडियाको कुनै प्रेस्किृप्सन हुँदैन, अथवा पूर्वनिर्धारित नियम हुँदैन । यो कुनै व्यक्तिको व्यक्तित्व विकाससँग जोडिएको विषय पनि हो । यो कुनै सफल व्यक्तिको जीवनी अध्ययन गरेर त्यसलाई पछ्याएर प्राप्त गर्न सकिँदैन । आजको दिनमा धेरै युवाहरुले भन्ने गर्छन आफ्नो प्यासन के हो भन्ने विषय नै थाहा भएन । उदाहरणको रुपमा एउटै कक्षामा गणित पढ्दा कुनै विद्यार्थीले शिक्षकलाई राम्रो मान्दैनत कुनै विद्यार्थीले राम्रो मान्छ । जसलाई गणित पढ्न आउँछ उसले शिक्षकलाई पनि राम्रो मान्छ, जसलाई गणित पढ्न आउँदैन उसले शिक्षक पनि राम्रो मान्दैन । यहाँनेर जसलाई गणित पढ्न इच्छा छ, उसलाई शिक्षक पनि मन पर्छ । अनि जसलाई गणित पढ्न मन पर्दैन उसलाई शिक्षक पनि मन पर्दैन । यहाँनेर कसैको पनि दोष छैन । तर, यहाँनेर जसलाई गणित पढ्न नै मन पर्दैन उसले साइन्स पढेर बैज्ञानिक बन्छु भन्ने उद्देश्य राख्यो भने उसको कति गल्ति हुन्छ ? त्यसैले विद्यार्थीले आफूले पढ्दै गर्दा कुन कुरा सहज हुने गर्दथ्यो त्यही कुरामा अगाडि बढ्न खोज्यो भने उ सफल हुने सम्भावना रहन्छ । जसले प्यासनमा काम गर्छ, उसले काम नै गर्नुपर्दैन । किनकी उसको त्यो प्यासन हो, इन्ट्रेस्ट हो । तर, यो पत्ता लगाउनु चाहिँ पर्छ । त्यसको लागि कहिले पसलमा काम गर्न सकिन्छ, कहिले उद्योगमा काम गर्न सकिन्छ, रेष्टुरेन्ट र कहिले फार्ममा काम गर्न सकिन्छ । विभिन्न ठाउँहरु छन् जहाँ गएर निःशुल्क रुपमा सिक्न सकिन्छ । तर, आफ्नो क्षमताको पहिचान गर्नको लागि अन्वेषण चाहिँ गर्नुपर्ने हुन्छ । घरमै बसेर थाहा हुन्छ, कुनैदिन आउला भनेर चाहिँ हुँदैन । सरल र सहज पनि हुँदैन । उदाहरणको लागि पेन्सिलको उपयोगिता तब हुन्छ, जब जब त्यसलाई मेसिन प्रयोग गरेर तिखो बनाइन्छ । युवाहरुलाई लक्षित गरेर स्टार्टअप व्यवसायको वातावरण सिर्जना गर्नको लागि राज्यको पनि महत्वपूर्ण दायित्व हुन्छ । स्टार्टअपको नीति बनाउने, नीति अन्तर्गत प्रोत्साहन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई तालिम दिने, वातावरण बनाइदिने, लगायतका कामहरु राज्यले गर्नुपर्छ । अहिले हामी सरोकारवाला सबै लागेर उद्योग मन्त्रालयलाई नीति बनाउन लगाएका छौं । नीति बनेको अवस्था छ । त्यो नीतिमा सहुलियतपूर्ण कर्जा, कर निःशुल्क, दर्ताको एक झ्याल नीति लगायतका विषयहरु समावेश गरिएको छ । सो नीति ८० प्रतिशत कार्यान्वयनमा आउँदा पनि आगामी १० वर्ष भित्रमा स्टार्टअपको क्षेत्रमा ठूलो परिवर्तन हुने अनुमान गर्न सकिन्छ । ठूलो संख्यामा युवाहरुलाई प्रोत्साहन गर्छ । अर्को विषय स्थानीय तहहरुले अझ महत्वपूर्ण ढंगले स्टार्टअपको क्षेत्रमा काम गर्न सक्छन् । उनीहरुले इन्क्युभेसन सेन्टर निर्माण गरेर पालिका भित्रका युवाहरुलाई आइडिया लिएर आउ तिम्रो आइडियालाई हामी व्यवासायिक रुप दिन्छौं भन्न सक्छन् । साथै स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र सर्वेक्षण गरेर यो–यो क्षेत्रमा व्यवसाय तथा उद्यमको सम्भावना छ भनेर पनि भन्न सक्छ । पालिकाहरुले किसान तथा उत्पादकहरुको उत्पादनलाई बजारीकरण गर्ने जिम्मेवारी लिएर उनीहरुको व्यवासायलाई दीगो बनाउन सहयोग गर्न पनि सक्छ । पालिकाहरुले उत्पादित वस्तुहरुलाई सर्टिफाइड गरेर पहिचानयुक्त बनाउने कुरामा पनि सहयोग गर्न सक्छन् । तर, जबसम्म हाम्रो मुलुकको प्रधानमन्त्री र पालिकाका प्रमुखहरुलाई उनीहरुको भूमिका सिइओको भन्ने अनुभूति हुँदैन त्यतिबेलासम्म यस्ता विषयहरुले मुर्तता पाउन सक्दैनन् । हामी पनि आजका विकसित मुलुकका मानिसहरु जत्तिकै सम्पन्न हुन सक्छौं । यो विषय कुनै गाह्रो विषय पनि होइन । किनकी हाम्रो मुलुक आँफैमा धेरै ठूलो छैन । हामी जनसंख्यामा पनि धेरै छैनौ । आजको दिनमा हाम्रो प्रतिव्यक्ति आम्दानी ११ सय डलर मात्रै छ । २ हजार र ३ हजार डलरको लक्ष्य राख्ने वित्तिकै हाम्रो जीवनस्तर स्वभाविक रुपमा माथि पुग्छ । अहिले नै जीवस्तरको तुलना गर्ने हो भने अमेरिकामा जागिर खाइरहेको एक जना युवाले आजको दिनमा साँझ पार्टी वा रमाइलो गर्न सक्छ ? सक्दैन । उसले त्यसको लागि धेरै समय कुर्नुपर्छ, विकेन्ड कुर्नुपर्छ । के हामीकहाँ त्यस्तो छ ? अवश्य छैन । हामी जो सुकैले आफ्नो काम सकिएपछि आजै पार्टी गर्नसक्छौं । कुनचाहिँ जीवनशैलीलाई राम्रो भन्ने ? हामीकहाँ राजनीतिमा अस्थिरता छ, भ्रष्टाचार छ, बेथिति छ । हामी निराश छौं किनकी हाम्रा अभिभावक सहि भएका छैनन् । तर, आज छिमेकी मुलुकमा ४४ डिग्री तापक्रम छ, हामीकहाँ कति सितलता छ ? यदी हेर्ने तरिकालाई जब हामी सकारात्मक बनाउँछौं हामी त्यहाँ सफलता प्राप्त हुनसक्छौं । नयाँ पुस्तालाई संघर्ष बिनाको रिजल्ट चाहिएको छ । त्यो सम्भव छैन । तर संघर्ष त गर्नैपर्छ । संघर्ष गरेर प्राप्त गरेको सफलताले आत्मसम्मान मिल्छ । आज त थुप्रै युवाहरु विदेश जाने भनेर लाम लागिरहेका छन् । त्यसैले यहाँ केही गर्नको लागि सहज पनि त छ । हामीले त्यसरी पनि हेर्न पनि त सकिन्छ । अहिले वेब सर्चको माध्यमबाट पनि धेरै सम्भावना र आइडियाहरुको विषयमा पनि जानकारी प्राप्त गर्न सकिन्छ । कतिपय अवस्थामा आफ्ना प्यासनहरु अभिव्यक्त नगर्दापनि युवाहरु पछाडि पर्ने अवस्था सिर्जना भएको छ । त्यसका लागि आफ्ना आइडियाको विषयलाई लिएर संवाद गर्न जरुरी हुन्छ । त्यसो गर्दा आइडिया कस्तो हो भन्ने थाहा हुन्छ । त्यसरी खुला संवाद गर्न नचाहने हो भने पनि अहिले संवाद गर्नकै लागि प्रविधिको विकास भएको छ । हामीले आफ्ना कुराहरु च्याट जिपिटीसँग पनि हाम्रा कुराहरु राखेर संवाद गर्न सक्छौं । अन्त्यमा, अहिलेका युवाहरुले आफ्नो पढाइ बाबुआमाको लगानीबाट राम्रोसँग हुनुपर्ने मान्यता राख्छन् । त्यसपछि विदेश जानुपर्छ भन्ने सोँच राखेको पाइन्छ । उनीहरुको सोँच मुलुक छाड्न पाएपछि स्वतन्त्र हुन पाइन्छ भन्ने रहेको हुन्छ । युवाहरुले विदेश जाने लक्ष्य बनाएका हुन्छन्, जुन एकदमै गलत हो । जिन्दगीको लक्ष्य विदेश जाने हुनैसक्दैन । साँच्चीकै लक्ष्य लिनसक्नुपर्यो । हरेक व्यक्तिसँग असिमित क्षमता छ । आफ्नो क्षमतालाई चिन्न सक्दा मात्रै सफलता प्राप्त गर्न सकिन्छ । तर, संघर्ष अस्विकार गरेर टिकट काटेर विदेश जान चाहिँ सहज हुन्छ । (स्टार्टअप विज्ञको रुपमा परिचित आचार्यसँग गरिएको कुराकानीमा आधारित)

कित्ताकाट रोकिएर समस्या आयो, अब ४ आनाभन्दा सानो जग्गा पनि खण्डीकरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नीति तथा कानुनको परिवशेमा रहेर आफ्नो क्षमता अनुसार काम गरिरहेको छ । भूमि अति महत्वपूर्ण स्रोत हो । देशको आर्थिक र सामाजिक विकास रुपान्तरणका लागि भूमिको व्यवस्थापन हुनु जरुरी छ । भूमि महत्वपूर्ण स्रोत भएपनि सीमित हुन्छ । भूमिले आय स्रोत बढाउन ठूलो भूमिका खेलेको हुन्छ । भूमि जति छ भविष्यमा पनि त्यति नै रहन्छ । भूमिको महत्वलाई दृष्टिगत गर्दै यसको परिचालन गर्न, व्यवस्थापन गर्न, आर्थिक सामाजिक रुपान्तरण गर्न विभिन्न ५/६ वटा आयाममा ध्यान दिनु पर्छ । नेपाल सरकारले सोही विषयलाई अघि सारेर काम गरिरहेको छ । भूउपयोग योजनाको रणनीतिलाई पालना गर्नु पर्नेछ । भूमि भएर मात्रै हुँदैन, यसको पहुँच पनि हुनु पर्छ । भूमिको वितरण प्रणाली व्यवस्थित हुनु पर्छ । करिब ३ करोड जनसंख्या भएको मुलुकमा ७० लाख घरपरिवार छन् । १५ लाख जनतासँग जमीन नै छैन । उहाँहरु भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेको ब्यक्ति हुन् । मन्त्रालयले ३ करोड जनसंख्यालाई जग्गाको पहुँच पुर्याइरहेको छ । यो विषयलाई भूउपयोग नीतिले सम्बोधन गरेको छ । नेपालको कूल १ लाख ४७ हजार वर्गकिलोमिटर जमीन रहेको छ । यो जग्गालाई कसरी कित्ताकाट गर्न पर्छ ? जग्गाको खण्डिकरणको आधार के हो ? खण्डिकरणका तहगत आधार के हो ? परिणाम कति छ ? भन्ने विषयलाई रणनीति बनाएर अघि बढेको छ । भूमि आफैंमा व्यवसाय श्रृजना गर्न सक्ने शक्ति भएको स्रोत पनि हो । यसले आफैं व्यवसाय सिर्जना गर्छ । अन्य व्यवसाय गर्नका लागि पनि भूमिको आवश्यकता पर्छ । भूमि आफैंमा प्राथमिक प्रडक्ट बनेर कसरी व्यवसाय सिर्जना गर्न सक्छ ? वा सेकेण्डरी वस्तु बनेर व्यवसायलाई कसरी सहयोग गर्न सक्छ ? यो कुरा निष्कर्शमा पुर्याउनु पर्छ । नीति नियमहरु एक्लै अघि बढ्न सक्दैनन् । सिचाँई नीति, कृषि नीति भूमि नीतिसँग आवद्ध हुन्छन् । यसको अन्तरसम्बन्ध अरु पक्षसँग पनि छ । यी सबै सन्दर्भलाई सम्बोधन गर्न नेपाल सरकारले भूउपयोग नीति ल्याएको हो । भूउपयोग नीतिले योजनावद्ध विकास, व्यवस्थित शहर, कृषियोग्य जमीनको संरक्षण, कृषि व्यवसाय र अन्य व्यवसायले पनि प्रसय पाउनु पर्छ भनेर व्यवस्था गरेको छ । भूउपयोग नीति आएको ४ वर्षपछि वि.सं. २०७९ जेठ २३ गते भूउपयोग नियमावली आएको हो । यस नियमावलीले राम्रो काम गरिरहेको छ । कतिपय व्यवस्था अध्ययन बिना नै ल्याइएको जस्तो पनि देखिन्छ । भूउपयोग नियमावलीले भूमिलाई १० वटा क्षेत्रमा वर्गीकरण गर्नु पर्ने व्यवस्था गरेको छ । जसमध्ये कृषि क्षेत्रलाई ६ महिनाभित्र वर्गीकरण गरिसक्नु पने भनेर निर्देशन थियो । त्यो अवधि गत मंसिर २३ गते समाप्त भइसक्यो । गत मंसिर २३ गतेसम्म ११० वटा पालिकाले मात्रै कृषि क्षेत्रलाई वर्गीकरण गरेका थिए । पछिल्लो तथ्याङ्क अनुसार करिब १६० पालिकाले मात्रै कृषि क्षेत्रलाई वर्गीकरण गरेका छन् । त्यसैले अहिलेको समस्या आएको हो । जब भूमिलाई वर्गीकरण, खण्डीकरण, कित्ताकाट रोकिन्छ, तबसम्म समस्या आउँछ । जस्तो मसँग १ रोपनी जग्गा छ । १ रोपनी जग्गालाई अर्काे व्यक्तिलाई हस्तान्तरण गर्न सक्छु तर, त्यो जग्गालाई ४ आना वा आधा रोपनी गर्न सक्दैन । अहिलेको समस्या भूमि वर्गीकरण नभएका कारण आएको हो । भूमि वर्गीकरण गर्ने जिम्मेवारी स्थानिय तहलाइ दिइएको छ । भूमि वर्गीकरण आफैंमा जटिल विषय हो । त्यसैले १० वटै क्षेत्रमा वर्गीकरण गर्न सकिएको छैन । कित्ताकाटका लागि ६ महिनाको अवधि अप्रयाप्त थियो । अवधि बढाउनका लागि छलफल भइरहेको छ । १३० वर्गमिटर भन्दा सानो जग्गालाई आवास नबनाउने भनिएको छ । बुवासँग ४/५ आना जग्गा छ तर, छोरा २ वटा छन् । तर, ४ आना बाँड्न मिल्दैन । त्यसैले अंशबण्डामा पनि समस्या देखिएको छ । मोही लागेको जग्गा वितरण गर्न गाह्रो भइरहेको छ । कित्ताकाट नहुँदा समस्या आएको भन्दै सहजीकरण गर्नु पर्ने माग आएका छन् । ६ महिनाको अवधिलाई थप गर्ने, १३० वर्गमिटर भन्दा सानो जमीनलाई पनि वर्गीकरण गर्न दिइने गरी छलफल भइरहेको छ । साथै मोही लागेको जमीनलाई पनि बाँडफाँटमा सहजीकरण गर्न सकिने गरी काम भइरहेको छ । सबै विषयलाई समेटर विद्यमान भूमि नियमावलीलाई संशोधन प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको छ । मन्त्रीपरिषद्ले त्यो प्रस्तावलाई आर्थिक पुर्वाधार समितिमा पठाएको छ । आर्थिक पुर्वाधार समितिले त्यसमा थप छलफल गरेर पुनः पेश गर्नेछ । प्लानिङ् पर्मीट लिइसकेका व्यवसायीलाई नियमवालीले समस्या गरेको गुनासो आएको छ । तर, नियमावली आउनुभन्दा अगाडि स्वीकृति लिएकालाई कडाई गरेको छैन । नियमावली आएपश्चात् नयाँ अनुमति दिएको छैन । नियमावली आउनु पूर्व जति परिणाममा स्वीकृति लिएको थियो त्यसमा समस्या छैन । भूउपयोग नियमावली छलफल नगरी हतारमा ल्याएको आंशिक सत्य हो । तथापी आगामी दिनमा कार्यान्वयन गर्ने पक्षमा मन्त्रालय छ । ल्यान्ड मार्केटलाई व्यवस्थित बनाउन सकियो भने जग्गाको मूल्याङ्कन प्रणाली आफैं सुधार हुँदै जान्छ । करको दर निर्धारण गर्ने अधिकार संघिय सरकारसँग छैन । प्रदेश सरकारको कार्य क्षेत्रभित्र पर्छ । साथै विदेशीले समेत अपार्टमेन्ट खरिद गर्न सक्न पाउने गरी मन्त्रलायले गृहकार्य गरिरहेको छ । (रेग्मी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव हुन् ।)

अब सेयर बजार ५४३० को बिन्दुमा पुग्छ : लगानीकर्ता अम्बिर बोगटीको विश्लेषण

वि.सं.२०७२ सालदेखि सेयर बजारमा अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आयो । अनलाइनबाटै घरमा बसेर कारोबार गर्न पाउने व्यवस्था मिल्यो । सेयर बजार परिसूचक १०९८ अंकबाट बढेर ३२ सय अंकमा पुगेको बेला विद्यार्थी, गृहणी, कर्मचारी लगायत सबै सेयर बजारमा प्रवेश गरे । सेयरमा लगानी गरेपछि फाइदा पनि मनग्य हुने अवस्था थियो । ५६ लाखभन्दा बढी लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । ३२ सय अंकमा पुगेको सेयर बजार १८ सय अंकमा झरेपछि सक्रिय लगानीकर्ताको संख्या पनि घटेर २० लाख कायम भएको छ । वि.सं.२०६३ चैत्र २८ गते सम्पन्न पहिलो संबिधान सभाको चुनाबपछि वि.सं.२०६४ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीको सरकार बन्यो । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि देशमा आर्थिक गतिविधि बढे । बैंक तथा वित्तिय संस्थाहरु पनि धमाधम खुल्न थाले । घरजग्गा व्यवसाय पनि चम्कियो र सेयर बजार परिसूचक बढेर वि.सं. २०६५ भदौमा ११७५ अंकमा पुगेको थियो । सेयर बजारमा लगानी गर्नेले धेरै नाफा गरेको चर्चा थियो । मैले पनि सोही वर्षको माघदेखि सेयर बजारको अध्ययन गर्न थालें । जतिबेला म तत्कालीन सिभिल बैंकको संस्थापक थिएँ । ६ महिनामा सेयर बजार झण्डै ५० प्रतिशतले बढ्यो । एक वर्षमा १ सय प्रतिशतले बढ्ने देखियो । अन्य क्षेत्रमा वार्षिक १५÷२० प्रतिशत मात्रै नाफा हुन्छ । सेयर बजारमा लगानी गर्दा १ वर्षमा शतप्रतिशत नाफा हुन्छ भने १० वर्षमा १ हजार प्रतिशत फाइदा गर्न सकिन्छ भन्ने सोच बनाएर सेयर बजारमा प्रवेश गरेको थिएँ । त्यतिबेला बाबुराम भट्टराई अर्थमन्त्री हुनु हुन्थ्यो । विद्रोही पृष्ठभूमिबाट आएको हुँदा उहाँले सेयर बजार भनेको जुवा घर हो, यसमा लगानी गर्दा सजग भएर लगानी गर्नु होला भन्नु भयो । सेयर बजार यति सेन्सेटिभ हुने रहेछ कि सरकारमा रहेका जिम्मेवार ब्यक्ति तथा नीति निर्माताहरुले बोल्दाखेरी बहुत सोच विचार गरी बोल्नु पर्ने रहेछ । तत्कालीन समयमा उहाँले बोलेको सानो कुराले सेयर बजारलाई ठूलो असर पर्न गयो । बाबुराम भट्टराईले सो धारणा राखेपछि भदौमा ११७५ अंक रहेको सेयर बजार परिसूचक वि.सं.२०६६ साउनमा ७५० अंकमा झर्याे । झण्डै ३६ प्रतिशतले सेयर बजार परिसूचक घटेको थियो । मैले पनि सेयर बजार नेप्से परिसूचक ७५० अंक हुँदा लगानी गर्न सुरु गरेको थिएँ । वि.सं.२०६८ चैत्रमा नेप्से परिसूचक २९२ अंकमा झरेपछि मैले सुरुमा आफूसँग भएको पैसा र स्थीर सम्पति बेचेर आएको रकम झण्डै २० करोड जति लगानी गरेको रकम ६÷७ करोडमा झर्याे । १ सय रुपैयाँको लगानी ३९ रुपैयाँमा सीमित भयो । त्यसपछि सेयर बजारले डुबाउने रहेछ, जुवा घर नै रहेछ भन्ने लाग्यो । तर, २०६९ बैशाखदखि सेयर बजार बढेर वि.सं.२०७३ असारमा नेप्से परिसूचक १८८१ अंकमा पुग्यो । लगानी गरेको रकम तेब्बरले बढ्यो । त्यसपछि बजारमा रस बस्न थाल्यो । लगानी बढाउँदै पोर्टफोलियो पनि बढाउन थालेँ । सेयरमा लगानी गर्नका लागि कर्जा पनि लिन थालेँ । १५ वर्षको अवधिमा सेयर बजारको ट्रेण्ड वि.सं.२०६५ भाद्र मा नेप्से परिसूचक ११७५ को उच्चतम अंक रहेको सेयर बजार वि.सं.२०६६ साउनमा ३६ प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटेर ७५० अंक हुदै २०६८ चैत्रमा २९२ न्युनतम अंकमा झर्याे । नेप्से परिसूचक वि.सं.२०६५ भदौको ११७५ अंकलाई आधार मान्दा १६० प्रतिशत बढेर २०७३ असारमा नेप्से परिसूचक १८८१ अंक पुग्यो । १८८१ अंक रहेको सेयर बजार ४०÷४२ प्रतिशत घटेर वि.सं.२०७६ फागुनमा १०९८ अंकमा झर्याे । वि.सं.२०७३ सालमा १८८१ अंक हँदा लगानी गरेका लगानीकर्ताको सम्पत्ति ५८ प्रतिशतमा सीमित भयो । सोही फिगर वि.सं.२०७८ सालमा ३२०० अंक पुग्यो । वि.सं.२०७३ असारमा ११७५ अंकलाइ आधार मान्दा १८० प्रतिशत र वि.सं.२०७६ फागुनको न्यूनतम बिन्दु १०९८ लाई आधार मान्दा झण्डै ३ सय प्रतिशत सेयर बजार बढ्यो । यसरी बढेको नेप्से परिसूचक ३२ सय अंक पुगेको बजार वि.सं.२०८० बैशाखमा १८०८ अंकमा झरेको थियो । अहिले लगानीकर्ताको लगानी ४२÷४३ प्रतिशतले घटेको छ । लगानीकर्ताहरुले ३२ सय अंक हुँदा १ सय रुपैयाँ लगानी गरेको थियो भने अहिले घटेर ५७÷५८ रुपैयाँ मात्रै बाँकी रहेको छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा ४÷५ वर्षमा बजारको फिगर घट्ने र बढ्ने गरेको देखिन्छ । यस्तै, सेयर बजार ३ वर्ष घट्ने र २ वर्ष बढ्ने वितगको तथ्याङ्कले देखाउँछ । त्यसैले अब नेप्से परिसूचक ३२ सय अंकको फिगरलाई आधार मान्दा वि.सं.२०८२ असारमा सेयर बजार १६०÷१७० प्रतिशत बढेर नेप्से परिसूचक ५४०० अंक सम्म पुग्ने देखिन्छ । वि.सं.२०८० बैशाखको नेप्से परिसूचक १८०८ अंकलाई आधार मान्दा ३०० प्रतिशत फिगर बढ्न सक्ने देखिन्छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा बजार बढ्दाखेरी न्यूनतम विन्दुबाट ३ सय प्रतिशतसम्म बढेको देखिन्छ भने उच्चतम अंकलाई आधार मान्दा ४०÷४५ प्रतिशत सम्म घटेको देखिन्छ । जस्तो सेयर बजार नेप्से परिसूचक ११७५ अंक हुदै २९२ अंकमा झर्दा ६२ प्रतिशत र १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत सम्म घटेको थियो । १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत घटेर १०९८ अंकमा झरेको थियो । नेप्से परिसूचक १०९८ अंकलाई अन्तिम घटेको विन्दु मान्ने हो भने ३२ सय अंक पुग्दा बजार २९१ प्रतिशत बढेको थियो । अब नेप्से परिसूचक ३२ सय अंकलाई आधार मान्दा ४३.५ प्रतिशत घटेर १८०८ अंकमा झरेको देखिन्छ । हाल बजारमा नेप्से परिसूचक १८÷१९ सय अंकमा नै कारोबार भइरहेको छ । सबै उद्यमी ब्यबसायी लगानीकर्ताहरु ब्याजदर घट्नु पर्छ भनेर आवाज उठाईरहेका छन् । केहीले आन्दोलन पनि गरिरहेका छन् । सरकारको इच्छाशक्ती, नेपाल राष्ट्र बैकको केही नितिगत संशोधन, सुधार तथा बैक तथा वित्तीय संस्थाहरुको चाहना अनि सरोकारवालाहरुको सहयोग भएमा अहिलेको बैक कर्जा तथा ब्याजदर सम्बन्धी समस्या सहजै समाधान हुन सक्छ । नीति नियममा राष्ट्र बैंकले पनि सहजीकरण गर्नु पर्छ । समय परिस्थिती अनुसार देशको अर्थव्यवस्था, अन्तर्राष्ट्रिय प्रचलन, देशको ब्यालेन्स अफ पेमेन्ट, विदेशी मुद्रा सञ्चिती हेरेर राष्ट्र बैंकले कडाइ गर्नु स्वभाविक हो । सेयर बजारलाई धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सरकार लगायत सबै निकायले लगानीमैत्री नीति नियम बनाई सेवा सुबिधा दिनु पर्छ । सरकारले करका सिलिङलाई समय सापेक्ष बनाई सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर तिर्न सक्ने वातावरण बनाउनुपर्छ । नेपाल राष्ट्र बैंकले कर्जामा लगाउने क्यापिटल चार्ज÷जोखिमभार र कर्जा प्रवाहमा सहजीकरण गर्याे भने सेयर बजारमा सकारात्मक प्रभाव पर्छ । नेपाल धितोपत्र बोर्डले पनि नीति नियम बनाउँदा सरलीकृत र लगानीमैत्री बनाउनु पर्छ । सेयर बजार भनेको ब्यबस्थापन गर्न सक्ने एउटा उच्च जोखिमले भरिएको व्यवसाय हो । जोखिमको व्यवसाय भन्दैमा वित्तीय विवरण बिग्रीएका, संस्थापक÷संस्थापक,संचालक÷संचालकहरुमा दन्द्ध भएका, समस्यामा परेका, सस्थागत सुशासन राम्रो नभएका, लाभांश इतिहास राम्रो नभएका कम्पनीलाई बजारमा प्रवेश रोक लगाउनु पर्छ । राम्रा कम्पनी, संस्थागत सुशासन राम्रो भएका, लाभांशमा अब्बल, अनुभवी संस्थापक, सञ्चालक उच्च ब्यबस्थापन तथा कर्मचारी बीच सहकार्य राम्रो भएका, आर्थिक अनुसाशन अब्बल भएका÷गरेका कम्पनीहरुलाई पूँजी बजारमा ल्याउनु पहल गर्नुपर्छ । लगानीकर्ताहरुले पनि सबै सुचकहरु राम्रो भएका कम्पनीहरु छनोट गर्न सक्नु पर्छ । सेयर बजार घटेको बेला सबै कम्पनीको मूल्य घटेको हुँदैन । बजार बढेको बेलामा पनि सबै कम्पनीको मूल्य बढेको हुँदैन । केही त्यस्ता कम्पनीहरु छन्, जुन घट्दा थोरै घट्छन्, अनि बढ्दा धेरै बढ्छन् । ती कम्पनी छनोट गरेर लगानी गर्ने हो भने हामी सुरक्षित हुन सकिन्छ । हल्लाको भरमा लगानी गर्ने हो भने बजारमा जहिले पनि डुबिन्छ । सेयर बजार फुटबल जस्तै हो । बललाई जति तल बजार्याे त्यति नै माथि जान्छ । वि.सं.२०६५ भाद्रमा ११७५ अंक हुदा १ सय रुपैयाँ लगानी गरेको रकम २०६८ चैत्रमा २९२ अंक हुदा घटेर सो लगानी २५ रुपैयाँ मात्रै बचेको थियो त्यस्तै वि.सं. २०६८ सालमा २९२ अंकमा झरेको बजार ५ वर्ष अर्थात् वि.सं. २०७३ सालमा १८८१ अंक पुग्यो । अहिलेको असर भनेको कोरोना महामारी कै प्रभाव हो । सन् २०१९ देखि सुरु भएको कोरोना महामारी २०२१÷२०२२ सम्म रह्यो । जसले होटल÷पर्यटन व्यवसायमा अहिलेसम्म पनि असर गरिरहेको छ । साथै, रुस र यूक्रेनको युद्धले खाद्यान्न लगायत इन्धन तथा कच्चा पदार्थको अभाव भई अन्तराष्ट्रिय रुपमै मुल्य बृद्दि भयो र बिश्बब्यापी आर्थीक मन्दि भई उद्योग व्यवसायमा नकारात्मक असर पर्याे । अन्तर्राष्ट्रिय आर्थीक चेन नै खलबल्याएको छ । दक्षिण एशियाका राष्ट्रहरु श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स लगायतका देशको आर्थीक अबस्था बिग्रिएर टाट पल्टिने अवस्थामा पुगे । नेपालमा भारतीय रुपैयाँसँग स्थीर विनिमयदर भएका कारण कम असर पर्याे । डलरको मूल्य तलमाथि हुँदा पनि भारतीय रुपैयाँमा कारोबार गर्न सकिन्छ नेपालको झण्डैलदुईतिहाइ आर्थीक कारोबार भारतसँग हुन्छ । हामी भारतीय रुपैयाँ दिएर पनि उक्त कारोबार गर्न पाउँछौं । यदि भारतीय रुपैयाँको दर पनि स्थीर नहुने र भारतसँग पनि डलरमै कारोबार गर्ने हो भने नेपाललाई साह्रै गाह्रो हुन्छ ।भारतको अर्थव्यवस्थाले नेपालको अर्थव्यवस्था पनि सहयोग पुर्याउँदै आएको छ । भारु र डलरको दरमा जब तलमाथि हुन्छ तब मात्रै नेपालमा असर देखिन थाल्छ । नेप्से परिसुचक ५४०० अंकसम्म पुग्ने आधार बिगत १५ बर्षको शेयर बजारको उतारचढाबको आधारमा वि.सं.२०८२ असारमा सेयर बजार नेप्से परिसुचक ५४०० अंक सम्म पुग्न सक्ने आकलन गरिएको हो । किनकी हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाउँछ । कोरोना महामारीको असर कम हुँदै गएको छ । अहिले कोरोनालाई सामान्य रुघाखोकीका रुपमा लिने गरिएको छ । ब्यापार व्यवसाय चलायमान भइरहेको छ । सर्वसाधारणको दैनिकी पनि पुरानै अवस्थामा फर्किरहेको छ । रुस र यूक्रेन युद्ध पनि समाधान उन्मुख हुँदै गएको भएर इन्धनको मूल्य पनि घटिरहेको छ । सरकारले पनि आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गैह्र आवासीय नेपालीहरुलाई सेयर बजारमा लगानी खुल्ला गराउने र पूँजी बजारको संरचनागत सुधार गर्ने तथा लगानीमैत्री नीति नियमहरु सहज बनाउन तदारुकता देखाएको छ । देशमा स्थानिय, प्रदेश तथा संघिय तहको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । नेपाल राष्ट्र बैकले हालै गरेको तेश्रो त्रैमासिक मौद्रिक नितिको समिक्षामा पनि बैंकदर घटाएको र बैंक तथा वित्तीय संस्थाहरुको लगानी रकम बृद्धि हुने गरी समय थप गरेको छ । विगत ३ महिनादेखी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर २ प्रतिशत भन्दा बढी बिन्दुले घटिसकेको र आगामी दिनहरुमा अझ घट्न सक्ने देखिएको छ । देशमा आर्थिक गतिविधि बढ्दै गइरहेको छ । उद्योगधन्दाहरु चलायमान भइरहेका छन् । यी सबै कुराहरुलाई हेर्ने हो भने बजार अवश्य बढ्छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढेको विगतको इतिहास छ । ब्याजदर र बजारको सम्बन्ध उल्टो छ । ब्याजदर बढेपछि बजार जहिले पनि घटेको देखिन्छ । आर्थिक वर्ष २०६६÷६७ सालमा निक्षेपको दर १३ प्रतिशत पुगेको थियो । सेयर बजारमा जाने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म थियो । यस्तै, २०७२ सालको भुकम्प जानु भन्दा अघि पनि ब्याजदर बढेको थियो । भूकम्प अघि पनि तरलता अभाव भएको थियो । वि.सं.२०७६ मा भारतबाट नाकाबन्दी भएको थियो । नाकाबन्दी भएपछि सेयर बजार बढ्यो । कोरोना महामारी न्यूनिकरण गर्न सबै क्रियाकलाप बन्द भए तर, सेयर बजार बढ्यो । जब ब्याजदर घट्दो ट्रेण्डमा जान्छ तब सेयर बजार बढेको इतिहास छ । सेयर बजार ब्यक्तिगत लगानीले मात्र धान्न सकिदैन । अन्तर्राष्ट्रिय बजारमा ३५ प्रतिशत बढी संस्थागत लगानी हुने गर्छन । सेयर बजारमा आईपीओ धमाधम आइरहेका छन् । नियामकले पनि जस्तो पायो त्यस्तै कम्पनीलाई आईपीओ निस्कासन गर्न अनुमति दिनु हुँदैन । कम्पनीहरुले कर्जा तथा ब्याज भुक्तानी गर्नको लागी आईपीओ निस्कासन गर्न अनुमति दिने परिपाटीलाई कडाई गर्नुपर्छ । केही कम्पनीहरुको आईपिओ निस्कासन पछि कारोबार सुरु भएको केही दिनमै मूल्य ७÷८ सय रुपैयाँ पग्ने गर्छ । जस्तै चन्द्रागिरी हिल्सको कारोबार सुरु भएको केही दिनमै २८ सय रुपैयाँ सम्म पुगेको थियोे । के यी कम्पनीको सेयर मूल्य स्वभाविक हो ? यस्ता कम्पनीको सेयरमा जोखिम बढ्दै गएको देखिन्छ । लाभांश पनि दिन सकेका छैनन् । बैंकको सेयर किन्दा जहिले पनि सुरक्षित छन् । राष्ट्र बैंकले राम्रोसँग मोनिटरिङ गरिरहेको छ । बैंक तथा वित्तीय संस्थालाई सुक्ष्म निगरानीमा राखेर राष्ट्र बैंकले अनुगमन गरिरहेको छ । बैंकहरुले जहिले पनि १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने क्षमता राख्छन् । तर, त्यहि बैंकको सेयर मूल्य हेर्ने हो भने बिगत २० वर्षअघि १ सय रुपैयाँमा आईपीओ जारी गरेको बराबर मुल्यमै पुगेको छ । अहिले पनि केही बैंकको सेयर १५० रुपैयाँ पाइन्छ ।हाल नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ता नगन्य मात्रामा छन्, ब्यक्तिगत लगानीकर्ता मात्रै छन् । २२ अर्बमा भएको कारोबार ६२ करोडमा झरेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप लगाएको छ । राष्ट्र बैंकले १२ करोडको क्याप लगाउनु उचित छैन । कुनैपनि बैकले कर्जा दिदा कुनैपनि ऋणिको उद्यमशीलता गर्ने क्षमता, जोखिम मोल्न सक्ने क्षमता र क्यास फ्लो तथा टर्नओभर मिलाउन सक्ने क्षमता र, कति जनशक्तीलाई रोजगारी दिएको छ यी सबै कुरा जाँच गरेर मात्रै कर्जा दिनु पर्छ । १२ करोडको क्याप लगाउनु हुदैन । कहिलेदेखि बढ्छ ? जब तरलता अभाव हुन थाल्यो, बैंकले निक्षेपको ब्याजदर बढाउन थाले, बैंकका कर्मचारी घरघर पठाएर निक्षेप उठाउन थाले भने अब बजार घट्छ भनेर अनुमान गर्नु पर्छ । जब कर्जा लिन आउनुहोस् भनेर बैंकहरुले भन्न थाल्छन् तब बजार बढ्छ । अहिले पनि २ प्रतिशतभन्दा बढी ब्याजदर निक्षेपमा घटिसकेको छ । २ प्रतिशत घट्नु भनेको ९० प्रतिशत लगानी गर्न पाउँछन् । कर्जामा १.८० रुपैयाँ जति ब्याजदर असार मसान्तपछि घट्न सक्छ । ब्याजदर घटाउने अन्य तरिकाहरु पनि छन् । अहिले निक्षेपको ब्याजदर बढाउनु पर्याे भनेर कसैले पनि आन्दोलन गरेका छैनन् । अहिलेसम्म निक्षेपको ब्याज कम भयो भनेर कसैले पनि गुनासो गरेका छैनन् । अहिले त कर्जामा ब्याज बढि लियो भनेर गुनासो गरेका हुन् । अब ब्याजदरका कारण बजार प्यानिक हुँदैन । बजारको अन्तिम विन्दु भनेको यहि हो । अन्तिम विन्दु यहि हो भन्दैमा जुनसुकै कम्पनीको पनि सेयर खरिद गर्नु हुँदैन । जुन पायो त्यहि कम्पनीको सेयर किन्नु भनेको अँध्यारोमा ढुंगा हान्नु जस्तै हो । अहिले सरकारले घरजग्गाको कित्ताकाट पनि खुकुलो बनाइरहेको छ । सरकार पनि अहिले सिरियस भएर काम गरिरहेको छ । अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ब्याजदर घटाउन सार्वजनिक रुपमा बोल्नु भएको छैन । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै ब्याजदर घटाउन तदारुकता देखाउनु भएको छ । उहाँले उद्योगी व्यवसायी र लगानीकर्ताहरुलाई ब्याजदर घटाउने भनेर आश्वासन दिँदै आउनु भएको थियो । केही घटाएर देखाउनु पनि भयो । नेप्से परिसुचक २९२ अंकमा बजार झर्दा असाध्यै मनोबल कमजोर भएको थियो । नेप्से परिसुचक ११७५ अंकबाट २९२ अंकमा झर्दा सेयर लगानीकर्ता आत्तिएका थिए । तर, अहिले उनीहरुको लगानी ६ सय गुणा भन्दाले बढेको छ । उनीहरु घाटामा छैनन् । ३२ सय अंक हुँदा प्रवेश गरेका लगानीकर्तालाई भने समस्या परेको छ । जसले व्यवसाय र पेशा गरेर लगानी गर्ने लगानीकर्ताहरु भने समस्यामा परेका छैनन् । सरकारले नीति नियम बजार बढेको बेला अमैत्री र घटेको बेला मैत्री बनाउनु हुँदैन । नीति नियमलाई समय सापेक्ष राख्नुपर्छ । बजार बढेको बेला कर बढाउने र घटेको बेला घटाउने गर्न हुँदैन । लगानीकर्ताको कर तिर्नसक्ने क्षमता बढाउनु पर्दछ । बजार बढेपछि सरकारको राजश्व पनि बढ्छ । नेप्से परिसुचक ३२ सय अंक पुगेका बेला बार्षिक १५ अर्ब जति राजश्व सेयर बजारको कारोबारबाट उठेको थियो तर, अहिले १ अर्ब पनि मुस्किलले संकलन भएको देखिदैन । त्यसैले सरकारले राजश्व पनि गुमाएको छ । एउटा नीति ल्याएपछि ५÷१० वर्षसम्म परिवर्तन गर्न हुँदैन । पूँजी बजार भनेको देशको अर्थतन्त्रको ऐना हो, ठूलठूला उद्योग व्यवसाय स्थापना तथा सञ्चालनका लागि पूँजी संकलन पूँजी बजारबाटै गर्न सकिन्छ । जनतामा छरिएर रहेको पूँजी यही बजारबाट संकलन गर्न सकिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले पनि कर्जामा सहजीकरण गर्ने व्यवस्था गर्नु पर्छ । मौद्रिक नीति ल्याउँदा धितोपत्र बजारमा पर्ने असरलाई पनि ख्याल गर्नु पर्छ । राष्ट्र बैंकले नियन्त्रण गर्ने भन्दैमा एउटा क्षेत्रलाई पुरै अप्ठ्यारो पार्नु हुँदैन । ४० खर्ब पूँजीकरण पुगेको बजार अहिले २८ खर्बमा झरेको छ । सेयर बजार जहिले पनि देशको जीडीपीको हाराहारी हुनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसैले सेयर बजारलाई सबैले माया गरिदिनु पर्याे । सेयर बजारलाई सट्टेबाजी, जुवाघर, अनुत्पादक क्षेत्र भनेर देशका सरकार तथा राजनितिक पार्टीका जिम्मेवार ब्यक्तिहरुले सार्वजनिक अभिब्यक्ति दिनु भएन र सरकारले पनि यस्तो कार्यमा रोक लगाउनु पर्छ ।