विपदपश्चात् राष्ट्रिय नवनिर्माणको सोंचः डा. बाबुराम भट्टराई
गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति सहित देशको समग्र विकासको लक्ष्यमा थप चुनौति थपिदिएको छ । संकटको घडीमा सवै सेना, प्रहरी, कर्मचारीको अहोरात्र खटाई र जनस्तरमा देखिएको स्वतस्स्फुर्त सद्भाव र सहयोगले नेपालीको संयम र आत्मविश्वास उजागर भएको छ । राजनीतिक तहमा समेत यो संकटलाई अवसरमा वदल्ने संकल्पका साथ उच्च तहको सुझबुझ देखिएको छ । संविधान निर्माणको प्रकृयाले पुन गति लिएको छ । यो पृष्ठभूमिमा भूकम्पपछिको निर्माणको भिजनलाई स्पष्ट रुपमा परिभाषित गर्नु हामी राजनीतिज्ञहरुको पहिलो दायित्व हो । सानामसिना राजनीतिक मुद्दाहरुमा समेत दलहरुबीच हुने किचलोबाट दिक्क भएका जनताहरु नवनिर्माणको दलीय सहमतिले उत्साहित भएका थिए । वास्तवमा भूकम्पपूर्वको हाम्रा गाउँ, वस्ति, भवनका संरचना, सहरी स्वरुप आधुनिक विकासका प्रचलित मापदण्डसँग मेल खाने थिएनन् जसमा उल्लेख्य स्तरको सुधार आवश्यक थियो । त्यस अर्थमा हामीले गर्नु पर्ने नवनिर्माण नै हो । क्षति भएका संरचनाहरुको पुनस्निर्माण मात्र गर्दा पुरानै स्वरुपको निर्माण हुन्छ जसले जनताको एक्काइसौं शताब्दीको विकासको आकाँक्षालाई सम्वोधन गर्न सकिँदैन । हामीले सोचेको नवनिर्माणको भिजन एक वाक्यमा भन्नु पर्दा ‘आर्थिक–सामाजिक रुपान्तरण र जनजीविकामा सुधार भएको, विपद् प्रतिरोधी, गुणस्तरीय, भवन र पूर्वाधार सहितको व्यवस्थित वस्ति विकास’ हो । नवनिर्माणको अभियानको पहिलो खुड्किलो क्षेत्रीय विकासको योजनाको तर्जुमा हो । भुकम्पवाट प्रत्यक्ष प्रभावित नेपालको मध्य क्षेत्रका चौध जिल्लाले मुलुकको जनसंख्याको एक तिहाइ र अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगट्छन् । राजधानी सहर समेत पर्ने यो क्षेत्रको क्षेत्रीय विकासको खाकाले राजधानी र वरपरका जिल्ला सदरमुकाम, सेवा केन्द्र र वस्तिहरुको आर्थिक–सामाजिक र भौतिक सम्पर्कको अन्तरसम्बन्धलाई समग्र क्षेत्रको उन्नत उत्पादकत्वलाई वढावा दिने किसिमले सम्बोधन गर्नु पर्ने हुन्छ । यसका लागि वसोवास र व्यवसायका लागि उपयुक्त स्थानको पहिचानसँगै विभिन्न तहका यातायात पूर्वाधार सञ्जालको योजना तर्जुमा गर्नु पर्ने हुन्छ । यस्तो क्षेत्रीय विकासको खाकाले भूकम्पपश्चात् कतिपय वस्तिहरु स्थानान्तर गर्नु पर्ने कामलाई सहज बनाइदिन्छ । क्षेत्रीय विकासको खाका विनाको पुनस्निर्माण गर्दा हुने भौतिक विकासको स्वरुप भविष्यको आर्थिक विकासमा तगारो बन्ने जोखिम रहिरहन्छ । यस्तो क्षेत्रीय विकासको खाकाको अधीनमा रहेर मात्र स्थानीय सहर तथा वस्तिविकासको योजना तर्जुमा र कार्यान्वयन गर्नु पर्दछ । साथै यस्तो खाकामा स्थानीय स्रोत–साधनमा आधारित, औद्योगीकरण र जीवनोपार्जनका वैकल्पिक अवसरहरु सृजना गर्ने नीति समेत समेटिनु पर्दछ । काठमाडौं उपत्यकाको हकमा सहरी स्वरुपको पुनस्संरचना सहितको नवनिर्माणको योजना तर्जुमा आवश्यक छ । यसका लागि पुराना साँस्कृतिक परिचय बोकेका शहरी केन्द्रहरुको पुनस्निर्माण र नयाँ सेटेलाइट केन्द्रहरु सहित भरपर्दो र गुणस्तरीय सार्वजनिक यातायातको पूर्वाधार (मेट्रो रेल, लाइट रेल, ट्रली वस आदि)को निर्माण जरुरी छ । यस्ता परियोजना निश्चय नै खर्चिो देखिन सक्छन् तर हामीले यिनलाई दूर भविष्यसम्म प्रतिफल आउने लगानीको रुपमा हेर्नु पर्दछ । नवनिर्माणको विस्तृत योजना र यस अन्तर्गतका खास–खास परियोजना र लगानीका क्षेत्रहरु पहिल्याउने काम विज्ञ तथा प्राज्ञहरु सम्मिलित टोलीको जिम्मेवारी हुनेछ । यी सारा कामहरु हाम्रो हालको सरकारी संरचना र कार्यपद्धतिको सन्दर्भमा निश्चय नै चुनौतिपूर्ण छन् । अझ यी चुनौतिहरुको लामो सूचीलाई शास्त्रीयकरण गर्ने हाम्रो सनातनी पद्धतिले आशावादी हुने ठाउँ दिँदैन । सरकारमा रहँदाको मेरो व्यक्तिगत अनुभवलाई लिने हो भने आशावादी र निराशावादी दुवै प्रवृतिको लागि ठाउँ छ । अत्याधिक राजनीतिकरणवाट थला परेको हाम्रो सरकारी संयन्त्रले यस्तो चुनौतिपूर्ण कार्ययोजना सम्पन्नगर्न असम्भव छ भन्ने आम बुझाई स्वाभाविक छ । तर नेतृत्व तहबाट दृढ इच्छाशक्ति र आवश्यक निर्देशनरसहयोग हुँदा हाम्रै सरकारी निकायमार्फत पनि असम्भव ठानिएका काम सम्भव हुन सक्छन् भन्ने काठमाडौं सडक चौडा गर्ने कामको अनुभव मेरो स्मृतिमा अझै ताजा छ । यही पृष्ठभूमिमा नवनिर्माणको चुनौतिपूर्ण काम अधिकारसम्पन्न निकायमार्फत गर्न सकिने आत्मविश्वास सहित मैले नवनिर्माण प्राधिकरणको प्रस्ताव गरेको थिएँ । नवनिर्माणको काम असामान्य प्रकृतिको भएकोले अहिलेकै सरकारी संयन्त्र र प्रकृयाबाट गर्न सम्भब नहुनेमा सवैको एकमत रहेको छ । हाल सरकारद्वारा घोषित निकायको संरचनामा सरकारकै मन्त्री र सचिवहरुको वाहुल्यता रहँदा त्यसको प्रभावकारिताबारे गम्भीर प्रश्न उठेको छ । हालको लगानी वोर्डमा देखिएको अधिकार क्षेत्रको खिचातानी हुने नमिठो अनुभव हामी सामु छ । त्यसैले नयाँ संयन्त्र अधिकारसम्पन्न र स्वायत्त हुँदा अहिलेकै सरकारी निकाय भित्रको या बाहिरको जनशक्ति प्रयोग गरेर नवनिर्माणको काम प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्थ्यो । अझ व्यवसायिक र कार्य क्षमताका आधारमा सरकारी निकायभित्रका दक्ष प्रशासनिक तथा प्राविधिक क्षेत्रका कर्मचारीहरुलाई नवनिर्माणको महत्वपूर्ण जिम्मेवारी दिई कार्य सम्पन्न हुँदा यसले समग्र कर्मचारीतन्त्रमा नै क्षमता अभिवृद्धि लगायत सकारात्मक परिवर्तन ल्याउने सम्भावना थियो । हाम्रो राजनीतिज्ञहरुको पुरानो पुस्ता आन्दोलन र त्याग तथा वलिदानमा निश्चय नै श्रेष्ठ छ । तर आर्थिक र भौतिक नवनिर्माणको निम्ति त्यो गुण मात्रै यथेष्ट नहुन सक्छ । वास्तवमा भूकम्पपश्चात लगत्तै काठमाडौं बाहिरका जिल्लाहरुमा पुग्दा मलाई तत्काल महसुस भएको थियो कि नवनिर्माणको स्केल निकै ठूलो छ र यो साधारण वा परम्परागत तरिकाले सम्पन्न गर्न सकिँदैन । त्यसैले मैले व्यवस्थापिका–संसदमा, पत्रपत्रिका, र टेलिभिजनको अन्तर्वार्तामा समेत छुट्टै अधिकार सम्पन्न प्राधिकरण चाहिन्छ भन्ने तर्क गरेको थिएँ । विपद् पश्चात सफल पुनस्निर्माण र नवनिर्माणको कार्य सम्पन्न गरेका थुप्रै देशहरुको अनुभव त्यस्तै थियो । प्राधिकरणको नेतृत्वमा देश र जनताले विश्वास र भरोसा गर्न सक्ने नयाँ पुस्ताका भिजनरी र उर्जाशील नेता या लामो व्यवसायिक अनुभव भएका पूर्व–कर्मचारी र विज्ञले लिउन् भन्ने मेरो अन्तरआत्माको अभिप्रायस् थियो । कसैले सोध्दा आर्किटेक्चरल ईन्जिनियरीङ तथा क्षेत्रीय विकासको विद्यार्थी भएको नाताले देशको यस्तो संकटको घडीमा प्रोटोकल विर्सेर आफ्नो विज्ञता र क्षमताले भ्याएसम्म नवनिर्माणको काममा जुनसुकै हैसियतमा योगदान गर्ने दायित्व सम्झेको छु भनेको थिएँ । तर यस्तो अभिप्रायलाई ‘बाबुरामले प्राधिकरणको नेतृत्व हत्याएर राजनीतिक लाभ लिन लागेको’ भन्ने आशयको टिप्पणी केही कोणहरुबाट गरिएको देख्दा म दुस्खी छु । हरेक चीजलाई दलीय राजनीतिक चस्माले हेरिने नियतिबाट मुलुकले जति छिटो मुक्ति पाउनेछ हाम्रा लागि उति श्रेयस्कर हुनेछ । ढिलै भएपनि सैद्धान्तिक रुपमा सरकारले छुट्टै प्राधिकरणको आवश्यकता महसुस गरी त्यसको गठन प्रकृया अघि वढाउनु सकारात्मक छ । भलै यो अध्यादेशमार्फत भन्दा पर्याप्त छलफल र विज्ञहरुको रायपश्चात नियमित व्यवस्थापिका–संसदको प्रकृयावाट ल्याएको भए बढि राम्रो हुन्थ्यो । प्राधिकरणमा मन्त्रि–परिषदको लामो छायाँ भएकोले यो कत्तिको स्वायत्त र प्रभावकारी हुनेछ भन्ने आफ्नो ठाउँमा भएपनि यो प्राधिकरणलाई मेरो शुभकामना छ । यद्यपि दुर्भाग्यपूर्ण कुरा के भने व्यवस्थापिका–संसदको संकल्प प्रस्तावमा प्रतिबिम्बित नवनिर्माणको भिजनलाई सरकारले पीडीएनए दस्तावेज र प्राधिकरणको अध्यादेशमा पूर्वस्थितिकै पुनस्निर्माणको तहमा ओरालेको छ । छिटै हुनगइरहेको दाता सम्मेलनलाई मध्यनजर गर्दै हतार हतारमा तयार गरिएको पीडीएनएले देशको समग्र नवनिर्माणको आवश्यकतालाई भन्दा भूकम्पपश्चात क्षतिको अनुमानको विवरणमात्र पेश गरेको देखिएको छ । नयाँ स्तरको ‘आवश्यकता’ पुरानै स्तरको ‘क्षति’भन्दा निश्चय नै बढी हुन्छ र हुनु पर्छ । त्यसैले हामीले पुरानैको पुनस्निर्माण होइन भविष्यमुखी नवनिर्माण चाहिन्छ भनेका हौं । दाता सम्मेलनमा हामीले सकभर सर्वपक्षीय सहमति कायम गरेर नवनिर्माण कै भिजन प्रस्तुत गर्नु राम्रो हुन्छ । दाता सम्मेलनलाई हामीले परम्परागत भीख माग्ने अर्थमा भन्दा पनि विपद्पछिको नवनिर्माणमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग प्राप्त गर्ने सकारात्मक अवसरको रुपमा प्रयोग गर्न सक्नु पर्दछ । अव हामीले परनिर्भरता बढाउने हैन, क्रमशस् घटाउँदै लगेर आत्मनिर्भर हुने नीति लिनु पर्छ । साथै हामीले तीब्र विकासको दिशामा अघि बढिरहेका दुई ठूला छिमेकीहरुको विकाशको गतिसँग तालमेल मिलाएर अधिकतम लाभ लिने प्रयत्न गर्नु पर्दछ । अन्ततस् सवै कुँजी राजनीतिमा नै हुन्छ । हालै संविधान निर्माणमा बनेको प्रमुख दलहरुबीचको सहमति छिटो कार्यान्वयन भएर लामो समयदेखिको राजनीतिक संक्रमणकाल जति छिटो अन्त्य हुन्छ उति नै सहज र छिटो विपद् व्यवस्थापन र नवनिर्माण हुनेछ । (डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको कार्यपत्र)
हुण्डी, रेमिट्यान्स र अनुदान-डा. मिन बहादुर श्रेष्ठ
डा. मिन बहादुर श्रेष्ठ नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्ने बुझाई छ । यसको अर्थ अलि फरक छ । हामीलाई ठुलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । बिभिन्न बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ र बैंकले नेपाली मुद्रा दिन्छन । रेमिट्यान्सबाट देशलाई प्राप्त हुने भनेको विदेशी मुद्रा नै हो । व्यापार घाटालाई मिलान गर्न पनि यहि विदेशी मुद्राले सहयोग गरेको छ । कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको रकम जोडिदैन । कुल गार्हस्थ उत्पादनसँग रेमिट्यान्सलाई तुलना गर्ने मात्रै हो । मानौं, जिडिपी १९२८ अर्ब छ, ५४३ अर्ब रेमिट्यान्स आएको छ भने जिडिपीको तुलनामा रेमिट्यान्स २८ दशमलब ८ प्रतिशत रेमिट्यान्सको अंश छ भन्न पाईन्छ । तर योगदान नै हो भन्न चाँही मिल्दैन । रेमिट्यान्सको पैसा अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने कुरा पनि गलत हो । रेमिट्यान्सको रकम सडक, पुल, बिजुलीमा लगानी हुने होईन । जुनसुकै देशमा रेमिट्यान्स प्राप्त गर्ने परिवारले गर्ने खर्चले नै अर्थतन्त्र चलायमान बनाउने हो । नेपालमा अहिले दाल चामल बाहेक, शिक्षा, स्वास्थ्यमा रेमिट्यान्सको रकम खर्च भैरहेको छ । हाम्रो अर्थतन्त्रलाई पनि यसैले चलायमान बनाईरहेको छ । केन्द्रिय तथ्यांक बिभागका अनुसार नेपालमा कुल घरपरिवार मध्ये ५६ प्रतिशतले कुनै न कुनै रुपमा रेमिट्यान्स प्राप्त गर्छन । सो रकम मध्ये उनीहरुले ७९ प्रतिशत उपभोगमा खर्च गर्छन । चालु आर्थिक बर्षको सुरुवात देखि नै रेमिट्यान्स आप्रवाहमा कमि आएको थियो । गत आर्थिक बर्षको सोही समयमा जति रेमिट्यान्स आएको थियो सो भन्दा यसपाली कम भएको थियो । हामीले समस्या पहिचान गरेर समाधानको पहल गरेपछि रेमिट्यान्सको आगमन बढेको हो । रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन । पहिले ९० प्रतिशतसम्म रकम हुण्डीबाट आउँथ्यो भने १० प्रतिशत मात्रै बैंकिङ च्यानलबाट आउँथ्यो । पछिल्लो केहि समय चाँही करिब ७० प्रतिशत भन्दा बढि रकम औपचारिक माध्यमबाट आउँछ । फेरि केहि समय पहिले देखि अनधिकृत व्यापार बढेपछि हुण्डीको कारोबार पुनः बढेको थियो । हुण्डीले रकम आउने क्रमलाई घटाउँदैन । सरकारी तथ्यांकमा मात्रै नदेखिने हो । सरकारी कोषमा विदेशी मुद्रा आउँदैन । घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ । हामीले हुण्डीलाई निरुत्साहित गर्न मुख्यत दुईवटा उपाय अपनाईरहेका छौं । पहिलो काम भनेको हुण्डी कारोबारीलाई कारवाही गर्ने अनि दोश्रो भनेको अनधिकृत व्यापार तथा सुन आयातलाई रोक्ने नै हो । त्यसका लागि केन्द्रिय बैंक, अर्थमन्त्रालय र सुरक्षा निकायको संयुक्त टोलीले काम गरिरहेको छ । यसले नै हुण्डी कारोबार घटाएर रेमिट्यान्सको आप्रवाह बढाएको थियो । चालु आर्थिक बर्षको पहिलो तीन महिनामा घटेको रेमिट्यान्स आप्रवाह सातौं महिनासम्म आईपुग्दा सात प्रतिशतले बढेको देखिन्छ । भूकम्प आईसकेपछि विदेशमा काम गर्ने कामदारले रकम बढाउने क्रम बढ्यो । त्यस्तै यो अवधीमा रेमिट्यान्सको कारोबार गर्ने कम्पनीहरुले शुल्क मिनाहा गरेकाले पनि रेमिट्यान्स बढेको हो । भूकम्पपछि मासिक ४७ अर्ब रेमिट्यान्स आईरहेको छ । कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुण्डीमा आकर्षित भएका हुन । रेमिट्यान्स कम्पनीले निशुल्क पैसा पठाउने निर्णय गरेपछि रेमिट्यान्स बढेको छ । अर्काे कुरा भनेको भूकम्पले चिनबाट हुने अनधिकृत सुन आयात घटेको देखियो । सुन तस्करीको नाका बन्द भएकाले रेमिट्यान्स आउने क्रम बढेको भन्न सकिन्छ । विदेशमा रहेका कामदारहरुको तलब पनि बढिरहने र विदेशीने कामदारको संख्या पनि बढिरहेकाले पनि रेमिट्यान्स घट्नु पर्ने अवश्था छैन । हुण्डीको कारण नै रेमिट्यान्सको आप्रवाहमा कमि आएको हो । केन्द्रिय बैंक, अर्थमन्त्रालय र सुरक्षा निकायको कार्यदलले हुण्डीको सुक्ष्म अध्ययन गरिरहेको छ । हुण्डीका अड्डाहरुमा छापा मार्ने अन्तिम तयारी भैरहँदा भूकम्प गयो । अब फेरी त्यो अभियानको आरम्भ हुन्छ । विदेशमा गएका नेपालीलाई हुण्डीबाट रकम पठाउँदा देशलाई घाटा हुन्छ भनेर जानकारी दिन्छौं त्यसपछि हुण्डी केहि निरुत्साहित हुन्छ । रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याउने प्रयास गर्नु पर्छ भने अर्काे भनेको त्यसरी आएको रकमको केहि प्रतिशत उत्पादनशिल क्षेत्रमा लगाउन प्रोत्साहन गर्नु आवश्यक छ । हुण्डीलाई निरुत्साहित पार्न रेमिट्यान्स पनि निशुल्क ल्याउने व्यवस्था गर्नु पर्ने आवाज उठेको धेरै समय भयो । निःशुल्क ल्याउने व्यवस्था गरेपछि रेमिट्यान्स हुण्डी निरुत्साहित हुन्छ भन्ने कुरा प्रमाणित भैसकेको छ । पाकिस्तानमा रेमिट्यान्स पठाउँदाको केहि शुल्क सरकारले व्यहोर्ने व्यवस्था छ । हामीले त्यसबारे सोचेका थियौं । गत बर्ष आएको रेमिट्यान्सको शुन्य दशमलब पाँच प्रतिशत अनुदान दिएको भएपनि तीन अर्ब दिनु पर्ने अवश्था रहेछ । सरकारले तीन अर्बको अनुदान दिएर कसरी रेमिट्यान्स आप्रवाहलाई औपचारिक च्यानलमा ल्याउन सक्छ ? यो अलि व्यवहारिक देखिएन । त्यसकारण पहिलो चरणमा मोटिभेसनको माध्यमबाट रेमिट्यान्स कम्पनी मार्फत पैसा पठाउन अभिप्रेरित गर्नु पर्ने देखिएको छ । हामीले डायस्फोरा बण्ड पनि ल्याएका हौं । तर सफल भएन । अहिले पनि वैदेशिक रोजगार बचतपत्र ल्याएका छौं । यसपाली पनि असार ६ गतेदेखि २५ करोडको बचत पत्र बेच्दैछौं । त्यसको ब्याजदर नौ प्रतिशत छ । हामीले बिक्रिका लागि राखेको भन्दा निकै कम मात्रै बिक्ने गरेको छ । यसको कारण भनेको सरकारी ढुकुटीकै एक खर्ब रुपैंयाँ खर्च गर्न सकिरहेको छैन भने बचत पत्रमा लगानी कसरी बढ्नु ?(प्रवक्ता श्रेष्ठले व्यक्त गरेको विचार)
१६ बुुँदे सहमतिः अवरोध हट्यो, प्रक्रिया लामो
नयाँ संविधान निर्माणका क्रममा गत पाँच वर्षदेखिको गतिरोध अन्त्य भएको छ । २०६४ सालमा संविधानसभाको निर्वाचन हुँदा दुई वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धता संबैधानिक रुपमा र राजनीतिक रुपमा आएका थिए । तर २०६६ सालमा संविधान आउन सकेन । विगत पाँच वर्षदेखि शासकीय स्वारुप, संघीय संरचना र न्यायप्रणालीमा सहमति हुन सकेको थिए । सोमबार राती संविधानसभाका चार प्रमुख दलबीच १६ बुँदे सहमति भएको छ । केही असन्तुष्टिका बाबजुत रातोपीरो अनुहार लगाउँदै नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को नेतृत्वले सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमति विवाद मुक्त हुने छैन । क्षेत्रिय र जातिय नारालाई केन्द्रविन्द बनाएर राजनीति गर्दै आएका दल, नेता तथा दवाव समूहहरु यसको विपक्षमा लाग्ने निश्चित छ । सहमति गर्ने प्रमुख राजनीतिक दलभित्र पनि टुटफुटसम्मका घट्ना हुनसक्छ । तर यस सहमतिका विरुद्ध जनमत उत्रने छैन । उकुसमुकुस बातावरणका बीच उक्त सहमति कार्यन्वयनमा जानेछ र नयाँ संविधान निर्माण प्रक्रिया अगाडि बढ्ने छ । चारदलले गरेका राजनीतिक सहमतिमा प्रक्रियाको ढोका खुलेको छ । ढोकाभित्र पस्दै गर्दा कति ठूलो भूकम्प आउने हो र त्यसको असर कुन रुपमा देखिने हो अनुमान गर्न कठिन नै छ । संविधान जारी हुने क्रमा र जारी भएपछि पनि राजनीतिक, सामाजिक द्वन्द्व देखिनै रहेनछन् । राजनीतिक सहमतिमा पहिचाहन र सामथ्र्यका आधारमा आठ प्रदेश निर्माण गर्ने सहमति भएको छ । १० प्रदेश चाहिन्छ भन्ने माओवादी र बढीमा ६ प्रदेश भन्ने काँग्रेस र एमालेको सम्झौता विन्दु हो । यसले देशको संघीय स्वरुपमा बास्तविक तस्वीर दिन सकेको छैन । प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतको निर्णयबाट गर्ने, प्रदेशको सीमाङ्कन सम्बन्धी सिफारिस गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्ने, सङ्घीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसद्को दुई तिहाइ बहुमतले गर्ने राजनीतिक सहमति भएको छ । यी सबै प्रक्रिया हुन् । अन्तिम निर्णय होइनन् । यो प्रक्रिया पुरा हुन अझै धेरै वर्ष लाग्नेछ । राजनीतिक सहमतिसँग असारमसान्तसम्ममा संविधान जारी गर्ने भनिएको छ । असारसम्म अपूर्ण संविधान बन्ला, सरकार परिवर्तन होला तर पूर्ण संविधान बन्दैन । अहिलेको राजनीतिक सहमति संविधान बनाउने क्रममा देखिएको गतिरोध अन्त्य मात्र हो । राजनीतिक सहमति शासकीय स्वरुपमा २०४६ सालपछिको १८ वर्ष र २०६४ सालपछिको ८ वर्षको अभ्यासलाई मिश्रण गरिएको छ । नयाँ स्वरुप आएन । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुने र संवैधानिक राष्ट्रपति हुनेमा सहमति गरेका छन् । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् एवम् प्रादेशिक सभा सदस्यसहितको निर्वाचकमण्डलबाट हुनेछ । यसमासंसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत राखेको छ । संसदीय प्रधानमन्त्री र संबैधानिक राष्ट्र प्रमुख रहने व्यवस्था आफैमा नराम्रो होइन, तर नेपालमा असफलसिद्ध व्यवस्था हो । यसले राजनीतिक स्थायीत्व र सरकारको नीतिमा स्थायीत्व कायम गर्न सहयोग गर्दैन । सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने, प्रादेशिक सभा एक सदनात्मक हुने, प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिने, प्रतिनिधिसभामा कुल दुई सय ७५ सदस्य रहने, भूगोल र जनसङ्ख्याका आधारमा देशमा कुल एक सय ६५ संसदीय निर्वाचन क्षेत्र हुने, निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बहुमत प्राप्त गर्ने एक सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी एक सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको सदस्य सङ्ख्या कुल ४५ कायम हुनेछ । यसमध्ये प्रत्येक प्रदेशबाट समान सङ्ख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् र बाँकी पाँच सदस्य सङ्घीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । यी सबै विगतमा भएका प्रयोगहरुको मिश्रण हो । यसले सर्वसाधारणमा कुनै उत्साह दिदैन । विलकुल नयाँ भनेको संबैधानिक अदालत गठन गर्न दलहरु सहमत भएका छन् । केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी विवादमा न्याय निरुपण गर्न एक संवैधानिक अदालत गठन गर्ने भनिएको छ । यो अदालतमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले अध्यक्षता गर्ने र दुई जना अन्य वरिष्ठतम् न्यायाधीश तथा दुई जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानुन क्षेत्रका विज्ञ सदस्य हुनेछन् । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको मितिले १० वर्षसम्म हुने भनिएको छ । यसमा दलहरुले परिपक्व निर्णय गरेका छन् । तत्कालका लागि संबैधानिक अदालत खाँचो हुन्छ र दीर्घकालमा यस्तो अदालत जरुरी छैन पनि । १६ औं बुँदामा जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथाशक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिने भनिएको छ । यो संविधानमा समेटिने विषय होइन, तत्कालको आवश्यकता हो । तर संविधान निर्माण नभई स्थानीय निकायमा चुनाव गर्नुहुन्न भन्नेको मुखमा बुझो लगाउन यो सहमति महत्वपूर्ण छ ।