भारतमा बनेको एमजी विन्डसर ईभी सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । एमजीको नयाँ विद्युतीय सवारीसाधन ‘एमजी विन्डसर ईभी’ बुधबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा विन्डसर ईभीसार्वजनिक गरिएको हो । एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सार्वजनिक गरेको हो। यो गाडी दुई भेरियन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने अर्को भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रहेको छ । एमजी विन्डसर ईभी भारतमा निर्मित जेएसडब्लू एमजीको दोस्रो विद्युतीय मोडल हो । यसअघि भारतमै निर्मित कोमेट मिनी ईभी नेपाली बजारमा बिक्री भइसकेको छ । पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी विन्डसरले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले भारतीय बजारमा राम्रो बिक्री प्राप्त गरिरहेको विन्डसर ईभीले नेपाली बजारमा अन्य ब्रान्डका गाडीसँग सजिलै प्रतिस्पर्धा गर्ने बताए । एमजी विन्डसर एक कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) हो, जुन लक्जरी र आधुनिक प्रविधिले भरिएको छ । यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली, एड्जस्टेबल फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल तथा ३६० डिग्री क्यामेरा उपलब्ध छ। विन्डसर ईभीमा ३८ किलोवाट- आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । भारतको सहरी परीक्षणमा यसले ३२७ किलोमिटर रेन्ज दिएको उल्लेख गरिएको छ । यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले २०० एनएम टर्क उत्पादन गर्न सक्ने कम्पनीको भनाइ छ । सुनिलबहादुर क्षेत्री विन्डसर ईभीको डिजाइन आकर्षक र आधुनिक छ । यसमा फ्लश डोर ह्याण्डल, एलईडी लाइटहरू, १८ इन्चको अलोय ह्वील, पानारोमिक ग्लास रुफ, १३५ डिग्रीसम्म डिलाइन गर्न मिल्ने पछिल्लो सिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन सेन्टर कन्ट्रोल सिस्टम जडान गरिएको छ । साथै गाडीमा चारवटै पाङ्ग्रामा डिसब्रेक, ६ स्पिकर पनि राखिएको छ ।
लगातार दोस्रो वर्ष संकटमा टेस्ला : मस्कको धारणा र पुराना मोडेलले टेस्लाको बिक्री घट्दो
काठमाडौं । टेस्लाको गाडी डेलिभरी दोस्रो त्रैमासमा पनि घटेपछि कम्पनी लगातार दोस्रो वर्ष बिक्री घट्ने दिशामा उन्मुख देखिएको छ । सीईओ एलन मस्कको दक्षिणपन्थी राजनीतिक धारणा र पुरानो मोडलका कारण यस्तो अवस्था आएको हो । अब टेस्लाले वार्षिक बिक्रीमा गिरावट रोक्नको लागि वर्षको दोस्रो अर्ध (जसलाई सामान्यतया बलियो समय मानिन्छ) मा १० लाखभन्दा बढी गाडी डेलिभर गर्नुपर्नेछ । तर, विश्लेषकहरूले यो लक्ष्य पूरा गर्न गाह्रो हुने अनुमान गरेका छन् । किनभने व्यापार नीतिमा अनिश्चितता छ र ट्रम्प प्रशासनको कर विधेयक अन्तर्गत विद्युतीय गाडी (ईभी) का लागि दिइने मुख्य प्रोत्साहनहरू हटाउने खतरा देखिएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार दोस्रो त्रैमासमा टेस्लाको डेलिभरी १३.५ प्रतिशतले घटेको छ, जुन विश्लेषकहरूको अपेक्षाभन्दा कमजोर हो । यद्यपि मस्कले अप्रिलमै बिक्री सुधार भएको बताएका थिए । कम्पनीको सेयर मूल्य( जुन यस वर्ष करिब २५ प्रतिशतले घटेको छ -४.५ प्रतिशतले उकालो लाग्यो किनभने गिरावट विश्लेषकहरूले सोचेकोभन्दा कम थियो । यसमा चीनको प्रतिस्पर्धी बजारमा माग केही फर्किएकोले मद्दत गरेको देखिन्छ, जहाँ टेस्लाको नयो मोडल वाईले केही ग्राहक तानेको छ । टेस्लाले ग्राहकलाई आकर्षित गर्न सस्तो वित्तीय योजना जस्ता अफरहरू दिएको छ, तर उसले अझैसम्म लामो समयदेखि वाचा गर्दै आएको सस्तो मोडल बजारमा ल्याएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूले आकर्षक डिजाइन र फिचरसहित सस्तो ईभी ल्याएर बजारमा कब्जा जमाइरहेका छन् । टेस्लाले जुनको अन्त्यसम्म सस्तो मोडेल( सम्भवतः कम सुविधायुक्त मोडल वाई- उत्पादन सुरू गर्ने भनेको थियो । तर उत्पादन ढिला हुने भएको छ । मस्क र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कर विधेयकको विषयमा बढ्दो विवादले पनि लगानीकर्तालाई चिन्तित बनाएको छ । यसले मस्कको दक्षिणपन्थी धारणा झनै स्पष्ट बनाइदिने भएकाले अमेरिका र युरोपमा झनै धेरै ग्राहक टाढिने सम्भावना बढेको छ । साथै टेस्लाको रोबोट्याक्सी योजनामा नियामक निगरानी बढ्न सक्छ, जुन योजना कम्पनीको करिब एक ट्रिलियन डलरको मूल्यांकन हो । विश्लेषकहरूका अनुसार कम्पनीले ३ लाख ९४ हजार ३७८ गाडी डेलिभर गर्ने अपेक्षा गरिएको थियो । यद्यपि पछिल्ला महिनामा केही विश्लेषकहरूले ३ लाख ६० हजार ८० इकाईसम्मको न्यूनतम प्रक्षेपण गरेका थिए । ‘वार्षिक हिसाबमा डेलिभरी अझै घटेको भए पनि गिरावटको दर कम भएको देखिन्छ- जसले बजार तलबाट फर्किन लागेको सङ्केत दिन सक्छ र वर्षको बाँकी भागमा वृद्धिको सम्भावना पनि देखिन्छ,’ लेभरेज सेयर्सका वरिष्ठ अनुसन्धानकर्ता सन्दीप रावले भने । जुन महिनामा टेस्लाले चीनमा लगातार ८ महिनासम्म घटिरहेको बिक्रीमा विराम लगायो । यसले देखाउँछ कि नयाँ मोडल वाईले केही ग्राहक तानेको छ, यद्यपि चिनियाँ कम्पनी बीवाईडीजस्ता सस्तो ईभी निर्मातासँग कडा प्रतिस्पर्धा छ । कतिपय विश्लेषकहरूले भनेका छन् कि चीनमा टेस्लाले प्रिमियम र भरपर्दो ब्रान्ड को छवि बनाएर फाइदा लिइरहेको छ । चीनमा केही स्वदेशी कम्पनीहरूले नयाँजस्तो देखिने प्रयोग गरिसकिएको गाडी पुनःबिक्री गर्ने गरेकाले ग्राहकहरू सावधानीपूर्वक छनोट गरिरहेका छन् । स्पेन र नर्वेमा पनि गत महिना टेस्लाको बिक्री बढेको छ, जहाँ मस्कको राजनीतिक धारणा कारण अघिल्लो समय बिक्रीमा तीव्र गिरावट आएको थियो । ग्राहकहरूले नयाँ मोडल वाई रोजेका छन् । टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’
फेरारीको नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक, मूल्य २ लाख ४० हजार युरो
काठमाडौं । फेरारीले मंगलबार नयाँ ‘अमाल्फी’ कूप सार्वजनिक गरेको छ । लक्जरी स्पोट्स कार निर्माता फेरारीले पेट्रोल र हाइब्रिड मोडेललाई मिसाउँदै आफ्नो पहिलो पूर्ण विद्युतीय सवारीसाधन (ईभी) सार्वजनिक गर्ने तयारी गरिरहेको बेला यो नयाँ मोडेल ल्याइएको हो । ८ सिलिन्डर र ३.८५ लिटर इञ्जिन क्षमताको अमाल्फीले सन् २०१९ मा सार्वजनिक गरिएको सफल ‘रोमा’ मोडेललाई प्रतिस्थापन गर्दै अपग्रेड पनि गरेको छ । यो मोडेल फेरारीको इन्ट्री सेग्मेन्टमा पर्दछ । अमाल्फी सार्वजनिक हुनुभन्दा दुई महिना अघिमात्र फेरारीले २९६ स्पेसियाले हाइब्रिड कार र त्यसको कनभर्टिबल भर्सन ल्याएको थियो । फेरारीले आफ्नो पहिलो विद्युतीय कार (ईभी) यस वर्षको अक्टोबरबाट तीन चरणमा सार्वजनिक गर्न सुरु गर्ने जनाएको छ । यद्यपि दोस्रो ईभी मोडेल- जसले अझै ठूलो बजारलाई लक्षित गर्ने जनाइएको छ जुन सन् २०२८ भन्दा पहिले आउने अपेक्षा गरिएको छैन । किनभने उच्च प्रदर्शनका लक्जरी ईभीहरूप्रति माग पर्याप्त नभएको स्रोतहरूले रोयटर्सलाई जनाएका छन् । अमाल्फीको आकार ‘रोमा’ जस्तै भए पनि यसको बाह्य स्वरूप विशेषगरी अगाडिको डिजाइनमा परिवर्तन गरिएको छ । फेरारीका प्रमुख मार्केटिङ तथा वाणिज्य अधिकारी एनरिको गालिएराले अमाल्फी उच्च प्रदर्शन, प्रविधि र ड्राइभिङ आनन्दका हिसाबले एक साँचो फेरारी स्पोट्र्सकार भएको बताए । अमाल्फी पूर्ण रूपमा आन्तरिक दहन इञ्जिन (आईसीई) बाट सञ्चालित छ, जसले ६४० हर्सपावर उत्पादन गर्छ र यसको उच्चतम गति ३२० किलोमिटर प्रति घण्टा छ । कम्पनीका अनुसार यसमा पछाडिको भागमा एक्टिभ स्पोइलर जडान गरिएको छ, जसले उच्च गतिमा स्थिरता प्रदान गर्छ । रोमा झैं अमाल्फी पनि ‘२ प्लस कूप हो, जसमा दुई साना पछाडि सीटहरू छन् । नयाँ मोडेलको सुरुआती मूल्य २ लाख ४० हजार युरो ९झण्डै २ लाख ८१ हजार अमेरिकी डलर० तोकिएको छ । ग्राहकहरूलाई पहिलो डेलिभरी युरोपबाट सुरु हुँदै अर्को वर्षको पहिलो त्रैमासिकमा गरिने जनाइएको छ । अमेरिकी ग्राहकहरूलाई डेलिभरी त्यसपछि तीनदेखि छ महिनापछि सुरु हुने छ, जसमा आयात करका कारण मूल्य केही बढ्नेछ । ‘रोमा’ कूपको उत्पादन बन्द गरिएको छ भने सन् २०२३ मा सार्वजनिक गरिएको यसको रिट्र्याक्टेबल टप संस्करण फेरारीको उत्पादन सूचीमा यथावत् रहेको छ ।