नाइमा मोबिलिटी एक्स्पो आजदेखि
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो आज (बुधबार) देखि हुँदैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहान साढे ८ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । साउन २१ देखि २५ गतेसम्म चल्ने यस प्रदर्शनीमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० भन्दा बढी मोडेलका सवारीसाधन राखिने छन् । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार यो एक्स्पो खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुनुका साथै अटोमोबाइल क्षेत्रको नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने महत्त्वपूर्ण मञ्च पनि हो । एक्स्पोमा विभिन्न कम्पनीले ३५ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेका छन् । नाइमाका अनुसार १५ मोडलका चारपाङ्ग्रे, १५ मोडलका दुईपाङ्ग्रे, एउटा तीनपाङ्ग्रे र ४ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछन् । प्रदर्शनीका पाँचै दिन सवारी तथा यातायातका विभिन्न विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसमा यातायात क्षेत्रको वर्तमान अवस्था, जनशक्ति विकास, नीतिगत अवस्था र व्यवस्थापनजस्ता विषयमा विमर्श हुनेछ । चारपाङ्ग्रेमा बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा, जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन् । यस्तै दुईपाङ्ग्रेमा एम्पियर, एथर, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो छन् । कमर्सियलमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ रहेका छन् । टिकट शुल्क साधारणका लागि २ सय रुपैयाँ तथा विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० प्रतिशत छुट रहेको छ । कारका लागि पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकलका लागि भृकुटीमण्डपभित्र व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट उठेको रकमको पाँच प्रतिशत शिक्षा मन्त्रालय र सीटीईभीटीको सहकार्यमा मोबिलिटी क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने नाइमाले जनाएको छ ।
अब नेपालमा पनि ४ करोड मूल्य पर्ने उड्ने कार : चालक नचाहिने, दुईजना यात्रु बोक्ने
काठमाडौं । सडकमा गुड्ने गाडी त हामीले देख्दै र चढ्दै आएका छौं । तर, अब हामीले आकाशमा उड्ने कार (फ्लाइङ कार) आफ्नै आँखाले हेर्न पाउने भएका छौं । आगामी भदौमा आयोजना हुने ‘नाडा अटो शो’ मा चिनियाँ ब्राण्ड चाङ्गानले उत्पादन गरेको ‘फ्लाइङ कार’ प्रदर्शनीमा राखिने भएको छ । चाङ्गानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले यो कार नेपाल ल्याउन लागेको हो । तर, आकर्षक र भविष्यको सवारी मानिएको यो कार तत्कालै किन्न वा नेपाली आकाशमा उडाउन भने पाइने छैन । कम्पनीले यसलाई बिक्रीका लागि नभई प्रदर्शनी र आफ्नो प्राविधिक क्षमता देखाउनका लागि मात्रै ल्याउन लागेको जानकारी दिएको छ । कस्तो छ फ्लाइङ कार ? आकाशमा उड्ने कार कस्तो हुन्छ भन्ने विषयमा अधिकांश अटोप्रेमीहरूको चासो बढेको छ । एमएडब्लू वृद्धि अटोकर्पका मार्केटिङ प्रमुख रमेश दनेखूले यो कार चांगान अन्तर्गतको ‘दीपल’ ब्राण्डको पूर्ण विद्युतीय कार भएको जानकारी दिए । यसमा दुई जना यात्रुले यात्रा गर्न सक्छन् । ‘यो चाङ्गानको इनोभेसन देखाउनका लागि हो,’ दनेखूले भने, ‘हामीले प्राविधिक रूपमा के–के गर्न सक्छौं भनेर देखाउन ल्याउन लागेका हौं ।’ धेरैको चासोको विषय यो कार किन्न पाइन्छ कि पाइँदैन र यसको मूल्य कति पर्छ भन्ने हुन्छ । कम्पनीका अनुसार यसको मूल्य चीनमा करिब २३ लाख ९० हजार चिनियाँ युवान पर्छ भने नेपालमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्नेछ । यो उड्ने गाडी चीनका प्रमुख अटो निर्माता कम्पनी चांगान अटोमोबाइल र ईहाङको सहकार्यमा निर्माण गरिएको हो । कम्पनीका अनुसार यो उड्ने सवारीसाधनको नाम ईएच २१६-एस हो । जुन पूर्ण रूपमा विद्युतीय र स्वचालित प्रणालीमा आधारित मोडेल हो । यो सिधै माथि उड्न र अवतरण गर्न सक्ने विशेषता भएको फ्लाइङ कारका रूपमा चीनमा परिचित छ । ‘फ्लाइङ कार’ चालकबिनै उड्न सक्ने स्वचालित क्षमता भएको गाडी हो । यसमा दुई यात्रु बोक्ने तथा अधिकतम २२५ किलोग्राम तौल बोक्न मिल्ने क्षमता छ । एक पटकको चार्जमा ३० किलोमिटर दूरी (२०-२१ मिनेटको उडान) तय गर्न सक्ने कम्पनीको भनाइ छ । यसका साथै अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा, अधिकतम उचाइ ३ हजार मिटर रहेको छ । यो गाडीले चीनको नागरिक उड्डयन प्राधिकरणबाट प्रमाणित व्यावसायिक प्रयोगको अनुमति प्राप्त गरिसकेको छ । विश्वमा उड्ने कार प्रविधिको स्थिति अमेरिका, चीन, दुबई, दक्षिण कोरिया, र युरोपेली देशहरू (फ्रान्स, जर्मनी, बेलायत) ले उड्ने कार तथा विद्युतीय ऊध्र्वगामी अवतरण र उडान सक्षम यान (इभीटीओएल) प्रविधिको विकासमा उल्लेखनीय प्रगति गरिसकेका छन् । त्यहाँ सरकारी अनुमति, परीक्षण उडान र पूर्वाधार निर्माण सुरु भइसकेको छ । तर, नेपालले पहिलो पटक उड्ने कारको प्रदर्शनीमार्फत क्षेत्रीय अग्रता देखाएको छ । भारतमा केही निजी कम्पनीहरूले यस्ता प्रोटोटाइप विकास गरिरहेका छन्, तर परीक्षण अनुमति पाएका छैनन् । बंगलादेश, पाकिस्तान, र श्रीलंकामा भने कुनै ठोस नीति वा लगानी सार्वजनिक भएको छैन । नेपालमा उडाउन पाइँदैन : विभाग नेपालको सवारी नियमन गर्ने यातायात व्यवस्था विभागले यस्ता सवारीका लागि कुनै पनि कानुनी व्यवस्था नभएको बताएको छ । यातायात व्यवस्था विभाग प्राविधिक शाखाका प्रमुख श्रीकान्त यादव नेपालको यातायात व्यवस्था ऐनले सडकमा गुड्ने सवारीलाई मात्र चिन्ने र उड्ने कारको परिकल्पना नै नगरेको बताउँछन् । ‘हाम्रो यातायात ऐनले उड्ने कारको लागि कुनै नीति-नियम बनाएको छैन,’ उनले भने, ‘हाम्रो कानुनले सडकमा गुड्नेलाई मात्र सवारी मानेको छ । त्यो बाहेकको परिकल्पना नै गरिएको छैन ।’ उनले उड्ने कार ल्याउने विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए । चांगानले विकास गरेको इलेट्रिकल भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको कम्पनीले दाबी गरेको छ । चांगानले यो फ्लाइङ कार टेक्नोलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको बताइएको छ । ‘यो कार बिक्रीका लागि होइन । नेपालमा यस्ता गाडी सञ्चालनका लागि कुनै नियम कानुन नै बनेको छैन,’ दनेखूले भने, ‘यो कार विश्वव्यापी रूपमा नै व्यावसायिक बिक्री सुरु भइसकेको छैन, अझै अनुसन्धान र विकासकै चरणमा छ ।’ ‘यसको बारेमा हामीलाई पनि धेरै कुरा थाहा छैन, यो रिसर्च फेजमै छ । यसको अन्य विस्तृत विवरण अहिले नै दिन सकिँदैन,’ उनले थपे । यो कार चीनमा परीक्षण भइसकेको तर नेपालमा ल्याएर उडाउने वा परीक्षण गर्ने कुनै योजना नरहेको कम्पनीले जनाएको छ । ‘चीनमा यो कार उडिसकेको छ,’ दनेखूले भने, ‘तर यहाँ ल्याएर उडाउन मिल्दैन, यो नाडा अटो शोको स्टलमा प्रदर्शनीमा मात्र रहनेछ ।’ यो कारले नाडा अटो शोमा सबैको ध्यान खिच्ने निश्चित छ । नेपालमा बिक्री र सञ्चालन नहुने भएता पनि भविष्यको सवारीसाधन कस्तो हुनेछ भन्ने एउटा रोमाञ्चक झलक यसले दिनेछ ।
नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटोको अफरै अफर
काठमाडौं । सीएफमोटो/जीहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा आफ्नो २ मोडल ३०० के तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ तथा खरिद गर्दा कम्पनीले 'सीएफमोटो-जिहो अफरको वर्षा' अन्तर्गत आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराउने भएको छ । एक्स्पोमा सीएफमोटो तथा जीहोका लोकप्रिय मोडलहरू २५० के, ४५० एमटी तथा जीहो एई ८ मोडल प्रदर्शनमा राखिनेछ । एक्स्पोलाई लक्षीत गर्दै कम्पनीले आधिकारीक रुपले आफ्नो नेकेड सिरिजअन्तर्गत पर्ने ३०० के तथा प्रिमियम स्पोट्र्स सिरिजअन्तर्गत ४५० एसआरएस मोडेलहरू सार्वजनिक गर्ने भएको छ । एक्स्पो अवधीभर यस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरीद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटोरजीहोका केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् । यसका साथै कम्पनीले यो एक्सपो अवधिभर ग्राहकले सीएफ मोटोको ४५० एमटी खरीद तथा बुक गर्दा आकर्षक एमटी हेलमेटको साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसेसोरिजहरू छुटको स्वरुप पाउन सक्नेछन् । त्यसैगरी सीएफमोटोको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।