एथरको नयाँ फ्यामिली स्कुटर ‘रिस्ता’ सार्वजनिक, एकपटक चार्ज गर्दा १२५ किमि गुड्ने

काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’  नेपाली बजारमा सार्वजनिक गरेको छ ।  कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि-लन्च गरेको हो । यसको आधिकारिक बिक्री तथा मूल्य घोषणा भने आगामी नाइमा अटो मोबिलिटीमा गरिने कम्पनीले जनाएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको ‘रिस्ता’ विशेषगरी पारिवारिक प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो स्कुटरमा फराकिलो र लामो सिट, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू समावेश छन्। नेपालमा सार्वजनिक गरिएको एथर रिस्ता ३।७ किलोवाट आवर ब्याट्री क्षमताको ‘जेड’ भेरियन्ट हो । कम्पनीका ओभरअल बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ ।  यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको उनले दाबी गरे । यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ । रिस्ताको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ । एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन् । यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो । यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ । मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन मिल्ने अधिकारीले जानकारी दिए । कम्पनीले रिस्ताको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ । ग्राहकलाई थप विश्वास दिलाउन कम्पनीले ब्याट्रीको वारेन्टीलाई ८ वर्ष वा ८० हजार किलोमिटरसम्म बढाउन मिल्ने सुविधा पनि दिएको छ । कम्पनीले नाइमा एक्स्पोमा आकर्षक अफरहरूसहित ‘रिस्ता’ को मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने तयारी गरेको छ ।

बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार

काठमाडौं । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ’चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो ।  कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । नेपाली बाटो सुहाउँदो, लोमान्थाङसम्म परीक्षण निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’ सर्भिसमा विशेष ध्यान, नेपालकै ठूलो इभी सर्भिस सेन्टर ग्राहकको सबैभन्दा ठूलो चिन्ताको विषय आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै कम्पनीले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–व्हीलर सर्भिस सेन्टर स्थापना गरेको छ । ‘हामी ग्राहकलाई सर्भिसको पूर्ण विश्वास दिलाउन चाहन्छौं। हामीसँग तालिम प्राप्त इभी विशेषज्ञ र स्पेयर पाट्र्सको पर्याप्त उपलब्धता छ,’ गोल्छाले भने, ’त्यसैले इभीमा स्विच गर्ने यो उत्तम मौका हो । ’ मोबाइल एपबाटै कन्ट्रोल, सुरक्षाका लागि विशेष फिचर चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ ।    ब्याट्री, रेन्ज र चार्जिङ चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ । यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले सुरुवाती चरणमा नक्साल शोरुमबाट मात्र बिक्री गर्ने र ग्राहकको विश्वास जितेपछि बजाजको नेटवर्कमार्फत देशभर विस्तार गर्ने योजना बनाएको छ ।  

नेपाल भित्रियो जीलीको ईएक्स फाइभ ईभी, ब्याट्रीमा आठ वर्ष वारेन्टी

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडेलहरू भित्रिने क्रम जारी छ । नयाँनयाँ मोडेलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबीचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।  यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जीली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली इएक्स फाइभ सिरिज नेपाल भित्रिएको छ ।   एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जीलीका २ मोडेल जिली इएक्स फाइभ प्रो र जीली इएक्स फाइभ म्याक्स नेपाल भित्राएको हो। नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडेलको भन्दा यी मोडेलहरूको अलिक बढी नै प्रतिस्पर्धा गर्नसक्ने देखिनछ । यी मोडेलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।   यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ।  गाडी निर्माता जीली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयू ३ हजार ५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्षसम्म प्रयोग गर्न मिल्ने) रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक रहेको कम्पनीको दावी छ । साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्सले जीलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमिसम्म वारेन्टीसमेत दिने जनाएको छ । यी दुवै मोडेलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । यसमा सीएलटीसी परीक्षणअनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ । जीली इएक्स फाइभ म्याक्सको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।  यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् ।  साथै जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।  दुवै मोडलमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।  नेपाली बजारका लागि ईएक्स फाइभ प्रोको मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने म्याक्सको मूल्य ६८ लाख रुपैयाँ तोकिएको छ ।  कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ।   नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जीलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्ने विश्वास कम्पनीको छ ।