१४ देखि १९ सिटरको बहुपयोगी व्यावसायिक ईभी नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शन

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यावसायिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध गराउन थालेको छ । अब यसले फारिजन, चेरी वान्डा र किङ लङजस्ता प्रसिद्ध ब्रान्डहरूअन्तर्गत १४ देखि १९ सिटर क्षमताका विद्युतीय भ्यानहरू बजारमा ल्याएको छ । नेपाल हाल संसारमै सबैभन्दा तीव्र गतिमा ईभी अपनाउने देश बनेको छ र निजी सवारी पछिपछि अहिले व्यावसायिक विद्युतीय सवारीहरूमा पनि तीव्र वृद्धि देखिएको छ । फारिजन १९ सिटर ईभी भ्यानको मूल्य ७६ लाख ९० हजार रुपैयाँदेखि सुरु छ । शंकर समूहको जगदम्बा मोटर्सले चीनको जीली अन्तर्गतको ब्रान्ड फारिजनको ईभी ल्याएको हो । यो गाडी लामो दूरी, उकालो बाटो र उच्च भारका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । गाडी युरोपेली युनियन डब्ल्यूभीटीए प्रमाणित रहेको छ । यसमा १७० किलोवाट इलेक्ट्रिक मोटर रहेको छ जसले शक्तिशाली प्रदर्शन गर्ने कम्पनीले दावी गरेको छ ।  यसैगरी गाडीमा ८२.८८ किलोवाट लिथियम ब्याट्री रहेको छ । चेरी वान्डा १४ सिटर माइक्रोबसको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने ब्याट्री ५३.५८ किलोवाटको रहेको छ । यसले फूल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । गाडीको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी वारेन्टी रहेको छ भने मोटरमा ५ वर्ष वा २ लाख किमी वारेन्टी दिइएको छ । यो माइक्रोबस चिनियाँ शीर्ष ब्रान्डहरू चेरी र वान्डाको संयोजनमा बनेको हो र दैनिक सहरभित्रको ओसारपसार तथा व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो ।

नेपाल मोबिलिटी एक्स्पोमा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक

काठमाडौं । मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी ३५२ एक्स र टी २५२ एक्स पहिलो पटक सार्वजनिक गरेको छ।  इटालीयन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू(भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टी ३५२ एक्स उच्च प्रदर्शन र साहसिक क्षमताको एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो ।  यसमा ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन, ४०.९ एचपी, ८ हजार ५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६- स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७-इन्च टीएफटी डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत)। रहेको छ । साथै यसमा मल्टी-लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ । यसको शोरुम मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा मोबिलिटी एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिन्छ ।  मोर्बिडेली टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन ( ३३.५ एचपी, १२ हजार आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६- स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ । साथै यो १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क र टीएफटी डिस्प्लेमा पनि उपलब्ध छ ।   मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै एक्स्पोमा बेनेलीका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ ।

नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’,  ‘वर्कफोर्स डेभलपमेन्ट,’  र ‘सेफ मोबिलिटी’  जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ ।  तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज