टाटा मोटर्सकाे ‘एसयूभी टाटा हेक्जा’ नेपाली बजारमा, ११ जनालाई गाडी हस्तान्तरण

काठमाडौं । टाटा मोटर्सले आफ्नो एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्र्याएको छ । बुधबार मात्रै भित्रिएको हेक्साको एक्स टी ४*४ का विभिन्न मोडलहरुको मूल्य ७७ लाख ९५ हजार रुपैयाँ पर्नेछ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सिईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले बुधबार पहिलो समूहको ११ जना ग्राहकहरुलाई गाडीको साँचो हस्तान्तरण गरेका छन् । टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४*४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्स मिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ । जस्तोसुकै बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ । यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषताहरु सहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिलहोल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकर सहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ । कार्यक्रममा टाटा मोटर्सका सिईओ तथा एमडीले भने, “हामीले टाटा मोटर्सको तर्फबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामी आशावादी छौं नेपाल भित्र नयाँ युग अनुसार गाडी मन पराउने ग्राहकहरु माझ धेरै प्रतिस्पर्धात्मक बजारको बावजुद पनि यसले तरंग ल्याउने छ र यो पूर्ण प्याकेज सहितको गाडी चाँडै लोकप्रिय हुनेछ ।”

बजाजले ल्यायो “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक योजना

काठमाडौं । बजाज अटोको नेपालको लागि आधिकारिक वितरक हन्सराज हुलास चन्द एण्ड कम्पनीले “पेट्रोल बाहेक सबै खर्च हाम्रो” नामक ग्राहक योजना ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि बजाज डिस्कभर बाइकको खरिदमा खरिदकर्ताले २ वर्षसम्म सम्पूर्ण स्पेयर पार्टस्, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज पूरै निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो कुराको निश्चिन्तताको लागि खरिदकर्तालाई सबै जानकारी र निःशुल्क कुपनहरु भएको एउटा ठूलो बुकलेट पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार डिस्कभरको विश्वासलाई अझ प्रगाढ बनाउन कम्पनीले योे योजना ल्याएको हो ।

अशोक लेल्याण्डका १० थान बसले अब चक्रपथ परिक्रमा गर्ने, आजैबाट सञ्चालनमा

काठमाडौं । आइएमई मोटर्स प्रालिद्धारा नेपाल अधिराज्यकालागि बिक्री वितरण गरिने अशोक लेल्याण्ड ब्राण्डका ३४ सिटे बसले अब चक्रपथ परिक्रमा गर्ने भएको छ । बुढानिलकण्ठ जमल सहिदगेट माइक्रोबस व्यवसायी समितीअन्तर्गतको बुढानिलकण्ठ यातायात प्रालीले अशोक लेल्याण्डका १० थान सुविधा सम्पन्नयुक्त गाडीहरु उक्त रुटमा सञ्चालन गर्ने भएको छ । अशोक लेल्याण्डले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै गाडीमा वाइफाई, सीसीटीभी, पब्लिक अनाउन्समेन्ट सिस्टम लगायतविभिन्न सुविधाका साथ साथै उक्त गाडि चक्रपथ परिक्रमा गर्दै बुढानिलकण्ठसम्म सेवाउपलब्ध गराउने संस्थाका अध्यक्ष बाबुराज महर्जनले बताएका छन् । साथै, उनले नेपाल सरकारको मापदण्ड पुरा गरी निकट भविष्यमा रुट नं ५ मा पनि बस सञ्चालनमा ल्याँउने प्रतिबद्धता व्यक्त गरेका छन् । समिती सदस्य भरत बस्नेतले निकट भविष्यमा थप उत्कृष्ट गाडि सञ्चालनमा ल्याँईने बताए । बिहीबारबाटै सञ्चालनमा आउने उक्त बसको उद्घाटन मिगमान्न दमाहाराज १०८ स्वामीले गरेका हुन् ।