कानुनबिनै रेल खरिद गर्ने तयारी, प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ। जनकपुर-जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न रेल विभागले एक साताअघि भारतीय कम्पनीलाई पत्राचार गरिसकेको छ। विभागका महानिर्देशक बलराम मिश्रा सम्झौता भएको तीन महिनाभित्र रेल सञ्चालन हुने दाबी गर्छन् । जनकपुर–जयनगर रेल रेल्वे कम्पनीमार्फत सञ्चालन गरिनेछ। तर, रेल सञ्चालन गर्ने रेल्वे कम्पनीसम्बन्धी कानुन छैन । मिश्राका अनुसार रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमवलीको मस्यौदा तयार भइसकेकाले रेल सञ्चालनमा कुनै समस्या नहुने बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
साझाले थप २० नयाँ शहरी बस ल्याउँदै, रक्सौल आइपुगे नयाँ बस
काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद भएकोे हो । उनले भने, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाडौँ आइपुग्नेछ ।” बस काठमाडौँ आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले रु पाँच करोड र ललितपुर महानगरपालिकाले रु एक करोड शेयर खरिद गरेका छन् । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण दुई दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरिद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा फैलाइरहेको जनाएको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा छ । साझाले काठमाडौँदेखि बागलुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुईदुई बस समेत सञ्चालन गरिरहेको छ ।
बाराको सिमरामा महिन्द्राको वर्कसप उद्घाटन
काठमाडौँ । नेपालको औद्योगिक तथा व्यापारिक घराना “एमभि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले बारा जिल्लाको सिमरामा वर्कसप उद्घाटन गरेको छ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका उपाध्यक्ष बिबेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर, कन्ट्री म्यानेजर तपस पट्टनायक, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका सिनियर म्यानेजर वेदप्रकाश शर्मा, हेड अफ अप्रेशन शम्भु प्रसाद सुवेदी, सर्भिस हेड सुदिपराज सुवेदी र चन्दन रौनियारको उपस्थिति रहेको थियो । नेपाल भर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत सेवा गर्दै आएको कम्पनीले जनाएको छ ।