स्याङयोङले नेपाली बजारमा ल्यायो नयाँ कार ‘रेक्सटन’, न्युनतम १ करोड १२ लाख मूल्यसम्ममा उपलब्ध

काठमाडौं । स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ सार्वजनिक गरेको छ । बिक्रेता आइएमएस मोटर्सले बुधबार एसयुबी सेग्मेन्टको रेक्सटन वाइ ४०० लाई नेपाली बजारमा भित्र्याएको हो । नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्समिसन गरी दुई विकल्पका साथ प्रस्तुत गरिएको छ । जसको मूल्य क्रमश: १ करोड ११ लाख ९९ हजार रुपैयाँ र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयोङ कोरियाको लक्जरी एसयुभी ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरुमध्येको चौथो हो । इ एक्स डी २२० डिजेल इन्जीन र मर्सिडिज-बेन्ज ७ स्पीड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएको यो कार आरामदायी रहेको कम्पनीले जनाएको छ । रेक्सटनमा ९ वटा एयर ब्याक छन् । यसमा उत्कृष्ट पार्श्व टकराव सुरक्षाका लागि क्वाड फ्रेमको पनि प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा गतिशील र विशाल फ्रन्ट लुक बाहेक एलइडी(डिआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट) जस्ता फिचर छ । सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पटर ह्विलले यो मोडलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीले जानकारी दिएको छ ।

सरकारले ईन्धनको भाउ बढायो, पेट्रोलमा २ रुपैयाँ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।  

नयाँ वर्षमा महंगिएर आउदैछन् यी कारहरु, कुनको मूल्य कति बढ्ला ?

काठमाडौं । आउदो नयाँ वर्ष २०१८ मा नेपाली बजारमा कार महँगो हुने भएको छ । भारतमा अधिकांश कार कम्पनीहरुले जनवरीदेखि कारको मूल्य बढाउने भएपछि नेपाल भित्रिने कार महँगो हुने भएको हो । भारतका अधिकांश कम्पनीहरुले कारको मूल्य बढाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बढ्दो लागत खर्चको कारण बताउदै कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेको हो । नेपालमा कारहरु भारतबाट आयात हुन्छन् । जसको कारण भारतमा कारको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतमा कारको मूल्य बढ्दा, नेपालमा त्यसको प्रभाव स्वभाविकरुपमा पर्छ । ‘आयात करमा भन्दा पनि कारको मूल्य बढ्दा त्यसको ठुलो प्रभाव पर्छ,’उनले भने, ‘तर अहिलेसम्म कारको मूल्य बढ्नेबारे हामीलाई आधिकारिक जानकारी भने आएको छैन ।’ कम्पनीले कति प्रतिशतको दरले मूल्य बढाउने जानकारी दिएका छन् । टोयोटाको कार ३ प्रतिशतसम्मले बढ्नेछ । चलनचल्तीको मोडलको आधारमा कम्पनीले कारको मूल्य पाँच हजार भारतीय रुपैयाँदेखि १ लाख १० हजार भारुसम्म बढाउनेछ । महिन्द्रा एण्ड महिन्द्राको कारमा ७ हजार भारतीय रुपैयाँदेखि ३० हजार भारुसम्म बढ्नेछ । होन्डाले पनि १-२ प्रतिशतसम्म मूल्य बढाउने योजना बनाएको छ । त्यस्तै इसुजु मोटर्सले १५ हजार भारु देखि १ लाख भारुसम्म बढाउने तयारी गरेको छ । यद्यपी केही कम्पनीहरुको कारको मूल्य बढ्ने सम्भावना भने कम देखिएको छ । मारुति सुजुकी, हुन्डाई लगायतका कम्पनीका प्रवक्ताहरुले कारको मूल्य बढाउने कुनै योजना नरहेको जानकारी दिएका छन् । स्कोडाको प्यारेन्ट कम्पनी फोक्सवागेनले मुल्य बढाउन सोच बनाएपनि कति बढाउने भन्ने बारे यकीन भइसकेको छैन । दि इकोनोमिक टाइम्सका अनुसार भारतीय कार निर्माता कम्पनीहरु हरेक नयाँ वर्षमा कारको मूल्य बढाउने र वर्षको अन्तमा स्टक रित्याउन भारी छुटमा कार बेच्ने काममा अभ्यस्त छन् ।