तपाईंको कारले माइलेज नदिएर चिन्तामा हुनुहुन्छ ? अपनाउनुस् यी ६ उपाय

काठमाडाैं । इन्धनको बढ्दो मूल्य हाल सबैको चिन्ताको विषय बनेको छ । पेट्रोल र डिजेलको महंगीले त झन् गाडी चलाउन मुस्किल नै बनाइदिएको छ । कालान्तरमा इन्धनको मूल्य अझबढेर नजाला भन्न सकिन्न । त्यसमाथि पनि तपाईं हामीले चाहेर इन्धनको मूल्यलाई घटाउन पनि त सक्दैनौं । तर हामीले थोरै जागरुकता देखाउने हो भने चाहिँ गाडीले गर्ने तेलको खपतमा कमी भने अवश्य ल्याउन सक्छौं । आज हामी त्यस्ता छ महत्वपूर्ण उपायहरुका बारेमा चर्चा गर्नेछौं जसलाई अपनाउनाले तपाईंले आफ्नो वाहनको माइलेज क्षमतामा वृद्धि ल्याउन सक्नुहुन्छ । १. कम वजन कारले कति तेल खपत गर्छ भन्ने कुरा त्यसले कति वजन उठाइरहेको छ भन्नेमा भर पर्छ । यदि तपाईंको कार ओभरलोडेड छ भने इञ्जिनलाई गति लिनको लागि बढि तेलको आवश्यकता पर्दछ जसका कारण तेलको खपत पनि बढेर जान्छ । तसर्थ, कारलाई ओभरलोड हुन नदिएर माइलेजमा वृद्धि ल्याउन सकिन्छ । २. कारको टायर प्रायजसोले कारलाई मस्कुलर लुक्स प्रदान गर्नका लागि ओरिजिनल टायरको सट्टा केहि चौडा टायर जडान गर्ने गर्दछन् । टायर चौडा भयो भने इञ्जिनमा बढि दबाव पर्न जान्छ र तेलको खपत पनि बढि हुने गर्दछ । त्यसैले कारमा ओरिजिनल टायरनै यथावत राख्ने हो भने कारले दिने माइलेजमा कमी आउँदैन । ३. ट्राफिक जामको बेला सावधानी आफ्नो गाडीलाई ट्राफिक सिग्नलमा रोक्दा इञ्जिन बन्द गर्नुमै बुद्धिमानी हुन्छ । विशेषतः ट्राफिक जामको बेला २० सेकेण्ड भन्दा बढि गाडीलाई रोक्नुपरेको खण्डमा इञ्जिनलाई बन्द गर्न बिर्सनु हुँदैन । यसले तेलको खपतलाई धेरै हदसम्म कम गर्दछ । ४. गियर परिवर्तनमा ध्यान कार चलाइरहेको वेलामा याद राख्नुपर्ने अर्को प्रमुख कुरा भनेको गियरलाई सावधानीपूर्वक बदल्नु हो । लामो यात्रा गर्दा गियरलाई कम भन्दा कम अथवा आवश्यक परेको खण्डमा मात्र बदल्ने गर्नाले इञ्जिनले कम तेल खपत गर्दछ । ५. कारको गति कारलाई सिमित गतिमा चलाउनाले इञ्जिनले धेरै भारको महशुस गर्दैन जसले गर्दा तेलको खपत कम हुन जान्छ । विज्ञहरुका अनुसार ४० देखि ६० केएमपीएलको स्पिडमा गाडी चलाउने हो भने यसले अधिकतम माइलेज प्रदान गर्दछ । ६. सर्भिसिङ्ग समय समयमा कारको सर्भिसिङ्ग गराइराख्नु पर्छ । त्यसैगरी आफैंले घरमा पनि एयर-फिल्टरलाई समय समयमा सफा गरिराख्नाले इञ्जिनमा धेरै फोहर जम्मा हुन पाउँदैन । यसो गर्नाले पनि तपाईंको कारको माइलेज बढेर जानेछ ।

यामाहा महाएक्सचेन्ज मेला शुरु, पुरानो मोटरसाइकल तथा स्कुटर साट्न सकिने

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम.ए.डब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला शुरु गरेको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा यहि १८ गतेदेखि २२ मंसिर ५ दिनका लागि संचालन हुनेछ । यामाहा महा एक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउने छन् । साथै, ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सहि मूल्याङकन पाउने कम्पनीले जनाएको छ । ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने छन् । “यस महाएक्सचेन्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भब्य हुने कुरामा हामी विश्वत छौं । यामाहा वाइकहरु, हाम्रा उपभोक्ताहरु माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा कुनै दुइ मत छैन । यस यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरु हाम्रा उपभोक्ता माझ पुर्याउन हामी प्रतिवद्ध छौ” भनि यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।

यामाहाको नयाँ अफरोड बाइक सार्वजनिक, आर१५ कै इञ्जिन समावेश

काठमाडौं । यामाहाले विल्कुलै नयाँ अफरोड मोटरसाइकल ‘डब्लुआर १५५आर’ सार्वजनिक गरेको छ । यामाहाकै ‘आर१५’ मा आधारित रहेर निर्माण गरिएको सो मोडेललाई इन्डोनेसियामा सोमवार सार्वजनिक गरिएको हो । ‘डब्लुआर १५५आर’मा आर१५ मै प्रयोग भएको इञ्जिन समावेस गरिएको छ । तर यस इञ्जिनलाई बाइकको अफरोडिङ्ग विशेषतालाई मध्यनजर गर्दै थोरै परिमार्जन गरिएको छ । डब्लुआर १५५ आरमा उक्त १५५ सीसी इञ्जिनले १६.५ बीएचपीको पावर र १४.३ एनएमको टर्क प्रोड्युस गर्दछ । सेमी–डवल क्र्याडल फ्रेममा निर्माण गरिएको यस बाइकमा ६–स्पिड गियरबक्स दिइएको छ । उक्त बाइकमा ४१ मिलिमिटर अपसाइड डाउन फर्क तथा ग्यास–चाज्र्ड मोनोशकले सस्पेन्सनको काम गर्दछन् । त्यसैगरी सो बाइकमा अगाडि पट्टि २१ इञ्चको र पछाडि चाहिँ १८ इञ्चको डुअल–पर्पोज टायरहरु समावेस गरिएको छ । डब्लुआर १५५आरका दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाले उक्त बाइकमा एबीएस भने समावेस गरेको छैन । हाल नेपाली बजारमा उपलब्ध भइरहेको यामाहाको एकमात्र अफरोड बाइक भनेको ‘एक्सटिजेड १२५’ हो । कम्पनीका अनुसार डब्लुआर १५५आर तत्काल नेपाली बजारमा आइपुग्ने सम्भावना भने छैन ।