काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा लिएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले (हिजो) मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि केवल डिजेल इन्जिनबाट चल्ने सवारी साधनका लागि मात्र भएको स्पष्ट पारेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणाली अनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि यो नियम विद्युतीय सवारीको हकमा लागू नहुने विभागको जिकिर छ ।
पछिल्लो समय विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल्ने गरेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो ।
विभागका अनुसार विद्युतीय सवारी साधनका लागि साविककै भाडादर कायम रहनेछ । यातायात सेवा प्रदायकले यात्रुबाट भाडा लिएपछि अनिवार्य रूपमा टिकट दिनुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्न समेत निर्देशन दिइएको छ ।
विभागले सूचनामार्फत सचेत गराउँदै भनेको छ, ‘यदि कुनै विद्युतीय सवारीले तोकिएको भन्दा बढी भाडा लिएको वा नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कडा कानुनी कारबाही गरिनेछ ।’
यससँगै विभागले यात्रुहरूलाई पनि सचेत रहन र नियम विपरीत भाडा असुलिएमा उजुरी गर्न आग्रह गरेको छ ।