जुम्लामा खुल्यो जेसीबीको आउटलेट

काठमाडौं । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले जुम्लामा आफ्नोे ‘आधिकारीक रिटेल आउटलेट’ सुरु गरेको छ । उक्त नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएकाे छ । नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा लेखा समितिका संयोजक माननीय दीनबन्धु श्रेष्ठले गरेका थिए । जुम्ला क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए । यो आउटलेट सहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरेकाे छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।  

बेनेलीकाे नयाँ माेडल १८०एस लञ्च हुँदै, माघ २८ गते टेष्ट ड्राइभ गरिने

काठमाडाैं । इटालीयन ब्राण्ड बेनेलीकाे नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएकाे छ । नेपालमा पहिलो पटक बेनेलीकाे उक्त माेडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएकाे छ । यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेकाे छ । जहाँ कम्पनीकाे विभिन्न शोरुमहरु काठमाडाैं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । त्यस्तै, जति सहभागी चालकले मोटरसाइकल चढेर परीक्षण गरेका हुन्छन्, उनीहरूले आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे बारेमा बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।

विद्युतीय सवारीसाधनको परीक्षणका लागि उपकरण खरीद गरिँदै

काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसि) ले ती सवारीसाधनको जाँच उपकरणबाट गर्ने भएको छ । दुई पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनको जाँच गर्न उपकरण खरीद अघि बढाइएको छ । ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताए । उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिन्छ । केही महिना पहिले ठेक्का सम्झौता भएकामा खरीद गरेर ल्याउने प्रक्रियामा रहेको उनले बताए । यस वर्ष चैत/वैशाखसम्ममा उपकरण ल्याउने योजना बनाइएको छ । उनले भने, “कोभिडको कारण आउन अलि समय लाग्ने भएकाले हामी पनि लचिलो बनेका छौँ ।” चालू आवभित्र खरीद गरेपछि आगामी आवमा त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर(म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिक रुपमा परीक्षण गर्न खोजिएको प्रमुख पौडेलले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुनेगर्छन् । अहिलेसम्म ह्वाइट गुम्बालगायतका काठमाडौं उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उनले बताए । उपकरणले इञ्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम दुवैबाट चल्ने सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने सेन्टरको तयारी छ । उनले भने, “हामीले विभागसँग सल्लाह गरेर खरीद प्रक्रिया अघि बढाएका छौँ ।”