प्राधिकरणले विद्युतीय गाडी चार्जमा सहुलियत दिने
काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२ औं बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए । ‘विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत यही खपत बढाउनु पर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौं’, घिसिङले भने, ‘खपत बढाउन विद्युत महसुल घटाउँदै लगेका छौं, सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेका छौं ।’ विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ । निजी आवास, कार्यालयहरु, फर्म/कम्पनी/संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिने छ । मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ । साथै, नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ । विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ । त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल समेत लागू भइसकेको छ ।
बिना व्याजदर ६ हजार डाउनपेमेन्टमा टिभिएसको मोटरसाइकल तथा स्कूटर
काठमाडौं । नेपाली अटो बजारमा बढीरहेको महंगीसँग जुध्न टिभिएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट नै डाउनपेमेन्ट तिरेर नयाँ टिभिएस चढेर जान पाउनेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले मासिक न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने छ । यति मात्र नभइ ग्राहकहरुले शुन्य प्रतिशत व्याजदर तथा अन द स्पट एक्सचेन्जको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । यसका साथै ग्राहकहरुले कुनै बेला पनि टिभिएसको अधिकारिक वेबसाइटमा गएर विभिन्न टिभिएस प्रोडक्ट्स तथा विभिन्न योजनाको बारेमा जानकारी पाउन सक्छन । ‘ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लीएर आएका हौं। हामी सधैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौं र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं,’ जगदम्बा मोटर्स सीइओ दिपक अग्रवालले भने । जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो स्थान जमाउन सक्षम भएको छ ।
हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, फुल चार्ज गरेपछि १६५ किलोमिटरसम्मको रेन्ज दिने
काठमाडौं । हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ईमोबिलिटीले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको छ । लक्ष्मी ग्रुपको भगिनी संस्था लक्ष्मी ईमोबिलिटीले भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा हिरोको एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको छ । एकपटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुलेभारतमा अति नै राम्रोबजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा कम्पनीले गरेको जनाएको छ । भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउदै ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । लक्ष्मी ई मोबिलिटीले काठमाडौंको टेकुमा आङ्खनो सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिदैंछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन्। हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।